Friday, August 17, 2012

एउटा चिया पसलको 'गोल्डेन जुब्ली'

उतिखेर खेतबारी रहेको त्रिभुवन विश्वविद्यालय -त्रिवि) हातामा अहिले ठूलो जंगल बनिसकेको छ । केही माथि रहेको 'क्लासिक सहर' कीर्तिपुरमा नपत्याउँदो गरी आधुनिकताको रंगले प्रवेश पाएको छ । विश्वविद्यालय हाताभित्र हेर्दाहेर्दै ठूल्ठूला भवनहरू थपिएका छन् । सयको वरपर हुने विद्यार्थीको घुइँचो अहिले हजारौंमा पुगेको छ । नानीकाजी विष्ट, ६४ र उनको चियापसल यो पूरै परिवर्तनको साक्षी हुन् । उनको चिया पसलले यो वर्ष गोल्डन जुब्ली मनाउँदै छ, पचास वर्ष ।

विसं २०२१ सालमा व्यवस्थापन केन्द्रीय विभाग अगाडिको भवनमा सुरु भएको पसल अहिले पनि उस्तै छ । तीन वर्षअघि यो एककोठे सानो भवनमा सटर हालियो । त्यसअघि कहिले मान्द्रो त कहिले गुन्द्रीले सटरको काम गर्थे । पहिले यहाँ सुनसान हुन्थ्यो, चोरीको पनि डर हुन्थ्यो । त्यसैले चिया पकाउने सामग्री नानीकाजी डोकामा हालेर हरेक रात घरै लैजान्थे ।

१३ वर्षको उमेरमा यो चिसा पसल खोल्दा उनको लगानी पचास रुपैयाँ थियो । प्रतिकप दस पैसा चियाको रेट । जुन बीस पैसा, तीस पैसा हुँदै एक मोहोर, एक रुपैयाँ, साढे दुई रुपैयाँ, पाँच रुपैयाँ, सात रुपैयाँ हँुदै अहिले दस रुपैयाँमा पुगेको छ । त्यसबेला एक लिटर दूधको मूल्य पचहत्तर पैसा थियो भने साढे तीन रुपैयाँमा मट्टीतेल पाइन्थ्यो । क्याराभान र पाँच सय पच्पन्न निकै चल्तीका चुरोटहरू थिए जसको मूल्य क्रमशः पच्चीस र अठार पैसा पथ्र्यो ।

यो पचास वर्ष उनले एक्लै पसल चलाए । बिहान ७ बजे पसल पुग्ने उनी साँझ ७ बजे घर र्फकन्थे । खाना पुर्‍याउन जाने बेलामा श्रीमतीले कहिलेकाहीं सघाउनेबाहेक आजसम्म कोही अर्को काम गर्ने मान्छे राखेनन् उनले । अहिले उनी एकपटकमा तीस जनासम्मलाई चिया खुवाउन सक्छन् । 'स्ववियुको चुनावताका एकै दिनमा पन्ध्र सय कप जति पकाएँ,' उनले भने । कुरकुरे वैंशका बेला पसल सुरु गर्दाताका विश्वविद्यालय आउने राम्रा युवतीहरूले उनको खुबै आँखा खिच्थे । हिजोझैं लाग्ने त्यही ठाउँमा अहिले 'बाजे' भनेर कसैले बोलाउँदा उनी पुराना दिन सम्झिन्छन्। पञ्चायतकालमा विद्यार्थी नेताहरू उनकै पसलअगाडि आन्दोलनका कार्यक्रम बनाउँथे । तर, नानीकाजीले यसको धेरै मतलब गरेनन् ।
उनीकहाँ थुप्रैले उधारो खाए । अहिलेका केही चर्चित अनुहारले तिर्न बाँकी रहेको चियाको पैसाको हिसाब किताबसमेत छ उनीसँग । तर त्यो टिपोट गरेर भने होइन । 'केही टाइम चुरोटको बट्टामा उधारो टिप्न थालेको थिएँ, धेरै भएपछि छोड्दिएँ,' उनले सुनाए । अनुहार उनलाई अहिले पनि सबैजसोको याद छ ।


२०२५ सालतिर त्रिविले छेवैमा सस्तोमा खाना खुवाउने क्याफेटेरिया खोल्यो । यहाँ खाना खान काठमाडौंतिरबाट समेत मानिसहरू आउँथे जसले उनको पसललाई प्रभाव पार्‍यो । कीर्तिपुरको बसपार्कसमेत लामो समय त्रिविभित्रै भएका कारण विद्यार्थीसँगै गाडी व्यवसायीहरूसमेत आउन थाले । पछि त्रिविमा विभागहरू विस्तार हुन थालेपछि उनकोमा चिया खानेको अभाव कहिल्यै भएन । ग्राहकको चाप जति नै भए पनि उनले सधैं एकै लयमा काम गर्न रुचाए, त्यसैले पसल कहिल्यै ठूलो भएन । केही समय उनले ग्यासमा चिया पकाए । तर, त्यो सिलिन्डर चोरी भएपछि अर्को ल्याएनन्, फेरि मट्टीतेल स्टोभमै फर्किए ।

५ सन्तानका पिता उनले पसलकै कमाइ जम्मा पारेर कीर्तिर्पुरको पाँगा दोबाटोमा दुईतले घर बनाए । २ छोरीको बिहे भइसकेको छ भने एउटी नर्स तथा अर्की बैंककी कर्मचारी छिन् भने छोरा अझै पढ्दै छन् । उनीहरू बेलाबखत चियापसल छाड्न सल्लाह दिन्छन् तर नानीकाजी अझै दस वर्ष यसरी नै काम गर्ने जवाफ फर्काउँछन् ।

No comments:

Post a Comment