Sunday, January 13, 2013

नोटबुक-2

होटल र स्वतन्त्रता

घरका चुलोचौकामा एकलौटी अधिकार जमाएका महिला काठमाडौँका तारे होटलका भान्सामा भने शून्यप्रायः रहेछन्। यसैबारे रपिोर्टिङ् गर्नुपर्ने भयो। तर, महिला सेफ कहाँ छन् भन्ने पत्ता लगाउनै मुस्किल। बल्लतल्ल केही पत्ता त लागे तर उनीहरूसँग कुराकानी गर्नै गाह्रो। होटल अन्नपूर्णकी महिला सेफसँग कुरा गर्नुअघि होटल प्रशासनबाट प्रश्नहरू अनुमोदन गराउनुपर्ने भनियो। मैले नाइनास्ति गरिन ।

विभिन्न तहबाट प्रश्न अनुमोदन भए। अनि, होटलकी एक सिनियर एक्जुकेटिभले आफ्नै कक्षमा बोलाइन्। सेफहरू पनि त्यहीँ आए। ती एक्जुकेटिभले होटलका मिडिया अफिसरलाई बोलाइन् र कुराकानी गर्दा जवाफ दिने कुरा सिकाउन आदेश दिइन्। मिडिया अफिसरले चाहिँ सेफहरूलाई उत्तर दिने कुरा पहिले आफ्नो कापीमा लेख्न अह्राउँदै पछि आफूले सच्याइदिने बताए। बिचरा ! ती दुई सेफले त्यसै गरे। मिडिया अफिसरले केही औपचारकि भाषा थपिदिए, बस्! झन्डै दुई घन्टाको अलमलपछि बल्ल हामी कुराकानीका लागि स्वतन्त्र भयौँ।

ह्यात रेजेन्सी होटलमा पनि उस्तै समस्या भयो। दुई पब्लिक रलिेसन अफिसर सँगै राखेर सेफले कुराकानी गरे। तिनका व्यक्तिगत अनुभवबाहेक होटलसँग जोडिएका केही प्रसंग उठे कि सेफभन्दा अफिसर नै बोल्न तम्सिन्थे। लाग्यो, होटलमा त बोल्ने स्वतन्त्रतासम्म हुँदो रहेनछ !

उता आमिरको, यता राजाको

डेढ वर्षअघि भारतको बैङ्लोर पुग्दा थ्री इडियट्स छायांकन भएको इन्डियनइन्स्चिच्युट  अफ म्यानेजमेन्ट (आईआईएम)मा हाम्रो बसाइ थियो। सुटिङ्का दौरान थुप्रै समय त्यहाँ बिताएका रहेछन्, आमिर खानले। फिल्म 'रििलज' भएको दुई वर्षपछि पुग्दासमेत हामीलाई बैङ्लोर सहरभन्दा आमिर सुतेको बेडले बढी आकषिर्त गरेको थियो। दक्षिण एसियाका झन्डै एक सय सहभागी युवामध्ये आधाभन्दा बढीले उक्त खाट, त्यहाँको पानी ट्यांकीलगायत फिल्ममा आमिर जोडिएको ठाउँमा फोटो खिचाए। म पनि अपवाद रहिनँ।

गत साउनमा त्यस्तै अवसर जुर्‍यो, कोसीटप्पु वन्यजन्तु आरक्षस्थित सीमसार क्षेत्र पुग्दा । आरक्षको मुख्यालय सुनसरीको पश्चिम कुशाहमा हाम्रो बसाइको बन्दोबस्त गरएिको थियो। त्यस सरकारी निवासमा पुर्‍याएपछि स्थानीय कर्मचारीले हामी सुत्ने कोठा देखाउँदै त्यहाँ थुप्रैपटक पूर्वराजाहरूले रात बिताएको जानकारी दिए। फेसबुकमा स्ट्याटस लेखिहालेँ, 'राजा सुतेको खाटमा सुत्दै छु। सायद आज शाही सपना देखिनेछ।' 'लाइक्स'को बर्षा हुन थालिहाल्यो। साँच्चै भनौँ, मेरो भ्रमणलाई कोसीटप्पुभन्दा त्यही खाटले अविस्मरणीय पारिदियो।


जब मोडल डराइन्

नेपाली दम्पतीको शयनकक्ष किन सुखमय छैन भन्ने विषयमा नेपालले आवरण सामग्री छाप्दाको प्रसंग हो। मेरो पहिलो आवरण सामग्री हुनाले पनि बढी नै 'एक्साइटेड' थिएँ। लामो मिहिनेतकै कारण स्टोरी सोचेभन्दा राम्रो पनि भयो। शुक्रबार रातभरकिो अनिदोले ज्यान थाकेको थियो। शनिबार बिहानै अफिसबाट घर पुगेर सुस्ताउँदै थिएँ। त्यस दिन कान्तिपुरमा भोलिपल्ट प्रकाशित हुने नेपालको विज्ञापन छापिएको थियो। त्यसका लागि मोडलिङ् गरेकी युवतीले फोन गरी फोटो हटाइदिन आग्रह गरनि्। एकैछिनपछि मोडल युवकले पनि फोन गरे । म निकै तनावमा परेँ। चाहेर पनि शनिबार केही फेरबदल गर्न सकिँदैनथ्यो।

हामीले स्टोरीको सम्पूर्ण अवधारणा बताएर मात्र फोटो खिचेका थियौँ। ती फोटो 'मोडलिङ्मा आधारति' हुनेछन् भनेर समेत बताएका थियौँ। यौनसँग जोडिएको विषय भए तापनि ती तस्बिर प्रतीकात्मक मात्र थिए। र, पछि कुनै विवाद नआओस् भनेर फोटोपत्रकार रवि मानन्धरले मोडलहरूलाई आफ्नो क्यामेरा नै दिएर कुनै फोटो असहज लागे हटाउने स्वतन्त्रतासमेत दिनुभएको थियो। पछि थाहा भयो, कान्तिपुरमा छापिएको विज्ञापन हेरेर उनका शुभेच्छुक र साथीले त्यो उनीहरूकै कथाजस्तो ठानेर तारन्तार फोन गरेका रहेछन्। आइतबार नेपाल बजारमा आउनेबित्तिकै सबै कुरा सामसुम भइहाल्यो। भोलिपल्ट उनै मोडलले फोन गर्दै भनिन्, "मोडलिङ्को राम्रो प्रेज भइरहेको छ। तपाईंहरूलाई धन्यवाद।"

'सब्जेक्ट'भन्दा माथि

स्याङ्जाको बिर्घा गाउँकी ७५ वषर्ीया दृष्टिविहीन देउरूपा पाण्डेको वृत्तचित्र लुकिङ् द अनआइड वेमा सहनिर्माता बन्ने अवसर मिल्यो मलाई। नौ वर्षमा दृष्टि गुमाएकी देउरूपाको विवाह १४ वर्षमा ५९ वर्षे पुरुषसँग भएको रहेछ। ६ सन्तानकी आमा उनी ३५ वर्षअघि पतिको मृत्यु भएयता एक्लै थिइन्। उनी घरको सबै काम आफँै गर्थिन्। हामीले उनको त्यही विचित्र जीवन खिच्यौँ। 'रििलज' गरेको दिन सबैतिर वृत्तचित्रबारे प्रशंसा नै प्रशंसा भयो। संयोग कस्तो भने,रिलिज भएकै रात देउरूपाले यो संसार नै त्यागिदिइन्। उनको मृत्यु मेरा लागि एउटा पत्रकारको 'सब्जेक्ट'भन्दा माथिको थियो। त्यही क्षण एउटा एसएमएस आयो, 'बधाई छ प्रदीप ! एउटा आदर्श जीवनलाई तिमीहरूले रेकर्ड गर्न सक्यौ। देउरूपा अब बल्ल जिउँछिन्।' तर, दुर्भाग्य ! मैले 'रिप्लाई' गर्ने शब्द नै भेटिनँ।

No comments:

Post a Comment