Monday, May 28, 2012

रगत खोज्नेलाई सघाउँदै

इन्टरनेटलाई माध्ययम बनाएर विराटनगरका केही युवा रक्तदान अभियानमा जुटेका छन् । तपाईलाई आवश्यक पर्दा ति युवाहरुको सहयोग देशका जुनसुकै कुनामा रहेर लिन सकिन्छ । वा, तपाईलाई रक्तदानको रहर भएमा ती युवाहरुको सहायता समेत लिन सकिन्छ ।

‘युथ फर ब्लड’ अभियानका युवाहरुको वेवसाइट डब्लुडब्लुडब्लु डट लिस्ट डट युथफरब्लड डट ओआरजी वेवसाइट खोलेका छन् जहाँ अहिले देशभरका झण्डै आठ सय पचास जना विभिन्न रगत समूहका व्यक्तिहरु सदस्य छन् । ती सदस्यहरुलाई रगत समूहका आधारमा छुट्याएर राखिएको छ । नामसँगै त्यस व्यक्ति हाल बसिराखेको ठाउँको ठेगाना समेत उक्त वेवसाइटमा हुन्छ । र, रगत आवश्यक पर्ने व्यक्तिले वेवसाइटमा रहेको पंक्तिबाट नामबाट वेवसाइटमा उल्लेख भएका ७ वटामध्ये कुनै एक स्वयंसेवकलाई सम्पर्क गर्नुपर्ने हुन्छ । त्यसपछि ती स्वयंसेवकहरुले गराइदिने सम्बन्धका आधारमा रक्तदान गर्न इच्छुक व्यक्तिसम्म खबर पुग्छ ।

यही जेठ १४ गते यस अभियानले एक बर्ष पूरा गर्दैछ । युथ फर ब्लड समूहमा अहिले ‘स्वयंसेवक’ र ‘रक्तदाता’ गरेर दुईखाले सदस्यहरु छन् । झण्डै २ सयको हाराहारिमा रहेका स्वयंसेवक सदस्यहरु बढि क्रियाशिल हुनेमध्ये पर्छन् जसले रक्तदानबाहेक अभियानलाई प्रबद्र्धन गर्ने कामहरु समेत गर्छन । त्यसबाहेक अन्य रक्तदाताहरु भनेका आवश्यक पर्दाको बखत रगत दिन तयार छु भनेर दर्ता भएका हुन् । वेवसाइटमा जो कोहीले आफ्नो नाम तथा विवरण सहजै दर्ता गर्न सक्छ । ‘कतै कसैको शरीरमा रगत त्यसै नस्ट भएर गइराखेको हुन्छ भने कतै त्यही रगतको अभावमा मानिसको ज्यान समेत जान्छ’, एक स्वयंसेवक सरोज कार्कीले भने, ‘त्यसैले यस्तो संवेदनशील बिषयमा समन्वयको ठूलो खाँचो देखेर हामीले यस अभियान शुरु गरेका हौं ।’

This appeared at NEPAL magazine

No comments:

Post a Comment