Wednesday, August 31, 2011

छुट्टीमा कालीकोट मिसन


काठमाडौँ कलेज अफ म्यानेजमेन्टमा दोस्रो सेमेस्टर सकेका विद्यार्थीका लागि परीक्षा सकिँदाको झन्डै महिना दिन लामो बिदा झनै बेफुर्सदिलो बन्यो। उनीहरूको बेफुर्सदी एउटा मिसन सम्पन्न गर्नका लागि थियो। मिसनको नाम थियो, कसम (कालीकोट सेनेटरी म्यानेजमेन्ट)।

उनीहरूले कालीकोट जिल्लाको छाप्रे-१, बालीगाउँ पुगी फरक-फरक ठाउँमा पाँचवटा चर्पी बनाए, जसका लागि काठमाडौँमा विभिन्न व्यापारकि र गैरसरकारी संस्थासँग सहयोगस्वरूप उठाएको रकममध्येबाट १ लाख ८५ हजार रुपियाँ खर्च भएको थियो। केही स्थानीय कामदारबाहेक टोलीमा गएका १० जना विद्यार्थी नै चर्पी निर्माणको काममा खटिएका थिए। त्यहाँ उनीहरूले मान्म-जुम्ला सडक खण्डको मध्यविन्दु मडपल्लामा महिला तथा पुरुषका लागि छुट्टाछुट्टै सार्वजनिक शौचालय बनाए भने शौचालय नै नभएको तल्लो बालीगाउँका १० परिवारका लागि तीनवटा। उनीहरूले काठमाडौँबाट उठाएर लगेको १ सय २० थान हातधुने साबुन पनि वितरण गरे।

धेरैका लागि काठमाडौँबाहिरको उक्त भ्रमण पहिलो थियो। तर, उनीहरू देशकै सबैभन्दा दुर्गम भेगमा पुगेका थिए। घर छाए, गिट्टी कुटे, सिमेन्टको मिस्कट बनाए। "हाम्रो मिसन त सफल भयो नै, यात्रा पनि निकै साहसिक रह्यो," टोली नेता कौशल सापकोटा बताउँछन्। र्फकने बेलामा गाउँलेले उनीहरूलाई सम्मान गरी हर्षका आँसुले बिदाइ गरे।

कौशलका अनुसार यो मिसन 'सिक्ने' र 'सिकाउने' दुईवटै उद्देश्यबाट प्रेरति थियो। बीबीएका विद्यार्थी भएका कारण पनि उनीहरूका लागि यो व्यवस्थापन शैली सिक्ने अभ्यास पनि थियो भने बर्सेनि झाडापखालाको सिकार बन्ने कर्णालीको एउटा भेगमा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउँदै स्वस्थ जीवनशैली सिकाउने पनि। "अब बर्सेनि यस कामलाई निरन्तरता दिनेछौँ," कौशल थप्छन्, "जसका लागि यसपटक बचेको केही रकम कसम कोषमा राखेका छौँ।"



This appeared in print at NEPAL magazine 

No comments:

Post a Comment