Thursday, March 15, 2012

खै दमकल ?

विसं १९९३ को कात्तिकमा काठमाडौंको असनमा लागेको आगो स्थानियबासीको काबुबाहिर गएपछि निभाइदिनका लागि उनीहरुले सरकारलाई आग्रह गरेका थिए । तर त्यसबेलाको ढिलासुस्ती र गैरजिम्मेवारीले गर्दा मंसिरमा मात्र सरकारी पक्षबाट सेनालाई ‘गएर निभाइदिनु’ भन्ने आदेश दियो । जसले गर्दा उतिबेला निकै ठूलो जनधनको क्षति भएको थियो असनमा । पछि राणा प्रधानमन्त्री जुद्ध समशेर स्वयं क्षतिको अवलोकनका गर्न जादा त्यो कहालिलाग्दो अवस्था देखेर रोएका थिए रे पनि भनिन्छ । त्यसैबेला फोहोरा दरबारमा समेत आगलागी भएपछि काठमाडौंमा पहिलोपटक दमकलको आवश्यकता महसुस गर्न थालियो र जुद्धसमशेरले भीमभेंदीको बाटो हुदै काठमाडौंमा तीन दमकल ल्याउन लगाए । त्यसको केही महिनापछि उनले नै पाटन (अहिलेको ललितपुर) र भक्तपुरका लागि समेत थप दुई–दुई वटा दमकल झिकाए । सञ्चार सुविधा नभएको त्यसबेला फलामे टावर बनाएर त्यसबाट आगोको मुस्लो नियाल्दै र साइकलमा कर्मचारीहरुलाई बस्तीहरु निरन्तर चहार्न लगाइन्थ्यो र कतै आगजनी भएको भेटिएमा दमकल त्यसतर्फ पठाइने गरिन्थ्यो । 

सात दशक अगाडिको त्यो समय कुनै दन्त्यकथाझैं लागेता पनि अहिलेको अवस्था समेत त्यो भन्दा खासै फरकको देखिन्न, बरु झन् दयनिय बनिराखेको छ । काठमाडौंका धेरै दमकलहरु सजिलै नबन्नेगरी थन्किएका छन् भने चालु अवस्थामा रहेका समेत सम्भावित र झेलिराखिएका ठूला प्रकृतिका आगजनी थेग्न नसक्ने खालका छन् । अहिले काठमाडौं उपत्यकामा सर्वसाधारणका लागि भनेर ४ वटा मात्र दमकल छन्, तीन काठमाडौंमा र एक भक्तपुरमा गरेर । त्यसबाहेक सेना र प्रहरीस“ग थप एक/एक दमकल छन् तर ती आन्तरिक तालिम र सुरक्षा प्रयोजनका लागि प्रयोग हुने हु“दा जनसम्पर्कबाट बाहिरै हुन्छन् । ती ठूलै बिपत् आइपर्दा मात्र जुद्ध बरुणयन्त्रको आग्रहमा बाहिर निस्कन्छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा भएका तीन दमकल चौबिसै घण्टा त्यही रहनुपर्ने हुन्छ भने पशुपति बिकास कोषको नाममा रहेको थप अर्को दमकल समेत पशुपतिकै लागि पानी ओसार्ने काममा सीमित देखिन्छ । ‘त्यसैले निकै चापमा काम गरिराख्नुपरेको अवस्था छ अहिले’, जुद्ध वरुणयन्त्र कार्यालयका प्रमुख लीलाराज गछामगरले भने, ‘त्यसमाथि धेरै अवस्थामा काठमाडौं बाहिर आगलागी हुँदा समेत त्यहीँ फोन आउँछ ।’

 दमकल, एम्बुलेन्सको सेवा दिने क्षेत्रलाई ‘सिमानाहिन सेवा’ भनिन्छ तर दमकलको खण्डमा समयमा नपुग्नु र नपुग्नु उस्तै उस्तै हुन्छ । कालिमाटीको तरकारी बजारमा लागेको आगलागीलाई नै हेर्ने हो भने पनि काठमाडौंमा भएभरका सबै दमकल दश मिनेटभित्रै घटनास्थल पुग्दा समेत आगो नियन्त्रणमा लिन झण्डै दश घण्टा लागेको थियो । तर विराटनगरको जुद्ध सलाई उद्योग, नवलपरासीको गैंडाकोटस्थित भृकुटी कागज कारखानाजस्ता धेरै परका ठाउँमा आगो लाग्दा समेत निभाउन पुगेको अनुभव छ जुद्ध बरुणयन्त्रका कर्मचारीहरुसँग । 

कालिमाटीको आगलागीमा बढि चलेकै कारण जुद्ध वरुणयन्त्रका तीनमध्ये दुई अहिले चल्न नसक्ने अवस्थामा छन् जसलाई आगो निभाएपछि क्रेनले तानेर हनुमानढोकासम्म ल्याइएको थियो । ४–४ हजार लिटर क्षमताका ती दुई थन्किएपछि अहिले एक हजार पाँच सय लिटर क्षमताको तेस्रो दमकल मात्र चालु छ तर त्यसको हविगत समेत पूर्ण रुपमा राम्रो छैन । ‘त्यसले पानी हान्छ मात्र तर तान्न सक्दैन’, जुद्ध बरुणयन्त्रका चालक गोपिलाल श्रेष्ठले भने । निकै व्यस्तताबिच तिब्र गतिमा चल्ने ती दमकलहरु जसरी नियमित रुपमा जाँच र मर्मत हुनुपर्ने हुन्थ्यो त्यो देखिँदैन । जुद्ध वरुणयन्त्रका ३ वटा (एक पानी नबोक्ने भ¥याङवाल गाडिसहित) दमकल २०४२ सालमा जापानबाट मगाइएका हुन् भने तेस्रो चाहीँ २०६६ सालमा आएको हो । भक्तपुरमा चालु रहेको दमकल पनि एम्बुलेन्सको रुपमा आएको हो जसलाई मोडिफाई गरेर अहिले दुई हजार पाँच सय लिटर पानी बोक्ने क्षमताको बनाएर प्रयोग गरिएको छ । 

त्यसबाहेक दमकलको अर्को समस्या पानीको हो । अहिले काठमाडौंमा जहाँ आगो लागे पनि भर्नका महाँकाल पुग्नुपर्छ । ‘कालिमाटीमा आगो लाग्दा समेत थुप्रैपटक महाँकाल ओहोरदोहोर गर्नुप¥यो तर रातिको समय भएको कारण आधा घण्टामै पुगेर फर्किन सम्भव भयो’, दमकल चालक श्रेष्ठ भन्छन्, ‘नत्र कालिमाटी वरपरसम्म आगो फैलिएर यसभन्दा निकै ठूलै क्षति व्यहोर्नुपथ्र्यो ।’ काठमाडौंमा रहेको पानीको यस समस्यालाई समाधान गर्न थप चार ठाउँमा पानी भण्डारण ट्याङ्कीहरु राख्ने कुरा मात्र धेरै पहिलेदेखि चलेको छ । ‘स्थान छनौटको कामहरु भइराखेको छ’, काठमाडौं महानगरपालिका अन्तरगतको दैविप्रकोप व्यावस्थापन महाशाखा प्रमुख उत्तरकुमार रेग्मीले भने । तर समयमै यस्तो महत्वपूर्ण काम शुरु हुन नसक्नुमा केन्द्रिय सरकारी निकायको समेत दोष रहेको उनी औंल्याउँछन् रेग्मी । भन्छन्, ‘जोखिमको नेतृत्व लिने काम केन्द्रिय सरकारी निकायको हो, स्थानिय सरकारको काम त त्यसको न्यूनिकरण र व्यवस्थापन गर्ने मात्र हो ।’ रेग्मीको कुरासँग स्थानिय बिकास मन्त्रालयका सह–सचिव रेश्मीराज पाण्डे समेत सहमत छन् । पाण्डे भन्छन्, ‘हामीकहाँ विपदको बेला समन्वयात्मक ढंगबाट काम गर्ने केन्द्रिय निकाय नै छैन ।’ विश्वका थुपै्र मुलुकहरुमा राष्ट्रिय विपत व्यावस्थापन प्राधिकरण हुन्छन् जसले विपत टार्न र उद्दारको कामलाई आवश्यक पर्ने अन्य निकायहरुसँग समन्वय गराएर लैजान्छन् । हाम्रोमा समेत राष्ट्रिय विपत व्यावस्थापन रणनीति–२०६६ ले त्यस्तो स्वरुपको प्राधिकरण स्थापना हुनुपर्ने व्यावस्था गरेता पनि त्यो अहिलेसम्म स्थापना हुन सकेको छैन । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय दैविप्रकोप उद्धार समिति अहिले रहेको प्रमुख निकाय त हो तर मन्त्रालयको एउटा शाखाको रुपमा रहेको यसको भूमिका पीडितलाई राहत बाँड्नेभन्दा माथि उठ्न सकेको देखिँदैन । ‘खानेपानी संस्थान, सुरक्षा निकाय, भौतिक योजना मन्त्रालय, नगरपालिकाजस्ता थुप्रै अंगहरुसित समन्वय गरेर गर्न सकेको भए पहिल्यै ती चार ठूला पानी ट्याङकी स्थापना गरिसकिन्थ्यो’, सहसचिव पाण्डे भन्छन्, ‘जिम्मेवार ढंगबाट पहलकदमी लिने निकायकै अभाव छ ।’ पानीको सुविधा राम्रो भएका देशमा पानी बोक्ने दमकल नै हुँदैनन् । ठाउँठाउँमा राखिएका फायर हाइड्रेन्टमै पाइप जोडेर काम हुन्छ । तर हाम्रोमा भएका हाइड्रेन्स समेत पानी अभावमा बिग्रिसके ।

नेपालभरमा अहिले ५० को हाराहारीमा दमकलहरु छन् । ‘तर अब प्रत्येक नगरपालिकामा कम्तिमा एउटा दमकल हुनैपर्ने नियम बनाएर स्थानिय बिकास मन्त्रालयले परिपत्र गरिसकेको छ’, सहसचिव पाण्डे थप्छन्, ‘यो आर्थिक बर्षभित्र त्यसो नभए ती नगरपालिकाहरु कारवाहीमा पर्नेछन् ।’ जसको लागि मन्त्रालयको तर्फबाट ९० प्रतिसत अनुदान दिइनेछ भने नगरपालिकाले स्थानिय कोषबाट लगानी गर्नेछ । हालको नियमले स्थानिय निकायले दैविप्रकोपको क्षेत्रमा दश प्रतिसतभन्दा बढि खर्च गर्न पाउँदैन । त्यसबाहेक बेलायत र इटालीबाट क्रमशः एउटा र तिनवटा दमकल अनुदानस्वरुप नेपाल आउँदैछन् जुन दुई–दुई वटा गरेर काठमाडौं र ललितपुरमा राखिनेछन् । त्यस्तै यही आर्थिक बर्षको अन्त्यसम्ममा भारत सरकारबाट थप १७ वटा दमकल प्राप्त गर्ने सहमति भइसकेको छ जसमध्येबाट समेत काठमाडौं र ललितपुरमा थप दुई–दुईको सङ्ख्यामा थपिनेछ । जसले काठमाडौंमा रहेको दमकलको अभावलाई केही कमी गर्नेछ । ‘तर कम्तिमा ४० हजार जनसङ्ख्याको लागि एउटा दमकल राख्नुपर्ने अन्तर्राट्रिय मापदण्द हुन्छ’, जुद्ध वरुणयन्त्रका प्रमुख गछामगर भन्छन्, ‘त्यसरी हेर्दा त अहिले काठमाडौंमा दमकल नै छैन भने पनि हुन्छ ।’ अझ असन, इन्द्रचोकजस्ता ससाना गल्ली भएका ठाउँमा पुग्न सक्ने गरी ससाना दमकलको आवश्यकता उत्तिकै छ जसबारे सोचिएकै छैन ।  विद्युत सट हुँदा वा पेट्रोलियम पद्धार्थबाट आगो सल्कंदा पानीसँग रसायनयुक्त फम हाल्नुपर्ने हुँदा दमकल नै पुग्नुपर्ने बाध्यता पनि छ । 

चालु आर्थिक बर्षको हालसम्म झण्डै २ सय आगलागी नियन्त्रणमा जुद्ध वरुणयन्त्र खटेको थियो जसमध्ये झण्डै आधा त विद्युत सटकै कारण घटेका थिए भने २० घटना ग्याँसका कारण थिए । काठमाडौंमा रहेका दमकलले अहिलेको अवस्थामा ६ तलाभन्दा माथि प्रभावकारी ढंगबाट पानी फ्याँक्न सक्दैनन् । त्यसैले आगलागी भइहालेको खण्डमा अग्ला घरहरुमा झन् ठूलो समस्या सिर्जना हुन्छ । यद्यपि व्यावसायिक भवनहरुको हकमा भने शहरी बिकास तथा भवन निर्माण विभागले ‘आगलागी लक्षित’ विशेष संहिता निर्माण गरेको छ जुन त्यसयता बनेका विद्यालय, अस्पताल तथा व्यावसायिक भवनका (मल÷अपार्टमेन्ट) हकमा प्रभावकारी रहेकोले त्यसमा त्यतिधेरै समस्या नहुने विभाग अन्र्तगतको ‘भवन संहिता शाखा’ प्रमुख सागरकृष्ण जोशी बताउँछन् । नेपाल राष्ट्रिय भवन संहिता नं १०७ (२०६०) अनुसार प्रत्येक त्यस्ता भवनमा पुग्न कम्तिमा चार मिटर फराकिलो बाटो हुनुपर्ने हुन्छ । पाँच तला माथिको त्यस्ता व्यावसायिक भवनको हकमा दमकललाई सिधै पानी फ्याँक्न नपर्नेगरी ड्राइराइजरको व्यवस्था गरिएको हुन्छ जसले गर्दा प्रत्येक तलामा ६–६ मिटरको फरकमा हुने प्वालमार्फत दमकलले भुईंतलामा रहने चापकै आधारले पानी माथिसम्म फ्याँक्न सक्छ । आठ तला माथिको अवस्थामा भने भवनको मुनि एक लाख लिटर पानी अन्य प्रयोजनका लागि प्रयोग गर्न नपाइने गरी वेटराइजरको रुपमा राखिनुपर्ने प्रावधान छ जसका पाइपको सञ्जाल ड्राइराइजरझैं उक्त भवनभित्र फिँजाइएको हुन्छ । जोशी भन्छन्, ‘व्यावसायिक भवनमा मात्र नभएर नीजि रुपमा बनेका ठूला भवनमा समेत यस्तो अभ्यास स–सानै रुपमा गर्न सके त्यो प्रभावकारी हुन्छ ।’ तर कालिमाटीकै घटनालाई आधार मान्दा काठमाडौंमा झण्डै ३ दर्जनको हाराहारीमा रहेका सरकारी तथा नीजि गोदामहरु समेत सानो आगलागी भइहाले ठूलो समस्या झेल्ने अवस्थामा छन् । गछामगर सुझाउँछन्, ‘त्यसैले अब पूर्ण रुपमा दमकलमा भर पर्नुभन्दा घर–घरमा अग्निसामक (फायर इस्टिङ्विसर) राख्नेजस्ता विकल्प समेत सोच्नुपर्छ ।’  

परेरै सिकेकाहरुः

आफ्नो २५ बर्षे जुद्ध बरुणयन्त्रमा फायरम्यानको रुपमा बिताएका ध्रुवराज गिरी, ४४, पछिल्लो समय भएका ठूल्ठूला आगलागिका साक्षी हुन् । तर उनले शुरुमा पाएको पानी फ्याँक्ने तालिम बाहेक त्यस्तो विशेष केही पाएका छैनन् । ‘त्यति मात्रले हुँदैन, आगो निभाउने भनेको पानी फ्याँक्ने मात्र त होइन नि’, उनी भन्छन्, ‘त्यसका लागि थुप्रै प्राविधिक तथा अन्य कलाकौशलहरु चाहिन्छ जुन हामीले भोगेर मात्र सिक्यौं ।’ त्यसबाहेक यी  थुप्रै अग्निनियन्त्रकहरुको हालसम्म विमा समेत गरिएको छैन । आगो नियन्त्रण गरेर फकंदा लाग्ने चोटपटकको उपचारको व्यवस्था समेत छैन उनीहरुलाई । ‘रामशाहपथको एक इलेक्ट्रिक गोदाममा विद्युत काटिसक्यो भनेर पानी हान्यौं तर त्यसो नभएको हुँदा झण्डै ज्यान गएन’, अर्का अग्निनियन्त्रक बद्री अधिकारी, ३५, ले दुखेसो पोखे, ‘अग्निनियन्त्रक बाहेक त्यस्ता अन्य प्राविधिकहरु दमकलसाथ पुग्नुपर्छ जुन हाम्रोमा छैन ।’ उनीहरुले लगाउने हेलमेट समेत २०४४ सालदेखिको हो जुन आगो नियन्त्रण गरिराखेकै बखत यताउता ढल्कने र फुत्किने गर्छ । फायरसेफ्टी बुट र फायर ज्याकेट त उनीहरुको दयनिय अवस्था देखेर घुम्न आएका विदेशीहरुले पठाइदिएका हुन् । हालसमेत बर्षेनी २ जना तालिमका लागि भारत जानेगर्छन् तर त्यसमा को पुग्छ थाहै नहुने जुद्ध वरुणयन्त्रका अग्निनियन्त्रकहरु बताउँछन् । नेपालमा दमकल आएपछि २०११ सालसम्म बेलायतका विशेषज्ञलाई बोलाएर बर्षेनी कालिप्रसाद गणका १५ जनालाई तालिम दिइन्थ्यो । २०१२ पछि दमकलको जिम्मा नेपाली सेनाले लियो । २०३० मा सिंहदरबारमा आगो लाग्दा एकैपटक ७ वटा दमकल ल्याइएको थियो । 

No comments:

Post a Comment