Thursday, August 18, 2011

प्रवेश ‘युद्ध’

फ्नो उत्तर छान्नुस् । एउटा बेग्लै खाले परीक्षा जुन बजारमा ‘इन्ट्रान्स इग्जाम’ को नाममा चर्चित छ जसमा मात्र पास हुनु वा उच्च अंक नै ल्याउनु ठूलो उपलब्धी हुँदैन । निश्चित सीट सङ्ख्याका लागि दसौं हजार प्रतिस्पर्धीहरु भिड्ने त्यस्ता प्रतिस्पर्धात्मक परीक्षामा सफलताको मुख्य कारण के हुन्छ ? कडा मिहिनेत, लगनशिलता, उच्च आत्मविश्वास वा भाग्य । सबैका भिन्नभिन्न उत्तर होलान् तर यसको एउटै उत्तर पाउनु इन्ट्रान्समा नाम निकाल्नु भन्दा पनि कठिन छ ।

अहिले विज्ञानका विद्यार्थीका लागि एउटा बेग्लै मौसम चलिराखेको छ । धेरैले यसलाई युद्ध मैदान छिर्नुअघिको अन्तिम तयारीको रुपमा लिइराखेका छन् । यो त्यस्तो युद्ध हो जहाँ हजारौंलाई परीक्षामा नमारे आफूले अगाडि सोचेको एउटा बाटो शुरु नहुँदै अन्त्य हुन्छ । सायद त्यसैले पनि यस्तै परिवेशमा बनेको २००९ को बलिउड फिल्म ‘थ्री इडियट्स’ मा प्रोफेसर बिरुशास्त्र बुद्धेले सांकेतिक रुपमा आफ्ना विद्यार्थीहरुलाई भन्छन्, ‘लाइफ बिगिन्स विथ मडर ।’ अर्थात अरुलाई नमारेसम्म आफूले सोचेकोजस्तो एउटा जीवन सम्भव छैन ।

चिकित्सा संकाय (डाक्टर, नर्सिङ, आदि) वा इञ्जिनियरिङ पढ्नका लागि राम्रा कलेजमा नाम निकाल्नु विश्वमा जहाँ पनि एउटा कठिन काम मानिन्छ जुन दक्षिण एसियाली परिवेशमा झनै उच्च छ । नेपालकै परिवेशमा फर्कैं । एकपछि अर्को गर्दै विभिन्न विश्वविद्यालयको प्रवेश परिक्षाको लहर चलिराखेको छ । ‘ज्यान धेरै हल्का भएको छ, सायद आज म घर पुगेर २४ घण्टा सुत्नेछु’ काठमाण्डु विश्वविद्यालयको इञ्जिनियरिङ प्रवेश परीक्षा दिएर फर्कंदै गर्दा भेटिएका ज्ञानेन्द्र आचार्यले लामो सासमा भन्दैथिए, ‘भोलिदेखि फेरी पूल्चोक क्याम्पसको तयारी गर्नु अर्को महाभारत छंदै छ ।’ ज्ञानेन्द्रको अनुहारमा वेग्लै तनाव थियो । उत्तिकै थकित पनि देखिन्थे उनी ।


तर त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्जमा गत बर्ष नाम निकालेका विदुर पण्डित इन्ट्रान्सलाई आत्तिएर भन्दा पनि विवेकले जित्न सकिने परीक्षा सोच्छन् । भन्छन्, ‘धैर्य हुन सिक्नुपर्छ । दिनभरमा १४ घण्टा पढ्नुभन्दा पनि दैनिक २ घण्टा नै पढेपनि त्यो २ घण्टा प्रोडक्टिभ हुन्छ ।’ उनी स्वयं आफूले इन्ट्रान्स नजिकिरहंदाका दिन सम्झन्छन् जतिखेर पनि उनको नियमित गरिराख्ने कामलाई पन्छाएनन् । उनका फेवरेट च्यानलहरु डिस्कवरी, नेसनल जोग्राफिक, एनिमल प्लानेट हेरेरै पनि इन्ट्रान्सको तयारी भइराखेको उनले ठान्थे । पण्डित थप्छन्, ‘जसले मलाई परीक्षामा धेरै सहयोग पुर्‍यायो पनि ।’

उसो त धेरैका आफ्नै खाले तयारी ‘टेक्निक’× हुन्छन् । कोही प्रश्नलाई हल गर्नु भन्दा घोक्नु बढि सहज हुने ठान्छन् र त्यसै गर्छन् पनि । त्यस्ता विद्यार्थीहरुको तर्क हुनेगर्छ, ‘हल गर्न थाल्ने हो भने कहिलेकाहीँ परिक्षा नै सकिन्छ तर उक्त प्रश्नको समाधान भेटिँदैन ।’ तर पूल्चोक क्याम्पसमा मेकानिकल इञ्जिनियरिङका दोस्रो बर्षका विद्यार्थी बिकास रेग्मी त्यसरी सफल हुनेलाई ‘भाग्य बलियो भए मात्रै’ काम लाग्ने सोच्छन् । दिनानुदिन प्रतिस्पर्धात्मक भइराखेको इन्ट्रान्समा अब पूराना प्रश्नहरु दोहोरिने क्रम पहिलेको तुलनामा बिस्तारै घटेको छ । बरु इन्ट्रान्स किताबी दायराबाट केही बाहिर निस्किन खोजेजस्तो पनि देखिन्छ । बिदुर भन्छन्, ‘उत्तर घोकेर त हुँदै हुँदैन । बरु त्यस्ता प्रश्नलाई हल गर्ने आफ्नैखाले ट्रिक बनाउन सकिन्छ जुन इन्ट्रान्समा धेरै विद्यार्थीहरुको एउटा साझा तरिका हुन्छ ।’

बस्तुगत (अब्जेक्टिभ) प्रश्नहरु इन्ट्रान्स परीक्षाको माध्यम हुनेगर्छ । कतिले त्यसको कोर्स बिषयबस्तु नै छाडेर सिधै बस्तुगत तहमै तयारी गरिराखेका हुन्छन् । ‘बिषयगत रुपमा राम्रो नभईकन बस्तुगत परीक्षामा राम्रो गर्न सकिंदैन’, काठमाण्डु विश्वविद्यालयमा मेकानिकल इञ्जिनियरिङका बिद्यार्थी निमेश मिश्रले बताए । तर इन्ट्रान्स त्यस्तो परीक्षा हो जहाँ सबैले आ–आफ्नै तरिका अपनाइराखेका हुन्छन् । निमेश थप्छन्, ‘अब्बर त्यही ठहरिन्छ जो ति सबै तरिकासँग आफूलाई तयार पार्छ ।’

वैजनाश अग्रहरी अहिले आफ्नो इन्ट्रान्स तयारीको दोस्रो बर्षमा भिडिराखेका छन् । पछिल्लो पटकको शिक्षा मन्त्रालयको परीक्षामा मात्रै उनले एकानब्बे प्रतिसत अंक ल्याएका थिए । भन्छन्, ‘गर्नु के, कम्पिटिसन धेरै उच्च भइसकेको छ ।’ परीक्षा हलबाट निस्कंदा उनी त्यती दु:खीत कहिल्यै हुँदैनन् । साथीहरुसँग छलफल गर्दा निकै कमै गल्ती/कमजोरी भेटिन्छ । तर नतिजामा के हुन्छ उनले अझै ठम्याउन सकिराखेका छैनन् । उनको भनाई छ, ‘सायद यही नै इन्ट्रान्सको विशेषता होला ।’

इन्ट्रान्समा नाम निकाल्न आफ्नो कोर्समा राम्रो हुँदैमा मात्र पूर्ण नहुन सक्छ । त्यसभन्दा माथिल्लो तहको अध्ययन गरेपछि बल्ल आफ्नो लेवलको कुरा स्पष्ट बुझिन्छ । भारतिय राजदूतावासको छात्रवृत्तिमा भारतको इण्डियन इञ्चिच्युट अझ टेक्नोलोजीमा इलेक्ट्रोनिक एण्ड कम्युनिकेसन्स अध्ययन गरिराखेका रोहन पौडेलले त्यसै गरे । उनले प्लसटुसँगै बिएस्सी र इञ्जिनियरिङका किताब पनि पढे । थप्छन्, ‘प्लसटु भर्ना हुँदादेखि नै मैले कलेजको परीक्षाभन्दा इन्ट्रान्सलाई नै लक्षित गरेर पढिराखेको हुन्थे जसले मलाई अन्तिम समयमा धेरै सहज बनायो ।’ उसो त उनी आत्तिएर वा रफ्तार लिएर कहिल्यै पढेनन् । कुनै बिषयमा कन्सेप्ट नबस्दासम्म म त्यसलाई छाड्दिंनथें । भन्छन्, ‘म धेरै रात सोचेर मात्रै पनि बसेको छु जसले मलाई दह्रोसँग बिज्ञान र गणितका कन्सेप्ट बसाल्न सिकायो ।’ सायद त्यसैले पनि हुनसक्छ यिनै पौडेलले मेक्सीकोमा सम्पन्न ‘जुनियर फिजिक्स ओलम्पियाड–२०१०’ मा पहिलोपटक नेपालका लागि रजत पदक जिताउन पनि सफल भएका थिए ।

A small part of this piece was appeared in Hello Shukrabar (KANTIPUR) dated 19th Aug, 2011. Click HERE for e-paper view

No comments:

Post a Comment