Thursday, April 15, 2010

व्यर्थको बि्रजकोर्स

एसएलसी, जसलाई स्कुले जीवनको फलामे ढोका भनेर खुबै चर्चा गरिन्छ । त्यसैले स्वाभाविक रूपमा यसले विद्यार्थीलाई अन्य परीक्षामा भन्दा बढी सचेत र क्रियाशील गराउँछ । 'अब कम्तीमा एक वर्षलाई मोजमस्ती बन्द', कक्षा ९ सकेर १० प्रवेश गर्नेबित्तिकै अभिभावक र शिक्षकहरूले भन्ने साझा वाक्य हो यो । हाम्रो परिवेशमा एसएलसीलाई यसरी प्रचार गरिन्छ कि विद्यार्थीमा अनावश्यक 'इक्जाम फिवर'ले डेरा जमाउन पुग्छ,  । यद्यपि अब २०६६ को  एसएलसी पनि सकिएको छ । विद्यार्थीहरू निकै लामो यात्रापछिको भारी बिसाएको अनुभव गर्दैछन् । तर अब फेरि नयाँ भारी बोकाउन थालिसकिएको छ उनीहरूलाई- बि्रजकोर्सको । एसएलसीको नतिजा सार्वजनिक हुन कम्तीमा ३ महिना लाग्छ । यस बीचमा उनीहरूको समयलाई अन्य सिर्जनशील क्षेत्रमा लगाउनुपर्छ, नकि फेरि त्यही किताबमै घोटाउनु ।

हाम्रो शिक्षा प्रणाली पश्चिमाहरूको सिको गरेर बनाएको भनिन्छ, तर त्यसको व्यावहारिक अनुसरण गरेको पाइँदैन । विषयगत कोर्सहरूमा केही अंगे्रजी थप्दैमा, केही विज्ञानका कुरालाई बढावा दिँदैमा वा सामूहिक छलफलबाट अध्ययन/अध्यापन गर्ने भनेरमात्र पुग्दैन । त्यस बाहेकका धेरै कुरामा परिवर्तन आवश्यक छ । यसले त विशिष्ठ श्रेणी ल्याउने विद्यार्थीलाई समेत धेरै पक्षमा कमजोर बनाइरहेको छ । एउटा उच्च मावि सकेको विद्यार्थी गाडी -दुई पाङ्ग्रे वा चार पाङ्ग्रे) चलाउन जान्दैन, कसैको अगाडि गएर कुरा गर्ने हिम्मत राख्दैन भने उसको विशिष्ठ श्रेणीको के अर्थ भयो त ? परीक्षामा राम्रो अंक ल्याउने मेरा त्यस्ता धेरै साथीहरू छन्, जो साधारण तरिकाले कम्प्युटर अपरेट गर्नसमेत जान्दैनन् । विदेशमा रहेका आफ्ना आफन्तलाई अझै त्यही हुलाककै प्रयोग गरेर चिठी पठाइरहेका हुन्छन् र इमेल नै गरे पनि अरूको सहयोग लिन्छन् । यहाँ परीक्षामा बढ्ता अंक ल्याउनुलाई मात्र ज्ञान आर्जन भनेर बुझिन्छ । 'पढ्नु भनेको नयाँ कुरा सिक्ने हो' भन्ने यथार्थलाई हामी अझै आत्मसाथ गर्न सकिरहेका छैनौं ।

फर्कौं बि्रजकोर्सको प्रसंगतर्फ जसमा अहिले एलएलसीको परीक्षा सकेका विद्यार्थीको ध्यान मोडिएको छ । पत्रपत्रिकाहरू तिनै बि्रजकोर्स पढाउने इन्स्िटच्युटहरूकै विज्ञापनले भरिभराउ छन् । उनीहरूलाई कमाउने राम्रो बाटो खुलेको छ । तर विद्यार्थीहरूलाई यो समय पढाइ बाहेकका अन्य सीप सिक्ने र मनोरञ्जन गर्न छोडिदिनु राम्रो हुन्छ । फेरि बि्रजकोर्समा पढाइने तिनै कुरा पछि गएर प्लसटुमा पढाइने हुन् । त्यसैले यो छुट्दैमा खासै फरक नपर्ने कुराको बोध सबै विद्यार्थी र अभिभावकमा हुनु जरुरी छ । हामीकहाँ यथार्थ बुझेरभन्दा अरूको लहलहीमा लागेर काम गर्ने बानी रहेको हुँदा विद्यार्थीहरू कुरा नबुझिकन बि्रजकोर्स पढ्न धाउँछन् । कलेज छिरेपछि पुनः किताबमै घोटिनु त छँदैछ । त्यसबेला अरूतिर ध्यान दिने वा रमाइलो गर्नेतर्फ त्यति समय नमिल्ला । त्यसैले अभिभावकले यो समय आफ्ना सन्तानलाई सिर्जनशील काम र रमाइलो गर्नेतर्फ लगाउनुपर्छ । पश्चिमा लगायत धेरै त्यस्ता विकसित मुलुकमा दिइने लामो विदाको समय विद्यार्थीहरू कोर्सका किताबबाहेक आफ्नो रुचिका धेरै काम गरिरहेका हुन्छन् । कोही आफ्नो पकेट खर्च जुटाउन खाना पकाउन सिकेर स्टि्रट फुड सप -ठेला) सञ्चालन गर्छन् त साहित्यमा रुचि हुनेहरूले धेरै त्यस्ता फिक्सन र ननफिक्सनहरू पढिरहेका हुन्छन् । कोही विभिन्न नयाँ ठाउँ घुम्छन्, आफन्त र साथीभाइकहाँ गएर नाचगान एवं रमाइलो गर्छन्, सिनेमा हेर्नमा रुचि हुनेहरू फिल्महललाई आफ्नो अड्डा बनाउँछन्, आदि । र फेरि पढाइ सुरु भएपछि पुनः त्यसमै दत्तचित्त भएर र्फकन्छन् । त्यहाँ सिस्टमले काम गरेको हुँदा बीचमा बन्द-हडताल अति कम हुन्छन् र भए तापनि शिक्षण संस्थालाई त्यसको निसानामा पारिँदैन । हाम्रो परिवेश उनीहरूकोसँग धेरै हदसम्म नमिल्ला । तर हाम्रो आफ्नै परिवेशमा यो लामो विदामा त्यस्तै सिर्जनशील काम गर्न सक्छौं ।

शिक्षणमा रुचि हुनेहरू नजिककै सार्वजनिक वा निजी विद्यालयमा स्वयम्सेवक भएर पढाउन सक्छन् । नजिकको कम्प्युटर सेन्टरमा गएर आफूमा कम्प्युटर र इन्टरनेटसँग सम्बन्धित सीपहरू बढाउन सक्छन् । डिजाइनिङ/ टाइपिङजस्ता थप केही सीप सिके त्यसले आफ्नो फुर्सदको समयमा अर्थोपार्जनको व्यवस्था पनि गर्न सकिन्छ । घरमा मोटरसाइकल, कार भए बुबाआमा वा दाजुदिदीलाई भनेर वा नजिकको ड्राइभिङ सेन्टर ड्राइभिङ सिक्ने काम पनि हामी गर्न सक्छौं । यस्ता सीप हामीलाई जुनसुकै बेला काम लाग्न सक्छ । घरमा बुबाआमालाई खेतीपातीम्ाा सघाउन सकिन्छ । यदि अब काठमाडौँ -वा अन्य कुनै सहर) आएर कलेज पढ्ने हो भने रिजल्ट नआउँदै यहाँ घुम्न जानुस्, जसले गर्दा पहिले नै आफूलाई नयाँ ठाउँमा अभ्यस्त गराउन सकिन्छ । अबको क्याम्पस जीवन घरबाहिर एक्लै बसेर पढ्नुपर्ने पनि हुनसक्छ, त्यसैले बुबाआमासँग बसेर धेरैथरी परिकार बनाउन सिक्नुस् । मामाघर जानुस्, बुबाआमा घरबाहिर कतै जागिरे हुनुहुन्छ भने त्यता गएर नयाँ ठाउँको अनुभव लिनुस् ।

घर सजावट गर्नु धेरै केटीहरूको शोखको विषय हुनसक्छ, जसका लागि यो उपर्युक्त समय हो । अब त वषर्ायाम सुरु हुन दुई-तीन महिनामात्र बाँकी छ । त्यसैले घरमै बस्ने केटाहरूले खेतका डिल-आलीहरू बिग्रेका होलान्, मुसाले प्वाल पारेको होला, त्यसलाई राम्राे बनाउनुस् । गाईभैंसीलाई नुहाइदिनुस्, शरीरमा लागेका किर्ना -भैंसीका जुम्रा) हटाइदिनुस् । जसले गर्दा तपाईंका अभिभावक त खुसी हुनुहुनेछ नै, तपाईं आफू जिम्मेवारसमेत बन्नुहुनेछ । यो समय जीवनकै 'ट्रान्जिसन पिरियड' हो । विद्यार्थीहरू बच्चा पनि नभएको र युवा पनि नभएको यो समय उनीहरूमा नयाँ कुराको अनुभव लिन खोज्नु स्वाभाविकै हो । उनीहरू कुलतमा फँस्ने पनि प्रायः यस्तै बेला हो । त्यसैले अभिभावकले उनीहरूका आनिबानी र दिनचर्यालाई निगरानीमा राख्दै उनीहरूको इच्छालाई सम्बोधन गर्न सक्नुपर्छ ।

via KANTIPUR:

http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=215130/

Or

http://epaper.ekantipur.com/showtext.aspx?boxid=23914343&parentid=5860&issuedate=1642010

No comments:

Post a Comment