Tuesday, March 12, 2013

'एसएमएसबाटै सर्वे हुन सक्छ’

मोबाइल प्रयोगकर्ताको बढोत्तरीसँगै नेपालमा एसएमएस संस्कृति बिस्तारै मौलाउँदो छ। त्यसैले यसले व्यावसायिक आकार पनि ग्रहण गर्दै छ। एसएमएसको व्यावसायिक कम्पनी 'स्प्यारो एसएमएस'का प्रमुख प्राविधिक अधिकृत ध्रुव अधिकारी, २६, सँग गरिएको कुराकानीः 

एसएमएस कल्चर भनेको के हो ?
हाम्रो सहज पहुँचमा हुने ग्याजेट भनेकै मोबाइल हो। मोबाइलमा बढीभन्दा बढी एसएमएस प्रयोग हुन थाल्नु नै एसएमएस संस्कृति हो। एसएमएसबाट विभिन्न जानकारी लिन र दिन सकिन्छ।  

यस्तो संस्कृति कुन कुन क्षेत्रमा छ ?
खेलको लाइभ स्कोर, ब्रेकिङ् न्युज, टीभी/रेडियोका भोटिङ्, परीक्षाका नतिजा, एसएमएस बैंकिङ्, लोडसेडिङ् तालिका, जोक्स, राशिफल, सीआरबीटीजस्ता कुरामा एसएमएसको प्रयोग बढी छ। 

एसएमएसको अधिकतम प्रयोगको अवस्थामा केकेसम्म हुन सक्छ ?
एसएमएसकै भरमा उच्च गुणस्तरका नतिजा आउने सर्वे गर्न सकिन्छ। मोबाइल वा इन्टरनेट गेम्समा यसको प्रयोग बढ्न सक्छ। कार्यालयमा सूचना डेक्सको आवश्यकता नै नपर्न सक्छ। एसएमएसबाटै सोसल मिडिया अपडेट, इमेल पठाउने, डिजिटल भिजिटिङ् कार्ड पठाउनेजस्ता काम हामीकहाँ सुरु भइसकेका छन्। एसएमएसको महत्त्व यसरी बढ्दै जान्छ।

एसएमएसको प्रभावकारिता अरूभन्दा बढी किन छ ?
एसएमएस भनेकै आपत्कालीन अवस्थाका लागि हो। र, यस्तो बेला सबैभन्दा सजिलै प्रयोग गर्न सकिने पनि मोबाइल नै हो। हामीकहाँ नेटवर्कमा समस्या आइरहने हुँदा एसएमएस अनलाइन/अफलाइन दुवै स्वरूपमा प्रयोग भइरहेको छ। कुरा गर्न नमिल्ने मिटिङ्, जमघटजस्ता परिवेशमा यसको महत्त्व स्वाभाविक रूपमै बढी छ।

एसएमएस कल्चरका कस्ता समस्या छन् ?
एसएमएस भनेकै छिटो प्रतिक्रियाको अपेक्षासहित गरिन्छ । तर, एसएमएस पठाउनेको आधिकारिकता मेत निर्धारण गरिनुपर्छ  किनभने, प्रविधिले व्यवहार परिवर्तन  गर्न सघाउने मात्र हो। मुख्य काम त मानिसहरूले नै गर्नुपर्छ। 

No comments:

Post a Comment