Friday, August 17, 2012

क्यानोनिङ कमाल

छहराको तलबाट हेर्नुस वा माथिबाट । तपाईंलाई कत्ति पनि लाग्दैन यहाँबाट झर्न खोजे बाँचिएला । लाग्न सक्छ, ‘हातमा हुने त्यै डोरीको भर त हो । हेर्दैमा गुम्ने होसहवास झर्नेबेला त के बाँकी रहला र ?’ होस नै नरहे डोरी मात्र भएर के गर्नु ।

अन्य साहसिक खेलमाझैं छाँगारोहणको (क्यानोनिङ) मज्जा पनि अन्तत: त्यही हो, डरकै बिचमा ‘गर्दिन’ भन्दा भन्दै गर्नु । काठमाडौंबाट हुत्तिएर यसकै लागि सिन्धुपाल्चोकको जम्बो पुगेका सुनिल भट्टराईुलाई त्यस्तै भएको थियो । गाइडले शुरुमा ८ मिटरको झरनामा लगे जहाँ अलिकति आँटे पुग्थ्यो र उनले त्यो काम सजिलै फत्ते गरे । उनलाई लाग्यो, ‘अझै एकपटक गर्न पाए ।’ अब पालो थियो त्यसभन्दा तलपट्टिको झरनाको । जुन, छ मिटरको एउटा झरनाबाट झरेपछि बल्ल अर्को पच्चिस मिटरको छहराको लागि पुग्न सकिन्थ्यो । पहिलो खुड्किलो झरेपछि जब अघिल्लोभन्दा तेब्बर लामो ठाडो छहरा देखे, उनले भने, ‘अहँ, म सक्दिन ।’ माथि फर्किन नसकिने त्यसबेला झर्नुको सहज विकल्प समेत थिएन । उनले मन दह्रो पारे र झरे ।
‘संसारका कमै साहसिक मान्छेमध्ये म पनि एक हुँ’, उनलाई त्यसबेला लागेछ, ‘अब जस्तोसुकै एड्वेन्चर गर्न समेत यो ज्यान पछि पर्दैन ।’

नेपालमा क्यानोनिङ गरिने प्राय: झरनाको एउटा फरक विशेषता भने त्यो ठाडो (भर्टिकल) हुनु हो । ती झरना केही मिटर ढल्के (स्लोपी) हुन्छन् जसले गर्दा सिधै भुईंको ठाडो दृश्य देखिंदैन । त्यस्तोमा दुईवटा डोरी प्रयोग हुन्छन् । एउटा माथिबाट ढक्के झरना सक्दासम्म भने अर्को त्यहाँनिर पुगेर ठाडो झरनाको यात्राको लागि । ढल्केभाग सकिने ठाउँमा भित्तामै डोरीमा अड्किएर एकजना गाइस बस्छन् जसले त्यहाँ रोकेर अर्को डोरी फेरिदिन्छन् ।  

सुनिलले क्यानोनिङ गरेको तेस्रो झरना यस्तैखाले थियो, पैंतालिस मिटर लामो । झरनाको स्लोपि भाग सकिएपछि जब निकै तल ठाडो भाग देखे, उनले सोचेछन्, ‘यस्तो छ भन्ने थाहा भएको भए म साँच्चै आउने थिइन । हे भगवान, प्लिज एक पटकलाई बचाऊ ।’

त्यस्ता ढल्के र ठाडो मिलेर बनेको झरनामा क्यानोनिङ गर्नुको सबैभन्दा सुन्दर पक्ष भनेकै ढल्के सकेर ठाडोको लागि अगाडि बढ्न डोरी फेर्ने बेला हो । जसको लागि दुई देखि तीन मिनेटसम्म लाग्छ । क्यानोनिङ गाइड दविन्द्र तामाङ भन्छन्, ‘त्यसबेला नै हो धेरैजना सबैभन्दा बढि आत्तिने र आफ्नो मनलाई बलियो पार्ने पनि ।’
झर्नलाई दुवै हातले डोरी समातेर एउटाले माथि सार्दै आफूले चाहेको गति लिन सकिन्छ । आँफै गति तय गर्न नसक्नेलाई गाइडले माथिबाट तय गरिदिन्छन् । आँफै गति तय गर्दै झर्नेहरु समेत केही गरी दुवै हात छाडे भने माथि–तल रहेकामध्ये कुनै एकले ‘लक’ गर्न सक्छन् । खुट्टाले भित्तामा टेक्दै झर्नु यसको एउटा सुन्दर शैली भएता पनि पहिलो पटक गर्नेहरु प्राय:ले ढाडलाई भित्तामा टसाउँदै घिस्रेर झर्छन् । लगाउँदा स्पाइडरम्यानझैं देखिने ‘आइसोथर्मल सुट’ ले त्यस्तोबेला हुने घस्रंणबाट बचाउँछ । त्यही सुटमा बाँधिएको बेल्ट डोरीमा समेत हुनेहुँदा त्यसकै सहायताले हात छुटिहालेमा समेत डोरीमै अड्किइन्छ ।



‘त्यसैले यो एड्वेन्चर भइकन पनि सुरक्षित खेल हो’, यसलाई झण्डै एक दशकअघि नेपालमा भित्र्याएका प्रथम क्यानोनिङ गाइड कविन्द्र लामा, ३३, भन्छन, ‘फेरी मर्छुजस्तो लागेन भने त त्यो एड्वेन्चर नै भएन नि ।’ लामा त्यसैले खेल मात्र नठानेर आँफैलाई दिने चूनौति समेत मान्छन् यसलाई । उनी चूनौति स्विकार्न सुझाउँछन् किनकि यो ‘खतरा तर सुरक्षित’ अभ्यास हो । तर जसरी ढल्के, ठाडो र निरन्तर पानी बगिरहने छहराहरु देखिन्छन् त्यसको कत्ति पनि सुरक्षित छु भन्ने गराउँदैन । नेपालको पहिलो क्यानोनिङ एजेन्सी ‘फ्रेन्ड्स एड्वेन्चर टिम’का गाइड दविन्द्र भन्छन्, ‘त्यसैले आँखाले नमान्दा नमान्दै पनि मनलाई मनाएर गरिन्छ यो ।’  

सायद त्यसैले होला पछिल्लो समय आफ्नो मनको आँखामा विश्वास गर्ने थुप्रै स्वदेशी तथा विदेशी क्यानोनिङवाजहरु लमजुङ्, मनाङ, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, म्याग्दी लगायतका जिल्लाका झरनामा बढ्तै झुम्मिन थालेका छन् ।

No comments:

Post a Comment