Sunday, November 15, 2009

जनआन्दोलन–२ र गोरखपुरसम्मको यात्रा



देशले प्रजातन्त्रको पुष्प गुच्छा सहित स्वागत ग¥यो

सडकहरु सुनसान थिए । आकासमा चर्को घाम लागेको थियो । चराचुरूङ्गिका चिर्चिर आवाज पनि विरलै कानमा पथ्र्याे । नयाँ बर्ष २०६३ को आगमनको समय भएता पनि कतै रमझम र खुसियाली थिएन । नेपाली जनता शाही “कु” को विरुद्ध जनआन्दोलनमा होमिदै थिए । गृहनगर परासीमा पनि आन्दोलनको वेग पसिसकेको थियो । तर सानो ठाउँ र आन्दोलन चर्काउने विद्यार्थी कम हुने हुँदा अन्यत्र जतिको छिटो आन्दोलन नतात्नु स्वाभाविकै थियो परासीमा । झ्यालमा हल्लिरहको रेशमी पर्दा हटाएर वाहिर हेरें । सदा छलफल र रमझममा विताउने पंक्तिकारको मनलाई सुनसान परिवेशले विरक्त पार्नु पनि अस्वभाविक थिएन । विद्यालय जाने कुरै भएन । सोच्दै थिए कसरी बिताउँ यो समय भनेर । आन्दोलनप्रति पनि मेरो खासै चाख जागेन, अझ परासीमा त्यो पनि अति न्यून हुने गर्दथ्यो । अझ पहिलेपहिलेका आन्दोलनझैं यसपटकको आन्दोलनप्रति पनि म खासै आशावादी थिइन । सोंच्थे हाम्रा नेताहरु दूरदर्शी र लक्ष्यमा अडिक भएनन् भनेर । एक नासले मेरो वरीपरि छाएको सन्नाटा मोवाइलको घण्टीसँग भंग हुन पुग्यो । साथी निलकमल रहेछ । “के छ प्रोग्राम गोरखपुर जो हो?” सिधै उसले प्रश्न ग¥यो । मेरो रेल चड्ने चाहाना समेत पुरा हुने गोरखपुरको यात्रा गरुँ कि जस्तो मनस्थिति बन्यो मेरो । बुबालाई अफिसमा एस.एम.एस. गरे– “ मे आई गो टु गोरखपुर वैथ निलकमल?” एकै छिनमै बुवाको प्रतिक्रिया आयो । “ ओके यु मे । बट टेक केयर अफ योरसेल्फ, हेप्पी जर्नी । ” समय खेर फाल्ने कुरै भएन । झोलामा आवश्यक चिजविज र बाटोमा अध्ययनका लागि स्वेट मार्डेनको “सफलता मंत्र” झोलामा हाली घरबाट निस्कें म । यातायात पनि ठप्पै रहेको हुँदा दुई साईकल साथ लिएर निलकमल र म ठूठीबारी तर्फ हानियौं ।

आधा घण्टाको साईकल यात्रा पछि हामी ठूठीबाट नौतनवाको लागि बस चढयौं । बसमा भाडा उठाउने कुरामा हाम्रो देशमा जस्तो झण्झट नहुँदो रहेछ भारतमा । बसको ढोका छेवैमा कन्टक्टर बसेर तोकिएकै रेटमा टिकट प्रदान गर्दाे रहेछ र पछि जाँच गर्न आउँदो रहेछ । कसैले टिकटै नकाटी झुक्याउन खोज्यो भने त्यसलाई त्यहाँको कानूनले जरिवाना र जेल सजाय गर्ने हुँदा, उनीहरु निकै इमान्दारीताका साथ व्यवहार गर्दा रहेछन् । बसमा आरक्षण गरेर राखिएका सिटहरुमा पनि सम्बनिधत व्यक्तिहरुलाई नै राखिंदो रहेछ । नौतनवा पुगेपछि हामी रेल स्टेशन तर्फ कुद्यौं हतारहतार । ४ बज्न ५ मीनेट मात्र बाँकी थियो रेल छुट्नको लागि । नौतनवाका भिडलाई सजिलै छिचोल्न नसक्दा हामी रेलमा सवार हुन पाएनौं । अर्को रेलको लागि अब कम्तिमा १ घण्टा कुर्नु पर्ने हुन्थ्यो । घाम मलिन हुन थालिसकेको हुँदा हामी रेल कुर्र्नु को विकल्पको रुपमा बसलाई रोज्यौं । त्यस दिन हामी निलकमलको दिदीको घर रानीपुरलाई आफ्नो गन्तव्य बनायौं । झिसमिसे साँझ परिसेकेको थियो, रानीपुर स्टेशनमा ओर्लदा । त्यहाँबाट रेक्सा लिएर हामी दिदीको घर तर्फ लाग्यौं । घर पुग्दा नेपाली घडिमा साँझको ७ः१५ बजेको थियो । त्यहाँ निलकमलका आफन्त हामीलाई देखेर औधि रमाए । नेपालमा चलिरहेको जनआन्दोलन र त्यसताका चलेको परासी आक्रमणको हल्लाले रानीपुरका आफन्तहरुलाई पनि पिरोलिरहेको रहेछ । हामीलाई निकै बेर सुम्सुम्याउँदै नेपालको हाल खबर सोधे । हामीले अवस्था सामान्य रहेको र आतिनु नपर्ने भनेर उनीहरुको चिन्तालाई साम्य पा¥यौं । उनीहरुले अब नेपाल शान्ति बहाली नहुन्जेल त्यही बस्ने र सक्दो चाँडो नेपालमा रहेका हाम्रो आफन्तलाई पनि त्यतै झिकाउनु प¥यो भन्दै थिए हामीलाई । त्यहाँ नेपालबाट विहे भएर गएका धेरैलाई भेट्नु पाउँदा हाम्रो मन निक्कै रमाएको थियो । लाग्थ्यो हामी कुनै विरोनो भूमिमा छैनौं । हाम्रा रिती रिवाज, चाल चलन, संस्कृति, भेष भाषा प्रायः सबै भिल्दै थिए । साँच्चै विहारका मुख्यमन्त्रीले भने जस्तै नेपाल, विहार र उत्तरप्रदेश बीचको सम्बन्धलाई कुनै भौगोलिक र राजनीतिक सीमाले रोक्न सक्दो रहेनछ । हामी खानपिन ग¥यौ र सन्ने तरखरमा थियौं । वस्तममा भारतीयहरुको अतिथि सत्कार गर्ने प्रकृया पनि निकै अनुकरणीय थियो । “अतिथि देव भव” भन्ने संस्कृत भनाईको चरितार्थ उनीहरुले हामी प्रति देखाएको सम्मानजनक भावले प्रष्टै झल्काउँथ्यो । त्यहाँ लाईन गएको हुँदा हामीलाई केहीबेर सुत्न गाह«ो भयो । राती बाह«बजेसम्म खुलाआकाशमुनी खाटमा निदाएपछि हामी भित्र सुत्न गयौं । त्यति बेला लाईन आएको थियो । भारतका ग्रामीण भेगमा सरकारले २४ घण्टामा मुस्किलले आठ घण्टा जती मात्र विजुली दिंदो रहेछ र त्यसबापत जति नै विद्युत खपत गरे पनि न्यूनतम रकम मात्र बुझाउनु पर्दो रहेछ । भारतमा रहेको न्यून विद्युत क्षमता र अनावश्यक चुहावट रोक्न यस्तो गरिएको हामीले अनुमान ग¥यौं । आर्को दिन सबेरै उठेर मैदान जाने ( खुला आकाशमुनी दिसा गर्ने) तर्खरमा लागेका हामी त्यहाँ बनेका चर्पीहरु देख्दा अचम्ति बन्यौं । हालसालै मात्र भारत सरकारले “एक घर एक चर्पि” अभियान चलाएर जनाताको जनताको अति कम लगानीमा चर्पि वनाउने व्यवस्था गरेको रहेछ । हामी मर्निङ्ग वाक गर्न भनि निस्कियौं । त्यहाँका खेतभरी लहराउँदो तरिकाले गहुँ पाकेको थियो । सरकारले व्यवस्था गरेको कृषकसुलभ कृषि व्यवस्थाले त्यहाँको जनातालाई निकै लाभ भएको रहेछ । हाम्रो सिंचाई सुविधाका अतिरिक्त विभिन्न क्षेत्रका जनताको आर्थिक अवस्था हेरी सोही दरमा जनता माझ मलहरु पठाउँदो रहेछ । जस्तै दक्षिण भारतका जनताको आर्थिक स्तर राम्रो भएकोले र उत्तर प्रदेश र विहारका जनताको आर्थिक स्तर त्यताको तुलनामा राम्रो न भएको हुुँदा मलहरु यु.पी÷ विहार तिर सस्तोमा वितरण गरिंदो रहेछ । यस्तै नीतिले गर्दा भारत खाद्य सामाग्रीको लागि आत्मनिर्भर त भएको छ नै, त्यसको आर्थिक बृद्धिदर पनि निकै द्रुत गतिले बढीरहेको छ । हामी थप ३,४ दिन त्यस क्षेत्रमा घुमफिर गर्ने योजना बनायौं र घुम्यौ पनि । त्यस अवधिमा हामी त्यहाँका केही स्थानीय विद्यालयको पनि अवलोकन गर्ने अवसर पायौं । सरकारले “सबैको लागि शिक्षा” भन्ने अभियान देशभर चलाएता पनि त्यहाँको अवस्था नाजुक थियो । धेरै केटीहरु स्कूल जाँदैनथे भने गएका केटाकेटीहरु पनि जिर्ण विद्यालयको अवस्थाले गर्दा खुला चौरमा घरैबाट बारो लगेर बस्ने व्यवस्था गरी पढ्थे । अझ धेरै ठाउँमा३÷४ वटा कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाएको नाजुक अवस्था पनि भेटियो । भारतका पूर्व प्रधानमन्त्री अटल विहारी बाजपेईको पालामा भारतका ठूला ठूला सहरहरु जोड्ने राजमार्ग निर्माणको कामसँगै ग्रामिण भेगमा समेत ग्राविल र केही कालोपत्र बाटो बनेका रहेछन् । जसलाई अहिले डा. मनमोहन सिंहले नेतृत्व गरेका गठवन्धन सरकारले पनि निरन्तरता दिएको रहेछ । यस्तै घुमफिरमा हाम्रो दिनैकी वित्दै गइरहेको थियो । कतै एकान्त बाटो भेटियो भने चिच्याएर नेपाली गीत गाउँदा बेग्लैआनन्द आउँथ्यो र नेपालको पहाडहरु हेर्न खोज्दा पनि आर्के रौनकता छाउँथ्यो ।

हामी भारतमा रहेता पनि नेपालको राजनीतिक मामिलाबारे त्यहाँ बहुत चर्का चर्कि बहस हुन्थ्यो । चोक चोक र घरघरमा नेपालका आन्दोलनबारे बहस चल्थ्यो । त्यहाँका भारतीयहरु पनि नेपालको समस्यालाई आफ्नै सरह महसुस गर्दथे । त्यहाँबाट प्रकाशित हुने “दैनिक जागरण” साहारा” “द हिन्दु टाइम्स”जस्ता राष्ट्रिय पत्रिकाले नेपालको जनआन्दोलनका समाचारलाई अधिक महत्व दिएर छापिरहेका हुन्थे । नेपालको विभिन्न ठाउँमा आन्दोलनकारीहरु सहिद भएको खवरले हाम्रो मन निकै कुडिएको थियो । भारतियहरु पनि नेपालका राजालाई “अपने राजा” अर्थात स्वघोषित राजा भन्दै आक्रोस पोख्थे । जब जनताले नै सडकमा राजा विरुद्ध चर्का नारावाजी लाउन थाले भने उनी नैतिकताका आधारमा राजा भइरहनु सुहाउँदैन भन्दै थिए ।

आज रानीपुरमा हाम्रो अन्तिम बसाई थियो । भोलि विहानै गोरखपुर पुग्ने योजना बनायौं हाम्ले । राती सुतिरहेको बेला स्वास फेर्न अलि कठिनाई महशुस भयो मलाई, निलकमललाई पनि त्यसै भएको रहेछ । हामी केही सहज महशुस गर्न बाहिर निस्कियौं । पल्लो लाइनका घरमा आगो लागिरहेको थियो । गहुँका खोस्ताहरु जलाउन खोज्दा बचेको आगो पुरा ननिभ्दा त्यसो भएको रहेछ । सबै गाउँलेको सकृयतामा केही बेरमा आगोलाई नियन्त्रणमा लिइयो । धन्न कोही हताहत हुन पाएनन् ।

विहानको नित्यकर्म सकेर गोरखपुर जान निस्कँदा रानीपुर चोकमा केही नेपालबारे बोल्दै थिए । म त्यसप्रति आकर्षित हुनु स्वभाविक थियो । पछि थाहा भयो भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहले नेपालको राजनीतिलाई सही मोडमा ल्याउन सहयोगी भूमिका निर्वाह गर्न नेपालको राजपरिवारसँग राम्रो सम्बन्ध रहेका भारतीय कुटनीतिज्ञ डा कनक सिंहलाई विशेष दुतका रुपमा पठाउने निर्णय भएको रहेछ । दैनिक जागरण पढेर थप जानकारी पाएँ ।

आज त रेल चड्ने हुँदा मेरो मन चङ्गा झै रमाएको थियो । रानीपुरबाट १० कि.मी. बसको सवारी पछि फरेन्दाबाट हामी रेलमा जाने निधो ग¥यौं । साथै रहनुभएको निलकमलका भिनाजुल ३ वटा टिकट लिएर आउनु भयो र हामी स्टेशनमा रेल कुर्दै बस्यौं । १५ मिनेटको प्रतिक्षा पछि रेल आयो र हामी चढ्यौं । लोकल रेल भएको ले अपेक्षाकृत सुविधा चाही थिएन । तर नौलो अनुभव भएकोले रमाइलो चाही लागिरहेको थियो मलाई । अझ हामी बसेको डिब्बामा एक हुल नेपाली, युवायुवतीले जमेर गीत गाइरहेकोले मलाई औधी हर्ष लाग्यो । निलकमल चाही खै किन खासै रमाएनन् । सायद धेरै पटक रेल चढिसकेको भएर हुनु पर्छ । अहिले त भारतका रेलहरु पनि प्रदृषण नियन्त्रण गर्न भनि कोइलाको साटो पेट्रोलियम पदार्थबाट संचालन गरिएको रहेछ । बसको भन्दा झण्डै ३÷४ गुणा कम भाडा लाग्ने भएकोले यो निम्न वर्गिय देखि लिएर हुनेखाने बर्ग सवैकालागि पायक परेको रहेछ । अझ लालुप्रसाद यादवलाई रेलमन्त्रीको जिम्मा दिएपछि भारतको रेलसेवाले कोल्टे फेरेको रहेछ । अरबौं घाटामा रहेको रेलसेवा उनको कार्यकालमा भारतको सफल कम्पनीको रुपमा स्थापित भएको छ । त्यसैले उनको सक्षम व्यवस्थापनलाई सम्मान गर्दै दिल्लीको एक विश्व विद्यालयले रेल व्यवस्थापन विषयका केही अथिति कक्षा प्रोफेसरको रुपमा चलाउन आग्रह गरेको रहेछ ।

मध्यान्तरमा गोरखपुर रेल स्टेसन पुगियो । हाम्रो परासी बजारभन्दा ठूलो त्यहाँको रल स्टेसन देखेर त म दंग परेँ । गोरखपुर सहरको त कुरौ नगरौ, निकै ठूलो, अति ब्यस्त । त्यहाँ हाम्रो पहिलो योजना गोरखनाथ बाबाको मंदिर दर्शन गर्न जाने थियो । रिक्सामा बसेर गोलघर हुँदै हामी अघी बढ्यौं । ठूल्ठूला मंदिर र सुविधासम्पन्न बिद्यालयहरुले हामीलाई निकै लोभ्याए । अझ त्यस्तो व्यस्त सडकमा पनि स्कूले बिद्यार्थीहरु स्कुटर सवार भएर बिद्यालय जाने गरेको देख्दा त हामी अचम्मीत भयौं । मन्मनै सोंच्थे हाम्रो नेपालमा त्यस्तो कहिले हुने होला भनेर । मंदिर पुग्दा निकै भिड थियो । यद्यपि भिडमा केटाकेटी र बृद्धहरुलाई प्रथम प्राथमिकतामा राखिँदो रहेछ । अझ सानाठूला सबैलाई “आप” अर्थात तपाईं सम्बोधन गरेर बोलाउने भारतियहरुको ब्यवहार देखेर म निकै प्रभावित भएँ । मन्दिरमा एक भोजपुरी फिल्म सुटिङ्ग भइरहेको थियो । केहीबेर त्यसलाई पनि नजर लगायौं । दिनभरको गोरखपुर घुमाइपछी साँझ ४ बजे नौतनवाको लागि एक्सप्रेस रेलमा चड्यौ र लाग्यौ हामै नेपालतर्फ ।

 ठूठीबारी आएर हामी हाम्रो साइकल समात्यौं र हानीयौं परासीतर्फ । नेपाली क्रेताको अभावमा सन्नाटा महसुस गरिराखेका ठूठीबारीबासीले हामीलाई नेपालमा क¥फ्यू लागेकाले नजान अनुरोध गर्दै थिए । तर खै किन मनै मानेन । जे भए होला भनेर हामी बाटोतर्फ लाग्यांै । बैकल्पिक बाटो प्रयोग गरिएको हुँदा धन्न केही हुन पाएन । परासीमा पनि आन्दोलनले चर्को रुप लिएको रहेछ । साताभरी कोठामा थुपारिएका पत्रिका पढें, साँच्चै देश त एैतिहासिक मोडमा आइपुगेको रहेछ । त्यसपछीका केही दिन आन्दोलनमै बिताएँ, मैलै । त्यसै क्रममा परासीमा पनि विष्णु पाण्डेयले शाहदत प्राप्त गर्नुभयो । नेपालको राजनीतिमा “कि रोल” खेल्ने भारतका बिशेष दूत डा. कनक सिंह आएर राजा र सात राजनीतिक दलका नेतासँग छलफल गरेपछी आन्दोलन साम्य भयो सफलताका साथ । राज्य शक्ति नेपाली जनतालाई राजाले फिर्ता गरे । मातृभूमिले हामीलाई “लोकतन्त्रको” पुष्पगुच्छासहित स्वागत ग¥यो । आर्को दिन कान्तिपुरले पत्रिकाकै शिरानमा ठूला आकारमा रातो अक्षरले लेख्यो “जनताको जीत” भनेर ।





No comments:

Post a Comment