Friday, August 12, 2011

देशकै लागि...




Liza, Brijlal, Satish & Grishma Raj (from left)
पर्सा जिल्लाको एउटा साधारण गाउँमा जन्मेका बृजलाल चौधरीको भाग्यलाई बलियो मान्नुपर्छ । नत्र एउटा साधारण किसान परिवारको सन्तानलाई त्यति लामो दूरी तय गर्नु फलामको चिउरा चपाउनु सरह नै हुन्थ्यो । कक्षा ४ मा पढ्दैगर्दा बुढानिलकण्ठ स्कुलमा पढ्नका लागि छात्रवृत्तिमा छानिएका उनी एसएलसीपछि प्लसटु सरहको इन्टरनेसनल ब्याकालोरियट (आइबि) गर्न युनाइटेड वल्र्ड कलेज, हङकङ पुगेका थिए । पछि अमेरिकाको न्यूयोर्कस्थित सेन्ट लरेन्स विश्वविद्यालयबाट अर्थशास्त्र र अफ्रिकन स्टडिजमा स्नातक सकेका उनी अहिले नेपालमै छन् । 

बृजलाल पछिल्लो पुस्तामा बिरलै भेटिने गुण भएका युवा हुन् जसले आधुनिक र बिकसित जगतलाई नजिकबाट बुझेर पनि आफ्नै स्वदेशी परिवेश बिर्सेका छैनन् जसको ध्यान हरहमेसा आफ्नै मुलुकमा केही गर्नेमै केन्द्रीत हुन्छ । एकैछिन उनकै परिवेशलाई केलाउँ जो आफ्नो गाउँ निचुवा र काठमाडौंमा बराबर जसो समय बिताउँछन् । ‘गाउँमा व्यावसायिक माछा पालन शुरु गरेको छु’, २६ बर्षेले भने, ‘यसले मेरो व्यक्तिगत उन्नत्ति मात्र गरिराखेको छैन । स्थानिय स्तरमा समस्याहरु कस्ता छन् भन्ने जानकारी पनि गराईराखेको छ ।’ 

समयको तुलनामा देश निकै पछि धकेलिइसकेको छ । शहरको तुलनामा गाउँमा झनै बिकासको आभाष पुग्न सकिराखेको छैन । बृजलाल गाउँमा सिर्जनशील र दक्ष युवाहरु नहुनुलाई यस समस्याको मुख्य जड औंल्याउँछन् । ‘नेपालमात्र होइन यो अल्पबिकसित र बिकासोन्मुख मुलुहरुकै समस्याको साझा जड हो ।’ सेन्ट लरेन्समै पढ्ने क्रममा उनी अफ्रिकाको केन्या, ताञ्जेनिया, युगाण्डा र इक्वेडरसम्म पुगे जसले उनलाई दिगो बिकास र उन्नत्तिका बाधकतत्वलाई नजिकबाट नियाल्ने मौका दियो । उनी भन्छन्, ‘चाहे ति अफ्रिकी देशका युवा हुन् या हाम्रै नेपालकै किन नहुन् उनीहरुमा देशप्रतिको जिम्मेवारी बोधको कमी छ ।’ पश्चिमा जगतका युवाहरु राजनीतिलाई राज्य संचालनको मियो सोच्छन् भने नेपालमा फोहोरी खेल । विद्यार्थी राजनीतिमा लागेका युवाहरु समेत सच्चा राजनीति भन्दा व्यक्तिगत स्वार्थपूर्तिका कुराबाट निर्देशित छन् भन्ने उनको ठम्याई छ । 

सायद त्यसैले पनि यी जुझारु तन्नेरी कुनै संस्थागत आबद्धताबिना नै केही उदहारणिय काम गरेका छन् । अमेरिकामा पढ्दाखेरी नै कलेजका साथीहरुसँगबाट उठाएको पैसाले पर्साकै श्री नेपाल राष्ट्रिय प्राविमा एककोठे पक्की भवन सहितको पुस्तकालय स्थापना गर्न सफल भएका छन् भने सेन्ट लरेन्सले आफ्ना विद्यार्थीहरुमध्येबाट दिने ग्रान्ट ‘प्रोटेक्ट फर पिस’ अन्तरगत दश हजार अमेरिकी डलरले नजिकैको अर्को विद्यालयमा भव्य पुस्तकालय समेत खोलिदिएका छन् ।  


बृजलालको धेरै स्वभावहरु अस्ट्रेलियाको लार्टोबे विश्वविद्यालयबाट बिबिए सकेका सतीस पाण्डे, २५, सँग मेल खान्छ । काठमाडौंको हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजबाट प्लसटु सकेका उनी जतिखेर सिड्नी पुगे उनलाई त्यसबेलादेखि नै देशको मायाले झन् बढि सताउन थाल्यो । भन्छन्, ‘त्यहाँका बालबालिकाहरु आइफोन र इन्टरनेटमा रमाउँदा म रत्नपार्कमा हात फिजाएर भिख मागिरहेका बालबालिकालाई सम्झन्थें ।’ उनको झन् बढि चिन्ता त यो सोचेर हुन्थ्यो कि ति र त्यस्तै बालबालिकाहरु जो भोलि बयस्क हुँदा देश कतातर्फ मोडिएला भन्नेले । त्यसैले बिबिए सकिएपछि उनले स्नातकोत्तरको लागि भनेर त्यहाँ बसिरहन सकेनन् । अन्तत: फिरे नेपाल । अहिले उनी सामाजिक संस्था नेपाल मदर फाउण्डेसनका अध्यक्ष छन् जसले अहिले बालअधिकारका बिषयमा काम गरिराखेको छ । उनीहरु अहिले केही बालबालिकालाई प्रत्यक्ष राहत पुग्नेगरी पढाइराखेका पनि छन् । केही गर्छु भनेर लागेका उनलाई त्यतिबेला अलिकति पीर पनि लाग्यो जब समाजसेवाका नाममा यहाँ धेरै देखावटी कामहरु पनि हुने थाहा पाए । ‘हनुमानढोकामा सडक बालबालिकाहरुलाई केही राहत बटुलेर बाँड्न जाँदा हाम्रो क्षेत्रमा आयो भनेर सहयोग गर्नै दिएनन्’, उनी दु:खेसो पोख्छन्, ‘यहाँ बालबालिकालाई मागिखाने भाँडो बनाइएको छ ।’


समस्यको मुख्य जड त उनी देशलाई कता लैजाने भन्ने युवाहरु आफै स्वतन्त्र नहुनुलाई ठान्छन् । पश्चिमा मुलुकहरुमा १८ बर्ष नाघेपछि युवाहरु स्वतन्त्र हुन्छन् जसले उनीहरुलाई प्रगतिका नयाँ बाटो खोज्न सिकाउँछ । ‘तर खाली पैत्रिक सम्पत्तिकै भर पर्नाले हामीकहाँ युवाहरु सधै परनिर्भर र अल्छी बनिराखेका हुन्छन् ।’ त्यसो त विदेशमा बस्ने युवाहरुमा पनि खराबीहरु नभएका होइनन् । मात्र इन्टरनेटमा देखिने समाचारका भरमा कतिपयले देशलाई विश्लेषण गर्नु पनि गैरजिम्मेवारीको एउटा पाटो हो । भन्छन्, ‘आफ्नो मुलुकलाई अनुभव गरेरै बुझ्नुपर्छ । र, मेरो एक्लो पहलले के पो हुन्छ र भन्ने नसोचेर आफूले सक्दो योगदान पुर्‍याउन कस्सिनुपर्छ ।’

एकैछिन गृष्मराज पाण्डेयलाई सुनौं जो यसबर्ष जर्मनीको ज्याकोब्स विश्वविद्यालयमा इलेक्ट्रिकल इञ्जिनियरिङ एण्ड कम्प्युटर साइन्स पढ्न हानिँदैछन् । तर यी २० बर्षेका लागि विदेशी भूमि कुनै नौलो भने होइन । २००९ मै उनी उत्तर अमेरिकी राष्ट्र मेक्सीकोमा भएको साना वैज्ञानिकहरुको विश्वव्यापी प्रतिस्पर्धा ‘जुनियर फिजिक्स ओलम्पीयाड’ र २०१० मा भारतको मुम्बईमा सम्पन्न ‘एसियन साइन्स क्याम्प’ मा नेपालको प्रतिनिधित्व गरेका थिए । ‘त्यसबेला मैले धेरै त्यस्ता साथीहरुसँग भेट्ने अवसर पाएँ जसको अध्ययनको दायरा निकै विशिष्ठ र गहन थियो’, पाण्डेयले भने, ‘जुन देखेर मलाई लाग्यो देश बिकासको लागि विद्यार्थीका लागि प्रयाप्त रिसर्च र एक्प्रोजरको व्यवस्था हुनुपर्छ ।’ नेपालको शिक्षा प्रणाणीमा उनी त्यसै कुराको कमी देख्छन् । 

राजनीतिक नेताहरु बिदेशिने बिद्यार्थीलाई देशको माया नगर्ने भन्न छाड्दैनन् । र, जसकै कारण ब्रेन ड्रेनले देशको उन्नत्ति नभएको पनि जोड्छन् । गृष्मको तर्क छ, ‘विदेशीने विद्यार्थीले बाहिरी दुनियाँ देखेर आफ्नो मुलुकलाई पनि त्यस्तै बनाउने परिकल्पना गर्ने त हुन् नि ।’ गृष्मले भारतकै उदहारण दिँदै भन्छन्, ‘त्यहाँका राम्रा इञ्चिच्युटमै हेर्नुस न; हार्वड, अक्सफोर्ड, एमआईटिजस्ता शीर्ष विश्वविद्यालयमा  पढेका व्यक्तिहरु अन्तत: स्वदेश नै फर्केर पढाइराखेका हुन्छन् ।’ उनका अनुसार देशप्रेम भन्दैमा यो प्रतिस्पर्धी विश्वमा साँघुरो भौगोलिक सीमाभित्र संकुचित हुन थालियो भने त झन् देश उन्नत्ति होइन अधोगतिर्फ जानसक्छ । विदेश पढ्न जानेहरुको बढ्दो सङ्ख्या त समयको स्वभाविक चक्र नै हो । यसले देशकै लागि राम्रो नै बढि गरेको छ भन्नेहरु पनि अहिले उत्तिकै छन् । उसो त पढाईलाई बाहाना बनाएर पैसा कमाउने मात्र हेतुले जानेले गर्दा विदेश पढ्न जानेप्रति आममानिसमा नकारात्मक धारणा बस्न पुगेको हो । राम्ररी पढेकाहरु पनि देशको निराशाजनक अवस्थाले फर्कने वातावरण नपाइराखेका मात्र हुन् ।

अब एकैछिन ट्रिनिटी कलेजबाट एलेवल सकेकी लीजा पौडेल, १९, को कुरा सुनौं जसको विदेश पढ्न जाने सपना एसएलसी सक्दादेखिकै हो । त्यो अहिले साकार भएको छ । यद्यपि अमेरिकाको कोलगेट विश्वविद्यालयमा कम्प्युटर साइन्स र अर्थशास्त्र अध्ययन गर्न गइराखेकी उनी अन्तत: नेपाल नै फर्कने बताउँछिन् । भन्छिन्, ‘विश्वव्यापीकरणको यो समयमा बाहिर गएर पढ्नु सामान्य कुरा हो । तर पढेपछि स्वदेश फर्कने वातावरण निर्माणको लागि भने सबै पक्ष संवेदनशील हुनुपर्छ ।’ विदेश गएर पढ्दैमा देशको माया नभएको भनाई उनलाई पटक्कै मन पर्दैन । विदेशबाट फर्केका युवाहरुले गाउँमा विकासको मौन क्रान्ति नै ल्याइराखेको तथ्य पनि नेपालमा अहिले धेरैतिर देख्न पाइन्छ । ‘म फर्केर देशको अर्थतन्त्रसँग जोडिएको क्षेत्रमा काम गर्नेछु जसलाई आधुनिक प्रविधिसँग जोडेर व्यवस्थित पार्नुपर्छ’, देश फर्केर गर्ने कामको योजना सुनाउँदै भनिन्, ‘देशको मायाँ आशावादी हुँदै गर्नुपर्छ । दु:ख पर्‍यो भन्दैमा कसैले आफ्नो घर बिर्सन सक्छ र ?’

1 comment:

  1. राम्रो छ प्रदीप ! Scientific जर्नालिजम

    ReplyDelete