Thursday, July 26, 2012

माछा होइन दाउरा


‘ऊ, आयो आयो’, टेकबहादुर बस्नेत चिच्याए । त्यसो सुनेपछि नदि छेउमा बसिराखेका रमेश कार्की, सुधन कुँवर र अन्य साथीहरु जऱ्याकजुरुक उठे, आफ्ना बल्छी समाते र नदिमा राखे । ‘मेरोमा त दुईटा पर्‍यो’, रमेशले त्यसो भनिरहंदा उता टेकबहादुर समेत उस्तै खुसी थिए । उनले भने, ‘मेरोमा त आज ठूलै पर्‍यो ।’

सुनसरीको धरहरा टपनस्थित कोशी नदिछेउमा भेटिएका उनीहरुको गफ सुनेर पक्कै तिमीहरुलाई लाग्यो होला यहाँ ‘माछा मार्ने’ कुरा भइराखेको होला भन्ने । तर उनीहरु माछा नभई आफ्नो बल्छीमा काठ–दाउरा परेको कुरा गरेका हुन् । कोशी नदि आसपासको क्षेत्रमा दाउराको लागि थुप्रै मानिसहरु नदिमै भर पर्छन् । अझ बर्षा शुरु भएपछि वा बाढी आएको बेलामा त नदिकिनारमा बालबालिकादेखि बुढापाकासम्मको ठूलो भिड लाग्छ । ‘मेलाझैं हुन्छ त्यस्तो बेला त’, श्री प्रकाश उच्च मावि, प्रकाशपुर, सुनसरीमा कक्षा ८ मा पढ्ने रमेशले भने, ‘पहाडतिर पहिरो जाँदा नदिमा झरेर आएका दाउराहरु बर्षा याममा बढि पाइन्छन् ।’

उसो त अरु बेला बालबालिकाहरु नै घरका लागि दाउरा खोज्न पठाइन्छन् नदिमा । ‘दाउरा खोज्ने बाहानाले पौडि खेल्न पनि पाइन्छ’, ७ कक्षामा पढ्ने टेकबहादुरले बताए । ठूलो ठूलो मुडा बगेर आउँदा त उनीहरु मिलेर नदिको भित्रतिर समेत गएर दाउरा ल्याउँदा रहेछन् ।

यो क्षेत्र कोशी टप्पु बन्यजन्तु आरक्ष वरपरको क्षेत्र हो जहाँ वनजँगल निकै कम छन् । आरक्षको अधिकांश भाग सिमसार क्षेत्रले ओगटेको छ । सिमसार त्यस्तो क्षेत्र हो जहाँ पानी कहिल्यै सुक्दैन र जमिन पनि कहिल्यै लुक्दैन । यहाँ घाँसेमैदान र झाडिहरु निकै छन् । त्यसैले यहाँ रुखहरु निकै कम छन् । आरक्षलाई मात्रै हेर्ने हो भने पनि एक सय पचहत्तर वर्ग किलोमिटरको क्षेत्रमा मात्र ४ प्रतिसत हिस्सा वनको छ ।

त्यसैले दाउराको लागि खोलाकै भर सबैभन्दा बढि पर्नुपर्छ कोशी नदि किनारका मानिसहरु । ठूलाबढाहरु त पौडि खेलेर समेत दाउरा निकाल्छन् । कोशी नदिबिचमा बनेका विभिन्न टापुसम्म पुगेर दाउरा ल्याउँछन् । ‘तर बालबालिकालाई त्यसो गर्न लगाउँदा जोखिम हुने हुनाले उनीहरुलाई बल्छी बनादिएको छ’, स्थानिय अभिभावक बुद्धि तिमिल्सिना भन्छन्, ‘जसले जोखिम पनि कम हुन्छ र घरको काम गर्न पनि सिक्छन् उनीहरु ।’ बल्छीको टुप्पोमा अर्को काठलाई जोडेर दाउरा अड्क्याउने बनाइएको हुन्छ जसले त्यतिकै बगेर आएको दाउरा तान्ने वा भुहुँरोमा आएकोलाई निकाल्ने काम गर्छ । दाउरा खोज्नकै लागि डुंगाको समेत प्रयोग गरिन्छ ।

कहिलेकाहीँ धेरै दाउरा पर्दा त्यसलाई बेच्दा समेत रहेछन् बालबालिकाहरुले । ‘तर घरमा भन्दैनौं’, ८ कक्षामा पढ्ने मनिष निरौलाले सुनाए, ‘के गर्नु जति नै भएपनि घरमा कहिल्यै दाउरा पुग्दैन ।’ कोशी नदिले आफ्नो धार बेलाबखत फेरिरहन्छ जसले गाउँवरपरका थुप्रैलाई सास्ती पनि दिन्छ । भएका रुखहरु त्यसबेला समेत बग्छन् । त्यसबाहेक त्यहाँ थुप्रै वनस्पतिका मिचाहा प्रजातिहरु छन् जसले झारहरु मात्र बढाउँछ र रुखहरु हुर्कन दिंदैन । ‘त्यसैले यहाँका मानिसहरुलाई अहिले त्यस्ता झारहरुलाई काट्दै अन्य हस्तकलाका सामाग्री बनाउन सिकाएका छौं’, सिमसार संरक्षण तथा सदुपयोग आयोजनाका स्थानिय प्रमुख डा विवेकानन्द झाले भने, ‘त्यसबाहेक तिनै झार र गाईंभैंसीको गोबरबाट बायोग्यास बनाउन समेत सहयोग गरिराखेका छौं ।’ झाले भनेजस्तै सबैको घरमा त्यसरी वायोग्याँस प्लान्टहरु छिट्टै भइदिए त्यसरी आगो बाल्नकै लागि खोलाकै भर पर्नु पर्दैनथ्यो होला ।

1 comment: