Thursday, June 7, 2012

किताब बाँड्ने काइदा

कसैको घरमा किताबको थुप्रोले हैरान पारेर कौडीको भाउमा बेच्नुपर्ने अवस्था आउँदा कतै भने पैसाको अभावमा मानिसहरु पुस्तक पढ्नबाट बञ्चित भइराखेका हुन्छन् । देशको भौगोलिक विकटताले गर्दा पैसा नै खर्चेर पनि धेरैतिर पुस्तकहरु पाइँदैन । त्यसैले अहिले केही सिर्जनशील युवाहरुले ‘गाउँमा किताब अभियान’ शुरु गरेका छन् । अभियानका लागि बिभिन्न प्रकाशन गृह, साहित्यकार, समाजसेवी, अभिभावक, युवा/बिद्यार्थीले आफुसँग भएका नयाँ तथा पुराना पुस्तकहरु जुटाइराखेका छन् जसक्रममा अहिलेसम्म सात हजार बढि पुस्तकहरु संकलन भइसकेको  छ ।

संकलित पुस्तकहरु पहिलो चरणमा यही असारको पहिलो साता श्री नेपाल राष्ट्रिय सामुदायिक उच्चमावि, जर्बुटा सुर्खेत, सिद्धेश्वर उच्चमावि नलाङ, धादिङ, श्री सुर्योदय मावि सरिखेत, मकवानपुर र श्री महेन्द्र निमावि बावियाबर्ता, मोरङमा पुस्तकालय स्थापनाका लागि हस्तान्तरण गरिंदैछ ।

यसक्रममा इन्टरनेट सामाजिक सञ्चालका फेसबुक तथा ट्वीटरको समेत ठूलो साहारा लिइएको प्रकाश लामिछानेले बताए । जसमा काठमाडौं बाहिर हेटौडाबाट मात्रै १ हजार पुस्तक संकलन भएका थिए । अभियानको हल्ला इन्टरनेटबाट फैलिएपछि विदेशबाट समेत सहयोग शुरु हुन थाल्यो । बेलायतमा रहेका युवा ङ्वाङ छोपेलले अभियानका लागि नेपाली समुदायबाट ७२ हजार रुपैया संकलन गरे भने अमेरीका तथा अष्ट्रेलीयामा बसोबास गर्ने मृदुला कोइराला तथा प्रकाश नेपालीले १५ हजार रुपयाँ उठाएर पठाए । एक अभियानकर्ता तथा सञ्चारकर्मी विनयशेखर भन्छन्, ‘यसबाट बिद्यार्थीका लागि आवश्यक पाठ्यपुस्तक तथा स्टेशनरी समेत खरिद गरेर पुस्तकालयका लागि अन्य सामाग्रीको जोहो गर्दैछौं ।’


अभियानको पहिलो चररणमा यसरी पाएको सफलताले गर्दा उनीहरु निकै हौसिएका छन् । अर्की अभियानकर्मी प्रमिला थपलीया भन्छिन्, ‘त्यसैले यसलाई श्रृङखलाबद्ध रुपमा बर्षेनी देशका विभिन्न ठाउँमा लैजाने सोचेका छौं ।’

This appeared at NEPAL magazine

No comments:

Post a Comment