Thursday, January 12, 2012

मिसन सगरमाथा


देहरादुनका एक नेपालीभाषी जुम्ल्याहा दिदीबहिनी सन् २०१२ को अन्त्यमा सगरमाथा चडेर पहिलो जुम्ल्याहा जोडिको कीर्तिमान रच्दैछन् । त्यहीँबाट उनीहरुले विश्वभरका नेपाली भाषीहरुबिचको एकताको सन्देस दिनेछन्, आफ्नै कथालाई उदहारण दिएर
.......................
सन् २०१० को डिसेम्बरमा एक हप्ता मात्र हो नुन्सी मल्लिक र तासी मल्लिक एक्लै भएको । नत्र यी १९ बर्षे जुम्ल्याहा जोडि हालसम्म छुट्टिएका छैनन् । भारतको उत्तराखण्ड राज्यस्थित देहरादुन घर भएका यी नेपाली भाषी जोडि जसरी आपसमा बाँधिएर बसेका छन्, विश्वभर छरिएर रहेका नेपाली भाषीहरुबिच पनि त्यस्तै हुनुपर्ने सन्देश दिन चहान्छन् । त्यो पनि सगरमाथाको चुचुरोसम्म सँगै गएर । 

बुवा भारतिय आर्मी भएका कारण उनीहरु भारतका विभिन्न कुनाकाप्चा घुमेर पढ्न पाए जसले अन्तत: यी जुम्ल्याहाको सोख नै भ्रमण गराएको थियो । “नयाँ ठाउँ पुग्नु नै हाम्रा लागि कलेज पुगेजस्तो हो”, दुवैले एकैस्वरमा भने, “किनकी हामी एड्वेन्चरबाट सिक्न चहान्छौं ।” नुन्सी र तासीको जीवनको विशेषता नै उनीहरुले भनेको उपल्ला दुई वाक्यमा छ । सगरमाथा मिसन पनि त्यसकै एउटा नयाँ संस्करणको रुपमा जन्मिएको हो । सन् २०१२ को अन्त्यमा गर्ने भनिएको उनीहरुको महत्वकांक्षी लक्ष्यको पछाडि २ कारण जोडिएका छन्– सगरमाथा चढ्ने पहिलो जुम्ल्याहाको कीर्तिमान राख्ने र नेपाली भाषीहरुबिच विश्वव्यापी एकताको सन्देश फैलाउने । दोस्रो लक्ष्य राख्नुको कारण बताए, “विश्वका विभिन्न राष्ट्रियता बोकेका भए नि नेपाली भन्नासाथ हामी सबैले ति सीमालाई बिर्सेर आफ्नो रगतमा गोर्खाली सम्झन्छौं । जुन हाम्रो ठूलो शक्ति र पहिचान हो ।” 

यी एडवेन्चरवाजहरु त्यसैले सन् २०११ लाई तामझामसाथ बिदाई गरिइरहंदा श्रीलंकाको उत्तरी तटिय शहर निगोम्बोको समुद्री किनारमा भने समुन्द्रजस्तै शान्त देखिन्थे । पच्चिस मिनेटले जेठी नुन्सीले मन्द मुस्कानसाथ आँटिलो स्वरमा भनिन्, “सायद आगामी बर्ष निकै रोमाञ्चक होला ।” नेपाल र भारतमा गरेर झण्डै एक बर्ष तालिम गरेपछि सन् २०१२ को अन्त्यसम्ममा सगरमाथाको शिखर चुम्ने उनीहरुको योजना छ । यद्यपि फेब्रुअरीमै उनीहरु ताञ्जेनियामा अवस्थित ५८९५ मिटर उचाईको अफ्रिका महादेशकै सबैभन्दा अग्लो हिमाल “माउण्ट किलीमिन्जारो” चढ्नका लागि जनवरीको शुरुमै त्यसतर्फ हान्निदैछन् जसले सगरमाथा चढ्नको लागि साहास जुटाउन समेत निकै काम गर्ने उनीहरुको आशा छ । “किलीमिन्जारो हिउँ कम पर्ने रक्की हिमाल हो, जुन उचाईमा सगरमाथाभन्दा कम भएता पनि चढ्नका लागि निकै कठिन मानिन्छ”, तासीले भनिन्, “इट इज नट सो मच टेक्निकल, बट टफ ।” स्कुल पढ्दा देखि नै उनीहरु स–साना हिमाल र पहाडहरु चढ्नमा रुचि राख्थे । भारतकै श्रीनगरस्थित गुल्मरमा उनीहरुले ५ किलोमिटर लामो स्किङ्ग (स्किज र २ डण्डीको सहायताले हिउँमा दूरी तय गर्दै खेलिने खेल) गरिसकेका थिए । 

यस्ता धेरै स–साना एड्वेन्चर कामले नै उनीहरुको सगरमाथा चड्ने सपना देख्न सिकायो । र, हरेकजसो कुरामा मन मिल्ने दुवैले एक दिन त्यसको निधो गरे र, बुवा ममीलाई सुनाए । “बुवा त सधै हामीलाई एडवेन्चरका लागि हौस्याउनु हुन्थ्यो । त्यसैले पनि हाम्रो निर्णय सुनेर खुसी हुनुभयो”, नुन्सीले टाउको हल्लाइन्, “तर ममीले...नो । मान्नुभएन ।” पछि बुवाले सम्झाएपछि ममीले बल्ल जसोतसो सहमति दिनुभएको छ । उनीहरुले एकै स्वरमा थपे, “किलिमिन्जारो चढेर ममीलाई हामी सक्छौं भन्ने विश्वास दिलाउनु पनि पर्ने छ ।”  

हिमाल चढ्ने योजनासँगै उनीहरु त्यसमै “करिअर” बनाउने पनि सोच्दैछन् । यद्यपि “शान्ति निर्माण तथा द्वन्द्व व्यावस्थापन” मा विभिन्न देश पुगेर अन्तर्राष्ट्रिय डिग्री लिइराखेका उनीहरु त्यसैतर्फ पनि लाग्न सकिने बताउँछन् । तासीले आँखा झिमझिम पारिन्, “तर दुवै कामका आफ्नैखाले आनन्द छन् जुन हामी कुनै पनि मिस गर्न चहान्नौं ।” दुवैलाई साथै मिलाएर लैजाने उपाय पनि सोच्दैछन् उनीहरु । भ्रमण र एडवेन्चरलाई बाधा नपुगोस भनेर हाईस्कुल सकेयपछि उनीहरु कलेज नगई  खुला विश्वविद्यालयबाट पत्रकारितामा स्नातक गर्दैछन् । 
...
कक्षा आठसम्म दुवैले एउटै खाले लुगा लगाउँथे । त्यसैले मिल्दो अनुहार त्यसमाथि एकैखाले ड्रेसअपले उनीहरुलाई छुट्याउनै गाह्रो पथ्र्यो मानिसहरुलाई । नुन्सी हाँस्दै भनिन्, “कतिपटक त ममी नै पनि झुक्किनु  हुन्थ्यो रे ।” कक्षा ९ देखि अरुहरुसँग राम्ररी घुलमिल होउन भनेर स्कुलमा फरक फरक सेक्सनमा राख्न थालियो । एकपटक क्लास टेस्ट हुँदा नुन्सीको गणितको कक्षामा तासी गएर बसिन् तर शिक्षकले पत्तै पाएनछन् । तर उनीहरुलाई छुट्याएर राख्दा पनि कसैको पनि अर्को मिल्दो अर्को साथी बनेन । घण्टी सकिनासाथ उनीहरु भेटिहाल्थे । भन्छन्, “हाय, हेलो भन्ने साथी बाहेक हाम्रो अरु साथी नै बन्न सकेन । 

शान्ति निर्माण तथा द्वन्द्व  रुपान्तरणको एउटा कोर्स अध्ययनकै लागि अमेरिका जानु पर्ने थियो उनीहरुलाई । दूतावासका कर्मचारीले एकले मात्र भिसा पाउने भए को जाने भनेर सोधे । तासीले भनिन्, “त्यसो भए कोही पनि नजाने ।” अन्तत: दुवैलाई दश बर्षे भिसा लाग्यो । अमेरिकामा अर्को रमाइलो घटना भइदियो । उनीहरुको एउटा “क्रस” पनि जुधेछ । साँझ कोठामा आएर कुरा गर्दा दुवैले राम्रो लागेको मान्छे त एउटै परेछ । उनीहरुको मोवाइल नम्बर पनि एउटै छ । फोन आउँदा जसले उठाए पनि कसैले को भन्ने थाहा नै पाउँदैनन् । कारण, उस्तै स्वर र बोल्ने तरिका मात्र होइन दुवैका सबै कुरा दुवैलाई उत्तिकै थाहा हुन्छ । स्कुलमा छंदाको एउटा सन्दर्भ नुन्सीलाई सधै सम्झना हुन्छ, “तासीलाई कसैले गाली गर्दा खै थाहा नै नपाईकन मेरो पनि आँशु आउँथ्यो ।” 

अहिले भने अरुलाई छुट्याउन सजिलो होस भनेर उनीहरुले फरक फरक लुगा लगाउन थालेका छन् । नन्सीको चश्माको फ्रेम कालो छ त तासीको सेतो ।

उनीहरु आफैलाई थाहा छैन अहिलेसम्म नछुट्टीएको यो साथ केही छिन लामो दूरीमा रहंदा कस्तो पो हुन्छ ।  र, अहिले त्यो कल्पना गर्न पनि चहाँदैनन् । किनकी तत्काललाई उनीहरुको आँखा अगाडि मात्र सगरमाथाको चुचुरो मात्र देखिन्छ । 

No comments:

Post a Comment