Sunday, January 29, 2012

सम्झनामा रामनारायण प्रधान


दी हिमालयन टाइम्सका संस्थापक सम्पादक रामनारायण प्रधानले ६ माघमा संसार छाडेका छन् । उनी नेपाली पत्रकारिता जगतमा अंग्रेजीमा लेख्ने पहिलो पुस्ताका पत्रकारमध्येका हुन् । केही बर्षयता मृगौलाको समस्या तथा मघुमेह रोगबाट पीडित प्रधान ७३ बर्षका थिए ।

सन् १९७० मा “दी मदरल्याण्ड” पत्रिकामा सह–सम्पादकको रुपमा प्रवेश गरेका उनी पत्रकारिता करिअरमा सम्पादन बढि रिपोर्टिङ कम गर्ने पत्रकारको रुपमा परिचित छन् ।  त्यस बेला अंग्रेजीमा लेख्ने नेपाली पत्रकारहरु निकै कम थिए । त्यसैले पनि आफ्नो पत्रकारिता करिअरमा अघि बढ्न अरुलेजस्तो त्यतिधेरै संघर्ष गर्नुपरेन उनले । भारतबाट उच्च शिक्षा हाँसिल गरेका उनी पत्रकार हुनुअघि उनी तेह्रथुममा अंग्रेजी पढाउँथे ।
२ बर्ष दी मदरल्याण्डमा काम गरेपछि उनी राष्ट्रिय समाचार समिति (रासस) मा गए जहाँ उनले अंग्रेजी बुलेटिनका लागि समाचारहरु अनुवाद तथा सम्पादनको काम गर्थे । कमजोर रहेको राससको अंग्रेजी बुलेटिनको स्तर उनी गएपछि उकासिएको मानिन्छ । “वहाँमा भाषा र पत्रकारिताको मर्मलाई समायोजन गरेर लेख्न सक्ने विशेष खुबी थियो,” राससमा लामो समय सागै काम गरेर बरिष्ठ पत्रकार भैरव रिसाल भन्छन्, “त्यसबाहेक उनी निकै तिब्र गतिमा काम गर्न सक्थे ।” राससमा मात्र उनले २० बर्ष सकृय पत्रकारिता गरेका थिए ।

त्यसबाहेक विदेशी सञ्चारमाध्यमहरुमा उतिबेला लेख्ने कमै नेपाली पत्रकारहरुमध्ये उनी समेत गनिन्थे । “द नेसन”, “टाइम्स अफ इण्डिया”, “बिबिसी”, “साउथ नर्थ न्यूज सर्भिस” जस्ता थुप्रैमा उनका समाचार प्रकाशित र प्रशारित भएका छन् । नेपाल वातावरण पत्रकार समूह (नेफेज) का संस्थापकमध्ये उनी पनि एक हुन् ।  
दी हिमालयन टाइम्समा भने उनी स्थापनाकालदेखि ७ बर्ष सम्पादकको रुपमा रहे । सन् २००१ यता प्रकाशनमा आएको उक्त पत्रिका शुरु हुँदा नेपालमा व्यावसायिक पत्रकारिताले निकै फड्को मारिसकेको थियो । त्यसैले पनि पहिलो सम्पादकको रुपमा उनको जिम्मेवारी स्वभाविक रुपमा विशेष हुन्थ्यो । प्रतिस्पर्धी बजारमा उत्रन दी हिमालयन टाइम्समा पत्रकारिताको अनुभवसागै पछिल्लो बिकासक्रमलाई समेत बुझ्ने मान्छेको आवश्यकता परेको थियो । जसमा उनले आफूलाई अब्बल नै प्रमाणित गरेको सहकर्मीहरु ठान्छन् । उनमा व्यावसायिकताको विशेष गुण थियो । तर धेरै समय डेस्कमै काम गरेका कारण जनसम्पर्क राख्ने मामिलामा भने उनी केही कमजोर थिए । सधै सरल भाषामा लेख्ने र छोटा सामाग्री पक्कनुपर्छ भन्ने उनको सम्पादकीय मान्यता हुन्थ्यो । रिसाल उनीसँगको एउटा रमाइलो घटना सम्झन्छन्, “डेस्कमा त्यसरी सम्पादन गर्दा राम्रो देखिएता पनि एकपटक राजाको सवारीमा वीरगंज  जाँदा  उनी स्वयंले लामो रिपोर्टिङ गरेका थिए ।”

This appeared in NEPAL magazine 

No comments:

Post a Comment