Tuesday, September 6, 2011

नशापछि ब्यूँझिएको जीवन


कुनै बेला उनी बडीबिल्डिङ्का निकै सोखिन थिए। पढाइमा भने साधारण। दैनिक छ घन्टाभन्दा बढीको शारीरकि अभ्यास। ३० वर्षअघि त्यही शारीरकि बनोट र तन्दुरुस्तीका कारण साधुराम खड्गी, ४६, वीरगन्जमा सबैका आकर्षण थिए। पछि उनै खड्गी वीरगन्जमा लागूऔषध दुव्र्यसनीका 'गड फादर'झैँ भए। जीवनका २५ वर्ष त्यसैगरी बिताएका उनको जीवनको रंग अहिले फेरिएको छ। उनी अहिले लागूपदार्थविरुद्धको अभियानकर्ताका रूपमा छन्, स्थानीय सामाजिक संस्था 'सानो पाइला'मार्फत।

उतिबेला कहीँ झैझगडा पर्दा साधुरामको उपस्थिति अनिवार्यजस्तै हुन्थ्यो। उनी आफ्नो शक्ति प्रदर्शन गर्न शारीरकि आक्रमण गर्थे। आफूजस्ता पाँच जनाको ग्याङ् थियो उनको। उनी यतिसम्म फुर्तिला थिए कि एउटा राँगा काटेर १५ मिनेटमा मासु मिलाउनेसम्मको काम एक्लै सक्थे। यद्यपि, फरकफरक दुई घटनापछि उनको जीवनले एउटा बेग्लै मोड पायो। उनको ग्याङ्कै एक जना साथीले ड्रग्स ओसारपसार गर्ने काम सुरु गरे। पैसाको अभाव हुँदा पनि साथीहरूले तिरििदनाले ड्रग्स पाउनु ठूलो कुरा हुँदैनथ्यो साधुरामका निम्ति। उनले 'ब्राउन सुगर' लिने क्रम बढ्दै गयो। पैसा जम्मा गरेर पठाएपछि कुरअिरमार्फत काठमाडौँबाट ब्राउनसुगर आउँथ्यो। पछि नजिकैको भारतीय बजार रक्सौलमै ब्राउन सुगर पाइन थाल्यो, जसले उनलाई झन् सजिलो भयो। उनलाई पछ्याउने साथीहरूले पनि ड्रग्सको प्रयोग गर्न सुरु गरे। "जति बढी प्रयोग गर्ने साथीहरू हुन्थे, वातावरण त्यति सहज हुन्थ्यो," उनी सम्झन्छन्, "धेरैपटक आफूलाई सम्हाल्न नसकी रातमा सीमापार िपुगेर ड्रग्सको सेवन गर्थें।"

उनको सात जनाको ग्याङ्मा तीन जनाले ड्रग्सको उच्च मात्राका कारण ज्यान गुमाए। उनलाई त्यसबेलादेखि नै लाग्न थालेको थियो, अब ड्रग्स छाड्नुपर्छ भन्ने। उनी स्वयंले त्यसक्रममा कति पैसा उडाए, त्यसको लेखाजोखा छैन। श्रीमतीको सात लाख बराबरको गरगहनासमेत बेचेर ड्रग्समै लगाए। ड्रग्स लिने मात्र नभई सिरन्िजको प्रयोगसम्म गर्न सुरु गरसिकेका थिए उनले।
साथीहरूको मृत्युपछि नशाको लत छाड्ने भन्दै पोखरास्थित 'नौलो घुम्ती' नामक पुन:स्थापना केन्द्र पुगे। ड्रग्सको कडा अम्मली भइसकेका उनलाई त्यति सजिलो थिएन। सम्झन्छन्, "हड्डीमा कीरा छिरेझैँ लाग्ने, अरूका कुरा सुन्न दिक्क लाग्ने, एक्लै बस्न मन लाग्ने, रातभर सुत्न नसक्ने हुन्थ्यो।" उनले छाड्ने क्रममा “पेनकिलर” को प्रयोग गर्न थाले जसले ड्रग्सबाट केही मुक्ति दिए पनि अन्तत: पेनकिलरको लत बसाल्यो । तर उनी यसबखत पूर्ण रुपबाट लागुपदार्थ छाड्न चहान्थे । नारायणी उपक्षेत्रिय अस्पतालको छेवैमा केही स्थानिय युवा कार्यकर्ताहरुले निरन्तर निगरानी गर्ने गरी उनले ३ महिना बिना ड्रग्स काटे । उनी सडकछेउमै सुते, त्यहीँ खाना खाए । कमजोरीले गल्दा वा छटपटाउँदा पनि उनले पुन: ड्रग्स लिएनन् । “कि छाडेर आउँछु, कि त मरेर आउँछु भनेर निस्केको थिएँ”, सम्झन्छन्, “मैले छाड्न सके पनि वा नसकेर मरिहाले पनि समाजको लागि एउटा पाठ होस् भन्ने थियो ।” तर, हिजोआज उनलाई लाग्छ, त्यसबेला लत छाड्न नसक्नुमा पहिले आफ्नो मनमा 'सकिन्छ' भन्ने आत्मविश्वास पूर्ण रूपमा नहुनु थियो। अन्तत: उनले लागूपदार्थको कुलतबाट मुक्ति पाइछाडे।

उनी पाँच वर्षयता लागूपदार्थविरुद्ध परामर्शदाता तथा अभियानकर्ताका रूपमा क्रियाशील छन्। लागूपदार्थको राजधानीका रूपमा बदनाम हुँदै गरेको पर्सा जिल्लाको पहिचानमा सुधार ल्याउनु उनको अभियानको अर्थ हो। भन्छन्, "सरकार र गैरसरकारी संस्थाले दीर्घकालीन नीति तयार गर्नुपर्छ, न कि तत्काल कसैलाई देखाउने खालको मात्र।" त्यसबाहेक युवा पुस्तामा उच्च महत्त्वाकांक्षा तर कम मिहिनेतका कारण निराशा बढ्दै गइरहेको उनको ठम्याइ छ। उनका अनुसार त्यही निराशाका कारण ड्रग्सको प्रयोग बढी भएको हो। भन्छन्, "हाम्रो शिक्षामै सुधार ल्याउनुपर्छ, त्यसबाहेक कानुनी निगरानीसमेत बढाउनुपर्छ।"

उनकै पहलमा अहिलेसम्म ४५ जना दुव्र्यसनी कुलतको दलदलबाट मुक्त भइसकेका छन्। युवा जमघट हुने ठाउँमा उनी आफ्ना अनुभव बाँड्दै उनीहरूमाझ सचेतना जगाइरहेका भेटिन्छन्। एक अध्ययन अनुसार अहिले वीरगन्जमा मात्र सुईबाट नशा लिने व्यक्तिहरू १ हजार १ सयभन्दा बढी छन्। त्यस्ताहरूमाझ कसरी पुग्ने भन्ने स्थानीय सरकारी तथा गैरसरकारी संस्थाहरूका नीति तथा कार्यक्रममा खड्गीको भूमिका खोजिन्छ अचेल।

अहिले पनि सुईको अत्यधिक प्रयोगका कारण उनका शरीरमा कहीँकतै नसाहरू देखिँदैनन्। उनलाई कहिलेकाहीँ कमजोरी पनि महसुस हुन्छ। नसा नदेखिएकै कारण रगतको आवश्यकता पर्ने गरी उनको उपचार गर्नुपरेमा अब असम्भवप्राय: छ। भन्छन्, "मैले बाँकी जीवन अरूका लागि बाँच्न चाहेको छु।" हिजोआज उनी दिनभर आफ्नो परामर्श केन्द्र, अस्पताल र प्रहरीहरूमाझ ओहरदोहोर गररिहेका देखिन्छन्।

This appeared in Print at 'Jeevan ko Rang' column of NEPAL magazine, Sep 11, 2011 issue




No comments:

Post a Comment