Sunday, January 22, 2012

सम्झनामा ईश्वरमान सिंह

नेपाली खेलपत्रकारिता जगतमा पहिलो पुस्ताका पत्रकारहरु मध्येका एक ईश्वरमान सिंहले यहि पुष १८ मा यस संसार छाडेका छन् । केही समय अघिदेखि पक्षघाटबाट पीडित उनलाई मृत्यु हुनुभन्दा त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालको आईसियुमा राखिएका उनी ७५ बर्षका थिए ।

राष्ट्रिय समाचार समिति (रासस) मा झण्डै ३ दशक काम गरेका उनी नेपालको खेलकुद जगतको अवस्था र इतिहासलाई राम्रोसँग विश्लेषण गर्न सक्ने कमैमध्ये गनिन्थे । नेपालमा व्यावसायिक पत्रकारिताकै बिकास राम्रोसँग नभएको अवस्थामा समेत उनले त्यसबेला नै “खेलकुद बिट” समातेर लेख्नु सबैभन्दा रोचक पक्ष मानिन्छ । उनीबारे अग्रज खेल पत्रकार श्याम चित्रकारले भनेका छन्, “मैले २०२७ सालमा फुटबल खेल्दा उहाँले पत्रकारिता शुरु गरिसक्नुभएको थियो ।”

कृषि मन्त्रालयका जागिरे रहेका उनी त्यो छाडेर बिसं २०३५ सालमा राससमा रिपोर्टरको रुपमा प्रवेश गरेका थिए । सेवानिवित्त हुने समय भने उनी प्रबन्ध सम्पादक थिए । तर त्यतिले मात्र उनको योगदान झल्कंदैन । त्यसबाहेक “खेल र खेलाडि”, “स्पोर्टस एण्ड लिजेण्ड” नामका दुई खेलकृति समेत प्रकाशन गरेका थिए भने “खेलकुद मञ्च” र “नेपाल स्पोर्टस एण्ड लेजर” म्याजेजिनको सम्पादक समेत भए । उनलाई पछिल्ला पुस्ताका खेलकुद पत्रकारहरुले एक आदर्श व्यक्तिका रुपमा लिन्थे । त्यसो हुनुमा उनको पुरानो खेलकुद पत्रकारिताको लगाव मात्र कारण थिएन, उनी सधै खेलकुल पत्रकारिता जगतलाई नेपालमा संगठित र संस्थागत गर्न समेत लागि परे । दक्षिण एसियाली खेलकुद पत्रकार संघ नेपाल त्यसकै एउटा उदहारण हो जसको सिंह संस्थापक अध्यक्ष पनि हुन् । पछिल्लो समय भने उनी स्वतन्त्र खेल पत्रकार तथा विश्लेषकका रुपमा थिए ।

बिसको दशकको अन्त्यतिरबाटै पत्रकारितामा हाम फालेता पनि उनको मुख्य काम भने २०३८ सालमा भएको प्रथम राष्ट्रिय खेलकुद यता देखिन थालेको पत्रकार तथा पूर्व फुटबल खेलाडि चित्रकार ठान्छन् । उनी साधारण रिपोर्टिङमा मात्र पोख्त नभइकन खेलको भविष्यवाणी गर्नमा समेत माहिर मानिन्थे जसले धेरैलाई चकित बनाउँथ्यो । निकै सरल स्वभावका उनी पत्रकारिता गर्दा वा संगठनभित्र कहिल्यै विवादमा आउन चहाँदैनथे । उनमा पद लोलुपता नहुनु पनि विचित्रको गुण भएको उनलाई नजिकबाट चिन्ने पत्रकारहरु बताउँछन् । साथीहरुले प्रस्ताव गर्दा मात्र जिम्मेवारी ग्रहण गर्ने र विवाद उठ्नासाथ जिम्मेवारी छाडिहाल्थे उनी । 

This appeared in NEPAL magazine

No comments:

Post a Comment