Thursday, August 25, 2011

अनलाइनमा चम्केका बिद्यार्थी नेता

"राजनीतिक जीवनको जग बसाल्ने विद्यार्थी राजनीतिको पुस्ता कसरी इन्टरनेटसँग हुर्कँदै छ त ?"

तिखेर पछिल्लो अमेरिकी राष्ट्रपतिको निर्वाचनमा बाराक ओबामा फेसबुक र युट्युबलाई  माध्यम बनाएर प्रचारप्रसारमा व्यस्त थिए त्यसबेला अमेरिकाभन्दा सयौं माइल परको नेपालमा भूपेन्द्रजंग शाही, ३०, पनि चुनावी मैदानमै थिए । तर नेपाल विद्यार्थी संघको अधिवेशनबाट उपाध्यक्ष पद जितेका उनको त्यतिखेरसम्म फेसबुक एकाउन्ट भने थिएन । ‘नेपालमै भर्खर–भर्खर शुरु हुँदै थियो’, शाही सम्झन्छन्, ‘ओबामाको इन्टरनेट अभियानबारे मैले पनि त्यसबखत खुबै सुनेको थिए, तर ठ्याक्कै के भइराखेको हो बुझेको थिइन ।’

आफ्नो त्यसबेला रहेको इन्टरनेटबारेको बुझाई सम्झंदा अहिले उनी स्वयं दंग पर्छन् । नेवि संघ विगठन भएर नयाँ अधिवेशनको तयारीमा रहंदा भावी अध्यक्षका महत्वकांक्षी उनी अबको चुनावमा भने ४ बर्ष अघि ओबामाले गरे जसरी फेसबुकलाई आफ्नो प्रचारप्रसारको एउटा प्रमुख माध्यम बनाउँदै छन् । उनले थपे, ‘इन्टरनेटको शक्ति बल्ल राम्ररी बुझ्दैछु ।’ उनको फेसबुकमा मात्र अहिले झण्डै ५ हजार साथीहरु छन् । ५ हजार बढिलाई साथी बनाउन नसकिने हुँदा ६ सयजति रिक्वेस्टहरु त पेन्डिङमा छन् । भन्छन्, ‘छिट्टै फेसबुक गु्रप बनाउँदै छु’, ती गु्रपमा अब झन् बढि सकृय हुँदै आफ्ना विचारहरु उनकै शब्दमा ‘अनलाइन आमसभामा’ पोख्नेछन् । राजनीति गर्ने उनको धारणामा नै पछिल्लो आधा दशकमा धेरै परिवर्तन ल्याइदिएको छ, इन्टरनेट र सामाजिक सञ्जालहरुले । ‘अब मेरो धारणा वा विचार सार्वजनिक गर्न आमसभा वा पत्रकार सम्मेलन नै पर्खेर बस्नुपरेन नि’, उनी झन् बढि टेक्नो फ्रेन्ड्ली देखिए, ‘चुनावको बेला नमस्ते थाप्दै भोट मागेर विद्यार्थीका वास्तविक धारणा बटुल्नु भनेको त्यस्तै हो । बरु फेसबुकमा आएका प्रतिक्रियाहरु म कुल भएर हेर्न सक्छु ।’



उनले त्यसो भनिरहंदा अनेरास्ववियुकी उपाध्यक्ष नवीना लामा छेवैमै थिइन । उनी आफ्नो संगठनभित्र मात्र होइन एक्ट्रीभ फेसबुक प्रयोगकर्ताहरुमाझ बढि नै इन्टरनेट चलाउने व्यक्तिको रुपमा परिचित छिन् । ‘म मल्टी टास्किङ गर्न सिकेकी छु’, २७ बर्षेले लामो हाँसो छाडिन्, ‘घरमा बस्दा मैले ल्यापटप प्राय: खोलिराखेकी नै हुन्छु ।’ काम अरु गरिराखेता पनि उनको संगठन र साथीहरुको सर्कल समेटेको फेसबुक र याहु मेसेन्जर अनलाइन नै राखिएको हुन्छ । त्यहाँ उनले साथीहरुसँग गफगाफ र उनीहरुका जिज्ञासाहरु मेट्छिन् । भन्छिन्, ‘राजनीति गर्ने मान्छे त झनै बढि धेरैजनासँग फ्रिक्वेन्ट टचमा रहनु पर्छ जसका लागि सामाजिक सञ्जालहरु वरदान नै भएका छन् ।’ नवीना यो पुस्ताका त्यस्ता तन्नेरीहरुको प्रतिनिधित्व गर्छिन् जो पुरातनवादी सिस्टममै रहेर पनि आधुनिक प्रविधिलाई साथै लिएर काम गर्नुपर्छ भन्ने मान्यता राख्छिन् । कतिपय अवस्थामा उनी विदेशमा रहंदा समेत देशभित्रका राजनीतिक गतिविधिदेखि लिएर कहिलेकाहीँ आफ्ना संगठनका मिटिङ्गमा त्यतैबाट इन्टरनेटमार्फत मत पोख्छिन् ।

फेसबुकमा त यिनको साथी क्षमता सकिएको उहिल्यै हो । सयौं पेन्डिङ्मा छन् । कतिपय अवस्थामा उनले कार्यक्रम र वैठकका अपडेट्सहरु सामाजिक सञ्जालबाटै दिइराखेकी पनि हुन्छिन् । अनेरास्ववियुले आयोजना गरेको पछिल्लो ‘राष्ट्रिय शैक्षिक सम्मेलन’ मा भइरहेका कार्यक्रमहरुबारे र छलफलमा उठेका कुराहरुलाई उनले निरन्तर फेसबुक मार्फत सार्वजनिक गरिराखेकी थिइन । धेरै अवस्थामा भेट्न नसकेका विद्यार्थीहरु आजकल उनलाई इन्बक्स गर्छन् । र, सक्दो त्यसलाई अनलाईमै सुल्झ्याउन खोज्छिन् नवीना । २०६२/२०६३ को जनआन्दोलन वा विद्यार्थी आन्दोलनका विभिन्न समयमा निकै सकृय भएर लागेकी नविनालाई धेरैले संगठनभित्र भावी अध्यक्षको रुपमा पनि हेर्ने गरेका छन् । यसको जस उनी इन्टरनेटलाई नै दिन्छिन् ।
आजकल बढ्दो साथीहरुको कारण ट्विटरतिर सिफ्ट हुन धेरैले सुझाएका छन् उनलाई ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष जागृत रायमाझी, ३०, अहिले आफ्नो केन्द्रीय कमिटीमा बैठक तथा कार्यक्रमको लागि चिठी पठाउने चलन नै लगभग बन्द भइसकेको बताउँछन् । ‘केन्द्रीय कमिटिमा झण्डै ८० प्रतिसत सदस्यहरुको फेसबुक छ’, रायमाझी भन्छन्, ‘बाँकीलाई टेलिफोन र एसएमएस ।’ जिल्ला तथा इकाई कमिटीहरुसम्म इन्टरनेटबाटै सूचना आदानप्रदान गर्ने उनको योजना भइकन पनि जिल्ला स्तरका सबै विद्यार्थी साथीहरुसँग सहज इन्टरनेट पहुँच नहुनुलाई बाधक देख्छन् । उनका भनाई छ, ‘इन्टरनेट सेवा प्रदायकहरुले विद्यार्थीलाई केन्द्रीत गर्दै केही सस्तो र सुलभ स्किमहरु ल्याउनु पर्छ ।’ उनी नयाँ पुस्ताका राजनीतिक नेतृत्वले इन्टरनेट नेटवर्किङको महत्व अहिले बिस्तारै बुझिराखेको ठान्छन् । भन्छन्, ‘यसले बौद्धिक छलफल हुने सहझ माहोल पनि बनाइराखेको छ ।’ उनको तर्क छ, ‘एक दिनमा भेट्दै हिंड्ने हो भने बढिमा एक दर्जन मानिससँग भेटघाट सम्भव होला, तर म त्यसको तिन गुणा बढिसँग घरमै बसिबसी अझ बढि सहझ माहोलमा कुराकानी गर्न सक्छु ।’ त्यसैले कहिलेकाहीँ उनलाई रियल लाइफ भन्दा भर्चुअल लाइफको भेटघाट प्रभावकारी भएजस्तो लाग्छ ।

देशको राजनीतिक अस्थिरताको आक्रोस बिद्यार्थी नेताहरुको भित्तामै गएर पोखिदिने गर्छन् फेसबुक साथीहरुले । तराई मधेस विद्यार्थी फन्टका अध्यक्ष सुरेश मण्डल, ३०, त्यसैले पनि अहिले सहझै कसैलाई साथी बनाइ हाल्दैनन् । ‘राजनीति गर्नेले यस्ता गाली र ताली त खाइराख्नुपर्छ, तर मधेसको मामिलामा कहिलेकाहीँ कतिले निकै संवेदनशील बिषयमा सस्तो तरिकाले कमेन्ट गर्दा नराम्रो रुप लिन्छ कि भन्ने डर लाग्छ’, उनको भनाई छ, ‘तर संगठनका सकृय कार्यकर्ता र सदस्यहरुका बिच अन्तरक्रिया गर्न यो निकै वरदान सावित भएको छ ।’ उनी फेसबुकसँगै स्काइपको पनि बढि प्रयोग गर्छन् । गतसाल संघियता सम्बन्धी एउटा कार्यक्रमको लागि २ महिना नयाँ दिल्लीमा रहंदा त्यहाँबाट नेपालमा रहेका साथीहरुसँग स्काइपबाटै छलफल र अपडेट्स गर्ने । भन्छन्, ‘त्यसैले आजकल भौतिक उपस्थिति नै चाहिन्छ भन्ने ठूलो कुरा नै रहेन ।’ बेग्लै प्रशंगमा साथीहरु उनलाई बिपत्सना जान सुझाइराखेका छन् तर उनलाई आजकल आफैप्रति विश्वास लाग्दैन– इन्टरनेटबिनाको १० दिन कतै बिताउन सकिएला र भनेर ।

बिद्यार्थी नेतृत्वहरुमार्फत राजनीतिक नेताहरुसम्म कुरा पुगोस् भनेर पनि धेरैले समसामयिक राजनीतिबारेको आफ्नो मत उनीहरुका फेसबुकमा पोख्छन् । उनीहरुको फेसबुक एकाउन्ट हेर्ने हो भने देशको पछिल्लो अवस्थाबारे युवाहरु के सोचिराखेका छन् भन्ने झल्को आउँछ । त्यसैले विद्यार्थी नेताहरु टेक्नो फ्रेन्ड्ली हुनु भनेको उनीहरुको राजनीतिक नेटवर्क विस्तार गर्नु मात्र नभएर आफ्ना कामको प्रतिबिम्ब देख्नु पनि हो ।

This appeared in print at Hello Shukrabar (KANTIPUR) dated 26 Aug, 2011. Click here for e-paper view.

No comments:

Post a Comment