Thursday, February 2, 2012

हाइकिङको रमाइलो




नेत्र घिमिरे, ३५, को मोवाइलमा डेढ दिनयता फाट्टफुट्टबाहेक घण्टी बजेको छैन । स्वास्थ्यसम्बन्धि सामाग्री उत्पादन गर्ने कम्पनी जोन्सन एण्ड जोन्सनका कर्मचारी उनमा न त कार्यालय दिनहरुमाझैं बजारमा सामाग्रीको बिक्री तलमाथि परेका खबरहरु नै सुन्नु परेको छ । काठमाडौंको उत्तरमा पर्ने सुन्दरीजलदेखि चिसापानी जोड्ने “चिसापानी ट्रेल” को हाइकिङमा सहकर्मीहरुसाथ निस्केका उनी हालैको एक शनिवार नितान्त फरक शैलीमा देखिए । बाटाभरी आफ्ना जागीरे जीवनका तीता–मिठा घटनाहरु जुनियरहरुलाई सुनाउन भ्याए । गन्तव्यमा पुगेपछि झन् बढ्ता रौनक थपियो । साँझ क्याम्पफायर गरेर नाचगान गर्दा रातीको २ बजेको समेत पत्तो भएन उनीहरुलाई । भोलिपल्ट विहान चियाको चुस्किसाथ हिमाल हेरेर रमाइरहंदा उनको खुसीको सीमा नै रहेन । “म यसरी रमाउन सक्छु भन्ने मलाई नै थाहा थिएन”, उनले सुनाए, “सधै काम मात्र भनेर एकोहोरो कुद्दा मन नै जीर्ण बनिसकेको रहेछ ।”

उता सोही रुटहु“दै चिसापानीबाट नगरकोटतर्फ हान्निने क्रममा भेटिएका अर्का तन्नेरी श्रीराम अधिकारीमा भने यात्रा नसकिंदै घर फर्कन हतार भइसकेको प्रस्टै देखिन्थ्यो । तर त्यसमा उनको हाइकिङ प्रतिको वितृष्णा मिसिएको थिएन । ३१ बर्षेले भन्दैथिए, “कतिखेर घर पुगेर फेसबुकमा फोटो हालौं जस्तो भइसक्यो ।” पब्लिक युथ क्याम्पस, काठमाडौंबाट ३ बर्षअघि स्नातकोत्तर सकेका श्रीरामजस्ता पा“च सहपाठी मिलेर पुर्नमिलन गर्ने अवसरको रुपमा हाइकिङलाई रोजेका थिए । जसले नयाँ माहोलमा पुराना कलेज दिनहरुलाई पुर्नताजगी मात्र गराएन, मित्रतामा नयाँ अविश्मरणीय क्षणहरु समेत थप्यो ।


हाइकिङवाजहरुसँग मिसिंदा देखे/सुनेका केही किस्सा मात्र हुन् यी । हाइकिङ अहिले शहरी जमातमा छुट्टि मनाउने एउटा नया“ विकल्पको रुपमा फस्टाइराखेको छ । स्कुले तन्नेरीदेखि सेवानिवित्त जीवन बिताइराखेका व्यक्तिहरु अहिले हाइक गर्नका सोखिन भएका छन् । अझ दिनानुदिन व्यस्त बन्दै गइराखेको काठमाडौंको जीवनशैलीमा छोटो फुर्सदमा रमाउन खोज्नेहरुका लागि त यो सबैभन्दा उत्कृष्ठ विकल्प बनेको छ । 

डाँडाकाँडा  र भिरपाखा चहार्दै प्राकृतिक वातावरणमा रमाएर हाइकिङ गरिने भएता पनि त्यसैक्रममा थप रमाइला पक्षहरु जोडिएर आउँछन् जसले उक्त यात्रालाई झनै बढि स्मरणीय बनाउँछ । “घुम्नु त छंदैछ, त्यसबाहेक हाइकिङले गरेको सबैभन्दा राम्रो काम भनेको युवाहरुमा नेटवर्किङ शैलीको बिकास गराउनु हो,” हाइकिङ समूह ‘पदयात्रिज्’का संस्थापकमध्येका एक सुरथ गिरीले भने, “र, अहिले त्यो नेटवर्किङ केही अर्थपूर्ण काममा सदुपयोग हुन थालेको छ ।” 

केही समयअघि त्यही ‘हाइकिङ फर कज’ को भावनालाई समेटेर एक युवा स“स्था ‘पश्चिम पाईला’ ले  काठमाडौंको साँघुदेखि नगरकोटसम्मको यात्रा गरेको थियो । विश्व हात धुने दिवसको अवसर पारेर गरिएको ४० जना युवाहरु संहिलित उक्त हाइकिङमा तन्नेरीहरु त्यसबिचका प्राकृतिक र साँस्कृतिक सौन्दर्यबाट मज्जा लिनुका साथै बाटोमा पर्ने पर्ने गाउँका बालबालिकाहरुमा साबुन पानीले हात धुनुको महत्वबारे सचेतना कार्यक्रम समेत चलाएका थिए । पश्चिम पाइलाजस्तो आजकल धेरैले यसरी हाइकिङलाई समाजसेवासँग पनि जोड्न थालेका छन्– कोही हाइकिङलाई नै भूक्षय नियन्त्रण अभियानमा सदुपयोग गर्छन् त कोही वन्यजन्तु संरक्षणको क्षेत्रमा । वातावरण संरक्षणको सवालस“ग त यो जोडिने नै भयो । यसलाई विभिन्न प्रयोजनमा जोडेता पनि यसको मुख्य पक्ष “रमाइलो गर्नु” वा “रिफ्रेस हुनु” मा कुनै असर पर्दैन । 

राजधानी शहर भइकन पनि वरपरका भेगमा हाइकिङका लागि निस्कंदा एउटा अचम्मको यथार्थबाट समेत चकित भइन्छ । बत्तिमुनीको अध्यारो भनेझैं काममाडौंबाट केही घण्टाकै दूरीमा रहेर पनि मानिसहरु समयभन्दा धेरै पछाडि समेत छन् । उनीहरुमा आधुनिकीकरणले अझै छुन सकेको छैन । “त्यसैले त्यो ग्रामिण जीवन अवलोकन गर्ने राम्रो अवसर पनि हो”, ग्लोबल कलेज अफ म्यानेजमेन्टमा स्नातकोत्तरका विद्यार्थी कमल कंडेलले भने । उता भर्खर त्रिभुवन विश्वविद्यालयबाट भर्खर स्नातकोत्तर सकेका हरिबहादुर बस्नेत, २४,  भने चिसापानी हिंड्ने क्रममा ढोका भञ्जाङमा  पहिलोपटक हिंउ देखेपछि पुनः थप साथीहरुलाई लिएर आउने तानाबाना बुन्दै थिए । 

दिन खुल्दा देखिने सुन्दर हिमालहरु र डाँडामाथिबाट हेर्दा हुस्सुमा ढाक्ने शहरहरु हाइकिङका विशेष पक्ष हुन् । त्यसबाहेक स्थानिय संस्कृतिको अवलोकन गर्दै गोरेटो, भञ्ज्याङ र दुवैतर्फबाट पहाडले घेर्ने साँघुरा बाटो हुँदै हिँड्नु झनै रोचक हुन्छ । र, त्यसका लागि काठमाडौंबाट लामो विदा लिएर निस्कनु वा धेरै खर्च जुटाइराख्नु नपर्ने थप विशेषता हो । आफूस“ग भएको समयकै अनुपातमा कस्तो रुटमा हाइकिङ जाने भन्नेमा धेरै विकल्पहरु भेटिन्छन् काठमाडौं छेउछाउका रुटमा । सामान्यतः १ दिनदेखि ५ दिनसम्म लाग्ने हाइकिङ रुटहरु छन् । 

आजकल तन्नेरीहरुको लहरलाई हेर्दा विभिन्न अवसर पारेर समूहमा हाइकिङ हिंड्ने क्रम बढ्ता पाइन्छ । शनिवार वा छोटो विदाको समय पारेर नजिकैका डाँडाकाँडा चहार्ने त सामान्य नै भयो । धान दिवस (असार १५) को अवसर पारेर गोदावारी पुगेर दही चिउरा खाएको र हिलो खेल्दै धान रोपेको अनुभव सरोज वर्तमान, २२, ले अहिलेसम्म भुलेका छैनन् । वर्तमान थप्छन्, “अझ शहरी वातावरणमा भिजेको व्यक्तिहरुका लागि यस्तो अनुभव गर्न पाउनु सबैभन्दा विशेष हुन्छ ।” सरोज समेत सदस्य भएको हाइकिङ समूह “गन्तव्य” ले चर्चामा नआएका त्यस्ता थुप्रै रुटमा हाइकिङ गइसकेको छ । त्यसक्रममा उनीहरुले काठमाडौंबाट खानेकुरा नलगी त्यहीँका स्थानिय चिजहरु खपत गर्छन् । त्यस्तै बर्षा याममा झरीमा रुझ्दै हिंड्न रुचाउनेहरुका लागि गन्तव्यले “जुका हाइकिङ” नाम दिएको छ जसबेला सावधानी अपनाउँदै जुका लाग्ने भेगमा यात्रा गरिन्छ । जुका हाइकिङका लागि बर्षायाममा “विशंखुनारायण–लाकुरेभञ्जाङ–गोदावर” रुटमा पुग्नु राम्रो मानिन्छ । कोही बर्षा याममा हिलोमा चिप्लंदै यात्रा गर्न रुचाउने समेत हुन्छन् । चैत–वैशाखको समयमा काफल खाँदै गरिने हाइकिङलाई उनीहरुले “काफल हन्टिङ” नाम दिएका छन् जुन पछिल्लोपटक कोटडाँडा–गोदावरी रुटमा उनीहरुले सम्पन्न गरेका थिए । त्यस्तै जनैपूर्णिमाको समय पारेर “साँखु–मडिचुड” रुटमा हाइकिङ जानु राम्रो मानिन्छ जतिखेत त्यसबिचमा विशेष मेला लाग्नेगर्छ । गोसाइकुण्ड यात्राको झल्को दिने “टिकाभैरव–देविचौर” रुट समेत हाइकिङको लागि प्रशिद्ध छ । “तर चर्चामा नआएकै रुट भएता पनि केही साथीहरुको समूह बनाएर बिनायोजना हिंड्दा समेत झन् रोचक तथ्य एवं दृश्यहरु देख्न सकिन्छ”, कमल कंडेलले सुनाए, “तर त्यस्तो अवस्थामा सहभागि सबैसँग त्यसभेगको नक्सा, दिशा बताउने कम्पास र आवश्यकताभन्दा केही बढि खानेकुरा लैजानु पर्छ ।” सामान्यतः पनि हाइकिंङ जाँदा नक्सा, कम्पास, सलाई/लाइटर, फोल्डिङ चक्कु, लाइट, आवश्यकता भन्दा केही बढि पानी र सुख्खा खाना, सनग्लास, प्राथमिक उपचारको सामाग्री छुटाउनु हुँदैन ।

अझ काठमाडौं छेउछाउका कतिपय हाइकिङ रुटमा एकतर्फी पैदल र एकतर्फी गाडिमा यात्रा गर्न सकिन्छ । चिसापानी ट्रायल वा नगरकोट ट्रायल त्यसका राम्रा उदहारण हुन् । स्थानिय संस्कृतिहरुको प्रतिबिम्ब त हरेकजसो रुटमा पाइन्छ नै । कीर्तिपुर रुट भने नेवारी संस्कृति बुझ्न खोज्नेका लागि विशेष हो । 

हाइकिङ जाँदा फरक–फरक क्षेत्रका व्यक्तिहरु भेटिन्छन् र त्यसबिचमा फरक–फरक बिषयमा तर्कविर्तक चल्छन् । धेरैका गन्जागोल गफगाफ र कुराकानीले हाइकिङ रमाइलो हुन्छ । हिँड्दाहिँड्दै साथीहरुमा एक अर्कालाई जिल्याउन ‘¥याग हान्नु’, टिम बा“डेर अन्दाक्षरी खेल्नुजस्ता कुराहरु हाइकिङस“ग जोड्न सकियो भने त्यो सुनमा सुगन्ध नै हुन्छ ।  

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातक गरिराखेकी प्रमिला थपलिया, २२, भने हाइकिङमा हुने तिनै स्मरणीय घटनाहरुलाई कविता बुन्न सहयोग पुग्ने ठान्छिन् । थपलिया हाँस्दै भन्छिन्, “हाइकिङ रुटको मादक माहोलले जोकोहीलाई कविझैं बनाउँछ ।”

पहिलेपहिले विदेशी मात्र धेरै भेटिने त्यस्ता हाइकिङ रुटमा अहिले स्वदेशी पर्यटककै लर्को बढि लाग्न थालेपछि स्थानिय पर्यटन व्यावसायीहरुले त्यसै अनुसार प्याकेजको व्यवस्था गरेका हुन्छन् । चिसापानीमा शिवपुरी फाइन्डर क्याम्प चलाइराखेका पर्यटन व्यावसायी मणिराम केशी, ४२, भन्छन्, “पहिले विदेशी पर्यटक मात्र आउँथे, त्यसैले खर्च महंगो थियो, अहिले विदेशीभन्दा कयौं गुणा बढि नेपालीहरु नै आउन थालेकाले होटल र खानपिनको दर समेत उनीहरुलाई नै लक्षित गरेर राखिएको हो ।” अहिले झण्डै पन्ध्र सय रुपयाँको प्याकेजमा २ दिने चिसापानी हाइकिङ चलिराखेको होटल बिबिसी एण्ड माउण्टेन भ्यु रेष्टुरेन्टका प्रबन्धक साधुराम केशी, ३२, ले बताए । 

हाइकिङको तयारी 

आफू हाइकिंङ जान लागिएको ठाउ“को तापक्रम, बाटोघाटो आदिको जानकारी पहिल्यै लिए  त्यसैअनुसार योजना बनाउन सहयोग पुग्छ । नक्सामा केही कुरा गलत समेत हुन सक्ने ह“ुदा त्यसमा मात्र पूर्ण रुपमा भर नपरिकन पहिले गइसकेका व्यक्तिहरुबाट समेत सुझाव लिनु राम्रो हुन्छ । त्यसमाथि पहिलोपटक हिंड्नेहरुले सानो रुट (एक दिन जतिको) बाट शुरु गर्नु राम्रो मानिन्छ । बिश्राम गर्दै अघि बढ्नुपर्छ । कम हिंड्नेलाई अग्रपंतिमा राख्दै उसलाई आधार मानेर अघि बढियो भने टोलीका कुनै पनि सदस्य हराउने वा पछाडि छुट्ने डर हुँदैन  । लामो वा एकान्त हाइकिङ रुटमा एक्लै नहिड्नु राम्रो हुन्छ । 

केही प्रशिद्ध हाइकिङ रुटहरु

सुन्दरीजल–चिसापानी
फर्पिङ–दक्षिणकाली 
गोदावरी–कोटडाडा
सांखु–नगरकोट
सांग्ला–गुर्जेभन्याङ 
सूर्यविनायक रानीकोट
कीर्तिपुर–चम्पादेवी
थानकोट–चन्द्रगिरी

No comments:

Post a Comment