Tuesday, September 6, 2011

अब्बल अध्ययन


विश्वका शीर्ष कलेजमा पढ्ने नेपालीहरुको कथा

Shambhubabu Koirala, MIT
“लण्डनमा मेरो होस्टेलबाट कलेजसम्म पुग्नको लागि स्कुल गाडि पकड्नु पथ्र्यो । सामान्य हिंडाइले म १४ मिनेटनमा उक्त गाडि पकड्न सक्थें । तर जब गाडि आउन ७ मिनेट बाँकी रहन्थ्यो, तब मात्र म होस्टलबाट हिँड्थे । गाडि छुट्न नदिनको लागि मैले आफ्नो गतिलाई दोब्बर पार्नु पथ्र्यो । त्यसो गर्दा पनि मैले आफ्नो २ बर्षे पढाईमा कहिल्यै कक्षाहरु छाड्नु परेन । त्यही ७ मिनेटको समय नै मैले रमाइलोको लागि तयार पारेको एउटा समय थियो । गाडि छुट्न नदिनको लागि दुर्गुने उक्त समयमा  सडकमा देखिने व्यक्तिहरु, गाडिका आवाजहरु, चराचुरुंगीका स्वरहरु र मेरो शरीरमा स्पर्स गरेर जाने हावाहरुले मलाई निकै आनन्द दिन्थ्यो ।” शम्भुबाबु कोइराला, २१, को यही भाव समेटिएको “एप्लिकेसन एसे” ले उनलाई विश्वका प्राविधिक विद्यार्थीहरुको ड्रिम कलेज म्यासाच्युचेट इञ्स्चिच्युच अफ टेक्नोलोजी     (एमआईटी) मा भर्ना दिलायो । “तिमीले रमाइलोको लागि गर्ने कुनै एउटा काम उल्लेख गर ?” भन्ने प्रश्नको उत्तरमा उनले उक्त निबन्ध लेखेका थिए ।

Roshan Sharma, Williams 
त्यसैले अहिले उही सोलुखुम्बुको २१ बर्षे ठिटो एमआईटीमा छन् । स्नातक तहमा एमआईटीमा अहिले ४ जना नेपाली विद्यार्थीहरु मात्र छन् । युएस न्युजले बर्षेनी निकाल्ने विश्वका उत्कष्ठ कलेजहरुको रेङ्किङमा यसपटक एमआईटी पांच नम्बरमा छ भने इञ्जिनियरिङ तथा आइटी कलेजको सूचिमा एक नम्बरमा । धेरैपटक समग्र मुल्यांकनमा पहिलो नम्बरमा पनि परिसकेको एमआईटीको लागि कहिलेकाहीँ रेङ्किङमा केही तलमाथि पर्दैमा खासै ठूलो असर गर्दैन । शम्भुबाबु भन्छन्, “म एमआईटी के हो भनेर प्रस्ट्याउनै सक्दिन । यो सबथोक हो ।” उनको भनाई आफैमा एमआईटीको विशेषता झल्काउने एउटा प्रयाप्त आधार थियो । पूर्व संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नान, एपोलो ११ का अन्तरिक्षयात्री बज एल्ड्रीन, अमेरिकी बैंक ‘फेडरल रिजर्भ’ का अध्यक्ष बेन बर्नाकीजस्ता कयौं चर्चित एवं प्रभावशाली व्यक्तिहरु जन्माइसकेको एमआईटी कतिसम्म अगाडि छ भन्ने जान्न २००१ को नोबेल पुरस्कारलाई आधार बनाउँदा  पनि हुन्छ, जहाँ ५ विधामा ८ जना एमआईटीसबद्ध व्यक्तिहरुले पुरस्कार हात पारेका थिए ।

Kiran Rana, Stanford 
के छ त्यस्तो एमआईटीमा ? शम्भुले कारणका फहरिस्त सुनाए, “सबैखाले विचारको कदर, प्रयाप्त रिसर्च र सिर्जनशील विद्यार्थीको जमघट ।” उनले भनेको तेस्रो कारणबाटै शुरु गरौं । तर को कति सिर्जनशील भनेर नाप्ने मापदण्ड के त ? “अफ्कोर्स एप्लीकेसन्स एसेज”, उनले थपे, “एमआईटीले चाहेको भए स्याट (गणित र अंग्रेजी समेटिएको एउटा परीक्षा जसकै आधारमा धेरै विश्वविद्यालले छात्रवृत्ति दिन्छन्) मा शतप्रतिसत अंक ल्याएकालाई मात्र पनि लिन सक्थ्यो तर उसले त्यो भन्दा बढि सिर्जनशील विद्यार्थी खोजिराखेको हुन्छ ।” निवेदकहरुको निबन्धमार्फत उसले जीवन र आफ्नो करिअरलाई कसरी लिइराखेको छ भन्ने जान्न खोज्छ । र, विद्यार्थीले भर्ना पाउने सबैभन्दा बलियो आधार पनि त्यही नै हो । त्यसैले एमआईटीजस्ता राम्रो कलेजमा भर्ना पाउनु पछाडिको एउटा प्रमुख कारण “एप्लिकेसन्स आर्ट” नै हो जस्तो लाग्छ उनलाई ।

उसो त बुढानिलकण्ठ स्कुल, काठमाडौंबाट एसएलसी सकेपछि उनी प्लसटु सरहको अन्तर्राष्ट्रिय ब्याक्यालोरियट (आईबि) पढ्न छात्रवृत्तिमै लण्डन पुगेका थिए । त्यहाँबाटै उनको लागि एमआईटी सपना शुरु भएको थियो । आईबि सक्नुअघि एउटा ४ हजार शब्दमा ‘एक्टेन्डेड एसे’ (थेसिसजस्तो) लेखनुपर्छ जतिखेर उनले नेपालको यार्सागुम्बाबारे अध्ययन गरेका थिए । त्यसबारे थप रिसर्चका उनले राम्रो वातावरण हुने कलेजको खोजीमा थिए । उनको भाग्य बलियो रहेछ । अन्तत: बार्षिक ६० हजार डलरको छात्रवृत्तिमा एमआईटी नै जुर्‍यो उनको लागि ।



उता पोखराका रोशन शर्मा अहिले अमेरिकाकै विलियम्स कलेजमा छन जहाँ उनले बार्षिक ५५ हजार अमेरिकी डलर बराबरको छात्रवृत्ति पाएर भौतिकशास्त्र र गणितमा स्नातक गरिराखेका छन् । फोब्र्सले निकालेको स्नातक कार्यक्रमका लागि अमेरिकाको पहिलो नम्बरमा पर्ने कलेज हो विलियम्स । रोशन भन्छन्, “मलाई त्यहाँको पढाउने तरिका नै निकै मन परेको थियो जहाँ प्रत्येक हप्ता प्रोफेसरले २–२ जना विद्यार्थीहरुलाई राखेर अध्ययन/अनुसन्धानको लागि समय दिन्छन् ।” त्यसैले उनले नेपालमा ए–लेवलको दोस्रो बर्ष पढ्दा–पढ्दै भर्ना प्रक्रिया अगाडि बढाएका थिए । र, एउटा मात्र कजेज एप्लाई गर्दा पनि उनको नाम निस्कियो जुन कमैको हुनेगर्छ । विलियम्सको यस पटकको निबन्धमा सोधिएको प्रश्न यस्तो थियो, “आफ्नो कोठाको झ्याबाट बाहिर हेरेर कल्पना गर कि तिमीले बाहिर देखिरहेको दृश्यले तिम्रो जीवनमा कस्तो प्रभाव पारेको थियो ?” २० बर्षे पोख्रेलीले लेखेका थिए, “मैले अहिले आफ्नो कोठाको झ्याबाट बगिराखेको नदिलाई देखेको छु जसले मलाई निरन्तर अगाडि मात्र बढ्न प्रेरित गरिरहन्छ ।”

Shrochis Karki, Oxford 
प्रश्न उठ्छ आखिर राम्रा कलेजले किन बिद्यार्थीको परीक्षाका बिषयबस्तुलाई भन्दा पनि उनीहरुले लेख्ने निबन्धलाई भर्ना दिनको लागि बढ्ता आधार बनाउँछ ? रोशन भन्छन्, “उनीहरुले राम्ररी बुझेका छन् परीक्षामा उच्च अंक ल्याउने मात्र राम्रा विद्यार्थी हुँदैनन् भन्ने ।” तर त्यसको मतलव परीक्षाका ग्रेडलाई मतलव नै गरिँदैन भन्ने चाहीँ अवश्य होइन । तर पछिल्ला परीक्षाका अंक भन्दा पनि उसभित्र रहेको सिर्जनशील पक्षले त्यहाँ बढ्ता महत्व राख्छ । हार्वड विश्वविद्यालयबाट यसैसाल सार्वजनिक प्रशासनमा स्नातकोत्तर सकेका पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल भन्छन्, “विद्यार्थीको क्षमता के मा छ, उसले पछिल्ला दिनमा कसरी अगाडि बढ्यो र भोलिका दिनमा के गर्न खोज्दैछ भन्ने पक्ष नै कलेजहरुले विद्यार्थी छान्ने प्रमुख मापक तत्वहरु हुन् ।” र, तिनै कुराहरुको मुल्यांकन विद्यार्थीका निबन्ध र उसका शिक्षकहरुले गर्ने सिफारिस पत्रहरुमा खोज्ने उनी बताउँछन् । त्यहाँ अरुलाई निबन्ध लेख्न लगाएर वा आफ्नो प्रशंसा मात्र भएको शिक्षकहरुको सिफारिस पत्र बनाएर पठाउँदा झन् बढि विद्यार्थी छानिने सम्भावना कम हुन्छ । पोखरेल थप्छन्, “त्यहाँ विभिन्न एक्सपर्टस र मनोविमर्शकर्ताहरुले विद्यार्थीको आन्तरिक पक्षलाई चौतर्फी र सुश्म ढंगबाट हेर्ने हुँदा विश्वविद्यालयलाई झुक्याउने सम्भावना निकै कम हुन्छ । र, अरुलाई लेखाएको निबन्धमा विद्यार्थीको आत्मा बोल्न सक्दैन पनि ।” युएस न्युजको सूचिमा अहिले हार्वड विश्वको दोस्रो नम्बरको विश्वविद्यालयमा पर्छ । हार्वड ग्रेजुयेट पोखरेका अनुभवमा यस्ता चर्चित कलेज छिर्न त्यसैले पनि निकै गाह्रो काम मानिन्छ । भन्छन्, “छिरेपछि कलेज वा विश्वविद्यालय स्वयंले विद्यार्थीको स्वामित्व लिन्छ र आफ्नो ब्राण्ड वा उत्पादन बजारमा जाँदा नराम्रो असर नपरोस भनेर पनि सोही अनुसार विद्यार्थीलाई प्रयाप्त सहयोग पुर्‍याउँछ ।”

Bikash Parajuli, Akron

नेपालमै डाँफे बिमान बनाएर ख्याती कमाएका बिकास पराजुली, २५, अहिले अमेरिकाको अक्रन विश्वविद्यालयमा छन् जहाँ उनले मेकानिकल इञ्जिनियरिङमा पिएचडी गरिराखेका छन् । अमेरिकाको तिब्र गतिमा उन्नत्ति गरिराखेको कलेजको सूचिमा ५ नम्बरमा पर्ने उक्त कलेज उनले नेपालमा सम्पन्न गरेको विमान निर्माण प्रोजेक्टकै कारण पनि केही सहज रुपमा पाएका हुन् । “नेपालमा राम्रा विद्यार्थीहरु प्रशस्त छन् तर पढाउने तरिका राम्रो छैन । हामी अझै व्यावहारिक शिक्षा अंगाल्न सकिराखेका छैनौं”, अनलाईनवार्तामा उनी गुनासो पोख्छन, “किताबका भारी बोकेर दिनहूँ कलेज जाँदैमा र शिक्षकले सधै एउटै तरिकाले पढाउँदैमा त्यसले उत्कृष्ठ नजिता दिनै सक्दैन ।” विकास विद्यार्थीझैं शिक्षकले समेत नयाँ–नयाँ बिषयबस्तुसँग अपडेट्स हुन आवश्यक देख्छन् नेपालमा । त्यसो त उनी स्वयं ८ महिना अघिमात्र त्यहाँ पुगेका हुन् । नेपाली विद्यार्थीहरु अन्तर्राष्ट्रिय स्तरको कलेजमा पढ्दा कत्तिको असहजता महसुस गर्छन् भन्ने प्रश्नमा उनी भन्छन्, “शुरुमा पिकअप लिन मात्र केही असहज हुने हो । राम्रा कलेजले विद्यार्थीका असहजतालाई सुल्झ्याउने तरिका आफै सिकाउँछन् । उनको एउटा त्यस्तै रोचक अनुभव छ । शुरुमा त्यहाँको एक रसियन प्रोफेसरले उनलाई कक्षामा अप्ठ्यारो महसुस गरेको देखेर बिषय ड्रप गर्न सुझाव दिए । तर विकासले पढ्ने नै इच्छा देखाएपछि उसले उसैगरी सहयोग पुर्‍याए पनि  । अन्तत: उनले त्यो बिषयमा समेत उच्च अंक ल्याएर टपे ।
Radesh Pant, California 

किरण राना, २०, ले पनि शम्भुझैं लण्डनबाट आईबि सकेपछि १५ वटा त्यस्ता विश्वविद्यालयमा भर्नाका लागि निवेदन दिएका थिए । १४ वटाले उनलाई भर्ना दिएनन् यद्यपि उनको त्यसमा कुनै दुखेसो रहेन । कारण आफूले सोचेभन्दा राम्रो कलेज ‘स्ट्यानफोर्ड’ उनको पोल्टामा पर्‍यो । यसपटक स्ट्यानफोर्डमा विश्वभरबाट झण्डै ४० हजार एप्लिकेसन्स परेको थियो जुन हार्वडको भन्दा पनि बढ्ता थियो । त्यहा उनी बार्षिक ६५ हजार अमेरिकी डलर बराबरको छात्रवृत्तिमा पढ्नका लागि अबको केही हप्तामा त्यसतर्फ हान्निदैछन् । उनले स्याटमा ल्याएको अंक पनि सामान्य अवस्थामा खासै धेरै होइन । २४०० पूर्णांकमा उनको १९५० मात्र आएको थियो । तर उनी स्वयं आफ्नो त्यही निबन्धका भरमा त्यहाा छानिएको हुनसक्ने ठान्छन् । आजकल उनलाई सबैले स्ट्यानफोर्ड जान्दैछु भन्दा पत्याउन गाह्रो मान्छन । उनले मन्द मुस्कानमा भने, “चार/पााच पटकसम्म हो र भन्दै सोध्छन् ।”

Sashin Joshi
श्रोशिष कार्कीको भाग्यमा भने झण्डै हजार बर्ष लामो इतिहास बोकेको अक्सफोर्ड विश्वविद्यालय परेको छ । युएसन्यूजकै अनुसार यस बर्ष विश्वको छैठौं नम्बरमा परेको अक्फोर्डमा विश्वभरका झण्डै १४० मुलुकबाट विद्यार्थीहरु पढिराखेका हुन्छन् । कार्की भन्छन्, “सायद यहााको उत्कृष्ठताको कारण नै त्यही विविधता पनि हो जहाा विश्वका विभिन्न परिवेशमा रहेर अध्ययन र विश्लेषण गरिन्छ ।” अन्तर्राष्ट्रिय विकासमा पिएचडी गर्दै गरेका उनको कक्षामा मात्रै हेर्ने हो भने २५ जनामा १ जना मात्र बेलायती विद्यार्थी छन् । कोशौं परको वेलायतमा पढिराखेता पनि उनको रिसर्च नेपालसाग सम्बन्धित नै छ जहा उनले पीछडिएका र पाखा पारिएका नेपाली समुदायमा शिक्षाको भूमिकाबारे अध्ययन गरिराखेका छन् जसकै क्रममा विश्वविद्यालयकै खर्चमा अघिल्लो गर्मीमा उनले चेपाङ समुदायमा महिनादिन भन्दा बढ्ता समय बिताएका थिए । र, उनको लागि अहिले नेपालको सामाजिक अवस्था र बसाईसराई सम्बन्धी निकै अध्ययन गरेका अक्सफोर्डकै प्राध्यापक डा डेविड गिल्नरले गाइड गरिराखेका छन् । भन्छन्, “मैले नेपालमै सिक्न नपाएका धेरै कुराहरु अहिले अक्फोर्डमा सिकिराखेको छु ।” उसो त उनका लागि अक्सफोर्डले भन्दा पनि एक अमेरिकी संस्था ज्याक केन कुकीको एक निकै प्रतिस्पर्धात्मक फेलोसिप जीतेर अक्सफोर्डसम्मको बाटो जुरेको थियो ।

नेपालमै फर्केकाहरु 

Swastika Shrestha, Cornell 
कुमारी बैंकका प्रमुख कार्यकारी राधेश पन्त, ४७, सन् १९९१ मा भारतको मुम्बाईस्थित इण्डियन इस्चिच्युट अफ टेक्नोलोजी (आईआईटि)बाट एरोनोटिकल इञ्जिनियरिङमा बिटेक सकेपछि केहीबेर नेपालकै एक एयरलाइन्समा काम गरे । “तर त्यो त्यस्तो काम थियो जसको दैनिकै सधैजसो उस्तै हुन्थ्यो”, उनी सम्झन्छन्, “अनि लागें अमेरिकातर्फ ।” उनी नै संभवत युनिभर्षिटी अफ क्यालिफोर्निया अन्र्तगतको एडरसन स्कुल अफ म्यानेजमेन्टबाट एमबिए सक्ने पहिलो नेपाली पनि हुन् । उतिबेला उनले बार्षिक १५ हजार डलर तिर्ने गरी बिना छात्रवृत्ति त्यहा पुगेका थिए उनी । त्यहा पढ्दा सबैभन्दा रोचक लागेको पक्ष भनेको फरक फरक “केस डिलिङ” शैलीहरु हुन् । भने, “हामीकहा जस्तो त्यहाा कुनै पनि कुराको निश्चित उत्तर वा जवाफ हुदैनन् र त्यसरी खोजिंदैन पनि ।” विश्वका फरक फरक देश र पृष्ठभूमिमा हुर्केका विद्यार्थीसाग बसेर पढ्दा ज्ञान समेत त्यही व्यापक दायराको बन्छ । जसले व्यावसायिक जीवनमा समेत सहज रुपमा चूनौति सामना गर्न सिकाउछ र आत्मविश्वास समेत उत्तिकै उच्च बन्न पुग्छ । एमबिए सकेपछि उनले त्यहााको एक वायोटेक कम्पनीमा ९ बर्ष काम गरे । नेपाल फर्कनुअघि उनलाई बैंकमै काम गर्छु भन्ने थिएन । फर्केपछिको केही बर्ष उनले काठमाडौं विश्वविद्यालयमा पढाए पनि । विदेशका राम्रा कलेजमा पढेर देशमा सम्भावना छैन भन्नेहरुप्रति उनको भनाई छ, “यहाा अवसर नभएको होइन, सिर्जित अवसरको कमी मात्र हो ।”
BhojRaj Pokharel, Harward

तर त्यसबेला विदेश पढ्न जाने लहर अहिलेजस्तो थिएन । एनआइसी बैंकका प्रमुख कार्यकारी शसिन जोशी, ५१, भन्छन्, “म भारतमा गएर पढ्दा समेत एक महिला अगाडि पुगेर इन्ट्रान्स कुरेर बस्नु पथ्र्यो ।” अहिले इन्टरनेटको सहज पहुच छ र विदेश पढ्न जाने माहोल समेत सहज बनेको छ । शसिनका अनुभवमा नेपालका कलेजहरुमा अझै शिक्षकहरु विद्यार्थीप्रति दायित्वबोध गर्दैनन् छैनन् । भारतको पुणेस्थित सिम्बिओसिस इस्चिच्युट अफ विजनेस म्यानेजमेन्टबाट सन् १९८६ मा एमबिए सकेका उनको गुनासो छ, “राम्रो कलेजको लागि चाहिने एउटा प्रमुख कुरा स्थायी शिक्षकहरु पनि हुन जुन हामीकहा निकै कम छन् ।” त्यसबाहेक हामीकहाा “कलेज केका लागि ?” भन्ने कुरामा स्पष्टताको अभाव देख्छन् उनी ।

अमेरिकाको कर्नेल विश्वविद्यालयबाट जनप्रशासनमै स्नातकोत्तर सकेकी स्वस्तिका श्रेष्ठ पनि अहिले काठमाडौंमा एक शैक्षिक संस्था अनुभुति इन्टरनेशनलकी निर्देशक छिन् जसको काम बालबालिकालाई किताब भन्दा बाहिर रहेर व्यावहारिक र प्रयोगात्मक सीपहरु सिकाउनु हो । “हाम्रो शिक्षामा रहेको सबैभन्दा ठूलो कमजोरी नै त्यही हो”, उनी थप्छिन्, “मैले कर्नेलबाट सिकेको सबैभन्दा ठूलो कुरा नै यही हो जुन म आफ्नो व्यावसायिक जीवनमा लागु गरिराखेकी पनि छु ।”

A part of this feature was appeared in NEPAL magazine, Sep 11, 2011 issue

No comments:

Post a Comment