Thursday, September 1, 2011

छायाँमा ‘मिस्टरहरु’


शहरमा ‘ट्यालेन्स सो’ को लहर छ । एक पछि अर्को गर्दै विभिन्न टाइटल र सबटाइटल जोड्दै यस्ता सौन्दर्य (आयोजकहरु सौन्दर्य र बौद्धिकताको संयोजन भन्दछन्) प्रतिस्पर्धाहरु संचालन भइरहन्छन् । तर ‘पुरुष’ सम्बन्धी प्रतिस्पर्धाहरु त्यतिधेरै चर्चामा आउँदैनन् ‘महिला’ सम्बन्धी प्रतिस्पर्धाहरुको तुलनामा । महिनादिन अघिदेखि मिस ‘ट्यालेन्ट सो’ का तयारीदेखि उनीहरुबारे अनेकथरी गसिपहरु समाचार बन्छन् तर खोई त ‘मिस्टर’बारे कसैको चासो ? प्रतिस्पर्धाको फाइनलको दिन समेत पुरुषसँग सम्बन्धित ट्यालेन्ट सो कहिलेकाहीँ सानो सर्कलमै हल्ला भएर सकिन्छ ।

हामीकहाँ अझै ग्यामल कल्चरको राम्रो पूर्वाधार नै तयार नहुनुलाई यसको मुख्य कारण देख्छन् ‘मिस्टर नेपाल’ आयोजना गर्ने एक्सपोज नेपाल डटकमका निर्देशक दिनेश शाही, २९ । भन्छन्, ‘यहाँ ग्यामलर भनेकै केटीमात्र हो भन्ने संकुचित सोच छ ।’ त्यसो त समाजशास्त्रीहरुको तर्क भने बेग्लै हुनेगर्छ । समाज कुन धरातलमा उभिएको छ र त्यहाँ कस्ता खालका संस्कारहरु व्याप्त छन् भन्ने कुराले महिला/पुरुषको तुलना हुन्छ र प्राथमिकताहरु त्यसैगरी निर्धारण हुन पुग्छन् । दिनेश त्यसै सोच्छन् । ‘सायद हाम्रो समाजमा महिलाहरु कम स्वतन्त्र छन्, त्यसैले उनीहरु थोरै मात्र पनि बाहिरी ग्यामर दुनियाँसँग एक्सपोज भए भने त्यसले यहाँ ठूलै चासोको रुप लिनपुग्छ’, उनको भनाई छ, ‘पुरुषप्रधान देशमा यस्ता कुरामा त्यसैले पुरुषहरु नै मर्कामा परिराखेका हुन्छन् ।’

तर ‘मिस्टर नेपाल– २००२’ तथा अभिनेता जीवन लुइटेल भने पुरुषको तुलनामा महिलाको चर्चा बढि हुनु विश्वव्यापी ट्रेण्ड नै देख्छन् । भन्छन्, ‘सायद यो मानविय स्वभाव नै हाृेला सुन्दरताको मामिलामा केटीहरुलाई नै धेरैथोक सम्झने ।’ जीवनलाई लाग्छ एश्वर्या राय वा एञ्जेलिना जोलीको जति चर्चा हुन्छ त्यति त्यत्तिकै हाइटको अर्को सीनेकर्मीको हुनै सक्दैन । उनी हाँस्छन्, ‘खै किन हो केटाहरु ग्यामर नै हुन सक्दैनन् भन्ने सोच्छन् कि ?’

समस्याको चूरो बजारमा चर्चा नपाउनु मात्र छैन । प्रायोजकहरु समेत पुरुष ट्यालेन्ट सो हरुमा हात हाल्न सितिमिति खोज्दैनन् जुन कुरा ‘लेडिज सो’ मा हुन्थ्यो भने प्रायोजकहरु नै आयोजकसम्म आइपुग्छन् । जीवनको तर्क छ, ‘नेपालमा मात्र होइन विश्वको जुनसुकै राष्ट्रको विज्ञापन उद्योगमा महिलाकै डिमान्ड बढ्ता गरिन्छ । उस्तै अवस्थामा मात्र पुरुष मोडल खोज्छन् ।’

यस्ता ‘ट्यालेन्ट सो’ मा युवाहरु सहभाागि हुनुका पछाडिको कारण आफ्नो भावी करिअर निर्माणका लागि ‘पब्लिक प्याटफर्म’ निर्माण गर्ने हुन्छ जसले उनीहरुलाई ग्यामलर वा अन्य फिल्मडै करिअर बनाउँदा प्लस प्वाइन्टको रुपमा काम गरोस् । मिस नेपालजस्ता ‘लेडिज सो’ लाई हेर्ने हो भने त्यसले सिर्जना गर्ने चर्चा परिचर्चाको आफ्नै अर्थ छ पनि, पछिल्ला अनुभवहरुलाई हेर्दा । फिल्म, म्युजिक, सञ्चार, व्यावसायजस्ता अनेकन क्षेत्रमा उनीहरुले पाउने ‘मिस’ जडित टाइटलले ठूलो महत्व जोडिराखेको हुन्छ । तर पुरुषतर्फको मिस नेपालकै बरोबरीजसो हैसियत राख्ने ‘मिस्टर नेपाल’ कहिलेकाहीं निरन्तर पनि हुन नसक्ने अवस्थामा पुग्छ । सन् २००१ देखि ६ बर्ष निरन्तर भएको मिस्टर नेपाल पुन: ५ बर्ष रोकिएर पछिल्लोपटक यहि २०११ म सम्पन्न हुन पुगेको थियो । जसबिचमा आयोजक मात्र ३ वटा फेरिइसकेका छन् मिस्टर नेपाल संचालन गर्नका निम्ति । पछिल्ला मिस्टर नेपालहरुमा जीवन लुईंटेल, रोहित थेबेजस्ता केहीलाई अपवाद मान्ने हो भने धेरै नेपालमा सम्भावना नदेखेर अहिले विदेशमा छन् । दिनेश लामो सास फेर्दै थप्छन्, ‘मिस्टर सो संचालन गर्नु गाह्रो त गाह्रो छ ।’



मनोविमर्शकर्ता डा. नन्दिता शर्मा समेत पुरुषहरुको चर्चा कम हुनुलाई हाम्रो समाज र प्राकृतिक दुवै कारणबाट स्वभाविक देख्छिन् । भन्छिन्, ‘सौन्दर्यको पर्यायको रुपमा महिलाहरुलाई लिने त हाम्रो प्राकृतिक स्वभाव नै हो ।’ त्यसका अलावा उनी पनि हाम्रो ‘ग्यामर उद्योग’ मा महिलाकै हालीमुहाली बढ्ता भइराखेको हुँदा उनीहरु चर्चामा आउने ठान्छिन् ।

मिस्टरहरुको चर्चा बजारमा कमै हुने विश्वव्यापी ट्ेरन्ड नै भए पनि नेपालमा आयोजकहरुको कमजोर हैसियतले पनि त्यसको लागि थप काम गरेको हो भन्ने लाग्छ जीवनलाई । यद्यपि २००२ मा मिस्टर नेपाल हुँदाको अवस्था भने अहिलेकोजस्तो चिन्ताजनक थिएन जस्तो लाग्छ उनलाई । भन्छन्, ‘मलाई सीनेमामा भित्र्याउन त्यही टाइटलको भूमिका बढि थियो ।’ ‘सानो संसार’मा आफ्नो अभिनय खुबी देखाएयता अहिलेसम्म उनी फिल्म उद्योगमा राम्रैसँग जमेका छन् । तर मिडिया कभरेज कम हुन्छ भन्दैमा आफै निराश हुन भने नहुने सुझाव दिन्छन् नयाँ मिस्टर ट्यालेन्टहरुलाई उनी । भन्छन्, ‘टाइटल मात्र भन्दा पनि आफू व्यक्तिगत कतिसम्म लगनशील छ भन्नेले महत्व राख्छ । हुँदै नहुने त होइन तर केटीहरु जस्तो सहज नहुने मात्र हो ।’ त्यसका अलावा मिस्टर ट्यालेन्टहरुलाई पनि महिलाहरुजसरी बढि एक्पोजरको व्यवस्था हुन सक्यो भने महत्व र चर्चामा केही बढोत्तरी हुन सक्ने जीवनको तर्क छ ।

तर ‘मिस्टर एण्ड मिस राजधानी’की सहायक निर्देशक दर्शन शाही भने अब पुरुषलाई नै लक्षित गरेर यस्ता सो आयोजना गर्दा पनि महिलाहरुलाई एउटा पाटोमा राख्नुपर्ने आवश्यकता देख्छिन् जसले गर्दा मिस्टर सो हरुमा आकर्षण केही बढ्ता हुन सक्छ । उनीहरुले आयोजना गर्ने ‘मिस्टर एण्ड मिस राजधानी’ त्यसैको एउटा उदहारण हो । उनको भनाई छ, ‘बरु यसरी महिला पुरुष दुवैलाई समेटेर संचालन गरिएका कार्यक्रम मात्र पुरुषहरुका भन्दा बढि चर्चित हुन्छन् ।’

अहिले मिस नेपाल, मिस टिन, मिस कलेज भएझैं पुरुषतर्फ पनि मिस्टर नेपाल, मिस्टर ह्याण्डसम, मिस्टर कलेजजस्ता थुप्रै ट्यालेन्ट सो हरु छन् । ‘मिस्टर एण्ड मिस काठमाण्डु’ कि सहायक निर्देशक चाँदनी लामिछाने अहिले धेरैले विभिन्न नाममा सजिलै ट्यालेन्ट सो हरु गरिँदिदा समस्या झन् विस्वसनियता कम हुने ठान्छिन् । भन्छिन्, ‘अब यस्ता प्रतिस्पर्धाहरु संचालन गर्न निस्चित कडा मापदण्ड तयार पारिनु पर्छ । नत्र दिनानुदिन झन् यस्ता ट्यालेन्ट सो हरुको स्तर खस्किन सक्छ ।’

This appeared in print at Hello Shukrabar (KANTIPUR) dated 2nd of Sep, 2011. Click here for e-paper view

No comments:

Post a Comment