Monday, August 5, 2013

रूखप्रेमी समूह

जीवनमा कतिवटा रूख रोप्नुभो ? रोपिएका बिरुवा कस्तो हालतमा छन् ? हुर्किए कि मरिसके ? आफ्नो उमेरसँग दाँजेर एकैछिन घोत्लिनूस् त ! त्यसपछि आफ्नै जीवनशैलीमा रूखजन्य उत्पादनको प्रयोग कसरी बढिरहेको छ भन्नेतर्फ हेर्नूस्। सबेरै पढिने पत्रपत्रिकादेखि साँझ सुत्ने सानदार पलङसम्ममा त्यही रूख जोडिएको हुन्छ। हामीले रूखबाट लिएको लाभ र त्यसमा दिएको योगदानको तुलना गर्दा पृथ्वीमाथि कसरी अन्याय गरिराखेका छौँ भन्ने थाहा पाउन धेरै बेर लाग्दैन।

तन्नेरीको एउटा समूह अहिले मानिस र रूखबीच यही भावना जोड्न लागिपरेको छ। यसका अगुवा युवा हुन्, अनुज महत, रोशन कार्की, संरक्षण घिमिरे, प्रयाग उपाध्याय, दीपक मल्ल, रामकुमार भण्डारी र ध्रुव प्रजापति। अनुजले एमबीए पढेका हुन् भने अन्य सबैले कम्प्युटर विज्ञान। भिन्न परिवेश र पृष्ठभूमिबीच यो समूहले अहिले 'बर्थडे फरेस्ट' अभियान चलाइरहेको छ।

कुनै बच्चा जन्मिँदा होस् वा बर्थडे मनाइरहँदा, त्यसको सम्झनामा रूख रोप्ने अभियान हो यो। अनुज महत भन्छन्, "यसले रूखसँग आफ्नो एउटा कालखण्डको साक्षी र सँगै हुर्किरहेको साथीको भावना विकसित गर्नेछ।" विभिन्न अवसर पारेर गरिने वृक्षरोपण खासमा कुनै नयाँ अवधारणा त होइन। तर, बर्थडे फरेस्ट अभियानमा नयाँपन छ। जस्तो: उनीहरूले यसलाई प्रविधिसँग जोडेका छन् र बिरुवा रोप्ने मात्र होइन, हुर्काउने जिम्मेवारी पनि लिएका छन्। एउटा रूख रोपेबापत उनीहरूले ९ सय ८० रुपियाँ लिन्छन्। त्यस अन्तर्गत रूख रोप्नेदेखि तीन वर्षसम्म वर्षको दुईपटक तस्बिर अपडेट गरिन्छ, रूखसँग प्रायोजकको नाम र सन्दर्भ उल्लेखित मेटल प्लेट राखिन्छ। सामुदायिक वनको सहकार्यमा त्यसको हेरचार गर्ने व्यवस्थासमेत मिलाइएको छ।

बिरुवा रोपिएको ठाउँको जीपीएस ट्रयाकिङ् गरिएको हुन्छ, जसबाट वर्षौंपछि समेत प्रायोजकले आफूले रोपेको बिरुवा हेर्न सक्छन्। रोशन कार्की भन्छन्, "सामान्यतः तीन वर्षभित्र एउटा बिरुवा हुर्किसक्छ। केही गरी मर्‍यो भने अर्को बिरुवा रोपिदिन्छौँ।" र, हरेक वृक्षरोपण गर्नेको नाममा रूखको तस्बिरसमेत 'अपडेट' भइरहेको हुन्छ, उनीहरूको साइटमा।

यही अभियान जोडिएको बर्थडे फरेस्ट नामको मोबाइल एप्स गुगल स्टोर्समा छ, जसले आफ्नो जन्मदिन सम्झाउने र रूखको अवस्था देखाउँछ। झन्डै चार महिनाअघि काठमाडौँमा आयोजना गरिएको एप्स प्रतिस्पर्धामा सामाजिक सेवा शीर्षकतर्फ यो मोबाइल एप्सले उत्कृष्ट भएर एक हजार अमेरिकी डलर पुरस्कार पाएको थियो।

अहिले फर्पिङको डल्लु र सतीखेल तथा काभ्रेको गौखुरेश्वर सामुदायिक वन उपभोक्ता समूह अन्तर्गतका वनमा यो अभियान चलाइएको छ। छिट्टै जुनसुकै सामुदायिक वनमा वृक्षरोपण गर्न सकिने व्यवस्था मिलाउँदै छन् उनीहरू। कर्पोरेट बर्थडेमा समेत यो अभियान जोडिएको छ। बुबा-आमाको मुख हेर्ने दिन, गुरुपूणिर्माजस्ता अवसर त छँदै छन्, अहिले थुप्रैले विवाह गर्दासमेत त्यसको सम्झनामा रूख रोप्न थालेका छन्। अनुज सुनाउँछन्, "आफँै रूख रोप्न सके त राम्रो भइहाल्यो, नत्र भर्चुअल दुनियाँ नै काफी छ।" बेलायत र बेल्जियम बस्ने अनुजका साथीहरू ३२ साउनमा अफगानिस्तान आएर विवाह गर्दै रहेछन्। अनुज जान त भ्याएनन् तर उपहारस्वरूप धुलिखेलमा एउटा रूख रोप्दै छन्। भन्छन्, "यो एउटा लिभिङ् गिफ्ट हो, जसलाई उनीहरूले कोसौँ परबाट कम्प्युटरमा त देख्छन् नै, कुनै बेला नेपाल आए हुर्किएको त्यो रूख हेर्दै विवाहको सुन्दर पल सम्झनेछन्।"

छिट्टै उनीहरू केही सामुदायिक वनमा बिरुवा रोप्दै छन् र रोपिएकालाई इन्टरनेटमार्फत 'एडप्ट' गर्ने अवसर मिलाउँदै छन्। विदेशबाट आउने आग्रहका हकमा रकम कारोबारको सहज व्यवस्था नहुँदा केही समस्या झेलिरहेको रोशन बताउँछन्। भन्छन्, "अबको लक्ष्य कलेजका विद्यार्थीमाझ आक्रामक ढंगले यो अभियान बढाउनु हो।" बर्सेनि कम्तीमा चार हजार बिरुवा रोप्ने उनीहरूको लक्ष्य छ।

No comments:

Post a Comment