Monday, February 27, 2012

बाटो छेक्ने मन्दिर

अति सवारी जामको चपेटामा पर्ने काठमाडौँका केही स्थानमध्ये पर्छ, क्षेत्रपाटी चोक। ६ वटा बाटाको संगम उक्त चोकको बीचैमा भैरव र सरस्वतीका दुईवटा मन्दिर छन्। त्यही मन्दिरकै कारण त्यहाँ धेरै जाम हुने गरेको छ। जामै गराउने गरी अरू पनि चोक र सडकमा यस्ता मन्दिर छन्, उपत्यकामा। यस्ता मन्दिरले अहिले द्रूत  गतिमा भइरहेको सडक विस्तार कार्यलाई समेत धेरै ठाउँमा प्रभावित गरेका छन्। 


यद्यपि, सडक विस्तारमा जुटेको नगर विकास समितिले भने अहिले त्यस्ता मन्दिर धेरै भएका ऐतिहासिक क्षेत्रहरूमा भन्दा अन्य क्षेत्रमा आफ्नो कामलाई केन्द्रित गरेको छ। समितिका नगर नियोजक भाइकाजी तिवारी भन्छन्, "अहिले त कतिपय स्थानमा समस्या देखियो भने पुराना बस्तीहरू जहाँ मन्दिरै मन्दिर छन्, त्यहाँ त यो ठूलो समस्या हुनेछ।" यातायात आवतजावतमा समस्या सिर्जना गररिहेका यस्ता मन्दिरहरू सामान्यतः दुई प्रकृतिका छन्। सडक बीचमा भेटिने एकखाले टापु मन्दिरहरू छन् भने अर्कोखाले सडककै हिस्सासमेत ओगटेर बनाइएका छन्। कालिकास्थानको मन्दिर एउटा त्यस्तै उदाहरण हो, जसले सडकको झन्डै आधा हिस्सा ओगटेर बसेको छ। लैनचौरको ज्यापुगुठी मन्दिर सडक बीचमा रहेर आवतजावतमा समस्या सिर्जना गररिहेको मन्दिरको राम्रो उदाहरण हो। कसैको कुरा नसुनीकन सडक विस्तारमा अघि बढिरहेको नगर विकास समितिसमेत मन्दिर र मूर्ति बाधाका रूपमा आइपुग्दा धेरैपल्ट सोचमग्न हुने गर्छ। तर, विसं २०३३ यता बनेका मन्दिरको हकमा भने समिति त्यति धेरै चिन्तित नभएको तिवारी बताउँछन्। भन्छन्, "धेरैतिर सडक अतिक्रमण गरिएकाले त्यसबाट बच्नकै लागि मन्दिरलाई अस्त्र बनाइएका छन्। त्यस्ता मन्दिर भत्काउँदा सोचिराख्नु पर्दैन।"

सडकसँग मन्दिरको सम्बन्ध जोडियो भने त्यसले ओगट्ने जग्गा मात्र समस्या बन्दैन, त्यत्तिकै रूपमा त्यहाँ पूजाआजा हुँदा हुने भीडभाडले समेत गाडीको ओहोरदोहोरमा समस्या पार्छ। लैनचौरको ज्यापुगुठी मन्दिरलाई त्यसै सोचेर तिवारीले जमिनमुनिबाटै उठाएर अन्यत्र खुला ठाउँमा सार्ने सोचेका थिए। तर, स्थानीयले 'जमिनमुनि आफ्ना देवताको बास' भएकाले त्यसो गर्न नदिने अड्डी कसेपछि छेउमा वैकल्पिक बाटो विस्तार गरियो। समितिका इन्जिनियर रामप्रसाद श्रेष्ठ भन्छन्, "सामाजिक सद्भावसँग यस्ता मन्दिर तथा मूर्तिहरूको सम्बन्ध जोडिने हुँदा बढी नै संवेदनशील हुनुपर्छ।" 
यस्तो समस्या आएको अहिले पहिलोपटकचाहिँ होइन। अहिलेको वीर अस्पतालअगाडि रहेको एउटा चैत्यले बाटोमा ठूलै समस्या सिर्जना गर्ने देखेपछि विसं ०१९ मै त्यसलाई जस्ताको तस्तै स्वयम्भूमा स्थानान्तरण गरिएको थियो। त्यस्तै सडक बीचमा रहेको रानीपोखरीको १६ हाते गणेशसमेत त्यसैबखत छेउमा सारिएको थियो। "मानवजातिझैँ संस्कृति र सभ्यतासमेत परविर्तन हुन्छन्, जसको आत्मसात् हामीले गर्न जान्नुपर्छ," संस्कृतिविद् जलकृष्ण श्रेष्ठ भन्छन्, "मन्दिरहरू अन्यत्र सार्न सकिन्छ, धर्मले रोक्दैन।" सामान्य अवस्थामा निर्माण गरिएका मन्दिर तथा मूर्तिहरू स्थानान्तरण गर्दा त्यसको सारतत्त्वमा असर नगर्ने उनी दाबी गर्छन्। थप्छन्, "जस्तो : बुद्ध जन्मिएको स्थान लुम्बिनीमै स्थापना गरिएको स्तम्भ अन्यत्र सार्न सकिँदैन किनभने त्यस स्थानसँग त्यसको विशेष महत्त्व जोडिएको हुन्छ। सबै अवस्था त्यस्तो हुँदैनन्।" त्यसमाथि नेवार समुदायमा क्षमापूजा गरेर मन्दिर तथा मूर्ति स्थानान्तरण गर्ने धार्मिक सहजतासमेत छ।

विसं ०३३ मा नगर विकास समितिले बनाएको मापदण्डविपरीत सडक मिचेर बनेका घरकम्पाउन्ड अहिले कारबाही भोगिरहेका छन्। तर, कतिपय त्यस्ता मन्दिरहरू त्यसअघि नै बनेका र तिनको धार्मिक तथा ऐतिहासिक महत्त्व रहेकाले केहीमा समस्या देखिएको छ। इन्जिनियर श्रेष्ठ भन्छन्, "त्यसैले त्यस्ता मन्दिर परेका ठाउँमा भरसक विकल्प सोच्ने गरिएको छ।"  धार्मिक मामिलामा निकै आस्थावान् तथा कट्टर रहेको काठमाडौँमा यस्ता विषयमा जनतालाई कुरा बुझाउन नसक्दा निकै ठूलो समस्याका रूपमा देखिएको जलकृष्णको तर्क छ। भन्छन्, "इजिप्टमा जलविद्युत् परियोजना बनाउने क्रममा निकै महत्त्वपूर्ण सांस्कृतिक सम्पदाहरूलाई समेत स्थानान्तरण गरिएका थिए। हामीले पनि राम्रोका लागि पाठ सिक्नुपर्छ।" 




नेपालकै इतिहास केलाउने हो भने प्रताप मल्लको पालामा महत्त्वपूर्ण मूर्तिहरू स्थानान्तरण गरिएका थिए। उनले हनुमानढोका सिंगार्न भन्दै कालेदमन र शेषनारायणको मूर्तिलाई विशालनगरबाट सारेर ल्याएका थिए। धरहराछेउको नागीस्थान मन्दिर तीनपटकसम्म सारिएको त संस्कृति मन्त्रालयका सहसचिवसमेत रहिसकेका जलकृष्ण आफैँले देखेका थिए। विकासमा धार्मिक धरोहरहरूले अवरोध सिर्जना गर्दा विकसित देशमा त्यसलाई सुरक्षित स्थानान्तरण गर्ने गरिन्छ । जलकृष्णको भनाइ छ, "फेरि त्यस्ता धरोहरहरूको लामो आयु तथा प्रवर्द्धनका लागि सडकजस्ता प्रदूषित ठाउँका किनारमा होइन, शान्त तथा खुला ठाउँमा राख्नु वैज्ञानिक हुन्छ।" अहिले सडक विस्तार गरिएका क्षेत्रमा अवरोधका रूपमा देखिएका थप केही मन्दिरमा भाटभटेनीको गैरीधारा मन्दिर, डिल्लीबजारको जैनमन्दिर, डिल्लीबजारकै राधाकृष्ण मन्दिर र कमलपोखरीको कुमारी मन्दिर हुन्। जग्गा ओगट्ने उद्देश्यका साथ व्यक्तिगत हिसाबले बनाइएका मन्दिरहरू पनि छन् केही। "यस्ता मन्दिरहरू त हामीले आँखा चिम्लेर भत्काएका छौँ," समितिका नियोजक तिवारी भन्छन्, "समुदायको मन्दिर रहेछ भने हामीले समुदायसँग छलफल गरेर समाधान निकालेका पनि छौँ।" 

संस्कृतिविद्हरूले भनेजस्तै स्थानीयबासीलाई मन्दिर स्थानान्तरण गर्न सकिने धार्मिक र ऐतिहासिक नजिरका बारेमा बुझाउन सकियो भने सडक निर्माण कार्यक्रम अहिले मात्र होइन, भविष्यमा पनि सहज हुनेछ। 

No comments:

Post a Comment