Thursday, September 8, 2011

बाइकर्स गाथा

अहिलेको जमानामा कोही फेसबुक या टि्वटर (र, मेरोपोस्ट पनि) बाट मात्रै साथीहरूको सञ्जाल तयार गर्न सक्छ भन्ने भ्रममा हुनुहुन्छ भने तपाईं गलत ठहरिन सक्नुहुन्छ । 'किनभने,' आशिष निरौलालाई सुनौं, 'हामीसँग यो पनि छ ।'

उनीहरूको सर्कललाई थप मजबुत (र, प्रगाढ) बनाउने त्यो नयाँ अस्त्र हो- बाइक (बाइकर्स ग्रुप) । मोरङका आशिषसँग काठमान्डुका पुकार धिमाल, झापाका सिद्धान्त पोखरेल र स्याङ्जाका विष्णु भट्टराई यही ग्रुपमार्फत आपसमा जोडिएका हुन् । सबै काठमान्डुमा अध्ययनरत छन् तर एउटै कलेजका भने होइनन् । देशका फरक ठाउँ र पृष्ठभूमिका भईकन पनि अहिले निकै मिल्ने साथीहरू भएका छन् यी चारै जना, आफ्नो बाइकर्स क्लब 'फ्लो राइडर्स' मार्फत ।

फ्लो राइडर्स काठमान्डुमा रहेका झन्डै एक दर्जन बाइकर्स क्लबहरूमध्येको एक हो । तर अन्यभन्दा फरक हुनुमा 'बाइकिङ फन' बाहेक उनीहरूको एउटा फरक काम पनि छ, 'बाइकमार्फतको समाजसेवा' । अध्यक्ष पुकार भन्छन्, 'धेरैले बाइकर्सको संगठन भनेपछि मात्र स्टन्टका लागि हो भन्ने सोच्छन् ।' यसको सुरुवातमात्र स्टन्टका लागि सामूहिक अभ्यासहरू गर्ने धरातलमा भएको हो । तर समयसँगै त्यसको स्वरूप अहिले फेरिइसकेको छ । फ्लो राइडर्समा मात्र अहिले ३ विभिन्नखाले उपसमितिहरू छन्, स्टन्टिङ, ननस्टन्टिङ र फोटोग्राफी । स्टन्टिङ ग्रुपले स्टन्टका कामलाई प्राथमिकतामा राख्छ भने ननस्टन्टिङ बाइकका सौखिन तर स्टन्टमा रुचि नहुनेलाई अन्य बाइकिङ स्पोर्टस्हरू सामेल गराउँछ । तेस्रो समूह फोटोग्राफरहरूको हो जसले अघिल्ला दुईका गतिविधिहरू तस्बिरमा कैद गर्छ र क्लबलाई चर्चामा ल्याउन मुख्य काम गर्छ । 'तर जब सामाजिक तथा जनचेतना फैलाउने कामको प्रसंग उठ्छ, हामी सबै उत्तिकै जुटिरहेका हुन्छौं,' फ्लो राइडर्सकै इभेन्ट डिजाइनर्स आशिषले बताए ।


अहिले उनीहरू प्राय: सप्तान्तमा जुट्छन् । बाइकसँग सम्बन्धित वा असम्बन्धित विभिन्न विषयहरूमा छलफल गर्छन् । उनीहरूको आगामी इभेन्ट्सबारे फेसबुकबाट सबैलाई जानकारी दिन्छन् जहाँ मात्र दस हजार बढी फ्यान छन् । क्लबका प्राय:जसो जागिरे वा विद्यार्थी छन् । त्यसैले झन्डै तीन महिनाको फरकमा उनीहरू 'लङ टि्रप' मा जान्छन् । पछिल्लोपटक उनीहरू बन्दीपुर पुगेका थिए भने त्यसअघि दामन र नेपालथोक । काठमान्डुमा धेरै ठाउँमा सामूहिक रूपमा रक्तदान, सरसफाइ, वृक्षरोपणजस्ता सामाजिक क्रियाकलापमा योगदान दिएका छन् । अब छिट्टै एउटा त्यस्तै कार्यक्रम गरेर अनाथ बालबालिकाका निम्ति सहयोग जुटाउने तानाबाना बुन्दैछन् उनीहरू । फ्लो राइडर्सको शाखा अहिले हेटौंडा, पोखरा र बिर्तामोडमा समेत विस्तार भएको छ । पछिल्लो पटक बिर्तामोडमा उनीहरूकै पहलमा 'हेलमेट सचेतना र्‍याली' आयोजना गरिएको थियो । काठमान्डुकै उद्गार बचत तथा ऋण सरकारी संस्थामा काम गर्ने दिपेन श्रेष्ठ बाइककै माध्यमबाट आफूहरूमा सामूहिक कार्यभावनाको विकास भएको ठान्छन् । भन्छन्, 'बाइक अब धेरैका लागि सोख मात्र नभई आवश्यकता नै भइसकेको छ, जसको प्रयोग यसरी किन नगर्ने भनेर हामी जुटेका हौं ।' उनीहरू काठमान्डुमा कसैले सामाजिक कामका लागि स्वयंसेवक आवश्यक परेमा बाइकर्स क्लबलाई सम्झन आग्रह गर्छन् ।

स्टन्टिङमा समेत उनीहरूले सुरक्षाका अधिकतम तरिकाहरू अपनाएका छन् । २००९ मा स्थापित क्लबमा त्यतिबेलै सामूहिक पैसाबाटै ६ वटा 'सेफ्टी सेट' किनिएको थियो जतिखेर त्यस्ता सामान नेपाल बाहिरबाटै मगाउनुपथ्र्यो -अहिले भने फाट्टफुट्ट नेपालमै पाइन थालेको छ) । नेपालमा स्टन्टको कानुनी मान्यताको अभावका कारण अभ्यास भने मानिसहरूको बसोवास कम हुने सहरभन्दा परका क्षेत्रहरू, प्लटिङ गरेर खाली छाडिएका जग्गाहरूमा गरिराखेका हुन्छन् । भारतबाट अटोमोबाइल इन्जिनियरिङसमेत गरेका क्लबका सुपरभाइजर अविजात निरौला पर्याप्त सुरक्षित तरिका तथा 'सेफ्टी गार्डहरू' प्रयोग गरे स्टन्ट खतरनाक नहुने तर्क राख्छन् । उनको भनाइ छ, 'यो पनि मोटर स्पोर्टस्कै एउटा हिस्सा त हो नि । हामीकहाँ मिस्युज बढी छ र टेक्निकल्ली नगरिने हुँदा यसलाई खतरनाक मानिएको मात्र हो ।' यद्यपि कहिलेकाहीँ सामूहिक अभ्यासका क्रममा हुने चोटपटक तथा बाइक मर्मतका लागि भने उनीहरूले आफ्नो कोषबाटै खर्च गर्छन् । सेन्ट जेभियर्स कलेजमा पत्रकारिता पढ्ने फ्लो राइडर्सका फोटोग्राफर प्रतीक राना भन्छन्, 'एक्लै स्टन्ट सिक्दा सुरु-सुरुमा कम्तीमा बीसदेखि तीस हजारसम्म खर्च हुन सक्छ जुन समूहमा गर्दा बचत हुन्छ पनि ।' कुनै सदस्यको बाइक सामूहिक अभ्यासका क्रममा बिग्रेमा फ्लो राइडर्सले तीस प्रतिशतसम्म खर्च बेहोर्छ भने चोटपटक लागेमा उपचारको सम्पूर्ण खर्च । जसको स्रोत सुरुको सदस्यता शुल्क र आवश्यक पर्दा क्लबका सदस्यहरूबाट उठाइने पैसा हुन् । उनीहरूको क्लबमा यद्यपि केटी सदस्यहरू भने छैनन् । 'फ्यानहरू भने धेरै छन्,' रूपक रोका हाँस्दै भन्छन्, 'हाम्रो इभेन्ट्सहरूमा धेरै नै आइराखेका हुन्छन् ।' रूपक ठान्छन्, बाइक स्पोर्टस्मा सबैखाले युवाहरूको रुचि बढ्दो छ भन्ने उदाहरण पनि हुन् यी । उनी थप्छन्, 'जसको प्रोत्साहन आवश्यक छ, तर सुरक्षित हुन आवश्यक नियमसँगै ।'

कसरी बन्ने सदस्य ?
क्लबको सदस्य बन्नका लागि नागरिकता र लाइसेन्स न्यूनतम आवश्यकता हुन् । यद्यपि त्यति मात्रले पुग्दैन, बहालवाला वा भूतपूर्व कुनै सदस्यको सिफारिसमा कम्तीमा ३ वटा कार्यक्रमहरूमा सहभागी भएपछि त्यसको मूल्यांकनका आधारमा मात्र सदस्य चुनिन्छ । आफ्नै बाइक हुनैपर्छ भन्ने नै पनि छैन । चलाउन भने राम्ररी जानेको हुनुपर्छ । फ्लो राइडर्सका तीस सदस्यहरूमध्ये लगभग सबैको बाइक छ । उनीहरू भन्छन्, 'नेपालमा अझै यस्तो संगठनलाई कानुनी मान्यता दिइँदैन, त्यसैले पनि हामी बढी सचेत र संवेदनशील हुँदै काम गर्नुपर्छ ।' सडकमा उनीहरू अन्धाधुन्ध बाइक कुदाउँदैनन् । कहीँकतै जाँदा लाइनमा जानुपर्ने उनीहरूको नियम नै हो । हरेक यात्रामा अग्रपंक्तिमा एउटा लिडर तोकिएको हुन्छ भने पछिल्लोपट्ट िचेसर जसकै बीचमा बाँकी सदस्यहरू हुन्छन् । यो उनीहरूको नियममै लेखिएको छ । बाइकर्स क्लबमा लागेपछि बाइक मोडिफाइङ गर्न पाइँदैन, फुल हेलमेट अनिवार्य हुनुपर्छ । कहीँकतै यात्रामा कसैले मद्यपान गरेको पाइयो भने ऊ स्वत: क्लबबाट हट्छ । 'हामीले समाजमा रहेको यसप्रतिको नकारात्मक धारणा हटाउन खोजेका पनि हौं,' उपाध्यक्ष सिद्धान्त पोखरेलले भने, 'जसका लागि पहिले हामी आफ्नोतर्फबाट राम्रो हुनु पनि त पर्‍यो नि ।'


काठमाण्डुका थप केही चर्चित राइडर्स क्लबहरु:
  •  राइडर्स अफ भक्तपुर
  • राइडर्स युनिफाइड
  • क्रिप्टर्ज
  • केटिएम ट्रोप्रिज
  • राइडर्स सिन्डिकेट

1 comment: