Friday, August 5, 2011

ईभा ब्राउन अर्थात नेहा धुपिया


बलिउड अभिनेत्री नेहा धुपियाले हिन्दी फिल्म ‘गान्धी टु हिटलर’ मा तत्कालिन जर्मन तानाशाहा एडोल्फ हिटलरकी प्रेमिका इभा ब्राउन (पछि धर्मपत्नी पनि) भएर अभिनय गर्ने अवसर पाएकी छिन् । इभा ब्राउनको रहस्यमय र निरश जीवनशैली फिल्ममा उनको अभिनयमार्फत देख्न सकिन्छ । एक भारतिय अनलाईनलाई दिएको अन्तरवार्तामा उनले यस्तो अवसरलाई ‘कठिन चूनौति स्विकारेको’ बताएकी छिन् । भन्छिन्, ‘मानव इतिहासको एउटा कुख्यात पात्रको कोमल प्रेम आफैमा रोचक थियो र त्यसलाई अभिनयले न्याय गर्नु उत्तिकै कठिक पनि ।’

दोस्रो विश्वयुद्धताकाको परिवेशमा ‘नाजिजम्’ विरुद्ध ‘गान्धीजम्’ को कथाबस्तु समेटिएको यस चलचित्र महात्मा गान्धीले हिटलरलाई लेखेका पत्रहरुमा केन्द्रीत छ । आफ्ना केही पछिल्ला फिल्महरु ‘एक चालिसकी लास्ट लोकल’ र ‘मिथ्या’ मा ईभाजस्तै पात्रको अभिनय गरिसकेकाले पनि ‘गान्धी टु हिटलर’ मा उक्त चूनौति सामना गर्न आफूलाई सक्षम ठानेको धुपियाले बताइन् । ईभा हिटलरका सैन्य अफिसरहरुसँग पनि उत्तिकै नजिक हुन्छिन्, जसको कारण उनको भूमिकालाई वास्तविक जीवनमाझैं चलचित्रमा समेत रहस्यमै राखिएको छ । सदा हँसिलो र फरासिलो भइकन पनि उनको मुहारमा उत्तिकै उदासपन पनि भेटिन्छ । ‘र, मेरो चरित्रको सबैभन्दा जटिल भाग नै यही थियो । खुसी, उदास सबैको समिश्रण अभिनयमा देखाउने’, उनले भनिन्, ‘ईभाको अभिनय गरिसकेपछि म स्वयं वास्तविक जीवनमा पनि बढि बिनम्र हुन सिकेकी छु ।’


‘यसरी ऐतिहासिक व्यक्तिको जीवनमा अभिनय गनुअघि मैले ईभाको सन्दर्भ उल्लेख भएका इतिहासका धेरै पुस्तक र भिडियोहरु हेरें जसले मलाई उनको वास्तविक स्वभावलाई नजिकबाट आत्मसाथ गर्न प्रेरित पनि गर्‍यो’, त्यसले पनि दर्शकहरुले फिल्मले दिन खोजेको पाठलाई नजिकबाट बुझ्न सहयोग पुर्‍याउने उनले विश्वास राखेकी छिन् । यद्यपि फिल्ममा जर्मनहरुले पनि हिन्दीमै कुराकानी गरेको बिषयलाई आलोचकहरुले कमजोर पक्ष दर्शाइसकेका छन् । तर धुपियाको यसमा आफ्नै खाले तर्क छ । भन्छिन्, ‘दिल्लीको झोपडिमा हुर्केका केटाकेटीहरु स्लमडग मिलिनियरमा अंग्रेजी बोल्दा बहसको बिषय नठान्ने हामीहरु यहाँ त्यसैलाई ठूलो कुरा बनाइनुको कुनै अर्थ छैन ।’ फिल्मले दश मिनेट नाघ्ने बित्तिकै त्यो कुनै अनौठो नलागि सहज रुपमै अघि बढ्ने उनले बताइन् ।



हिटलरको प्रेमलाई फिल्ममा समेट्ने क्रममा त्यसले उनको व्यक्तिगत जीवनको पाटोलाई नजिकबाट देखाउन सफल भएको छ । त्यसमाथि बर्लिन शहरलाई अमेरिका–रसिया सहितको सैन्य टोलीले घेरिसक्दाको अन्तिम समयमा बंकरभित्र ईभासँग बिताएका क्षण र अन्तिम समयमा गरेको विवाहले क्रुर शासकभित्रको एउटा कोमल पक्षलाई देखाएको छ ।
तर त्यससँगैसँगै शक्ति प्राप्तीको लागि हिटलरले पछ्याएको बाटो बेठिक रहेको इतिहाँसको तथ्यलाई निर्माण टोलीले नबङ्याई प्रस्तुत गरिँदा पनि फिल्म कथाबस्तुका हिसाबले रोचक बन्नु ‘गान्धी टु हिटलर’ को विशेष पक्ष रहेको अभिनेत्री धुपिया बताउँछिन् । यस प्रकारका चलचित्रले बलिउडमा सस्ता बिषयबस्तुलाई मात्र पकडेर हप्तैपिच्छे फिल्म रिलिज गर्नेहरुलाई नयाँ पाठ पनि सिकाउने उनी ठान्छिन् । ‘राम्रो फिल्म बनाउन साहस, सिर्जशिलता र मिहिनेत बढि चाहिन्छ न कि पैसा मात्र’, उनको भनाई छ, ‘ह्याट्स अफ टु माई डाइरेक्टर्स एण्ड प्रडिउसर्स जसले यो साहस लिए ।’

नेहालाई कहिलेकाहीँ भारतिय मानसिकता देखेर दिक्क पनि लाग्दो रहेछ जतिखेर कसैले ठूलो साहस उठाएर फिल्म उद्योगमा नयाँ क्रम शुरु गर्न खोज्दा स–साना कुुरामा आलोचना खेप्नुुुपर्दा  । यद्यपि यस फिल्मले नयाँ धार मात्र नदेखाएर गान्धी दर्शन किन शान्तिपूर्ण सहअस्तित्वका लागि प्रेरक र महत्वपूर्ण छ भन्ने हिटलरसँगको तुलनात्मक परिवेशमा देखाउनु नै सबैभन्दा उत्कृष्ठ पक्ष हो । र, धुपिया किन पनि दर्शकले फिल्म रुचाउनेमा विश्वस्त छिन् भने फिल्म हेरिसकेपछि दर्शकहरुमा गान्धी दर्शनबारेको एउटा बलियो बिस्वास र छाप बस्नेछ ।


(भारतिय अनलाईन ‘बुजिन बलिउड डट कम’लाई दिएको अन्तरवार्तामा आधारित)


This appeared in print at Hello Shukrabar (KANTIPUR) dated 5th of Aug, 2011

1 comment:

  1. good commentary with lively details. it has enough dupe about the film with the fabrication of the history. Good job!

    ReplyDelete