Sunday, January 13, 2013

चराको पछिपछि

नयाँ ठाउँ पुग्दा समेत हठन चौधरीको नजर अघिपछि भन्दा रुख–आकासतिर बढि घुम्छ । हातमा एउटा सचित्र पुस्तक, दूरविर र क्यामेरा कतिबेलै छुट्दैन उनको । उनी चरा खोरिरहेका हुन्छन् । नयाँ वा दुर्लभ देखिने चरा भेटिए त गज्जब भईहाल्यो । देखिराखेकै वा स्थानिय चरा नै भएता पनि तिनका कतिपय दुर्लव अवस्था अर्को रोचक दृश्य बन्छ । कहिलेकाहीं एउटै चरालाई ठूलो झुण्डमा देख्न पाउनु पनि चरा हेर्नका पारखीका लागि आनन्दको क्षण भइदिन्छ । ‘त्यसैले बर्ड वाचिङ जति पटक नै गरेता पनि त्यो रोचक हुन्छ’, हठन भन्छन्, ‘कतिखेर के देखिन्छ भन्नै सकिंदैन ।’

बर्ड वचिङका लागि नेपाल विश्वमै विशेष स्थान हो । यहाँ १ सय मिटरभन्दा कमदेखि विश्वको सर्वोच्च उचाईको भूभाग छ । भिन्न भिन्न हावापानी र वासस्थान हुँदा यहाँ सयौं चराहरु देखिन्छन् । गर्मीयाममा प्रजननका लागि बसाई सरेर आउने चरा नेपालमा अर्का आकर्षण बन्छन् । ‘यी विविधताका बिच चरा हेर्नु वा देखाउनु निकै जटिल काम हो’, अर्का बर्ड वाचिङ गाइड दिनेश गिरीको अनुभव छ, ‘त्यसैले यो काम आत्मैदेखिको सोख नभइकन सम्भव छैन ।’ यसका लागि प्रकृतिसँग रमाउन सक्नु त पर्छ नै उत्तिकै धैर्य समेत हुनुपर्छ । पछिल्लो ६ बर्षयता लुम्बिनी आसपासमा बसिराखेका दिनेशले केही अघिमात्र त्यहीको दानव नदि छेउमा सबैभन्दा बढि अर्था १०४ वटा सारस एकैपटक देख्ने रेकर्ड बनाएका थिए । दिनेशको निश्कर्ष छ, ‘बर्ड वाचिङ एकखाले मेडिटेसन हो ।’
बर्ड वाचिङका लागि जानुअघि पहिले आफूले कस्तो चरा हेर्न खोजेको हो त्यो जान्नु आवश्यक छ । पारखीहरु विशेषगरी दुर्लव र सहजै आँखा तान्ने रंगीचंगी चरा हेर्न खोज्छन् । हेर्न चाहेको चराको प्रकृतिले कुन ठाउँमा ति पाइन्छन् भन्ने थाहा हुन्छ । ‘धेरै चराहरु थुप्रै अवस्थामा उस्तैझैं लाग्छन् जसले गर्दा उनीहरुलाई निकै शुश्म ढंगबाट छुट्याउन सक्नुपर्छ’, दिनेश भन्छन्, ‘उसको आँखा, ठुंड, खुट्टाजस्ता अंगको लम्बाई वा रंग, उड्ने तरिका एवं आवाजले छुट्याउन सक्नुपर्छ ।’ त्यसै त निकै छोटो समयका लागि देखिने चरा, त्यसमाथि त्यसैबेला चौतर्फी ढंगबाट सोच्दा ति उडिहाल्छन् । यहि कारण धेरैले चरा हेर्न जाँदा पहिले केही नसोची तस्विरहरु लिन्छन् । र, साँझ घर फर्केपछि चराका पुस्तकमा रहेका तस्विर र विवरणसँग शुश्म ढंगबाट दाँज्छन् । दिनेशको अनुभव छ, ‘म यसरी नै धेरै पटक दुर्लभ चरा भेटाएको घर पुगेपछि मात्र थाहा पाएर उत्साहित भएको छु ।’ चरा हेर्ने यहि विशिष्ठताका कारण समूहमा जाँदा त्यही चरा कहिलेकाहीँ कसैले देख्ने कसैले नदेख्ने समेत हुन्छ । एक पटक कोशी टप्पु बन्यजन्तु आरक्षमा हठनले समुद्री चरा रेड थ्रोटेड ड्राइभर देखेका थिए जुन त्यसपछि हालसम्म देखेका छैनन् ।


कहिलेकाहीँ चराको रंग ऊ बसिराखेको रुखको हाँगासँग मिल्दा समेत सजिलै देख्न गाह्रो पर्छ । ‘चरा हेर्नुको आनन्द लामो मिहिनेत र धैयर्ताबाट प्राप्त हुने केही सेकेन्ड मात्रको दृश्यमा हुन्छ’, हठन भन्छन्, ‘जसका लागि शान्त हुनु त छंदैछ, आँखासँगै कानलाई समेत उत्तिकै चनाखो राख्नुपर्छ ।’ फिल्डमा कुराकानी गर्न परेमा समेत सांकेतिक भाषा प्रयोग गर्नुपर्छ । चरा सधै आकासतिर मात्र भेटिन्छ भन्ने छैन । आलिचराजस्ता थुप्रैका प्रजाति भुईँमा भेटिन्छन् । झाडिमा गुँड पार्छन् । धेरै किसिमका रुख भएको र नजिकै पानीका स्रोत भएका जंगलमा धेरै प्रजातिका चराहरु पाइन्छन् ।

नेपालमा ८७१ प्रजातिका चरा पाइनेमा हठनले ७४१ अवलोकन गरिसकेका छन् । उनले हरेक दिन आफूले दिनभर देखेका चराको रेकर्ड राख्नेगर्छन् । बर्ड वाचिङ गाइडको काम चरा हेर्ने वा अरुलाई देखाउने मात्र हुँदैन । उनीहरुले देखेका चरा कहिलेकाहीं नौलो लागेमा त्यसको तस्विर र देखिएको स्थान ‘नेपाल दुर्लभ पंक्षी समिति’ मा बुझाएमा त्यसको मूल्यांकन गरेर चराको राष्ट्रिय तथ्यांक एवं त्यो कुन श्रेणीमा पर्छ भन्ने समेत निक्यौल हुन्छ । उनीहरुले त्यसैले हरेक पटक अवलोकन गर्ने चराहरुको समय, मौसम, मिति र स्थानको डेटाबेस तयार पार्छन् । दिनेश भन्छन्, ‘पारखीहरु चरा हेर्नका मात्र सौखिन नभइकन उनीहरुको आवाज सुन्नका लागि समेत एउटै चरालाई थुप्रैपटक पछ्याउँछन् र ति रेकर्ड समेत गर्छन् ।’ प्राय: चराको खाना खाने समय विहानपख हुन्छ जतिखेर चराहरु राम्रोसँग देखिन्छन् । दिउसोमा चराहरु आराम गर्छन् । केही चराको अवलोकन रातीमा गर्नुपर्ने समेत हुन्छ ।

नेपालमा पैसा खर्च गरेरै चरा हेर्नेहरु निकै कम छन् । विदेशीहरु भने त्यत्तिकै लागि नेपालमा लामो समय बिताउनेहरु छन् । नेपालमा पाइने सम्पूर्ण चराको अवलोकन गरिसकेका एक विदेशी पर्यटक अन्तिम ३ चराहरु हेर्न हठनसँगै लाङटाङ र तराई डुलेका थिए । बर्ड वाचिङ गाइडको लागि कुनै सुत्र वा जानकारीले सबै काम गर्छ भन्ने हुँर्दैन । उसले आफ्ना पछिल्ला अनुभव खेलाउँदै हरेक पटक नयाँ टेक्निक लगाउनु पर्छ । अस्वभाविक साइटमा चरा देखिंदा बर्ड वाचिङ गाइड केही समस्या परेको भन्ने बुझ्छन् । हठनको अनुभव छ, ‘एक पटक नारायणहिटी राजदरबारको उत्तरपट्टि तराईमा पाइने ठूलो धनेस देखेपछि अचम्म मानेर बुझ्दा पछि त्यो सदर चिडियाखानाबाट फुत्केको थाहा पायौं ।’ चरा देखाउने काम संवेदनशील पनि हो । चराहरु आफ्नो बासस्थान वरपर केही समस्या पर्‍यो भने आफ्ना चल्ला नै छोडेर बसाई सर्छन् । जसकारण सकेसम्म गुणवरपर पर्यटकलाई लैजांदैनन् र गुणका दृश्य देखाउँदैनन् पनि । 

तस्विरहरु: मनोज पौडेल/कान्तिपुर 

No comments:

Post a Comment