Thursday, July 28, 2011

‘मर्डर टु’ र ज्याक्लिन फर्नाण्डिज

बलिउड फिल्ममा पछिल्लो समय विदेशी कलाकारहरु बढि देखिन थालेका छन् । ‘मर्डर २’ मा पनि सेक्सी नायिका एवं ‘पूर्व मिस श्रीलंका युनिभर्स’ ज्याक्लिन फर्नाण्डिज अभिनेत्री छिन् । यसले उनलाई २००९ को बलिउड चलचित्र ‘अलादिन’ पछिको ठूलो भूमिका देखाएको छ । र, उनी धेरै हदसम्म कथाबस्तुलाई अभिनयमार्फत न्याय गर्न सफल देखिन्छिन् पनि ।

यद्यपि ‘मर्डर २’ २००४ को चर्चित फिल्म ‘मर्डर’ को सिक्वेल भनिएता पनि त्यससँग कुनै सम्बन्ध जोडिएको छैन । मर्डरकै मुख्य अभिनेता इमरान हासमीलाई अपवाद मान्ने हो भने ‘मर्डर २’ सम्पूर्ण रुपबाट कुनैको दोस्रो भाग नभएको जस्तो स्वतन्त्र चलचित्र हो । मात्र, मर्डरले २००४ मा पाएको नामलाई जोडेर चलचित्रलाई सहज प्रचार गर्ने नियतबाट यसलाई ‘मर्डर २’ नाम दिइएको छ । त्यसैले ‘मर्डर’ नहेरेका दर्शकका निम्ति पनि ‘मर्डर २’ कथाबस्तुका हिसाबले कुनै समस्या बन्ने छैन । यो अमेरिकी चलचित्र ‘अनफेतफुल’ र दक्षिण कोरियाली चलचित्र ‘द चेसर’ बाट प्रभावित देखिन्छ । यद्यपि निर्देशक मोहित शुरीले यसलाई भारतिय स्वरुपमा ढाल्न भने सफल छन् ।

प्रहरीको जागिर छाडेर गैरकानुनी काम मार्फत धेरै पैसा कमाउने उद्देश्यले अर्जुन (इमरान हासमी) भारतिय शहर गोवामा कालो धन्दा गर्ने दलालहरुलाई सघाइरहेको हुन्छ  । उता व्यावसायिक मोडल प्रिया (ज्याक्लिन फर्नाण्डिज) अर्जुललाई प्रेम गरिराखेकी हुन्छिन् । यद्यपि त्यो, प्रेम कम शारीरिक सम्बन्ध बढि हुने गरी बनिराखेको हुन्छ जसलाई अर्जुनले फिल्मकै शब्दमा ‘ना महोवत, ना जरुरत, सिर्फ आदत’ भनिराखेका हुन्छन् । एकदिन शहरमा देहव्यापार संचालन गरिराखेको एउटा व्यक्ति अर्जुनसँग सहयोगका लागि आइपुग्छ । क्रिसमस र नयाँ बर्षको अवसरमा ग्राहकसामु गएका उसका ४ ‘कल गर्ल’ हराइराखेका हुन्छन् जसले उसको व्यावसायले उत्कर्ष रुप लिने बेला समस्या सिर्जना हुन्छ । र, अर्जुनले त्यसको कारण पत्ता लगाउन गरेको प्रयासमा चलचित्रको कथाबस्तु घुमेको छ ।

अर्जुनले ‘बाघको शिकार गर्न बाख्राको प्रयोग’ गर्ने सिद्धान्त अपनाउनुपर्ने सुझाउँदै अपराधी अन्य कल गर्लको साहाराले पत्ता लगाउन सकिने ठान्छ । भर्खर बिबिएम पहिलो बर्षमा पढिरहेकी रेश्मा (सुलग्ना पनिग्रही) अपराधीको नयाँ शिकार बन्न पुग्छिन् । घरको गरिबीको कारण उनी देहव्यापारमा लागेकी हुन्छिन् । अघिल्ला ४ केटीहरुझैं रेश्मा पनि सिरियल किलर धिरज पाण्डेको (प्रशान्त नारायणा) आक्रमणमा पर्छिन् । धिरज मानसिक रोगी हुन्छ जसलाई सपनामा देवीले भनेको निर्देशनले नपुसक भएको भ्रम पर्छ । उसलाई केटीहरुलाई मार्ने, टुक्रा पारेर घरनजिकैको कुवामा फ्याक्ने आदत परेको हुन्छ । रेश्मालाई मार्ने क्रममा उनको प्रतिवादको कारण ऊ स्वयं पनि घाइते हुन्छ र रेश्मा बच्छिन् । त्यसैदिन रेश्माको प्रत्याकर्मणबाट आफ्नो औंलामा लागेको चोटको औषधी किन्न आएको बखत अर्जुनसँग उसको भेट हुन्छ । संयोगले त्यसबखत उसले केहीबेर अघिदेखि तारम्तार डायल गरिराखेको रेश्मा र ऊ स्वयंको (धिरजको नम्बर काम लगाउने व्यावारीले दिएको हुन्छ) मोवाइलको घण्टी उसको गोजीमा बज्छ र पछ्याउने क्रममा प्रहरीले थाहा पाई दुवैलाई प्रहरीमा लैजान्छ ।

धिरज तेस्रो लिंगीहरुको नेता पंडिताको पहलमा मन्त्रीको आदेशबाट अर्को दिन नै छुट्छ । उनीहरु फर्कने क्रममा धिरजको घरबाट फुत्केर आएकी रेश्मालाई उसले त्यही भेटाउँछ र पंडिता, पुजारी र रेश्मालाई मारेर भाग्छ । उसको अर्को शिकार प्रियालाई बनाउने उसको योजना हुन्छ जसलाई मोडलिङको लोभ देखाएर उसले त्यसैगरी मध्यरातमा निम्त्याउँछ । संयोगले त्यसअघि नै अर्जुन पुग्छ र प्रिया शिकार हुनबाट जोगिन्छिन् भने धिरजको अर्जुनले हत्या गर्छ ।

दर्शकहरु मर्डरमा जस्तो इमरान–मल्लिकाको ‘रोमान्स केमेस्ट्री’ हेर्ने सोचेर फिल्म हल पुगेमा उनहरु पक्कै केही निराश हुनेछन् । इमरान–ज्याक्लिनबिच शुरुमा केही रोमान्स दृश्यबाहेक पछि फिल्म पूर्ण थ्रीलर पारामा अगाडि बढेको छ । र, अभिनयमा ज्याकुलिन राम्रो देखिएता पनि उनी चलचित्रमा हुनु र नहुनुको कुनै अर्थ देखिँदैन । उनको भूमिका मात्र चलचित्रलाई थप मसलादार बनाउनेमा केन्द्रीत छ । यद्यपि मानव ओसारपसारको मुद्दालाई कलियुगमा भन्दा यसमा अझ नजिकबाट उठाएकोमा प्रशंसाका पात्र हुन सक्छन् । फिल्मको पटकथा पक्ष सुन्दर लाग्छ भने संगीत औसत छ । नयाँ फिल्म हेर्ने उत्सुकता छ भने फिल्म हल छिर्दा हुन्छ । नत्र मर्डरकै छाप बोकेर र त्यस्तै अपेक्षा गरेर फिल्महल छिर्ने हो भने पैसा असुल नहुन सक्छ ।

This appeared in Print at Hello Shukrabar (KANTIPUR), dated 29 of July, 2011. Click here for e-paper view.

No comments:

Post a Comment