Thursday, February 2, 2012

चिसो भेट्न ‘चिसापानी’

"हाइकिङ् जाने एउटा पर्फेक्ट ट्रेल"

कडा ठण्डीकै बिचमा समेत काठमाण्डुको उत्तरमा पर्ने ‘चिसापानी ट्रेल’मा हाइकर्सहरुको कमी थिएन । तर उस्तै चिसो झेलिरहेको काठमाण्डुबाट हिंडेका उनीहरुको यात्रा ‘जाडो छल्न’ भने थिएन । नाम सुन्दैमा चिऽऽसो भएजस्तो लाग्ने ‘चिसापानी’ धेरैजसोको गन्तव्य थियो । यात्रामा भेटिएका एकजना २४ बर्षे तन्नेरी हरिबहादुर बस्नेत साँझ पर्दैगर्दा चलेको सिरसिर एवं चिसो हावाले कठ्यांग्रींदै थिए । ‘फलामलाई फलामले काट्ने अभ्यास हो यो”, चिसोले लड्बढिएको लवजमा उनी जबरजस्ती ठट्यौली बन्न खोजे, ‘यो चिसो खेपेपछि त अब हातैले फलाम काट्न सकिएला ।”

हुन पनि झण्डै सात घण्टा समय लगाएर काठमाण्डुबाट हिंडेका हरिजस्ता एक हुल चिसापानी पुग्दा साँझ परिसकेको थियो । दिनभरको थकान, त्यसमाथि झनै चिसो ठाउँ पुग्दा शुरुमा धेरैलाई उक्त यात्रा ‘निल्नु न ओकल्नु’ झैं भइसकेको थियो । तर तीन जिल्लाको (नुवाकोट, सिन्धुपाल्चोक र काठमाण्डु) संगम चिसापानीमा जब रात ढल्कन थाल्यो, केहीबेर अघिसम्म ‘थकथक’ मानिरहेका तिनैले रोमाञ्चक माहोल र मौसमको स्वाद लिए । २,१९४ मिटरको उचाईमा रहेको थुम्कोबाट ताराहरु हेर्दै, विस्तारै चल्ने मादक हावा र तपतप झर्ने ‘सित’ बिच ‘क्याम्पफायर’ गर्दै रमाउनु फरकफरक स्वाद मिसिएर जन्मिएको एउटा नयाँ वातावरण थियो । इटहरीका इन्द्र बिष्ट, २६, को मन धेरै नै फुरुंग भएछ क्यारे, थेगोजस्तै केहीछिन बिराउँदै भन्थे, ‘वण्डरफुल’ । काठमाण्डुका रामेश्वरराज भण्डारी, २८, ले भने उक्त वातावरणलाई ‘सबै चिजको मात्रा ठिक्कसँग पूगेको ककटेल मौसम’ अथ्र्याए । एकपछि अर्को कवि बन्नेक्रम चलिरहेको बेला आतिथ्य प्रदान गरिरहेका शिवपुरी फाइन्डर क्याम्पका संचालक मणिराम केशी, ४२, ले विष्टको उत्साहलाई बढाउन थपे, ‘यो त आधा मात्र हो, बाँकी अनुभव गर्न भोलिको विहानसम्म धैर्य राखौं ।’

विहानपख हिमालले गरेको स्वागत झ्यालबाटै देख्न सकिन्छ । चियाको चुस्कीसँगै पारिलो घाममा हिमाललाई पृष्ठभूमिमा राख्दै तस्विर खिच्च मानिसहरु व्यस्त हुन्छन् यतिबेला । चिसापानीबाट लाक्पा दोर्जे, गौरीशंकर, गणेश, अन्नपूर्ण, मनास्लु, माछापुछ्रे, लाङटाङ, फिस्टेल, बुद्धजस्ता ५ अञ्चलका हिमालहरु एकैथलोबाट स्पष्टसँग अवलोकन गर्न सकिन्छ । चिसो निकै बढेको बेला त्यहाँ हिउँसमेत पर्छ ।

सुन्दरीजलबाट उकालो लागेपछि चिसापानी ट्रेलको यात्रा शुरु हुन्छ । राजनीतिक नेता विपी कोइरालालाई राखिएको सुन्दरीजल जेल, चन्द्र समशेरको पालामा बनेर हालसम्म काठमाण्डुसम्म खानेपानी लैजान प्रयोग भइराखेको ठूल्ठूला पाइप ट्रेलका ‘फस्ट इम्प्रेसन’ बन्छन् । त्यसको केहीबेरमै राजधानी शहरबाट सबैभन्दा नजिक रहेको विश्वका कमै राष्ट्रिय निकुञ्जमध्येको एक ‘शिवपुरी राष्ट्रिय निकुञ्ज’ प्रवेश गरिन्छ जहाँबाट हाइकिङले वास्तविक मोड पकड्छ । केहीबेरमा मुलखर्क भन्ने गाउँ आउँछ जहाँसम्म मात्र पनि एक तहको निकै छोटो हाइकिङ् टुङ्ग्याउन सकिन्छ । त्यहाँ बस्नकै लागि समेत केही होटलहरु बनेका छन् भने वरपर घरपालुवा जनावरहरु चर्ने भिराला तर समथर चौरहरु छन् । निकै शान्त लाग्ने त्यस्ता चौरमा घाम ताप्दै एकैछिन टहलिनु वा साथीभाई मिलेर गफिनुको मज्जा अनुपम हुन्छ ।


मूलखर्कसम्म पैदलयात्रा मात्र गर्न मिल्नेगरी सिंढीहरु बनाइएको छ भने त्यसमाथि गोरेटो, मोटरबाटो र दुवैतर्फ पहाडले घेरेर बिचमा गुफाजस्तो देखिने फरक फरक शैलीका बाटोहरु आउँछन् । निकै घना जंगलका बिचबाट गरिने यस हाइकिङ् रुटमा हिंश्रक जंगली जनावरहरुको डर खासै नभएता पनि त्यहाँको सुनसान वातावरण र घना जंगलले आफ्नै समूहमा हुने रमाइलोसँगै हाइकर्सलाई ‘मनोवाद’ गर्न समेत विवश पार्छ ।

लमाचौर, बर्लाङ नाम गरेका तामाङ गाउँ मूलखर्क र चिसापानी बिचमा आउँछन् जसले स्थानीय तामाङ संस्कृति र रहनसहनसँग परिचित गराउँछ । प्राय: जाडो याममा हिउँ पर्ने ‘ढोका भन्ज्याङ’ भने विशेष आकर्षण हो । खोंचमा पर्ने यस भन्ज्याङमा घाम सितिमिति नपर्ने हुँदा हिउँ लामो समयसम्म रहन्छ । र, त्यहाँबाट हिंडेको केहीबेरमै चिसापानी आउँछ । चिसापानी जाने उपयुक्त समयबारे मणिराम भन्छन्, ‘चिसोमा चिसापानीको एउटाखाले विशेषता छ त गर्मीमा अर्कैखाले ।’ फर्कर्ने क्रममा थप ६ घण्टा नगरकोटसम्मको हाइकिङ् गरेर वा शिवपुरी डाँडा, बागद्वार हुँदै बुढानिलकण्ठ झरेर मध्येको एक विकल्प सोच्न सकिन्छ ।

This appeared in Hello Shukrabar (KANTIPUR). Click here for e-paper view

No comments:

Post a Comment