Tuesday, March 12, 2013

कपाल र सेवाको साइनो


नारायण नापित, ५५, को हात मात्र सिर्जनशील छैन, मन पनि उत्तिकै कोमल छ। कपाल काट्नेपुर्ख्यौली पेसा अँगालेको झन्डै ४२ वर्ष पुगिसक्यो। एकातर्फ उनको कपाल काट्ने शैली देशी-विदेशीमाझ लोकपि्रय भयो भने अर्कोतर्फ त्यही पेसाभित्र लुकेको समाजसेवाको पाटोका कारणसमेत उनलाई धेरैले सम्झिन्छन् । २० वर्षयता सयौँ अनाथ बालबालिका एवं वृद्धाश्रममा दिन गुजारिरहेका वृद्ध व्यक्तिको कपाल काटिदिने एवं भोजन गराउने काम गर्दै आएका छन् नापित। भन्छन्, "नयाँ डिजाइनले कपाल वा दाह्री काट्दा जति आनन्द आउँछ, त्यसभन्दा बढी आनन्द समाजसेवाबाट आउँछ।" 

उनले अहिलेसम्म पाँच हजारभन्दा बढीलाई मेकअप र कपाल काट्ने औपचारिक तालिम दिएका छन्। वृद्धाश्रम र बालगृहमा पुग्दा उनलाई सघाउने प्रायः तिनै हुन्छन्। स्याहारको अभावमा स्याउँस्याउँ जुम्राले अड्डा जमाइरहेको कपाल चिटिक्क पारिदिँदा कहिलेकाहीँ उनका आँखाबाट आँसुसमेत झर्दो रहेछ। अहिले उनले खगेन्द्र नवजीवन केन्द्र, जोरपाटी, नेपाल बाल संगठन, सिफल, अपांग पुनःस्थापना केन्द्र, गोकर्ण, करुणालय, कपन, नरबु चिल्ड्रेन होम, बौद्ध, आमा घर र रविभवनमा निःशुल्क कपाल काट्ने तथा भोजनको अभियान चलाएका छन्। 

२०४४ सालमा राष्ट्रिय युवा सेवा कोषले आयोजना गरेको 'देशव्यापी खुला कपाल काट्ने प्रतियोगिता'का विजयी हुन् उनी। केही वर्षअघि एक विदेशी पर्यटक अन्नपूर्ण पदयात्रामा जाँदा हिउँले पूरै अनुहार नराम्रोसँग खाएर फर्केका थिए। उनको दाह्री काट्न काठमाडौँका धेरै नाउले सकेका थिएनन्। नापितले त्यो जटिल काम निकै सरलतापूर्वक गरिदिए। भारतीय गायक कुमार सानुले समेत काठमाडौँ आएका बखत नापितका हातबाट कपाल कटाएका छन्। सानुले नापितको प्रशंसामा लेखेको हस्ताक्षरसहितको चिट्ठी अझै पनि बौद्धस्थित राष्ट्रिय केश कर्तनालयमा सुरक्षित छ। त्यस्ता पत्रका थाक नै छन् उनीसँग। एक जापानी नागरिकले त उनलाई नेपालीमै चिट्ठी लेखेर प्रशंसा गरेका छन्। सुरुआतमा कपाल काटेको पाँच पैसा लिने गरेकामा उनीकहाँ अहिले कपाल काटेको दर ७५ रुपियाँ पुगेको छ। पालो पाउन भने केही घन्टा वा एक दिनअघि नै नाम टिपाउनुपर्छ। विदेशीहरूसमेत उनलाई सम्झँदै आउँछन्। 

उनका बुबा गणेशले आफ्नो समयमा प्रधानमन्त्रीदेखि उच्च कूटनीतिक ओहदाका व्यक्तिको कपाल काट्थे। नापितसमेत सँगै गएर बाबुको काम हेर्थे। उनले काम सुरु गर्दा भने काठमाडौँमा हिप्पीको प्रभाव थियो। कसैले हिप्पीले काठमाडौँमा ल्याएको संस्कृति राम्रो भन्थे भने कसैले विकृत। नापितका हकमा भने त्यो नयाँ नयाँ शैली सिक्ने अवसर भइदियो। "हिप्पीले हेयर स्टाइलका पोस्टरहरू ल्याएर देखाउँथे," उनी सम्झन्छन्, "तिनैको प्रभाव एवं मेरो मौलिक शैलीको मिश्रण उनीहरूले रुचाउँथे पनि।" नापितको विचारमा मानिसको व्यक्तित्वसँग कपालको विशेष साइनो हुन्छ। जस्तो : कपाललाई अनुहार, उचाइसँग जोडेर काट्नुपर्छ। त्यसबाहेक एउटा राम्रो नाउमा मालिस गर्ने गुणसमेत हुनुपर्ने उनी ठान्छन्। 


सबैतिर उपचार गर्दासमेत केही नलागेर थला परेकी बौद्धकै एक जना पक्षाघात भएकी महिला आङ फुर्वा शेर्पालाई उनले मालिस गरेरै निको पारे । थप्छन्, "म व्यावसायिक रूपमा त्यो काम गर्दिनँ। घरमै कपाल काट्न जाँदा त्यसबारे थाहा पाएर सुल्झाएको थिएँ।" नापितलाई आफ्नो कामबाट दिक्क लागेको छैन। लागोस् पनि कसरी, यसले उनलाई धेरैको माया मात्र दिलाएको छैन, उनी स्वयं त्यही कामबाट अरूको अनुहारमा खुसी छर्न सफल छन्। 

No comments:

Post a Comment