Thursday, June 7, 2012

ब्वाइज लकरमा लेडी सेफ

कहिलेकाही सुन्दर हुनु पनि ‘सान’ भन्दा बढि ‘समस्या’ भइदिन्छ । नम्रता बैजु, २४, ले यसको अर्थ राम्ररी बुझेकी छिन् । होटल म्यानेजमेन्टमा स्नातक सकेर सोल्टी होटलमा ६ महिना सेफको ‘इन्टर्नसिप’ गरेपछि काठमाडौंका धेरैजसो नाम चलेका स्टार होटलहरुमा जागीरका लागि दर्खास्त हालेकी थिइन् उनले । तर धेरैजसोले उनलाई किचेनका लागि भन्दा पनि फ्रन्टअफिस, सेल्सजस्ता अन्य डिपार्टमेन्टका लागि लिन चहान्थे । ‘किचेनमा मेरो योग्यता र क्षमतातर्फ धेरै प्रवेश नै गर्न खोज्दैनथे’, बैजुले भनिन्, ‘उनीहरुको दिमागमा महिलाहरु व्यावसायिक भान्सेको रुपमा जम्नै सक्दैनन् भन्ने कुरा जमेर बसेको छ ।’ त्यही सहि, उनले आफ्नो सेफ बन्ने सपना पच्छ्याउन छाडिनन् । अन्तत: विगत ६ महिनायता दरबारमार्गस्थित होटल अन्नपूर्णमा ‘सेफ डि पार्टी’ को रुपमा परीक्षणकालको काम गरिराखेकी छिन् जुन पाँचतारे होटलको भान्सामा तेस्रो तहको पद हो ।

हालैको एक मध्यान्न होटल परिसरमै अन्तरवार्ताको लागि समय निकालेकी उनमा व्यस्तताकाबिच पनि कत्ति थकान देखिंदैनथ्यो । मुहारको स्वच्छन्द मुस्कानले राम्रोसँग बताइराखेको थियो, उनी आफ्नो कामसँग पूर्ण सन्तुष्ट छिन् । तर उनका कतिपय साथी तथा शुभेच्छुकहरुले भने त्यो कामलाई ‘एडवेन्चर’को संज्ञा दिदारहेछन् । साथीहरुले भन्ने गरेको उनी सुनाउँछन्, ‘होटलको किचन त ब्वायज लकर हो ।’

Namrata
हो, किचेनमा पुरुषहरुको निकै ठूलो बाहुल्यता छ । धेरै तारे होटलहरुमा महिला सेफहरु नै छैनन् भने भएकामा समेत औंलामा गन्न सकिने छन् । त्यसैले ‘व्वायज लकर’ शब्द नम्रताका साथीहरुमा मात्र होइन, धेरैतिर चर्चित छ । घरको भान्सामा अधिकांश महिला भिड्ने परिवेश, होटलहरुमा भने ठ्याक्कै उल्टो छ । यो निकै खट्नुपर्ने कामको रुपमा छ जहाँ पुरुषको तुलनामा महिलाहरु नसक्ने भन्ने मनोविज्ञानले धेरै काम गरेको छ । त्यसैले शुरुवाती रुपमा नै होटलहरुले महिला सेफ लिन खोज्दैनन् । नम्रताको भनाई छ, ‘अनि अनुभव छैन भन्ने तर्क हुन्छ धेरैको ।’ त्यसले गर्दा धेरै महिलाहरुको मनोवल नै यसका लागि सक्षम छु भन्ने हुँदैन । र, कतिले काम पाइहाले पनि लामो समय टिक्न सक्दैनन् जसले गर्दा उनीहरु माथिल्ला तहसम्म पुग्दैनन् । यसको असर नम्रताजस्ता साहास बोकेर आएका महिलाहरुमा परिराखेको हुन्छ ।

विगत २५ बर्षयता सेफको रुपमा रहिआएकी तारा तामाङ, ४९, दर्जनौं सेफहरुलाई तालिम दिइसकेकी छिन् । तर त्यसमा महिला सेफहरु कम हुनुमा उनलाई लागेको पनि त्यही हो, ‘महिलाहरु शारीरिक रुपमा अक्षम होइनन् उनीहरुमा मनोवल कम छ ।’ एउटा सेफले सामान्यत: ८ देखि १२ घण्टा काम गर्नुपर्छ । तर आवश्यक पर्दाको बखत त्यो लम्बिन समेत सक्छ । हायात रेजेन्सीकी सेफ डि पार्टी तामाङ भन्छिन्, ‘होटलमा जाने समय त निश्चित हुन्छ तर फर्कने समय चाहीँ प्राय: तन्किराखेको हुन्छ ।’ तारे होटलहरुमा कहिलेकाहीँ पाहुनाहरु सोचेभन्दा बढि आइदिन्छन् वा लामो योजनाविनै ठूला कार्यक्रमहरु आयोजना हुनसक्छन् जतिबेला कहिलेकाहीँ १६ घण्टासम्म खट्नुपर्ने हुन्छ, सेफहरु ।

दिनमा जति नै लामो समय काम गरेता पनि सेफमा हुनुपर्ने एउटा प्रमुख गुण नै हो खानाको गुणस्तर र स्वादमा कुनै फरक हुनु नदिनु । त्यसबाहेक खाना सजावट गर्नमा सेफहरुको अर्को महत्वपूर्ण भूमिका हुन्छ जसमा महिलाहरु बढि सिर्जनशील हुने गर्छन् । ‘खानाको स्वाद पहिले आँखाले थाहा पाउँछ’, तामाङ भन्छिन्, ‘यसैले काम गर्दा आँखा, मन र दिमाग सबैलाई उत्तिकै केन्द्रित राख्नुपर्छ ।’ महिलाहरु सामाजिक तथा पारिवारीक दायित्वमा बढि बाँधिने हुँदा उनीहरुको मन पुरुष जत्तिको एउटा कुरामा मात्र केन्द्रित गर्न गाह्रो पर्छ ।

२४ बर्षयता कमी सेफको रुपमा होटल अन्नपूर्णमै काम गरिराखेकी बुनी खान, ५४, भन्छिन्, ‘अझ छोराछोरी स–सानै छन् भने त्यसले सबैभन्दा बढि पिरोल्छ ।’ मुस्लिम परिवारकी बुनीको सेफ बन्दासम्मको कथा भने रोचक छ । उनको श्रीमानका थुप्रै साथीहरु होटल अन्नपूर्णका उच्च तहका कर्मचारीहरु थिए जसलाई घरमा आउँदा बुनीले नै पकाएर खुवाउँथिइन् । त्यही नै उनीहरुको लागि इम्प्रेसन भइदियो र कुनै उच्च तहको औपचारिक अध्ययन वा तालिम नगरेकी उनी व्यावसायिक सेफको रुपमा तारे होटलको भान्सामा प्रवेश पाइन् । खान सम्झन्छिन्, ‘त्यसरी घरबाट बाहिर निस्किएको नै त्यो पहिलो पटक थियो, त्यसमाथि किचनमा पूरै पुरुषहरुसँग मात्र काम गर्नु कम्ता कठिन थिएन ।’ अरुले समेत कुरा काट्थे ।

Buni & Rojji
त्यसैले उनको उक्त कामलाई होटलले ‘जागीर’ मात्र नसोचेर ‘साहास’ समेत सोच्यो । जसले गर्दा शुरु शुरुमा अरुलाई जत्तिको बढि चाप पनि दिइंदैनथ्यो उनलाई । तर आजकल उनको सामिप्यता पकाउने कामसँग यति जोडिएको छ कि अधिकतम काम गर्न समेत रमाउँछिन् । भान्सा कोठा त उनको लागि परिवारजस्तो नै भइसकेको छ । धेरैले उनलाई आमा नै भनेर समेत सम्बोधन गर्छन् । उनको हातको यही सीप देखेर कमर्शमा प्लसटु सेकेकी उनकी छोरी रोजी खान, २४, ले समेत अहिले आमासँगै रहेर ‘इन्टर्नसिप’ गर्ने अवसर दिएको छ होटलले । 

विगत २२ बर्षयता हयात रेजेन्सीकै दाकिन्जुम शेर्पा, २९, आफ्नो ८ बर्षे अनुभव सहित अहिले सेफ डि पार्टीको रुपमा छिन् । शुरुमा घरमा पकाउन पनि सहयोग हुन्छ भन्ने सोचेर सेफ एसोसिएसन अफ नेपालमा ५ महिने तालिम लिएकी उनी अन्तत: यसमा व्यावसायिक रुपमै लागिन् । अहिले हयातमा साउथन युरोपियन खानाहरुको रेष्टुरेष्ट ‘रक्स’ उनकै नेतृत्वमा छ । तर, शेर्पाको समेत शुरुवाती दिन सहज थिएनन् । आफन्तहरु भन्नेगर्थे, ‘पढेलेखेको केटी पनि किन भान्से हुनु जानुपर्‍यो ।’ त्यसबाहेक उनले समेत बजारमा महिला सेफले झेल्ने कष्टका लम्बे कहानी नसुनेकी होइनन् । काम गर्ने दौरान पुरुषहरु धेरैजसो ‘ननभेज’ गफहरु गर्छन् जतिखेर एक्लै हुँदा अपहेलना महसुस भएजस्तो हुने समेत ठान्छन् धेरै महिलाहरु । तर अहिले शेर्पालाई लाग्छ, ‘काम गर्ने ठाउँको वातावरण बनाउने त आफूले हो ।’ यो कडा अनुशासन र चेन अफ कमाण्डमा चल्ने हुँदा व्यावसायिक कामको पूरा सन्तुष्टि पाइन्छ पनि । उनलाई आजभोलि लाग्छ, ‘भान्सामा महिला भएपछि त्यो अटोमेटिक झन् बढि सभ्य बन्छ किनकि कुकिङ क्वालिटी महिलामा जन्मजात जस्तै हुन्छ ।’ सायद त्यसैले पनि होला होटलमा काम गर्ने पुरुष सेफहरु धेरैजसोले घरमा पकाउँदैनन् तर महिला सेफहरुको घरमा समेत पकाउने काम छुट्दैनन् । 

भनिन्छ, ‘होटलको स्तर त्यसको भान्साकोठाले जनाउँछ ।’ त्यसैले तारे होटलहरुले सेफहरुको स–साना कुराहरु समेत ख्याल गर्छन् । धेरै महिलाहरुको नङ पाल्ने रहर सेफ हुँदा रोकिन्छ । नम्रता भन्छिन्, ‘कामका बिचमा मोवाइलमा फोन उठाउनेजस्ता काम समेत गर्न पाइंदैन ।’ त्यसैले सेफ बन्न चहानेहरुलाई यस्ता विभिन्न कुराहरुबाट पर रहन आफूलाई पहिल्यै मानसिक रुपमा तयार पार्न सक्नुपर्ने सुझाउँछन् ।

होटल याक एण्ड यतीमा कमी फस्ट सेफको रुपमा काम गरिराखेकी अनिता गुरुङ, ४२, यसको आर्थिक आकर्षण राम्रो भइकन पनि ठूलो शारीरिक काम नगरिकन हुर्केका शहरिया युवतीहरुले सिधै ठूलो पहाड उक्लनु सरह ठान्नेगरेको बताउँछिन्  । २२ बर्षअघि काम शुरु गर्दाको समय उनी सम्झन्छिन्, ‘त्यसबेला भर्खर गाउँबाट आएकी थिएं । त्यसैले मलाई यिनी खट्न सक्छिन् भन्ने सोचेर जागिरमा छिराए ।’ त्यसबेला उनीबाहेक होटलमा अर्की एक महिला सेफ थिइन् तर कामको यतिका लामो दौरानमा त्यो कहिल्यै धेरै भएन । भन्छिन्, ‘अहिलेसम्म सायद आधा दर्जन महिला सेफहरुसँग मैले काम गर्न पाएँ हुँला ।’

व्यस्ततापूर्ण दैनिकीमा साता वित्ने हुँदा यिनीहरु छुट्टि पनि निकै मूल्यवान हुन्छ । नम्रताको छुट्टि हुने दिन, बुधवार, उनको परिवारकै लागि विशेष हुन्छ । तर त्यस दिन पनि उनले नै घरमा खाना पकाउँछिन् । त्यसदिन पूरा २ घण्टा योग गर्छिन् । दिनभर साथीभाई र परिवारसँग विताउँछिन् भने साँझ साल्सा सिक्न पुग्छिन् । ‘छुट्टि कम भए पनि बल्ल त्यसको महत्व थाहा हुँदो रैछ त्यसैले त्यसको पूर्ण उपयोग गर्छु’, दक्षिण एसियाली महिला सेफ सम्मेलनमा ‘टेस्ट वियोण्ड दि वाउन्ड्रीज’मा नेपालको प्रतिनिधित्व समेत गरेकी उनले भनिन्, ‘महिनाको एउटा छुट्टिमा हजुरआमालाई लिएर मेडिकल चेकअप र मन्दिर दर्शन गर्न पुग्छु ।’

Tara & Dakinchun
दाकिन्जुमलाई भने घरमा सुतेर बस्न रमाइलो लाग्दो रहेछ छुट्टिमा । कहिलेकाहीँ त उनी सपनामै पनि होटलमा काम गरेको देख्दि रहिछन् । भन्छिन्, ‘सिनियर सेफले भोलि कुनै नयाँ परिकार पकाउन जाँदै हुनुहुन्छ भने त्यसले अघिल्लो दिनदेखि नै कौतुहल र उत्साहित बनाउँछ जुन सपनामा समेत देखिन्छ ।’ भान्साको काम कहिल्यै सकिन्न भन्ने भनाई चर्चित भएझैं उनीहरु पनि काम नै नभएको बखत पनि उनीहरु नयाँ नयाँ प्रयोगमा जुटिरहन्छन् ।
केही दशक अघिसम्म नेपालका तारे होटलहरुका उच्च तहका नेपाली पुरुष सेफहरु नै पनि कम थिए । भारतिय र बंगालीको बाहुल्यता रहेको त्यो अवस्थालाई अहिले भने नेपालीहरुले विस्तापित गरिसकेका छन् । ‘तर त्यसबेला शुन्यप्राय: रहेको महिला सेफहरु भने बल्ल जुर्मुराउँदै छन्’, सेफ एसोसियन अफ नेपालका अध्यक्ष रत्न बहादुर थापा भन्छन्, ‘त्यसमा पनि धेरै विदेशतिर पलायन हुनेगर्छन् ।’

महिला सेफको होटलका भाञ्सामा आफ्नै खाले महत्व छ । सायद एकजना चर्चित अमेरिकी सेफ तथा लेखक मारियो बटेलले भनेको एउटा कुराले समेत धेरै बोल्छ, ‘मलाई थाहा छ यो कुनै वैज्ञानिक सत्य पनि होइन र के हो भन्ने मैले बुझेको पनि छैन । तर बारम्बार देखिने तथ्यले भन्छन्– महिलाहरु नै राम्रा भान्से हुन किनकि उनीहरुको खानासँग खेल्ने तरिका बेग्लै हुन्छ ।’

तस्विरहरु: रवि मानन्धर

1 comment:

  1. I never thought that the profession of Chef is so very hard.I know Namrata and I really wonder how she manages to work almost 14 hours a day.I even told her--you should have been a doctor ,because you are so very hard working girl.Well then--I think a chef's work is no less than a doctor's--it is directly related to people's health just like the doctors' work.Hats off to Namrata and other ladychefs.

    mmmalla.

    ReplyDelete