Sunday, August 14, 2011

अण्डरग्राउण्ड म्युजिकको झट्का


उनीहरूलाई धेरैले गायक वा संगीतकार नै पनि नमान्न सक्छन्। लोक, आधुनिक र पपगीतको वर्चस्व रहेको समाजमा यी नयाँ पुस्ताका एकथरी यस्ता तन्नेरीहरू हुन्, जो मेटल, रक, ज्याज, ब्लुज, पंकजस्ता पश्चिमा संगीतका स्वादमा झुम्मिरहेका छन्। उनीहरूको गायनशैली धेरैलाई अस्वाभाविक वा अनौठो लाग्न सक्छ। र, स्वाभाविकै हो उनीहरूको गीत सुन्ने दर्शक/श्रोता थोरै छन्। थोरै नै सही, उनीहरू गाउन छाड्दैनन्। 


सहरमा उनीहरूको गीत सुन्ने तन्नेरीको आफ्नैखाले समूह छ। तिनै निश्चित व्यक्तिलाई मात्र थाहा हुन्छ, कन्सर्ट गर्ने स्थल। जहाँ पूर्ण रूपबाट प्रतिबद्ध भएका दर्शक/श्रोताका बीचमा चल्छ, अन्डरग्राउन्ड म्युजिक। व्यावसायिक प्रवर्द्धन नखोज्नु वा एल्बम निकाल्न नखोज्नु नै अन्डरग्राउन्ड म्युजिकको विशेषता हो। मूलधारको संगीतभन्दा फरक भएकाले यस्ता ब्यान्डका धेरै सदस्य आफ्नो लगाव वा रुचि पछ्याउन गायक वा संगीतकार बनेका हुन्छन्। सन् '९० को दशकको अन्त्यतिर स्थापना भएका सिमि्रका, अल्बाट्रस, गरिमा, मङ्की ट्याम्पल, फ्लावर जेनेरेसन, अक्षता नेपालका केही रक ब्यान्ड हुन्। नेपालमा पश्चिमा संगीतको जग बसाल्ने श्रेय यिनै ब्यान्डलाई जान्छ। यिनीहरूकै प्रभावले गर्दा एक दशकको अवधिमा नेपालमा सयौँ त्यस्ता अन्डरग्राउन्ड ब्यान्ड खुलेका छन् र अन्डरग्राउन्ड संगीत सुन्नेहरूको जमातसमेत उत्तिकै बढ्दो छ। अल्बाट्रसका गितारिस्ट सन्नी मानन्धर यसबीचमा मानिसको अन्डरग्राउन्ड म्युजिकप्रतिको धारणामा धेरै परविर्तन आएको ठान्छन्। "हामीले त्यसबेला मेटल गाउँदा सुन्ने मान्छे त परै जाऊन्, हामीलाई हेर्ने दृष्टिकोण पनि फरक हुन्थ्यो," भन्छन्, "अहिले त मेटल पनि गायनकै एउटा विधा हो भन्ने धेरैलाई थाहा भइसकेको छ।"
Manidev Gyanwali, Sandip misha
with other Band members


मानन्धरले त्यसो भनिरहँदा अहिले काठमाडौँका प्लस टु र कलेजहरूमा मेटल र रकका बग्रेल्ती ब्यान्ड खुलिसकेका छन्। "हाम्रो कलेजका कार्यक्रमहरूमा आधाजसो संगीतको पर्फमेन्स मेटलकै हुन्थ्यो," हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजबाट प्लस टु सकेका रनिम ब्यान्डका भोकलिस्ट मणिदेव ज्ञवाली बताउँछन्। "हेर्दा जेपीटी -जे पायो त्यही) गाएजस्तो लाग्ने भए पनि मेटल गाउनु अन्य गायनभन्दा बढी कठिन हुन्छ," ज्ञवाली भन्छन्, "बदलिँदो समयसँगै समाजलाई यस्ता संगीतसँग अभ्यस्त गराउँदै लैजानु पनि पर्छ, जसले सबै पक्षलाई सम्मान गर्ने धारणा बनाउन सहयोग गर्छ।"अहिले फेसबुकमा त्यस्ता धेरै अन्डरग्राउन्ड ब्यान्डका पेज र गु्रपहरू छन्, जसले आफ्ना कन्सर्टहरू कहाँ हुँदैछन् भन्ने अपडेट गररिहेका हुन्छन्। धेरैले त ती स्थानको आफ्नैखाले सांकेतिक नाम राखेका हुन्छन्, जो उक्त टिमसँग घुलमिल भएकाले मात्र बुझ्न सक्छन्। र, धेरै संगीतहरू त्यस्तै समूहबीचमा मात्रै प्रदर्शन गर्न योग्य हुन्छन्, त्यसको चरम स्वभावका कारण। 


Deep & Saujan
अन्डरग्राउन्ड ब्यान्डबीच अर्काको भन्दा राम्रो गाउने प्रतिस्पर्धा खूबै चल्ने गर्छ। त्यसैले उनीहरू निकै मिहिनेतका साथ रियाज  गर्छन्। अल्टरनेटिभ रक र मेटल गाउने ब्यान्ड एरो हेडेड ट्रेंगलका भोकलिस्ट सौजन संग्रौला दिनहुँजसो नेपाल संगीत विद्यालय, सिनामंगलमा गायन प्रशिक्षण लिइरहेका हुन्छन्। त्यसअघि उनले नर्वेबाट संगीतकै डिप्लोमा हासिल गरसिकेका छन्। भन्छन्, "अचेल केही सञ्चारमाध्यमले यस्ता गीतलाई स्थान दिन थालेकाले नेपालमा श्रोता संख्या पनि बढ्दो छ।" तर, अन्डरग्राउन्ड ब्यान्ड त्यति चर्चामा आउन खोज्दैनन्। गीत रेकर्ड गरसिक्दा पनि आफ्नै साथीहरू वा दौतरीभित्र मात्र खबर गर्छन् न कि औपचारकि रिलिज। संग्रौला भन्छन्, "आफ्नो गायकी वा संगीतलाई तिख्खर पार्न अन्डरग्राउन्ड हुनु धेरै हदसम्म राम्रो पनि हुन्छ। र, पछि परपिक्व भएको महसुस भएपछि व्यावसायिक गायनमा लाग्नुपर्छ।" संग्रौलाको उदाहरण अल्बाट्रससँग धेरै हदसम्म मेल खान्छ। अहिले अल्बाट्रस ब्यान्डको नाम नसुन्ने कमै संगीतप्रेमी होलान्। तर, कुनैबेला यही ब्यान्ड अन्डरग्राउन्ड थियो। 'चिहानकी परी..', 'फर्की फर्की..' जस्ता गीत बजारमा निकै हिट भइसक्दासमेत ब्यान्डका सदस्यबारे कमैलाई थाहा थियो। अहिले अल्बाट्रसले अत्ति भयो एल्बम रिलिज गरसिकेको छ भने देशविदेशमा धेरै कन्सर्टहरूसमेत गरसिकेको छ। तर, अल्बाट्रसका गितारिस्ट  मानन्धर भन्छन्, "हामी व्यावसायिक बन्न खोजेका होइनौँ, हाम्रो गीतलाई धेरैले मन पराइसकेपछि मात्र यत्तिका चर्चा सुरु भएको हो।" त्यसो त उनीहरू आफूलाई अझै अन्डरग्राउन्ड ब्यान्ड नै सोच्छन्। एक जना अमेरिकी रक तथा मेटल गायक फ्राङ्क जिप्पाको भनाइ अल्बाट्रसजस्ता अन्डरग्राउन्ड ब्यान्डको परिवेशमा धेरै मेल खान्छ। उनी भन्ने गर्थे, "तिमी आफैँ मूलधारमा नजाऊ, बरु अन्डरग्राउन्ड भएर गाउन थाल। मूलधारले आफैँ पछ्याउन आइपुग्छ।" 



अहिले व्यावसायिक संगीतमा राम्ररी जमेको पप संगीतसमेत कुनैबेला अन्डरग्राउन्ड संगीतकै रूपमा हेरिन्थियो। अन्डरग्राउन्ड संगीतमा नयाँ र मौलिक प्रयोग बढी हुने हुँदा पनि यसबाट भिन्न स्वादका गीत जन्मन पुग्छन्। र, यो व्यापारकि तथा अन्य सेन्सरसिपको झमेलामा समेत पर्दैन। किनभने, त्यहाँसम्म अन्डरग्राउन्ड म्युजिक पुग्नै पाउँदैन। यद्यपि, अहिले यूट्युबजस्ता भिडियो साझेदार वेबसाइटले गर्दा अन्डरग्राउन्ड म्युजिकलाई विश्वव्यापी प्रवर्द्धन गर्न धेरै सहयोग पुगेको छ। म्युजिक भिडियो निर्देशक आशिष प्रसाईं तिनै अन्डरग्राउन्ड ब्यान्डहरूकै योगदानले विस्तारै रक, पंक, मेटलजस्ता गीतहरू व्यावसायिक हुन थालेको बताउँछन्। भन्छन्, "पहिलेपहिले अरूको लिरिक्समा गाउने उनीहरू अचेल आफैँ (र, नेपाली पनि) लेख्न थालेका छन्।" त्यस्ता धेरै गीतको म्युजिक भिडियो निर्देशन गरसिकेका प्रसाई अन्डरग्राउन्ड म्युजिकको भिडियो निर्माण गर्ने ठाउँहरू चयन गर्नु पनि निकै गाह्रो काम ठान्छन्। भन्छन्, "जसका लागि रफटफ स्थान उपयुक्त मानिन्छ।"


इन्टरनेटको प्रभाव वा विदेश जाने क्रम बढेपछि नेपालमा संगीतका नयाँ नयाँ स्वाद भित्रिन थालेका हुन्। अहिले संगीतका फरक-फरक विधालाई फ्युजन गर्ने क्रमसमेत बढेको छ। त्यसैले अचेल गिटार सिक्ने मान्छे सितार पनि सिक्छन् त ड्रम ठोक्नेहरू मादल पनि। जसले अब गीत भनेको आधुनिक, पप वा लोकगीत मात्रै हुन् भन्ने हाम्रो संकुचित सोचमा परविर्तन ल्याइसकेको छ। एरो हेडेड ट्रेङ्गलकै लिड गिटारिस्ट दीपविक्रम सिंह भन्छन्, "रक वा मेटललाई राम्ररी बुझ्न खोज्ने हो भने यसको मज्जा पनि बेग्लै छ।" 


अहिले न्वाइज रक, अल्टरनेटिभ रक, हेभी मेटलजस्ता परिमार्जित  स्वादका संगीतहरू पनि अन्डरग्राउन्ड परिवेशमा  नै विकसित भएका हुन्। यी गीत गाउनु निकै कठिन हुनाले पनि यसमा सफल हुने अन्य संगीतमा समेत जम्छन्। सिंह थप्छन्, "हामी स्वयम् रेस्टुराँ वा पवमा हिन्दी र क्लासिकल गीतसमेत गाइरहेका हुन्छौँ।" आधुनिक वा पपमा प्रेमका कुरा बढी रुचाइएझैँ अन्डरग्राउन्ड म्युजिकमा क्रोध, विद्रोह, बदलाका विषयहरू बढी उठ्छन्। अझ पंक संगीतमा त लिरिक्स समेत साहित्यिकभन्दा पनि 'स्ट्रेट फरवार्ड' हुन्छन्। नेपाली पंक ब्यान्ड राईको रसि अहिले प्रवासी नेपाली जगत्मा समेत निकै चर्चित भइसकेको छ, जसले केही समयअघि मात्र केही एसियाली मुलुक र युरोपमा आफ्नो कन्सर्ट टुर गरेको थियो। स्टि्रट फेस्टिभलहरूदेखि लिएर विभिन्न कलेजहरू, भृकुटीमण्डप, फर्पिङ, थानकोट, चोभारजस्ता ठाउँमा विस्तारै अन्डरग्राउन्ड ब्यान्डहरू देखिन थालेका छन्। "अन्डरग्राउन्ड हुनु रहरभन्दा पनि सुनिदिने दर्शक र गीतको सम्मान गर्ने मानिसको अभावले गर्दा हो," द भल्क्रसका भोकलिस्ट दिनेश महर्जन कारण खोल्छन्। 


This appeared in Print at NEPAL magazine dated 14th Aug, 2011.

No comments:

Post a Comment