Friday, March 16, 2012

बुढेसकालको हार्वड यात्रा


दीक्षान्त समारोहमा एक प्राध्यापकले भोजराज पोखरेललाई सोधे, ‘हार्वडको सर्टिफिकेटलाई तिमी कहाँ प्रयोग गर्छौं ?’ उत्तर दिँदाको त्यो क्षण अझै सम्झन्छन् जतिखेर अनायसै मुहारमा बेग्लै मुस्कान सिर्जना भएको थियो रे उनको ।  भनेका थिए, ‘यो सर्टिफिकेटसँग मेरो केही लिनुदिनु छैन । यो त मबाहेक बढिमा मेरी श्रीमतीले हेर्लिन् । म यहाँ विशुद्ध ज्ञान आर्जनको लागि आएको थिएँ ।’ हार्वड केनेडी स्कुलबाट जनप्रशासनमा स्नातकोक्तर पोखरेलले त्यसो भन्नुका पछाडि व्यक्तिगत जीवनका विभिन्न कथाका श्रृङ्खलाहरु जोडिएका छन् जसको शुरुवात त्यस दीक्षान्त समारोहभन्दा झण्डै एक बर्षअघि उनले लिएको एउटा साहसिक कदमबाट शुरु भएको थियो । उनी आफू बाहल रहेको प्रमुख निर्वाचन आयुक्तको पदबाट बिचैमा राजीनामा दिएर पढ्नका लागि अमेरिकाको हार्वड विश्वविद्यालय हान्निएका थिए ।

ऐतिहासिक संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवस्था नेपालको लागि एउटा बेग्लै उपलब्धीको समय थियो र उत्तिकै ठूलो उपलब्धी प्रमुख निर्वाचन आयुक्तको रुपमा त्यसबेला जिम्मेवारीमा रहेका पोखरलको लागि पनि । राष्ट्रिय/अन्तर्राष्ट्रिय तहबाट उनी बधाईका पात्र बनेका थिए । हुन पनि त्यसबेला निर्वाचन सम्पन्न गर्नु अन्य बेलाको निर्वाचनजस्तो काम थिएन । भर्खर सशस्त्र द्वन्द्वमा बन्दुक बिसाएर आएको एनेकपा (माओवादी) एकातर्फ थियो भने अर्कोतर्फ मुलधारका ‘संसदवादी’ दलहरु समेत आपसी अन्तरविरोधका साथ ‘जबरजस्त’ संविधानसभामा जान मानेका थिए । त्यस्तो अवस्थामा निर्वाचन  गर्नुपर्ने ठूलो चुनौतिलाई पोखरेल नेतृत्वको निर्वाचन आयोगले फत्ते गरेको थियो, अपेक्षा गरिएभन्दा राम्रोसँग । सायद, त्यही ‘शाख’ बाँकी जीवन राम्रोसँग बिताउनको लागि काफी थियो, पोखरेललाई । तर छ बर्षे कार्यावधिको साढे दुई बर्षमै उनले स्वइच्छाले उक्त जागिर छाडेर पढ्न कस्सिएका थिए । 

सञ्चारमाध्यमले उनको राजीनामालाई निकै प्रमुखता दिए किनभने धेरैको लागि त्यो ‘अस्वभाविक’ र ‘अनौठो’ दुवै थियो । त्यस कदमको पछाडि कतिले ‘राजनीतिक गन्ध’ त कतिले ‘अर्को महत्वपूर्ण जिम्मेवारीको लागि’ लागि हुन सक्ने लख काटेका थिए । तर शान्त स्वभावका पोखरेलले त्यतिधेरै ‘कम्प्लेक्सिटिज’ का बिच ‘सिम्पल’ भाषामा भनेका थिए, ‘अन्तरआत्माले स्वतन्त्र जीवन बिताउने इच्छा व्यक्त गर्‍यो त्यसैले राजीनामा दिएको हुँ ।’ कसले त्यति सजिलै पत्याओस्, पत्याएनन् । तर उनलाई राजीनामा दिनु अगाडि नै लागेको थियो ‘धेरैले कि त बौलाहेको या फर्सीको मुखमा कुभिण्डो’ सोच्नेछन् आफ्नो उक्त कदमको लागि ।

त्यतिधेरैका आश्चर्यलाई चिर्दै राजीनामाको महिनाभित्रै उनी अमेरिका हान्निए । त्यो उमेरावस्था, अनुभव र हैसियत भएको मान्छे किन बुढेसकालमा पढ्न हान्नियो भनेर त्यसबेला धेरैले सोधे भोजराजलाई । उनी हाँस्दै भन्छन्, ‘म स्वयंले पनि शुरुका केही समय आफैलाई यही प्रश्न खुबै गर्थें ।’ 

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सकेको झण्डै ३८ बर्ष पुगिसकेको थियो उनको । ‘किन त त्यसो भए हार्वड ?’ उनी भन्छन्, ‘यसमा मेरो जीवनका नीजि स्वार्थ र संकल्पहरु जिम्मेवार छन् ।’ उनलाई जीवनको यो समयमा आएर सोच्दा बल्ल लाग्न थालेको छ, त्यसबेला आफूले जान्नको लागि पढेको रहेनछु भन्ने । भन्छन्, ‘ज्ञान हाँसिल गर्न होइन, सर्टिफिकेट हाँसिल गर्न पढियो । कहिले स्नातकको सर्टिफिकेट हात लाग्ला र शाखा अधिकृत हुनको लागि योग्य ठहरिएला भने जसरी ।’ त्यसबाहेक उनले झण्डै तीन दशक काटेको कर्मचारीतन्त्रको एउटा दुर्भाग्य पनि जोडिएको छ यस कदमको पछाडि । ‘माथिल्लो पदमा पुगेपछि उसलाई कसैले प्रश्न गर्न सक्दैन जसले उसलाई सर्वेसर्वा गराउँछ र आफू कहाा छु भन्ने बोध नै हुन पाउंदैन’, उनी भन्छन्, ‘त्यसले मानिसलाई माथिल्ला ओहदामा पुर्‍याउँदासम्म झनै बढि अज्ञानी बनाइराखेको हुन्छ ।’ 

उनी यसलाई नेपालको मात्र नभएर विकाशोनमुख मुलुकहरुको साझा समस्या देख्छन् । ‘उच्च पदमा भएको व्यक्तिले गलत नै कुरा गरेपनि सुन्नुपर्छ । प्रश्न गर्‍यो भने काम बिर्गन सक्छ भनेर कसैले त्यस्तो आँट नै गर्दैनन्’, उनी स्वयं त्यही संस्कारमा झण्डै ३ दशकबढि हुर्किए र त्यही संस्कार तोड्ने अवसर पनि खोज्दैथिए । भन्छन्, ‘मानिसले एउटा तह र तप्का हाँसिल गरेपछि ऊ व्यक्ति नभई संस्था बन्छ र उसको व्यक्तिगत दिनचर्याले समाजमा निकै महत्व राख्छ ।’ हार्वडसँग सम्बन्ध जोडिनु पछाडिको एउटा कथाको हो यो ।

अर्को भने यस्तो छ । ३७ बर्ष अघि पढेर स्नातकोत्तर सकेसँगै जागिर खान थाल्दा उनलाई केही जानेजस्तै लाग्दैनथ्यो । तर उनी ठान्छन् त्यो पढाईलाई पदले ढाकेको हुँदा त्यसैले झण्डै ३५ बर्ष ठेलेर ल्यायो । जब  सार्वजनिक प्रशासनबाट बाहिर आए उनलाई बल्ल लाग्न थाल्यो आफ्नो उत्पादनशील समय अझै बाँकी छ जसमा राम्ररी अघि बढ्नाका लागि यो तहको ज्ञानले थेग्दैन भन्ने । पदमा पुगेपछि सर्वग्य ठान्ने सामाजिक मान्यतालाई भत्काउँदै सिक्ने कुराको केही दायरा हुँदैन र उमेर त्यसको निर्णायक तत्व पनि होइन भन्ने उनी बुझाउन चहान्थे । यिनै फरक फरक कुराको समिश्रणले देशको एउटा उच्च प्रशासकलाई विद्यार्थीको रुपमा अमेरिका पुर्‍यायो ।

संयोगले उनी विश्वका शीर्ष विश्वविद्यालय मध्येको एक हार्वड पुगे । हार्वडलाई उनी ‘विश्वमा हरेक क्षेत्रका लिडरहरु निर्माण गर्ने सजिव कारखाना ठान्छन्’ जहाँ उनीसँगै पढेकाहरु अहिले विभिन्न देशमा गभर्नर, कूटनीतिक नियोगका प्रमुखहरु, सांसद, ठूला व्यापारी र सरकारप्रमुख/राष्ट्रप्रमुखसम्म छन् । ‘कसरी उत्पादन हुन्छन् त हार्वडमा त्यस्ता नेतृत्वकर्ताहरु ?’, नेपालमा संविधानसभाको नेतृत्व गरिसकेर बल्ल नेतृत्व सिकाउने ठाउँमा पुगेका व्यक्तिबाट यसको उत्तर पाउनु झनै अर्थपूर्ण हुन्छ । किनकि उसले एउटा तह बुझेर त्यसबाट सिक्दै थप उत्कृष्ठता हासिल गर्ने बाटोमा लागेको हुन्छ । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पढ्दा उनले सरकारी जागिर शुरु गरिसकेका थिए जसले उनलाई  विश्वविद्यालयको अनुभव नै गर्न दिएन । उनी प्राइभेट् पढेरै उनकै शब्दमा ‘सर्टिफिकेट’का लागि मात्र स्नातकोत्तर सके । त्यसले सधै जीवनको एउटा क्षण ‘मिस’ गरेको अनुभव हुन्थ्यो उनलाई । 

सन् १३६ मै स्थापना भएको हार्वडको अहिले विश्वभर आफ्नै शाख र शान छ जसबारे उनी स्वयंले धेरैका मुखबाट बखानहरु सुनेका पनि थिए । त्यसैले अमेरिकाको पूर्वतिर जाँदा त्यहाँको हार्वडको माटो नै सुंघ्न पाए पनि ठूलो भइन्थ्यो जस्तो लाग्थ्यो रे उनलाई । एकपटकको सन्दर्भ भने उनको लागि नमज्जाको भइदियो । झण्डै डेढ करोड किताबले भरिएको त्यहाँको अत्याधुनिक लाइब्रेरी छिर्ने मनसायले पुगेका उनलाई त्यहाँको नियम अनुसार ‘मान्छे’ र ‘मेसीन’ दुवैले प्रवेश दिएनन् । सम्झन्छन्, ‘म त्यसप्रति श्रद्धा जगाएर त्यति परबाट त्यहाँ गएँ तर छिर्न पाइन । त्यसबेला कुनैदिन यहाँ आउँछु भन्ने कुण्ठा ममा उत्पन्न भएको थियो ।’ पोखरेल अलिकति इखालु निस्के यहाँनेर । त्यस घटनाले पनि उनको हार्वड पढ्न पाइएला भन्ने झिनो आशालाई ठूलो आँट दिन्थ्यो । 

हार्वडमा ‘इख’ वा ‘इच्छा’ हुँदैमा मात्र पढ्ने अवसर पाइँदैन । त्यसैले उनी आफूलाई निकै भाग्यमानी पनि ठान्छन् । उनले त्यस्ता धेरै अमेरिकनहरु नै देखेका छन् जसले हार्वडमा भर्ना पाउँदा ‘संसार नै जितेजस्तो’ ठूल्ठूला भोजको आयोजना गर्छन् । उनी त अमेरिकाभन्दा धेरै भिन्न पृष्ठभूमिको समाजमा हुर्केबढेका नेपाली, त्यो एउटा सपनामा देखिएको चिज हात पार्नुजस्तै कठिन काम थियो जसका लागि सबैचिज मिल्नुपथ्र्यो । त्यसोभए कसरी पाइन्छ त हार्वडजस्तो प्रतिष्ठित ठाउँमा भर्ना ? ‘तपाईमा के क्षमता छ? हिजोका दिनमा तपाईले के गर्नुभयो र, भोलिका दिनमा के बन्न खोज्दै हुनुहुन्छ’, यसले सबैभन्दा बढि महत्व राख्ने ठान्छन् उनी हार्वडजस्ता विश्वविद्यालयमा भर्ना पाउनको लागि, ‘त्यसबाहेक तपाईंले पढ्न लाग्नुभएको कोर्ष र तपाईंको लक्ष्यप्रतिको तरतम्यता अर्को महत्वपूर्ण बिषय हो ।’

यी कुराहरु जाँच्न कलेजले आवेदक विद्याथीैहरुलाई निबन्ध लेख्न लगाउँछ र त्यसमा माथिका प्रश्नमा सोधिएका कुराहरु मनोवैज्ञानिक रुपमा खोज्छ । आर्थिक पक्ष शुरुमा गौड हुन्छन् । त्यसबाहेक सिफारिस गर्ने व्यक्तिहरुको पत्र अर्को महत्वपूर्ण पक्ष हो । ‘ठूल्ठूला मान्छेलाई सिफारिसकर्ता राख्ने हामीमा भ्रम छ । चाहिने भनेको त आफ्ना गुणलाई उत्खनन गर्न सक्ने व्यक्तिहरु हुन् चाहे त्यो जोसुकै होस’, उनी भन्छन्, ‘गुणै गुण मात्र देखाइयो भने पनि त्यो सबै झुट हो भन्ने सहझै बुझिन्छ किनकि मान्छे भगवान होइन ।’ सिफारिस भनेको स्वतन्त्र मुल्यांकन हुनु आवश्यक छ जसमा व्यक्तिका राम्रा नराम्रा सबै पक्ष समेटियुन । हाम्रोमा संस्कार पनि त्यस्तो नै छ, राम्रो, राम्रो कुरा लेखिदिए मात्र मख्ख पर्ने । तर शुष्म ढंगले हेर्ने मान्छेले उसको कमजोरीभित्र पनि सम्भावना देखिराखेको हुन्छ । 

र, पैसाको कुरा । त्यस्ता राम्रा कलेजले भर्ना दिए भने उनीहरुले नै पैसाको जोहो वा पैसा खोज्ने तरिका आफै सिकाउन थाल्छन् । ‘मलाई त्यसरी नै सल्लाह दिएका थिए’, उनका अनुभव छ, ‘त्यहाँ भर्ना पाएपछि आफ्नो परिवारको सदस्यजस्तो सोच्छन् र उसलाई कसरी सफल बनाउनेतर्फ लैजाने भन्ने उनीहरुको ध्यान हुन्छ ।’ विकसित मुलुकहरुले आफै लगानी गरेर त्यहाँ विद्यार्थी पठाउँछन् । उनीहरुले बुझेका छन् त्यस्ता राम्रा इञ्स्चिच्युटमा पढ्नेहरुले आफ्नो देशको लागि बढि राम्रो गर्न सक्छन् भन्ने । र, त्यसका लागि राष्ट्रिय तहबाटै बार्गेनिङ गर्छन् पनि । 

हार्वडमा उनको दैनिकी यहाँका स–साना विद्यार्थीकोझैं हुन्थ्यो झोलामा कापी/किताब, पानी र खाजा बोकेर पढ्न जाने । ‘६० नाघेको शरीरलाई लिएर फेरी त्यो बिद्यार्थी जीवनमा फर्कन पाउनु मेरो लागि अर्को स्वर्णिम अवसर पनि थियो’, उनी सम्झन्छन्, ‘तर त्यो ज्ञान मैले आफ्नो विद्यार्थी जीवनमा हासिल गरेजस्तो किताबी मात्र थिएन ।’ 

‘हार्वडले के दियो त?’, उनी भन्छन्, ‘व्यापक दायराको ज्ञान, बौद्धिक व्यक्तिहरुको विश्वव्यापी सञ्जाल र सबैभन्दा महत्वपूर्ण कुरा संस्कार ।' अहिले उनले कुनै बिषयमा समस्या पर्दा आफ्नो सर्कलमा जिज्ञासा राखेभने त्यसले चाहेभन्दा बढि जानकारी दिन्छ । अर्को त्यहाँको ‘रिर्सोस’ । दैनिक झण्डै २५ त्यस्ता प्रवचनका कक्षा हुन्छन् । एक महिना अघिदेखि त्यसको जानकारी दिइन्छ । सम्झन्छन्, ‘नोटिस हुनेबित्तिकै यसमा जान्छु भनेर टिप्थें । अर्को नोटिस हुनेबित्तिकै यसमा पनि जान्छु भनेर सोच्थें । तर जब कक्षाहरु लिने बेला हुन्थ्यो । कुनमा जाने कुनमा भन्दा भन्दै १५/२० पटक त्यसलाई काटेको हुन्थे ।’ 

३५ बर्ष स्कुल नगएको मान्छे । अंग्रेजीमा ग्रेस मार्क ल्याएर पास गरेको मान्छे । उनी हार्वडमा विद्यार्थी बनेर पुगेका थिए । हरेक बिषयको दिनहुँ पढ्ने औसत पेज भनेको २५० पेजको हुन्थ्यो । कुनैकुनै बेला ५०० पेजसम्म पनि पढेका रहेछन् उनले । भन्छन्, ‘सबैभन्दा कम ६० पेज पढ्दा एकदिन म साह्रै रमाएको थिएँ ।’ उनको त्यसरी पढ्ने बानी नै हराइसकेको थियो । तर पनि कक्षामा शिक्षकले केही सोध्दा ‘आउँदैन’ भन्नलाई पनि उनको दम्भले दिंदैनथ्यो । सम्झन्छन्, ‘एक मिनेट पनि नसुति काटेका रात थुप्रै थिए । तर म रमाएँ किनकि त्यो म स्वयंले खोजेको जीवन थियो ।’ त्यहाँ जानुपुर्व उनले आफू नै हार्वडको सबैभन्दा जेष्ठ विद्यार्थी भइएला भन्ने सोचेका थिए तर उनकै कक्षामा ७३ बर्षको एउटा अर्को अमेरिकी विद्यार्थी थियो भने त्यहाँ त्यसअघि ८० बर्ष उमेर पुगेकोले समेत पढेको थियो । 

नेपालमा छंदा जिल्लादेखि राष्ट्रियतहसम्म संयोगले सधै उनी कार्यालयको ‘फस्टपर्सन’ भए । ‘मैले एकपटक घण्टी बजाएपछि सबै चिज हुन्थ्यो । पकाउनेले पकाउँथ्यो, लेख्नेले लेख्थ्यो । जसरी हुन्थ्यो उसले त्यसो गथ्र्यो । मैले चाहाना मात्र राख्नु पथ्र्यो’, भने ‘तर त्यहाँ मेरो चाहाना मात्रैले काम गर्दैनथ्यो म स्वयं खाना पकाउनेदेखि लुगा धुने भाँडा माझ्नेसम्मको काम गर्नुपथ्र्यो । यहाँ हाइफाईमा बसेको मान्छे १५ दिनको फरकमा त्यसरी रुपान्तरण हुनुपर्‍यो जतिखेर ममा आफ्नो शक्तिको धङ्धंङी नै हटेको थिएन ।’ नब्बे कटेका आफ्ना आमाबुवा, आफ्ना सामाजिक, पारिवारिक दायित्व सम्झेर सधै पढ्ने बेलामा पनि एकखालको तनावले कहिल्यै छाड्दैनथ्यो उनलाई । तर रिजल्ट औसतभन्दा सधै राम्रो नै आयो । 

‘हामी मात्र रट्न सिकाइराखेका छौं मिहिनेत गर्न होइन’, हाम्रो शिक्षाको कमजोरी औंल्याउँछन् उनी, ‘शिक्षक–विद्यार्थी सम्बन्ध नै हामीकहा राम्रो छैन । जसले हामीलाई मार्कसिट मात्र दिइराखेको छ, शिक्षा होइन । तर अबको जमानामा ज्ञानविनाको मार्कसिटले केही गर्न सक्दैन ।’ यसो भनिरहँदा उनले हार्वडबाट पाएको मार्कसिट आफ्नो थापाथलीस्थित घरमा दराजको कुनै कुनामा थन्किइरहेको छ । कुनैबेला उनी एउटा स्नातकको मार्कसिट पाए शाखा अधिकृत बन्न पाइने भन्दै हौसिने उनीसँग अहिले विश्वको शीर्ष कलेजबाट डिग्री लिएको मार्कषिट हातमा छ तर पनि उनी चुपचाप छन् । तर त्यो चुपचापभित्र पछुतोको मौनता लुकेको छैन । भन्छन्, ‘म केही सिक्न हार्वड पुगेको थिएँ । सिकेँ ।’ 


No comments:

Post a Comment