Tuesday, March 12, 2013

कफीमाण्डू


तन्नेरीहरू क्याफेमा बसेर घन्टौँ 'ह्याङ्आउट' हुनु अब कुनै नौलो रहेन। नौलो त बरू उनीहरूको पि्रय पेय चिया, सफ्ट/हार्ड डि्रंक्सको ठाउँ कफीले ओगटेको छ। जस्तो कि, काठमाडौँमा मात्रै त्यस्ता कफी अड्डा तीन सयभन्दा बढी भइसके। कफी कस्तो पेय हो भने पिउन बस्ने ठाउँले समेत विशेष अर्थ राख्छ। जस्तो : रेस्टुराँको इन्टेरयिर, कुर्सी-टेबल, इन्टरनेट सुविधा, म्यागेजिन र त्यहाँबाट देखिने दृश्य। "यी सब मिलेपछि बल्ल कफी पूर्ण बन्छ," थापाथलीस्थित कफी स्टेसनमा भेटिएकी एक पारखी प्रमिला थपलियाले सुनाइन्, "पारखीहरू नयाँ-नयाँ कफी सप खोज्छन् अनि त्यहाँको माहोल र कफीसँगै रमाउँछन्।" लाग्छ, कफी सहरमा संस्कृतिकै रूपमा फैलिसकेको छ। 

चियामा अभ्यस्त नेपालीका लागि पछिल्लो समय कफीको भिन्न खाले स्वाद लत बन्दै गएको छ। ब्ल्याक र मिल्क कफीमै अल्झिरहेको नेपाली समाजमा अहिले विभिन्न शैली, सम्मिश्रण र स्वादमा कफी उपलब्ध हुन थालेको छ। तिनका थुप्रै ककटेल र आइटम बनिरहेको छ। क्याफे काल्दीका प्रमुख कार्यकारी किशोर गिरी भन्छन्, "बिरुवा हुर्केको ठाउँ, भण्डारणदेखि रोस्टिङ्सम्म कसरी गरिन्छ भन्नेले समेत कफीको स्वाद निर्धारण गर्छ।" 

तत्काल स्फूर्तिका लागि खुबै रूचाइन्छन्, चकलेट र कफी। कफीको हकमा भुटेको दानाको धूलोलाई एस्प्रेसो मेसिनमा राखेर निकालिने झोल कफीको आइटम बनाउन चाहिने आधारतत्त्व हो। कडा स्वादको यो तरल कफी एकपटकमा ३० मिलिलिटरसम्म पिउने गरिन्छ । पारखीहरू दोब्बर, तेब्बरसम्म एस्प्रेसो पिउँछन्। एस्प्रेसोमा पानी र दूधको मात्रा थपघट गरेर दर्जनौँ आइटम बन्छ। विभिन्न रंग, फ्लेभर, कन्सन्ट्रेसन एवं कफीमाथि आर्ट गरेर सर्भ गरिन्छ । जस्तो: एस्प्रेसो, दूध र चकलेटको मिश्रणबाट कफी मोक्का, एस्प्रेसोमा पानी मिसाएर तयार हुने अमेरिकानो, एस्प्रेसोमा तातो र फिँजमिश्रति दूध मिसाएर तयार हुने कप्पुचिनो। भोड्काको मिश्रणबाट बनाइने आइरसि कफीसमेत बिस्तारै नेपाली पारखीबीच लोकपि्रय हुँदै छ। "नेपाली माटोमा हुर्केको कफी अरूभन्दा मीठो छ," कमलपोखरीस्थित कफी टकका निर्देशक नारायण खकुरेल भन्छन्, "तापक्रमका कारण पनि स्वादको मौलिकता निर्धारण हुन्छ।" 


कफीमा सामान्यतः ६ वटा गुण पाइन्छन्, मीठो, अम्लीय, चिल्लो, बडिली (अल्कोहलिक), पर्पर र तीतो। यीमध्ये कसैका लागि कुनै राम्रो त कुनै नराम्रो हुन सक्छ। "नेपाली हकमा भने पर्पर र तीतोलाई नराम्रो गुण मानेर त्यसलाई हटाउने गरी रोस्टेड गरिएको हुन्छ," क्याफे काल्दीकी उषा गिरी बताउँछिन्। त्यसलाई कपमा हालेसँगै आउने सुगन्ध र चुस्की लिएसँगै आउने पहिलो स्वादले कफीको गुणस्तर थाहा हुन्छ। हिमालयन जाभाका संस्थापक गगन प्रधानको भनाइमा कुनै समय ग्राहकहरू कफीलाई तीतो पेयका रूपमा मात्र बुझ्थे। प्रधानको जाभामा त्यस्ता थुप्रै ग्राहक आउँदा रहेछन्, जसले आफैँ बारिष्टा (कफी मेकर)लाई कफी बनाउन सिकाउँछन्। कसैले मह मिश्रति कफी भन्छन् त कोही बेसारमिश्रति पनि। प्रधान भन्छन्, "यो धैर्य र लगावसँगै असली स्वाद लिने पेय हो।" 


विश्वव्यापीकरणको प्रभावले नै कफी संस्कृति मौलाएको हो। जमघट र मनोरञ्जनको माहोल जति बढ्दै जान्छ, कफी संस्कृति त्यति नै मौलाउँछ। काठमाडौँकै हकमा ठमेल, दरबारमार्ग, लाजिम्पाट, झम्सीखेल र मलहरूतिर फैलिरहेका कफी सपले पनि त्यसै भन्छ। कफी संस्कृति बढेको प्रमाण त राजधानीमा एकपछि अर्को गरी खुलिरहेका क्याफेका अन्तर्राष्ट्रिय चेन र ब्रान्ड नै हुन्। जस्तो: ६ वर्षपहिले जापानी क्याफे चेन क्याफे काल्दी आयो, जसका अहिले राजधानीमा आठवटा आउटलेट छन्। त्यसैगरी पाँच वर्षअघि नेपाल छिरेको इटालियन कफी ब्रान्ड इल्लीले ५० भन्दा बढी स्थानमा आफ्नो रोस्टेड कफी बिन (कफीको भुटेको दाना) आपूर्ति गर्छ। ६ महिनाअघि खुलेको इटालीकै बहुराष्ट्रिय चेन बारिस्टा लभाज्जाले थप दुईवटा आउटलेट काठमाडाँ र पोखरामा खोल्ने तयारी गररिरहेको छ। सुरुमा खुलेको हिमालयन जाभा त अन्तर्राष्ट्रिय नेपाली ब्रान्ड नै भइसकेको छ, जसका काठमाडौँमा पाँच आउटलेट छन्। 



नेपालमा कफीको व्यावसायिक इतिहास भने त्यति लामो छैन। नेपाली भिक्षु हीरा गिरीले सन् १९३८ मा पहिलोपटक बर्माबाट गुल्मीमा कफीको बियाँ ल्याए पनि सन् १९७० सम्म यसलाई सजावटका बिरुवाका रूपमा मात्र लिइन्थ्यो। सन् १९७६ बाट मात्र यसले व्यावसायिक खेतीको रूप लियो। यसबीचमा एकातर्फ विदेश पढ्न जानेको संख्या बढ्न थाल्यो भने अर्कोतर्फ नेपालमा समेत विदेशीहरू ओइरनि थाले। अहिले उमेर छिप्पिएको पुस्तादेखि नयाँ पुस्ताका तन्नेरीसम्म यसको लतमा छन्। ठमेलस्थित नेपालको पहिलो व्यवस्थित र अत्याधुनिक कफी सप हिमालयन जाभा लेखकहरूको जमघट हुने ठाउँका रूपमा चर्चित छ। चाहे प्राध्यापक अभि सुवेदी हुन् वा पत्रकार नारायण वाग्ले, धेरैले कफी सपमै लेख्नेदेखि त्यस ठाउँका 'इम्प्रेसन' आफ्ना सिर्जनामा थुप्रैपटक व्यक्त गरेका छन्।


कसैलाई पहिलोपटक प्रत्यक्ष भेट्दा कफीका लागि निम्त्याइने चलन छ। व्यापारकि भेटघाट वा डिल पनि कफी सपमा वा कफीसँग गर्ने क्रमले धेरै कफी सप सहरमा 'कफिस' नामबाट चिनिन थालेका छन्। डेटिङ्मा मस्त जोडीले रुचाउने पेय पनि हो यो। अटोमोबाइल्स व्यवसाय फैलिरहेको काठमाडौँ गैरीधारामा अटोमोबाइल्सका पाट्र्ससहितको इन्टेरयिर डिजाइनमा कफी सप 'क्याफे इन्जिन' छ। क्याफेका सञ्चालक आशीष प्रसाइर्ं भन्छन्, "कफी पिउँदा मानिसहरू आफ्ना रुचिका विषयमा घोत्लिन खोज्ने तथ्यलाई बुझेर यो स्वरूप दिइएको हो।" 


कफी पिउने शैलीलाई विदेशी प्रभाव मान्न सकिए तापनि यहाँ खपत हुने कफीको ठूलो मात्रा स्वदेशी नै हो। यसको लोकपि्रयता नेपालबाहिर पनि बढ्दै छ। हिमालयन जाभाले आफ्नो कफी बिन्स प्याकेटमा 'हिमालयको हावामा हुर्केको' भनेर ब्रान्डिङ् गर्दै आएको छ। नेपालमा वाषिर्क पाँच सय मेक्टि्रक टनभन्दा बढी प्रशोधित कफी उत्पादन हुन्छ। त्यसको ६० प्रतिशतभन्दा बढी निर्यात हुन्छ। नेपाली कफीको वाषिर्क माग देशभित्र र बाहिर गरेर चार हजार टन छ। तर, उत्पादन भने पाँच सय टन मात्र छ। "निर्यात दर पछिल्ला वर्षमा घटिरहनुको अर्थ हो, यहाँ कफी संस्कृति बढिरहेको छ," हिमालयन जाभाका प्रमुख प्रधान भन्छन्, "पहिले पहिले इन्स्ट्यान्ट कफी मात्र पिउने नेपालीमा फ्रेस बेभरेजका रूपमा पिउने कला विकसित भएसँगै यहाँ व्यवसाय पनि फस्टाइरहेको छ।" 


कफी तथ्य


- कफी प्रयोगमा आएको ११ शताब्दी पुगिसकेको छ । 

- चिया र कफीमध्ये विश्वमा ७० प्रतिशत मानिसहरू कफी 
   पिउँछन् भने ३० प्रतिशतले मात्र चिया । 
- अमेरिकी,फ्रेन्च र जर्मनहरू विश्वमा सबैभन्दा धेरै   
  कफी पिउनेमध्ये पर्छन् । उनीहरूले मात्रै विश्वभर खपत  हुने  ६५ प्रतिशत  कफी प्रयोग गर्छन् । 

- सन् १६७५ मा बेलायतका राजाले कफी हाउसहरू आफ्नाविरुद्ध षड्यन्त्र    बुन्ने ठाउँ भएको भन्दै बन्द
 गराएका थिए । 
- कफी विश्वमा व्यापारका लागि धेरै ओसारपसार गरिने दोस्रो उत्पादन हो ।
- अमेरिकाको न्युयोर्कमा बस्नेहरू विश्वका अन्य सहरको दाँजोमा सातपटक बढी कफी पिउँछन् ।
- प्राचीन अरब संस्कृतिमा महिलाहरूले कफी पिउन नदिएको निहुँमा आफ्ना पतिसँग सम्बन्धविच्छेद गर्न पाउँथे ।

No comments:

Post a Comment