Friday, August 17, 2012

राउटे चिन्ने ऐना

सञ्चारमाध्यमले राउटेसँग जोडिएका समाचारलाई पछिल्लो समय यतिधेरै प्राथमिकतासाथ छापिराखेका छन् कि यी जंगली फिरन्ते मानवजाती अब कुनै नौला रहेनन् । तर राउटे आफैमा एउटा जटिल मानवजाती हो जसलाई पत्रपत्रिकामा आउने समाचार मात्रकै कारण सहजै बुझ्न सकिंदैन । त्यसमाथि अहिले उनीहरु आफ्नो अस्तित्व र परिचय संरक्षणका लागि संघर्ष गरिराखेका छन् । एकथरी राउटेलाई सामाजिक मानिससँग घुलमिल गराउँदै परिवर्तन गर्नुपर्ने सोच्छन् भने अर्काथरीले भने त्यसो गर्दा ‘राउटे’ राउटे नै नरहने हुँदा उनीहरुकै परिवेशमा स्तरोन्नती गर्नुपर्ने ठान्छन् । उनीहरु जीवनकै सबैभन्दा जटिल मोडमा छन् जसको प्रतिबिम्ब गौरीबहादुर कार्कीको मानवशास्त्रीय अध्ययन ‘दोसाँधका राउटे’ ले गर्छ ।

आफ्नो सरकारी जागिरको दौरान तीन दशकअघि नै राउटेलाई पहिलोपटक भेटेका कार्की यसबिचमा पटक पटक उनीहरुलाई भेट्न पाए । मावनशास्त्रीय अध्ययन भएको कारण यतिलामो अवधी आफ्नै त्यसमा आएका परिवर्तन आफ्नै आँखाले देख्न पाउनु निकै मूल्यवान काम हुन्छ जसमा लेखक ‘लक्की’ छन् । यसअघि पनि राउटेबारे केही मानवशास्त्रीय अध्ययन नभएका होइनन् तर तिनमा भन्दा यो फरक हुनु भनेकै यसले संगालेको लामो अनुभव र लेखकको राउटेसँगको नजिकको सामिप्यता हो । कार्की राउटेसँग मितेरी साइनो नै गासेका व्यक्ति हुन् ।

बसोबासको ठेगान नभएको यो जाती कृषि एवं पशुपालन कुनै गर्दैन । जंगली कन्दमुल र बाँधर मारेरै खाएको भरमा यसको पुस्ता यहाँसम्म आइपुगेको हो । तर यो कति पुरानो भन्ने ठ्याक्कै यकिन समेत छैन । कतिपय ठान्छन्, यिनीहरु लडाँइमा छलिएका वा भागेका सैनिक हुन् जो शत्रुले लखेटेर वा हारेर भाग्दै गर्दा मारिने आशंकाले जंगलमै लुकेर बसे । तर वंशवृद्धिको क्रमलाई हेर्दा त्यसमा समेत प्रश्न गर्न सकिने थुप्रै ठाउँ छन् । अर्कोतर्फ यिनीहरु सामाजिक मानव जातिबाटै टुक्रिएर गएका हुन् भन्ने त्यस्तो कुनै संकेत पनि सामाज वैज्ञानिकहरु पाउँदैनन । न त राउटेको भाषा अरु कुनै ठाउँमा नै सुन्न पाइन्छ ।
पश्चिम नेपालको आछाम, डोटी, डडेल्धुरा, रुकुम, जाजरकोट, कालिकोट र सुर्खेत जिल्लाका जंगल नै यिनको बासस्थान हुने क्षेत्र हुन् । पछिल्लो समय चुरे पहाड र महाभारत लेकबिचमा यात्रा गर्ने गरेका यिनीहरु कुनैबेला पश्चिममा महाकाली नदिको पूर्वी किनारासम्म र पूर्वमा बागलुङसम्म पुगेको हुनसक्ने लेखकको अनुमान छ तर तिनीहरुको त्यो क्रम पछि साँघुरियो जसमा लेखकले त्यस ठाउँका मानिसका व्यावहारलाई कारण बनाएका छन् तर त्यसबिचमा सामुदायिक वन बनाउनेजस्ता राज्यका नीति नियममै पनि थुप्रै परिवर्तन भए जसलाई उनले कम आँकलन गरेजस्तो देखिन्छ । मानिस गणना नगर्ने भएकै कारण हालसम्म कहिल्यै उनीहरुको वास्तविक सङ्ख्या बाहिर आएन तर योगी नरहरि नाथ बाहेकका थुप्रै अध्ययनले भने सधै उनीहरु एक सय पचास आसपासमै रहेको देखाउँछ । यद्यपि नरहरि नाथले एक हजारदेखि पन्ध्र सयसम्मको सङ्ख्यामा राउटेलाई भेटेको प्रसंग उठाएका छन् उनले तर त्यतिसाह्रो फरक किन भयो भन्नेमा उनी मौन छन् ।
राउटेको उत्पत्तिबारे दोसाँधका राउटेमा कुनै नौला कुरा त छैनन् तर नेवारी भाषासँग मेल खाने केही शब्दले त्यसमा एउटा बहस र अध्ययन हुन सक्ने बाटो भने देखाइदिएको छ । राउटेबारे प्रचलिन मित्या कुराहरुको राम्रै संग्रह पुस्तकमा छ तर ती साँच्चै मिथ्या मात्र हुन् वा सत्य हुन् भन्ने चित्तबुझ्दो जवाफ कतै भेटिंदैन । राउटेको संस्कार, बानी व्याहोराका बारेमा येथेस्ट तर पहिले नै प्रकाशमा आएका कुराहरु नै छन् ।

पुस्तकको नाम अनुसार जसरी यिनीहरु परिवर्तनको दोसाँधमा रहेको देखाउनु पथ्र्यो त्यस्ता सामाग्री निकै कम हुनु नै पुस्तकको एउटा प्रमुख कमजोरी हो । पैसाको महत्व नै नभएको जातीमा सरकारले अहिले मासिक एक हजार रुपयाँसम्म भत्ता दिंदा उनीहरुको बानी नै फेरिएको छ । मानव भएर पनि राउटे फिरन्ते जीवन अहिलेसम्म यापन गर्न सक्नुमा नेतृत्वको सम्मान गर्ने परिपाटीले काम गरेको छ जुन अहिले क्रमश: त्यही पैसा प्रवेशको कारण भत्कंदैछ । अहिले विभिन्न गुटका मुखियाहरु छन् । त्यही पैसा प्रवेशकै कारण उनीहरु शिकार खेल्ने, घुम्नेजस्ता काम विस्तारै त्यग्दैछन् । त्यसले उनीहरुको अस्तित्वमाथि पार्नसक्ने सकारात्मक/नकारात्मक असरको लेखाजोखा कमै भएको छ पुस्तकमा ।

डिजाइन, शुद्धाशुद्धी र भाषा निकै कमजोर छ । कतैकतै उनको अनुभवको संगालो पढेझैं लाग्ने पुस्तकमा मानवशास्त्रीय अध्ययनको पूर्ण खाका भेटिंदैन । केही पुर्नलेखन र राम्रो सम्पादन भएको भए लेखकले समातेको कोण र उनको अनुभवको आधारमा यो राउटेबारेको नयाँखाले पुस्तक बन्न सक्थ्यो । यद्यपि केही कमजोरीका बिचमै पनि दोसाँधका राउटे पढ्दा पैसा असुल चाहीँ हुन्छ ।

दोसाँधका राउटे
लेखक: गौरीबहादुर कार्की
प्रकाशक: पैरवी बुक हाउस
पृष्ठ: १८२+१९
मूल्य: २५० रुपियाँ

No comments:

Post a Comment