Thursday, February 9, 2012

दामी दामन



दामन, भन्नासाथ धेरैले ‘हिउँ खेल्ने ठाउँ’ सम्झन्छन् । हुन पनि २,५८४ मिटरको उचाइमा रहेको मकवानपुर जिल्लाको उत्तरमा पर्ने दामन गाविसको सिमभञ्ज्याङले सबैभन्दा प्रशिद्धि हिउँबाटै कमायो । त्यसबाहेक दामन अन्य दुई कुराले चर्चित छ, ‘विश्वका उत्कृष्ठ १४ मध्ये ८ वटा हिमालको एकै ठाउँबाट हुने अवलोकन’ र ‘उत्कृष्ठ सूर्योदयको दृश्य’का लागि । एकै ठाउँबाट त्यतिधेरै हिमाल देखिने नेपालको निकै कम ठाउँहरु मध्ये दामन समेत एक हो । त्यहाँको एउटा “भ्यूटावर” समेत छ जसमा रहेका दूरविनको सहायताले परपरसम्मका गाउँहरु एवं हिमाललाई झनै राम्रोसँग हेर्न मिल्छ । 


त्यससँगै त्यहाँ वरपरको जंगलमा एक दर्जन प्रजातिका लालीगुराँस पाइन्छन् भने विभिन्न शैलीका सुनगाभाका लागि समेत यो चर्चित छ । त्यहाँबाट २ घण्टा हाइकिङ् गर्दै मानवनिर्मित ताल ‘इन्द्रसरोवर’ पुग्न समेत सकिन्छ । शिशिर याममा दामनमा हिउँ पर्ने भएता पनि जाडोभर नै त्यहाँका कुलोहरुमा विहानपख पानी जमेर शिशाझैं बरफका पाताहरु देखिन्छन् । त्यही विशेषतालाई बुझेर हालै त्यहाँको करुणाभूमि सामुदायिक वन उपभोक्ता समूहले ‘क्रितिम पर्वतिय ताल’ निर्माण थालेको छ जसले चिसोमा हिमतालको रुप लिनेछ । पर्यटकको बढ्दो चापलाई बुझेरै अहिले यहाँ थप एक भ्यूटावर निर्माण थालिएको छ ।


त्रिभुवन राजपथ अन्तर्गत पर्ने दामन काठमाडौंबाट झण्डै ४ घण्टाको बस यात्राबाट  पुग्न सकिन्छ । रात विताउनका लागि त्यहाँ थुप्रै होटल तथा रिसोर्टहरु छन् ।


तस्विर: गोकर्ण लामिछाने 
  
This appeared in NEPAL magazine 

No comments:

Post a Comment