Friday, August 17, 2012

पराग 'गेम’

साउन ८ मा पराग पाठक, ३१, टर्कीको इस्तानबुलमा ‘गेम थेउरी’ माथि त्यहाँका विद्यार्थीमाझ विशेष कक्षा दिइराखेका थिए । रोचक भइराखेको उक्त कक्षामा त्यसबेला एउटा समाचारले प्रवेश पायो, ह्वाइटहाउसले उनलाई ‘प्रेसिडेन्सियल अर्ली करिअर अवार्ड’ दिने घोषणा गर्‍यो । अमेरिकी राष्ट्रपतिबाट प्रदान गरिने उक्त अवार्ड आफ्नो शुरुवाती अध्ययनकालका वैज्ञानिकलाई दिइने अमेरिकाको सबैभन्दा ठूलो अवार्ड हो । जसलगत्तै उनले अध्ययन गरेको हार्वड विश्वविद्यालय, प्राध्यापन गरिराखेको म्यासाच्युसेट इन्स्चिच्युट अफ टेक्नोलोजी  (एमआइटी) मा भव्य खुसीयाली मनाइयो । त्यसैबेला अमेरिकाभन्दा हजारौं माइल परको काठमाडौं डिल्लीबजारमा मनाइएको खुसीयाली समेत हार्वड र एमआईटीको भन्दा कमको थिएन । नेपालमा परागको थातथलो डिल्लीबजार हो जहाँ अझै उनका आफन्त बस्छन् ।

उनका बुवा चिकित्सक हुन् जो झण्डै चार दशकअघि जर्जटाउन युनिभर्सिटी हस्पिटलमा चिकित्सकको रुपमा अमेरिका गएका थिए । पछि उनी न्यूयोर्क सरे । पराग उतै जन्मिएका हुन् । सम्झन्छन्, ‘हामी त्यसबेला शहरमा चिनिएका दुईमध्ये एक नेपाली परिवार थियौं जहाँ कमैले नेपाल भनेको चिन्थे ।’ आप्रवासीका रुपमा नेपालीको साँघुरो परिचय बोकेरै भएता पनि परागको लागि अमेरिका एउटा स्वर्णभूमि भइदियो जहाँ उनले आफूलाई एक अब्बर दर्जाको नागरिक बनाउन सके जसको परिचय यतिखेर नेपाली वा अमेरिकीभन्दा धेरै माथि उठिसकेको छ ।
.........
हार्वडमा एप्लाइड गणितमा स्नातकोत्तर तथा त्यहींबाटै व्यापार अर्थशास्त्रमा पीएचडी गरेका उनले जुन सिद्धान्तमाथि अध्ययन गरेर अवार्ड हात पारे, त्यो एउटा पुरानो अन्तरक्रियात्मक निर्णय प्रक्रियाबारेको अध्ययन हो जसले एउटा काम गर्दा आउने हजारौं विकल्प बिचमा आफूलाई चाहिने के हो र त्यसलाई प्राप्त गर्ने तरिकाहरु केके हुन् भन्ने निक्यौल गर्छ ।

 ‘यो अन्तरक्रियात्मक कसरी पनि छ भने एउटाको निर्णयमा अरु व्यक्तिले के गरिराखेका छन् भन्नेले फरक पार्छ’, परागले हेलो शुक्रबारलाई भने, ‘यसलाई सामान्यिकरण गरेर हेर्दा हरेक सामाजिक अवस्थाको गेम सैद्धान्तिक संरचना बनेको हुन्छ ।’ सामान्य रुपमा बुझ्दा प्रतिस्पर्धाको समयमा व्यापारिले कसरी मूल्य तोक्छन्, व्यापारीसँग  सामान किन्दा बार्गेनिङ गर्ने सबैभन्दा राम्रो उपाय के हो भन्नेजस्ता ससाना कुरामा गेम थेउरीले काम गर्छ जसमध्ये हरेकको पछाडि गणितिय संरचनाले काम गरेको हुन्छ ।


सन् १९५० देखि नै यसमा थुप्रै वैज्ञानिकले बिस्तृत अध्ययन गर्दै आएता पनि यो धेरै तहसम्म सिद्धान्तिक बहसमै केन्द्रित रह्यो । अर्थशास्त्रतर्फ मात्र ८ जनालाई यसमै गरेको अध्ययनको कारण नोवेल पुरस्कार दिइएको छ । उनले यसै सिद्धान्तमाथि आधारित रहेर न्यूयोर्क र बोस्टनका विद्यार्थीमाथि रिसर्च गरेका थिए जो आफूले चाहेको कलेजमा पढ्न नपाउँदा पढाई नै छाड्ने वा त्यसबाहेकको कलेजमा रुचिसाथ नपढ्ने समस्या देखिएको थियो । जस्तो: त्यहाँका अधिकांश विद्यार्थी आफूले चाहेको तीन उत्कृष्ठ कलेजमा पढ्न चहान्थे तर तीनवटामै उनीहरुले भर्ना पाउने कुनै निश्चितता हुँदैनथ्यो । उक्त सिद्धान्तमा उनले गरेको रिसर्च अनुसार पहिलो तीनमध्येमा कुनै विद्यार्थीको नाम निस्किएन भने उसले त्यसपछिका अन्य तीनलाई आफ्नो प्राथमिकतामा पार्नुपथ्र्यो र त्यो पनि नभएमा त्यसपछिका अर्का तीनहरु  । यसले अन्तत: विद्यार्थीको स्तर अनुसारको कलेज छान्न सहयोग पुर्‍याउँथ्यो  भने पहिलो तीनमा ननिस्कंदैमा निकै तलका कलेज छान्ने विद्यार्थीलाई समेत तीभन्दा माथिका आफ्नो क्षमता अनुसारकै कलेजमा भर्ना पाउने व्यावस्था गथ्र्यो । जुन पूर्णत: गणितिय शुत्रमा बाँधिएर बनेको संरचनामा आधारित थियो जुन धेरै व्यावहारिक निस्कियो पनि ।  यसैले उनको उक्त अध्ययन पेपरलाई एमआइटीले औपचारिक रुपमा प्रकाशन गरेपछि आफ्नो वेवसाइटमा  लेखेको समाचारको शीर्षक यस्तो थियो– ‘गेम थेउरी इन रियल वल्र्ड ।’

यसै संरचनामा पछिल्लो तीन दशक सामाजिक वैज्ञानिकहरुले समेत ठूलो अध्ययन गरेका थिए जसले विभिन्न समयमा थुप्रै रोचक नतिजा दिंदै आएका छ । ‘त्यसैले मेरो अध्ययनको सबैभन्दा रोचक पक्ष पनि अन्यजस्तै यस्ता केही जटिलभन्दा जटिल कुरालाई गणितिय संरचनामा ल्याएर सामान्यकरण गर्नु नै हो’, उनले भने ।

गेम सिद्धान्तले खडा गर्ने एउटा साझा प्रश्न हो, ‘यदी कुनै खेलमा खेलाडि पूर्णत: स्वतन्त्र भएर खेल्छ भने के त्यसबाट हामीले अपेक्षा गर्ने नतिजा निस्कन्छ ?’ परागको अध्ययनले समेटेको एउटा पक्ष समेत यही प्रश्नको सेरोफेरोमा थियो जहाँ गणितिय ढंगबाटै अन्र्तक्रियात्मक निर्णय गरेर खेलमा अपेक्षाकृत निर्णय गर्न सकियोस । जस्तो, व्यापारीले केही बेच्न चहान्छ भने कि त उसले पब्लिक सेल गर्छ कि त लिलामीमा राख्छ । लिलामीमा राख्दा धेरै मूल्य तोक्दा सामान पाइहालेमा पनि उसले बढि घाटा बेहोर्न सक्छ तर कम गर्दा सामानै हात नपार्न पनि सक्छ ।

गेम थेउरीलाई आधार मान्दा अर्को तरिका पनि हुन्छ जहाँ सबैभन्दा बढि मूल्य तोक्नेले नै दोस्रो बढि मूल्य तोक्नेको भाउमा सामान पाउँछ । अघिल्लो हकमा तपाईंले उक्त वस्तुको वास्तविक मूल्य यतिजति होला भन्ने जानेर वा चाहेर पनि भन्न सक्नुहुन्न तर दोस्रो हकमा भने व्यावहारिक तर सत्यता नजिकको मूल्यमै दलालहरु बढि केन्द्रित हुन्छन् जहाँ उनीहरु सत्य बोल्न प्रेरित र सत्य बोल्नु नै उत्कृष्ठ रणनीति बन्न पुग्छ ।

पराग ठान्छन्, ‘अहिले यसलाई केही घटनासँग तुलना गरेर हेरिराखेता पनि यसको महत्व र उपयोगिता थुप्रै व्यावहारिक ठाउँमा छ ।’ जसरी यो अध्ययन विगत ६ दशकदेखि निरन्तर चलिराखेको छ उनी समेत अझै यसमा थप नतिजासँग खेल्दै अगाडि बढिराखेका छन् ।
...............
उनी सानैदेखि पुुस्तक पढ्नमा निकै रुचि राख्ने खाले स्वभावका थिए । भन्छन्, ‘घरमै विशाल लाइब्रेरी खडा गर्ने हाम्रो पारिवारिक स्वभाव थियो, मेरा हजुरबुवा जो म नजन्मिंदै बित्नुभएता पनि वहाँ संस्कृतका ज्ञाता हुनुहुन्थ्यो र काठमाडौंको घरमा थुप्रै किताब संचय गर्नुभएको थियो ।’ अहिले समेत उनको लाइब्रेरीमा आफ्ना बाहेक आफ्नी आमा ज्योति पाठकका थुप्रै खानपिन सम्बन्धी किताब संग्रहित छन् । आमा पाठक नेपाली खानपिनबारेको पुस्तक थुप्रै अन्तर्राष्ट्रिय अवार्ड पाइसकेको पुस्तक ‘टेस्ट अफ नेपाल’ कि लेखक हुन् ।

यसरी अध्ययनशील परिवारमा हुर्केका उनी अमेरिकामा पढ्ता स्कुल जीवनमा सधै प्रथम भए । लगत्तै उनले हार्वडमा भर्ना पाएर त्यहींबाटै पिएचडी सके र विगत पाँच बर्षयता एमआइटीमा सहायक प्राध्यापको रुपमा अर्थशास्त्र प्राध्यापन र रिसर्चको काम गर्छन् । गेम थेउरीबाहेक बजार योजना तथा निर्माण एवं लघुवित्तका क्षेत्रमा समेत थुप्रै महत्वपूर्ण रिसर्च गरेका छन् ।

अहिले उनले पाएको अवार्ड अमेरिकी नागरिकले मात्र पाउँछन् । तर त्यसमा धेरैजसो  आप्रवासीहरु नै हुन्छन् जसले गर्दा अमेरिकी नै भएता पनि कुन मूलको अमेरिकी हो भन्नेले निकै महत्व राख्छ । उनले अवार्ड पाएलगत्तै केही भारतिय सञ्चारमाध्यमले भारतिय मूलको अमेरिकी भनेर समाचार छापे जसले उनलाई नरमाइलो पारेको छ । ‘मेरो पुर्खाको थलो नै नेपाल हो’, उनले भने, ‘त्यसैले पनि म केही लामो फुर्सद मिल्नासाथ आफन्त भेट्न र घुम्न नेपाल पुग्छु ।’ उनी थुप्रैपटक अन्नपूर्ण पदयात्रामा गएका छन् भने नेपालका खोलामा र्‍याफ्टिङ गर्न समेत उत्तिकै रुचाउँछन् ।

उनका परिवार तथा साथीहरु नै यस्ता बने जसले जीवनमा हरेक महत्वपूर्ण निर्णय लिनुअघि यसरी प्राविधिक एवं सिर्जनशील ढंगबाट सोच्थे । उनले त्यही सिद्धान्तलाई नै अपनाएर उनकी श्रीमती डा रुमा राजभण्डारीले व्रिघम एण्ड वमन्स हस्पिटल बोस्टनबाट आफ्नो अध्ययन पूरा गरेकी छिन् ।

सानैदेखि अध्यापन गर्नमा रुचि राख्ने परागको स्वभावबारे आमा पाठक भन्छिन्, ‘चार कक्षामा पढ्दा उसले आफ्ना सहपाठी अमेरिकीहरुलाई क..ख..रा.. सिकाउँदा रैछन् जतिबेलै शिक्षकहरुले उसमा विलक्षणको शिक्षण क्षमता छ भनेर प्रशंसा गर्थे ।’

अहिले उनी अध्यापन पेशामा त आए नै । विश्लेषकहरु भन्छन्, अमेरिकी राष्ट्रपतिद्वारा दिइने  यस अवार्ड भविष्यमा नोबेल पुरस्कारसम्मको लागि हैसियत राख्ने गुुण भएको व्यक्तिले पाउने बताउँछन् । आशा गरौं, पराग समेत यही लयमा अगाडि बढ्नेछन् । 


No comments:

Post a Comment