Monday, February 27, 2012

जहाँको त्यहीँ

भारतको चेन्नईमा एकथरी यस्ता नेपालीको जमात पनि छ जो लामो समय प्रवासमा बिताएर पनि खासै ठूलो फड्को मार्न सकेन 

Yubaraj Gautam 
सोचेजस्तो भइदिएको भए युवराज गौतम अहिले भारतीय सेनाको पेन्सन खाइरहेका हुन्थे। गृहजिल्ला गुल्मीमा नाति-नातिना हेर्थे। तर, ३८ वर्षअघि भारतीय सेनाका लागि छनोट चरणबाट बाहिरीएपछि उनी जागिरको खोजीमा मद्रास (हालको चेन्नई) हान्निनुपरेको थियो। उमेरले साढे पाँच दशक काटिसकेको बुढ्यौलीमा समेत अहिले उनी बिरानो सहरमा एक्ला छन्। एउटै गति र लयमा चेन्नई सेन्ट्रलनजिकैको शंकर गेस्ट हाउसमा गार्डका रूपमा उनको दैनिकी बित्छ। दिनरात उक्त होटलमा पहरेदारी गर्नु उनको चौबीस घन्टे ड्युटी छ। केही साताअघि मात्रै नेपालसँगको कुराकानीमा उनी भन्दै थिए, "अब त जीवन नै यस्तै हो कि जस्तो लाग्न थालिसक्यो।" चेन्नईमा उनको सुरुवाती काम नै गार्डका रूपमा थियो। सुरुमा १ सय ५० भारतीय रुपियाँ मासिक तलब पाउँथे उनले। अहिले उनको पारश्रिमिक १२ हजार रुपियाँ पुगेको छ। तर, गौतमलाई ती दुवै 'तनाखा'का मूल्य उस्तै लाग्छन्। "उतिखेर ५० रुपियाँले खान पुग्थ्यो, अहिले दुई हजार लाग्छ," उनको भनाइ छ, "महँगी त झन् नेपालमा पो बढेको छ। घर पठाउने पैसाले त उता झन् केही हुँदैन।"

दक्षिण भारतको तामिलनाडु राज्यस्थित चेन्नई सहर आर्थिक तथा व्यापारकि केन्द्रका रूपमा विकसित छ । त्यसैकारण धेरैअघिदेखि नेपालीका लागि रोजगारको आकर्षक केन्द्र बन्यो। अटोमोबाइल, सफ्टवेर/हार्डवेयर तथा बैँक एवं वित्तीय क्षेत्रमा निकै फड्को मारिराखेको यस सहरलाई फोब्र्स म्यागेजिनले समेत विश्वका तीव्र गतिमा विकसित भइराखेको सहरका रूपमा राखेको छ। यस्तो रफ्तारमा अगाडि बढिराखेको सहरमा नेपालीको गति भने निकै सुस्त छ। गार्ड/चौकीदारमै नेपालीको बाहुल्य छ भने पछिल्ला पुस्ताका नेपाली भने होटलमा सहयोगी सेफ र वेटरमा भेटिन्छन्। अझ अर्को तीतो सत्य त के छ भने नेपालीहरूले आफ्नो आधा जीवन नै यहाँ बिताउँदासमेत केही उल्लेखनीय फड्को मार्न सकेका छैनन्। वर्षौंअघि आएर जे काम सुरु गरेका थिए, त्यसमै अल्झिरहेका थुप्रै नेपाली भेटिन्छन् चेन्नईमा। 



Deviram Paudel

बाग्लुङका शिवप्रसाद शर्मा (लामिछाने), ५४, समेत गौतमजस्तै नियति भोग्ने नेपालीमध्येका हुन्। उनले चेन्नईमा मात्रै २६ वर्ष बिताइसके। तर, त्यसअघि असममा काम गरेका उनको भारत बसाइ भने चार दशक पुगिसक्यो। असम पुग्दा उनी १३ वर्षका थिए। ४ कक्षा मात्र पढेका शर्माको भारत आगमनसँगै पढाइसमेत ठप्प भयो। एक जना मारवाडीको पसलमा दिनभर सघाउने र राती त्यहीँ सुत्ने सर्तमा मासिक २५ भारतीय रुपियाँमा पहिलो काम सुरु गरेका थिए उनले। २५ रुपियाँको तलब ५० पुग्न दुई वर्ष लाग्यो। उनले पाउने त्यो पैसा उनकै लबाइखवाइमै ठिक्क हुन्थ्यो। अलिअलि बचेको समेत घर पठाउनुपथ्र्यो। जागिरले केही थेगेन भन्ने सोचेर उनले आफ्नो निजी व्यवसाय सुरु गरे। वाषिर्क २ सय ५० भारतीय रुपियाँ तिर्ने गरी उनले एक बिघा जग्गा भाडामा लिएका थिए, उखु खेती गर्न। तीन वर्षजति उक्त काम गर्दा उनले पैसा पनि राम्रै कामाउन थालेका थिए। "एक ट्रक उखु नै त्यसबेला १ हजार ६ सय रुपियाँमा बिक्थ्यो," शर्माले पुराना दिन सम्झे, "तर, असमबाट बंगालीलाई लखेट्दा त्यही हूलमूलमा हामी नेपालीसमेत परियो  र, सबै सकियो।"

अहिले शर्मा चेन्नईकै एक होटलमा सामान ओसारपसारको काम गर्छन्। अहिले उनको मासिक तलब १६ हजार ६ सय रुपियाँ छ। तर, आधाभन्दा बढी जीवन यसरी विदेशमा बिताउँदासमेत त्यति हुनुलाई उनी आफैँ ठूलो उपलब्धि ठान्दैनन्। भन्छन्, "जिन्दगीमा खाएको ठक्करका अगाडि यो पैसा केही पनि होइन।" 

ShalikRam Pandey
कम तलब भईकन पनि दुःखसँग बस्ने बानीले गर्दा कतिपय नेपाली बचतको मामिलामा भने अगाडि छन्। गार्ड काम गर्नेहरू प्रायः होटल वा काम गर्ने घरमै सुत्ने हुँदा कोठाभाडामा खर्च हुँदैन। "नेपालबाट परिवार ल्याउने हो भने त हाम्रो तनखाले यहीँ पालिनै पुग्दैन, घर पठाउने कुरा त कता हो कता !" ३० वर्षअघि बाग्लुङ, छिस्तीबाट आएका देवीराम पौडेल, ५३, भन्छन्, "जेनतेन आफ्नो जीवनलाई कष्टमा राखेर हामीले पैसा जोगाउँछौं र नेपाल पठाउँछौँ।" एकपटक पौडेलले श्रीमती लिएर आएका थिए तर बाहिर कोठाभाडा तिरेर बस्नुपर्ने हुँदा खर्च दोब्बर हुन थाल्यो र नेपाल नै फर्काए। पौडेल अहिले मिलर्स रोड जङ्सनस्थित विशाल सर्जिकलमा हेल्परका रूपमा काम गर्छन्। सुरुमा आउँदा उनको तलब २ सय ५० रुपियाँ थियो। मासिक दुई सय बचत गर्दै तीन वर्षमा उनी सात हजार रुपियाँ बोकेर घर फर्केका थिए। अहिले मासिक ११ हजार रुपियाँ तलब बुझ्ने उनी भन्छन्, "त्यतिखेरै बिहे गरेँ। २ हजार २ सय रुपियाँमा एक तोला सुन पाइन्थ्यो उतिबेला।" अहिले घरमा उनको पाँच वर्षको नाति हुर्किरहेको छ, जसले गर्दा झन् उनलाई घरको न्यास्रो लाग्न थालेको छ। भन्छन्, "नेपाल जान मन त छ तर पैसाकै लागि काम छोड्न नसकिने बाध्यता पनि त छ।"

Shiva P Sharma
पर्वत, कार्कीनेटाका चन्द्रकान्त आचार्य, ४७, को भारत बसाइ भने दिल्लीबाट सुरु भएको हो। पाइन्ट सिलाउन भनेर घरबाट निस्केका उनी त्यतैबाट दिल्ली भागेका थिए। "साथमा १ सय २० रुपियाँ मात्र थियो," उनी सम्झिन्छन्, "तर, त्यसबेला गाउँबाट हामी पाँच जना मिलेर भागेको हुँदा जसोतसो भारतको राजधानी पुगियो।" सुरुको एक महिना त उनलाई विदेशमा बैराग लाग्यो। सानै भएका कारण सानो जागिर पाउनसमेत उनलाई निकै हम्मे पर्‍यो। पछि केही महिना उनले मासिक एक सय भारतीय रुपियाँ तलबमा कोठीमा काम गरे। पछि होटल र स्थानीय ठेलामा काम गरेपछि उनमा समेत आफ्नै व्यवसाय सुरु गर्ने रहर पलायो। "मैले एउटा ठेला भाडामा लिएर आलु, टमाटर र प्याज सप्लाई गर्ने काम सुरु गरेँ," आचार्य मलिन भावमा भन्छन्, "मेरो प्रगति राम्रै भइराखेको देखेर सँगै काम गर्ने भारतीयहरूले आँखा गाडे।" एक रात उनको ठेलै लुटियो र उनको त्यो रफ्तारमा ब्रेक लाग्यो। उनका अनुसार तल्लो स्तरको जागिर गर्न भारतमा सहज छ, जसका लागि भारतीयहरू स्वयं उत्प्रेरणा जगाउँछन् तर त्यसभन्दा माथि उठेर जब काम गर्न खोजिन्छ, समस्या र अवरोधहरू सिर्जना हुन थाल्छन्। 

Chandra K Acharya
त्यही झोँकमा दिल्लीबाट चेन्नई हान्निएका उनी त्यसयता गार्डदेखि अटोमोबाइल कम्पनी हुँदै तामिलनाडु टेक्सबुक कर्पोरेसनमा काम गर्छन्। उनी नेपाली कांग्रेस समर्थक नेपाली जनसम्पर्क समिति, दक्षिण भारतका केन्द्रीय उपाध्यक्षसमेत छन्। कामकै बीच बेलाबखत उनी भारतका विभिन्न ठाउँमा हुने समितिको भेला र संगठन विस्तारमा जान्छन्। "यी महँगा सहरमा हाम्रा लागि यिनै भुल्ने राम्रा तरिका हुन्," उनी भन्छन्, "जसरी पनि जीवन गुजारा गर्नुपर्ने नै रहेछ।" चार छोरी र एक छोराका बाबु उनका दुई छोरी र एक छोराको बिहे गर्न बाँकी नै छ। यही जिम्मेवारीले गर्दा पनि उनले चेन्नईमा काम गररिहनुपर्ने बाध्यता छ। वर्षमा कहिलेकाहीँ दुईपटकसम्म उनी नेपाल पुग्छन् तर नेपाल बसाइको धीत नमर्दै र्फकन्छन्। भन्छन्, "तर, कम्तीमा ती दुई छोरीको बिहेका लागि समेत मैले काम गर्नुपर्छ भन्ने लाग्छ र म चेन्नई फर्किहाल्छु।" 

सुन्दरम लाइन, बटेरीमा भने नेपालीका सात परिवार मिलेर एउटा घर नै भाडामा लिएर बसेका छन्। "मिलेर बस्दा खर्च कम हुने र परिवारसहित पनि बस्न पाइने भएकाले यसो गरिएको हो," १६ वर्षअघि स्याङ्जाबाट चेन्नई छिरेका शालिकराम अर्याल, ३८, भन्छन्, "सबैका लागि यस्तो घर नभेटिन पनि सक्छ।" पि्रन्स फाउन्डेसन नामको एक घरजग्गा कम्पनीमा बिल्डर्सका रूपमा उनको काम छ। त्यहाँबाट बुझ्ने मासिक १५ हजार रुपियाँले एसएलसी तह पुग्नै आँटेका दुई छोराको स्कुल खर्च र कोठाभाडा तिर्न नै ठिक्क हुन्छ। भन्छन्, "त्यसैले साँझपख एक डान्सबारमा समेत काम गर्नुपरेको छ।" लामो समय प्रवासमा संघर्ष गर्दासमेत स्थापित हुन नसक्नुमा आफ्नै अवस्थालाई दोष दिन्छन् नेपालीहरू। "पढाइ कम छ, विशेष सीप छैन भने त अरू के नै गर्न सकियो र !" गौतम भन्छन्, "समय अनुसार चल्न नसक्दा सधैँ एउटै स्थितिमा भइँदो रहेछ।" 

प्रवासमा रहेर राजनीति गर्नेहरूका लागि समेत दक्षिण भारतका सरकारहरू केही लचिला छन्, जसले थुप्रै संगठन फस्टाउने अवसर दिएको छ। "मानिसहरू निकै व्यावसायिक भइसकेका कारण स-साना कुरामा त्यति ध्यान दिँदैनन्, जसरी उत्तरी राज्यहरूमा दिइन्छ," नेपाली जनसम्पर्क समितिका आचार्य भन्छन्, "नेपालमा दोस्रो जनआन्दोलन हुँदासमेत हामीले सबैभन्दा बढी विरोध प्रदर्शनका कार्यक्रम यतै गरेका थियौँ।" चेन्नई बसेर नेपालीहरूबीच राजनीति गरे पनि जोकोहीले आखिर काम त गर्नैपर्छ। खान-बस्न र नेपालमा रहेका परिवारका लागि आर्थिक सहयोग गर्न काम गररिहेका नेपाली श्रमिकका सबैका कथाव्यथा सुन्दा उस्तैउस्तै लाग्छन्। 

No comments:

Post a Comment