Sunday, January 22, 2012

रमाइलो रामग्राम

नवलपरासी जिल्लाको एक मात्र नगरपालिका रामग्राम धार्मिक एवं पर्यटकीय स्थल हो। रामग्रामको मुख्य आकर्षण त्यहाँको सुन्दर स्तूप हो, जहाँ भगवान् बुद्धका अष्ट धातुमध्ये एक राखिएको छ। सम्राट अशोकले युद्धबाट विरक्तिएर शान्तिका लागि बुद्ध धर्म अपनाएपछि स्तम्भ निर्माण गरेका थिए। लुम्बिनीमा पनि त्यस्तै एउटा स्तम्भ छ। तर, रामग्राम स्तूपको महत्त्व लुम्बिनीमा रहेको स्तूपको भन्दा धेरै छ। कारण सम्राट अशोकले आठ ठाउँका अष्ट धातु झिकी कलसमा भरेर विभिन्न ठाउँमा राख्ने योजना बनाएका थिए तर उनले सात ठाउँको मात्र झिक्न सके, रामग्रामको भने सकेनन्।

रामग्रामलाई गौतम बुद्धकी आमा मायादेवीको जन्मस्थल अर्थात् बुद्धको मावलीका रूपमा पनि चिनिन्छ। रामग्रामलाई बुद्ध धर्मावलम्बीहरू जीवनमा एकपटक पुग्नैपर्ने ठाउँका रूपमा लिन्छन्। काठमाडौँबाट एकदिने बस यात्रामा पुगिन्छ, रामग्राम। हवाई मार्गबाट भैरहवामा ओर्लेर ३० किलोमिटरको मोटरयात्राबाट पनि त्यहाँ पुग्न सकिन्छ। विश्व सम्पदा सूचीमा परेको लुम्बिनी घुम्न जाँदा रामग्रामलाई पनि आफ्नो गन्तव्यमा पार्न सके घुमाइ अझ रमाइलो हुनसक्छ। परासीबाट तीन किलोमिटर दक्षिणमा रहेको रामग्रामसम्म जिप, भ्यान वा रिक्सामा सजिलै पुग्न सकिन्छ। बस्नका लागि केही होटलहरू छन्। त्यहाँबाट एक घन्टाको बसयात्रामा बुटवल वा भैरहवा र्फकन सकिन्छ।

This appeared in NEPAL magazine

No comments:

Post a Comment