Thursday, March 24, 2011

सँगैसँगै हुर्किएका जोडिहरु



हेलो शुक्रबारसँगैसँगै सम्बन्ध गासिएका केही प्रतिनिधि जोडिहरु जसले आफ्नो सम्बन्धलाई प्रेम, विश्वास, साझेदारी र लगनशिलतासँगै  अघि बढाए


अंग्रेजीमा ‘कन्सिट’ नाम गरेको एउटा शब्द बिम्बको रुपमा खुबै चर्चित छ जसको अर्थ ‘दुई फरक धरातलका बस्तुहरु जबरजस्त एक हुनु’ भन्ने हुन्छ । त्यही बिम्ब दिलिप पौड्याल, ३२, र उनकी जीवनसाथी शारदा गौतम पौड्याल, २७, सँगको जीवनमा धेरै हदसम्म मेल खान्छ, उनीहरुकै विचारमा । यद्यपि फरक धरातलमा आधारित रहेर स्थापित भएता पनि त्यो एउटा सुन्दर, सुखद र सफल जीवनको नमूना पनि छ । 

हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सेजमा अंग्रेजी बिभाग प्रमुख दिलिपको घर बाग्लुङ जिल्लाको दगातुम्डाडा गाउमा छ जहाँ उनी गाईभैंसी चराउदै र घासदाउरा गर्दै हुर्किए भने काठमाण्डुको सामाखुसी घर भएकी शारदाको बाल्यकाल भारतको देहरादुनमा बित्यो । त्यहीबाट स्कुले जीवन पूरा गरेकी उनी पछि काठमाण्डु आई त्रिचन्द्र क्याम्पसबाटै भूगर्भशास्त्रमा स्नातकोत्तर त सकिन् तर गाउ“बस्तीस“ग उनको लामो सामिप्यता कहिल्यै रहेन । जीवनको संयोग नै मान्नुपर्छ ती फरक धरातलमा हुर्किएका यी दुई अहिले श्रीमान–श्रीमती छन् । उनीहरुको मागी विवाह हो । ‘तर विहेको प्रशंग उठेपछि विहेपूर्व नै हामीबिच प्रेम सम्बन्ध स्थापित भयो ।’ दिलिपले भन्दैगर्दा साथै रहेकी शारदाले हास्दै जोडिन्, ‘त्यसैले मागी प्लस प्रेम विवाह ।’ होली मनाउन काठमाण्डु छिरेका यी जोडिसँग हालैको एक बिहान साटिएको झण्डैं ३ घण्टे गफगाफ आफैमा रोचक थियो । सायद कुनै सेलिब्रिटीको हुदो हो त ट्याब्लोइडहरुमा निरन्तर छाइरहने जस्तो । 


‘...काठमाण्डु बाहिर बस्न सक्दिन, ...मन नपर्ने पेशा टिचिङ’, विहे पहिलेको कुराकानीमा शारदाले भन्ने गरेको कुरा दिलिप अझै सम्झन्छन् । तोकिएका दुवै दायरासँग दिलिप फेल खाइसकेका थिए । भन्छन्, ‘सायद त्यो आत्माहरुले नै  तय गरेको सम्बन्ध थियो र हामी जीवनसाथी बन्यौ ।’ त्यसबिचमा इन्टरनेट र मोवाइलले उनीहरुबिच मध्यस्तताको काम ग¥यो जसले धेरै नजिकबाट एकअर्कालाई परिचित गरायो पनि ।

विहेपछिको शारदाको पहिलो गाउ यात्राले एउटा नया दुनियासँग परिचित गरायो । ‘त्यो बिकट पहाडमा गाडिमा यात्रा गर्नु नै साहसीक काम मानिदो रहेछ’, शारदा सम्झन्छिन्, ‘गाडिको छानासँग बारम्बार टाउको ठोक्किने ।’ हिड्दा त उनको खुट्टामा निकै फोहरा उठिसकेका थिए । दिलिपलाई त लागिरहेको थियो शारदा यो बिजोग देखेर रुनेछिन् । यद्यपि दिलिपसँग विहे अघि भएका कुराकानीले नै उनलाई वेग्लै उर्जा दिएको थियो जसका कारण त्यसलाई उनी सहजै पचाउन सकिन् । दिलिप भन्छन्, ‘च्याटिङ र फोनमा उनले कहिल्यै धनसम्पत्तिबारेको कुरा गरिनन् । उनको ध्येय मेरो प्रकृति र बानीव्यवहार वुझ्ने मात्र हुन्थ्यो ।’


अहिले दुवै खुसीसाथ सहज जीवन बिताइरहेका छन् । दिलिप बिहानदेखि साझसम्म कलेजमै व्यस्त हुन्छन् भने शारदा बेलाबखत भू–सर्वे गर्न विभिन्न जिल्लाहरु जाँदाबाहेक घरमै बस्छिन् । ‘मैले किनेर ल्याएका तर पढ्न नभ्याएका उपन्यासहरु पनि सबै उनले सकिसकेकी छिन्’, भन्छन्, ‘भारतिय परिवेशको  थ्री मिस्टेक अफ माई लाइफ त मैले उनकै सहयोगले राम्ररी बुझ्न पाएको हु ।’ यात्राको क्रममा बाटोमा देखिने पहाड, खोलानालाहरु देखेर दिलिपको मनमा आजकल भूगर्भसँग जोडिएर जिज्ञाशाहरु खुबै उठ्ने गर्छन् । उनमा फिल्म हेर्ने बानी थपिएको छ त झर्कने बानी निकै घटिसकेको छ ।


‘यो सम्बन्ध सफल हुनुको राज के त ?’ हाम्रो जिज्ञाशामा उनीहरुले भने, ‘हामीमा आपसी समझदारी छ र हामी हाम्रै काममा खुसी छौं । हाम्रो सफलता र असफलता अरुको सफलता/असफलतासग कहिल्यै जोडिदैन ।’

उता सूचना तथा सञ्चार मन्त्रालयकी शाखा अधिकृत यमुना सापकोटा भुसाल, २६, का लागि जिवलाल भुसाल, ३२, एउटा जीवनसाथी मात्र रहेनन् । विहे भएको पहिलो बर्षमै कहिल्यै लोकसेवाको परीक्षा नदिएकी यमुनालाई प्रशासन सेवाको शाखा अधिकृत बनाउन उनले गुरुको भूमिका पनि उत्तिकै निर्वाह गरे । यमुना भन्छिन, ‘सायद वहाँको ठाउमा अरु कोही मेरो श्रीमान भएको भए जीवनमा यो रंग थपिने थिएन ।’

जिवलाल आफै पनि उद्योग मन्त्रालयका शाखा अधिकृत हुन् । उनको पारिवारिक माहोल नै सरकारी जागिरको छ । भाई, बहिनी देखि लिएर ज्वाईंसम्म सरकारी सेवामै छन् । ‘त्यसैले मैले आफ्नो जीवनसाथी पनि सरकारी सेवामै संलग्न भएकी होउन् भन्ने थियो’, पुर्कोट, गुल्मीका जीवनाथले भने, ‘तर विहे गर्दा उनी भर्खर एमबिएस सकेकी मात्र थिइन् त्यसमाथी कहिल्यै लोकसेवाको परीक्षामा सामेल नभएकी ।’ यद्यपि जिवलालको घरको माहोलले उनलाई धेरथोर प्रभाव त पाथ्र्यो नै उनी स्वयं विहान–बेलुकी घरमै नियमित पढाउ“थे पनि । यमुनालाई फुर्सद हुँदा बाहेक उनले खाना पनि आफै पकाउथे । जिवलालको सहयोगलाई युमुनाले कमजोरी नभई उत्प्रेरणा ठानिन् र आफूलाई सोही अनुसार तयार पारिन् पनि । अन्ततः विहे भएको तेह महिनामै उनलाई अधिकृतको नियुक्ति पत्र हात प¥यो, त्यो पनि पहिलो प्रयासमै । प्रतिस्पर्धात्मक परीक्षाबाट तय गरिने सरकारी सेवामा उनको जस्तो छिट्टो सफलता कमैको हुनेगर्छ ।

‘अहिले म उपसचिवको लागि परिक्षाको तयारीमा छु त्यसैले पनि घरको सबै काम अहिले उनले हेरिरहेकी छिन्’, जिवलालले हाँस्दै भने, ‘पछि उनको पालो आउदा फेरी मै भिडुला ।’ 

माथिल्ला दुई जोडिकै पंक्तिमा पर्छन् तिलकराम पोखरेल, ३१, र शीला पोखरेल, २५ । नयाबानेश्वरस्थित संविधानसभा भवनको पश्चिम ढोका अगाडि उनीहरुको ‘नमस्ते फेसन कलेक्सन’ नामको जेन्स फेन्सी स्टोर्स छ । यद्यपि ७ बर्ष दक्षिण कोरिया बसेर आएका तिलकरामले २ बर्षअघि शीलास“ग बिहे गर्दा भर्खर सानोतिनो कपडा पसल शुरु मात्र गरेका थिए । झण्डै आठ लाखको हाराहारीमा पुजी लगानी गरेर खोलेको उनको व्यावसायले अहिले तेब्बर बढि फड्को मारिसक्नुमा समयको चक्र मात्र जिम्मेवार छैन । शीलासग २ बर्षअघि गा“सिएको सम्बन्धले त्यहा उत्तिकै महत्व राख्छ ।

हालैको एक साँझ अन्तरवार्ताको लागि पुग्दा पसलमा आएका ग्राहकहरुको भिडले उनीहरुमा निकै धाईधपेडी थियो । ‘उनी अरुसग बोल्ने र डिल गर्ने कुरामा निकै अगाडि छिन्’, ग्राहकसग डिल गरिराखेकी शीलातर्फ इंकित गर्दै तिलकरामले भने, ‘जुन मामिलामा म अलिक पछाडि नै छु ।’ संयोगले उनको आवश्यकता नै मिट हुनेगरी उनीहरुको सम्बन्ध पनि जुट्यो । र, अहिले तिलकराम आफ्नो व्यावसायको लागि आवश्यक सामाग्रीको चाँजोपाँजो र व्यावस्थापनको काम गर्छन् भने त्यसलाई बिक्रि गर्ने जिम्मा शीलाले लिएकी छन् । घरको काम पनि ‘यो उसको’ नभनिकन उनीहरुले आवश्यकता अनुसार भागभण्डा गर्छन् । विहानमा शीलाको कलेज हुदा घरधन्दा सबै तिलकरामले नै सक्छन् । कहिलेकाही“ कामको चापले लखतरान पर्दा दुवै मिलेर पनि काम फत्ते गर्छन् । अझ केही अघिसम्म चार महिना तिलकरामले ‘कोरियन भाषा कक्षा’ पनि पढाए त्यतिखेर घरदेखि लिएर व्यापारसम्म सबै शीलाले धानिन् । उनीहरुले हालसालै शंखमुलमा पनि ‘गुगल फेन्सी’ खोलेका छन् । 

माथि चर्चा गरिएका तिनै जोडि कुनै सेलिब्रिटी नभई साधारण जनताका केही प्रतिनिधि पात्र मात्र हुन जसले आफ्नो सम्बन्धलाई प्रेम, विश्वास, साझेदारी र लगनशिलतासँगै अघि बढाए । हेलो शुक्रबारसँगै शुरु भएको उनीहरुजस्ता धेरै जोडिहरुको सम्बन्ध यसैगरी अघि बढिरहोस् । हाम्रो शुभकामना ।


 This appeared in Print at Hello Shukrabar (KANTIPUR) dated 25th March

1 comment:

  1. whishing all the best to hello sukrabar... this column of guff-suff really infuses realistic flavour to the readers..

    ReplyDelete