Monday, August 5, 2013

काठमाडौँको शरणमा पाकिस्तानी पनि

खचाखच यात्रुका साथ पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) कराँचीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रँदा ज्यादै खुसी हुनुपर्ने कारण छैन। किनभने, त्यसमा पर्यटक मात्र हुँदैनन्। सातापिच्छे एक-दुई उडानको फरकमा त्यसमार्फत शरणार्थी पनि उत्रिरहेका हुन्छन्।

कहिले तिब्बती त कहिले भुटानी शरणार्थी हेडलाइन बन्ने नेपालमा अहिले पाकिस्तानी शरणार्थी बढिरहेको देखाउन महाराजगन्जस्थित संयुक्त राष्ट्र संघीय शरणार्थी नियोग (यूएनएचसीआर) परसिरको चहलपहल नै काफी छ। त्यहाँ कोही शरणार्थी परिचय पत्र बनाउन त कोही सुरक्षित शरणका लागि आवेदन गरिराखेका भेटिन्छन्।

नेपालमा अहिले पाकिस्तानी शरणार्थीको संख्या ३ सय ५० नाघिसकेको छ। ती सबै अहमदिया मुस्लिम हुन्, जसलाई पाकिस्तानभित्र गैरमुस्लिम घोषणा गरिएको छ। त्यही घोषणासँगै मुस्लिमबीच नै सम्बन्ध बिग्रेपछि इस्लामावाद र लाहोरभन्दा परको सहर कहिल्यै नटेकेका नविद अहमद, ३५, बिरानो सहर काठमाडौँमा भौँताररिहेका छन्। इस्लामावादनजिकैको गाउँ साल्कोटमा एक्लो अहमदिया परिवार अन्य मुस्लिमको तारो बनिहाले। गाउँनजिकै खुलेको 'मदरसा नैमिया'मा जेहादीहरूलाई प्रशिक्षण दिन तयार पारिएको शंका गरे।

पाकिस्तानमा मदरसाहरू कति शक्तिशाली छन् भने त्यसमा प्रहरीले समेत खानतलासी गर्न पाउँदैनन्। त्यो मदरसा पाकिस्तानी तालिवानको एउटा समूह 'लस्करे झानवी'ले खोल्न लगाएको सुइँको उनीहरूले पाए। त्यसको गाइँगुइँ चल्दै गर्दा एक दिन मदरसाका मौलाना (प्रमुख)ले गाउँलेको बैठक डाके र आफूलाई सुरक्षा खतरा भएको बताए। नविद सम्झन्छन्, "तर, त्यसलाई पुष्टि गर्ने उनीसँग कुनै तर्क थिएन। उनले त हामीलाई फसाउन त्यस्तो नाटक रचेका रहेछन्।"

गाउँ मौलानाको पक्ष र विपक्षमा बाँडियो। एकले अर्कालाई मदरसा छिर्न नदिने भन्दै त्यहाँ तालाबन्दी गरे। नजिकैको अर्को गाउँमा एक अहमदिया दुई छोरासहित मारिए। नविदको परिवारलाई समेत एकपछि अर्को सास्ती दिइयो। रोपाइँका लागि तयार पारिएको ब्याडमा गाईभैँसी छाडिए। खेतमा जाँदा उनलाई गोली हानियो। धन्न गोली घुँडामा लाग्यो र उनी बाँचे। नविद सम्झन्छन्, "गल्ती उनीहरूकै भए पनि अस्पतालमा छँदै मविरुद्ध मुद्दा दायर भयो र झन्डै डेढ महिना जेल बस्नुपर्‍यो।"

गाउँमा बस्न नसकेपछि सन् २००४ मा नेपाल छिरेका उनले यहीँ आएपछि पाकिस्तानमा रहेकी काकाकी छोरीसँग 'निकाह' गरे। रास्ता नविद, ३०, पछि आफ्ना चार देवरसँगै काठमाडौँ आइन्। बुढेसकाल लागेका आमाबुबा छाडेर उनीहरू नेपालमै बस्छन्। भन्छन्, "आफ्नो धर्म छाड्न नचाहेका कारण बिरानो भूमिमा अनिश्चित भविष्य लिएर भौँतारिनुपरेको छ।"

ज्यानको मायाले नेपाल छिरेका उनीहरू अहिले काठमाडौँमा डेरामा बस्छन्। कपन, गल्फुटार, मण्डीखाटार, महाराजगन्ज अहमदियाहरूको धेरै बसोवास भएको क्षेत्र हो। नेपालमा उनीहरू आउन थालेको सन् २००३ यता हो। सबैभन्दा बढी भने सन् २००४ देखि २००७ बीचमा आएको यूएनएचसीआरको तथ्यांक छ।

नेपालले भने अहिलेसम्म संयुक्त राष्ट्र संघको 'शरणार्थीसम्बन्धी अभिसन्धि-१९५१' मा हस्ताक्षर गरेको छैन र शरणार्थीसम्बन्धी कानुन पनि बनाएको छैन। त्यसैले भुटानी र तिब्बतीबाहेकलाई सरकारले शरणार्थी मान्दैन। तैपनि, नेपालमा पाकिस्तानीजस्तै सोमाली, बर्मेली, इराकीलगायत शरणार्थी छन्। र, पछिल्लो तथ्यांक हेर्दा सहरी शरणार्थी सबैभन्दा बढी पाकिस्तानी छन्। इस्लामिक गणतन्त्रबाट हिन्दु बाहुल्य रहेको देशसम्म आइपुग्नुमा उनीहरूको धर्मसँग जोडिएको मुख्य कथा त छँदै छ, यसमा कमजोर नेपाली अध्यागमन प्रणालीसमेत दोषी देखिन्छ।

भेदभावको हद
अहिले विश्वभर अहमदिया मुस्लिमको जनसंख्या झन्डै २० करोड रहेकामा पाकिस्तानमा मात्रै करबि तीन करोड बसोवास गर्छन्। त्यस समुदायको विश्वमै त्यति धेरै जनसंख्या भएको देश पनि पाकिस्तान नै हो। अहमदिया मुस्लिमलाई औपचारकि रूपमा गैरमुस्लिम घोषणा गर्ने देश पनि पाकिस्तान मात्र हो।

सन् १९७४ मा संविधानको संशोधनमार्फत कदियानी अर्थात् अहमदिया मुस्लिमलाई गैरमुस्लिम अल्पसंख्यक घोषणा गरिएको थियो। पछि जिया उल हक राष्ट्रपति छँदा त्यसलाई विभिन्न थप अध्यादेशमार्फत झन् कडा पारियो। सन् १९८४ मा गरिएको कानुनी व्यवस्था अनुसार अहमदिया मुस्लिमले आममुस्लिमले प्रयोग गर्ने सामान्य शिष्टाचार शब्द -जस्तै ः सलाम वाले कुम, इन्साअल्ला, खुदा हाफिज आदि) सार्वजनिक ठाउँमा प्रयोग गर्न नपाउने भए। चार महिनाअघि मात्र सिन्ध प्रान्तको कुनरीबाट आएका जुल फिकुर अली गोराया, ४०, भन्छन्, "अन्य मुस्लिमसँगै मस्जिद गएर नमाज पढ्न बन्देज लगाइयो। धर्म प्रचार गरे मृत्युदण्डसम्म दिन सकिने कानुन नै बन्यो।" विवाहका कार्डमा लेखिएका सामान्य शिष्टाचारका शब्दले पनि अहमदियाहरू पक्राउ परिराखेका  छन्।

पाकिस्तानमा त्यति ठूलो जनसंख्या भईकन पनि अहमदियाहरूले मुस्लिमको हैसियतमा भोट हाल्न पाउँदैनन्। होलसेल पसलबाट सामान किन्दै साना पसलेसम्म पुर्‍याउने काम गररिहेका गोराया स्वयंको अनुभव निकै दर्दनाक छ। उनी अहमदिया भएको थाहा पाएपछि एकातर्फ उनको व्यापार ठप्प भयो भने अर्कातर्फ उनका छोराछोरीले विद्यालय जाँदा-आउँदा अनाहकका छुद्र बोलीका साथै ढुंगामूढासमेत खेपे।

उनले पाकिस्तानभित्रै थुप्रैपटक आफ्नो काम गर्ने ठाउँ बदलेका छन्। तर, समस्या ज्यूँका त्यूँ रह्यो। एकपटक एक आतंककारी समूहले पिटेर मरणासन्न पारेको दुई दिनपछि अचेत अवस्थामा भेडा गोठालाले आफ्नो उद्धार गरेको उनी सम्झन्छन्। भन्छन्, "अहिले पनि खुट्टा एकछिन नचलाईकन राखियो भने निदाउँछ।"

सन् २०११ मा मात्रै लाहोरस्थित दुई अहमदिया मस्जिद दरुजिकर र बैतुन नूरमा तालिवानले एक सयभन्दा बढीको ज्यान जाने गरी गोलीबारी गर्‍यो। त्यसपछि त नेपाल भित्रिने क्रम अझ बाक्लिएको छ। पाकिस्तानी अहमदियाहरू श्रीलंका, मलेसिया र हङ्कङ्मा समेत शरणार्थीका रूपमा पुगेका छन्। तर, अहमद र गोरायाजस्ता मध्यम वर्गले सहज भिसा व्यवस्थाका कारण नेपाललाई गन्तव्य बनाएका हुन्।

पाकिस्तानमा सामान्य कसुरमा पनि थुप्रै अहमदियामाथि मुद्दा चलाइएको छ। त्यहाँ बिजोग हुने अवस्था आएपछि थुप्रै अहमदिया भागेर नेपाल उडेका छन्। समस्या चुलिँदै जाँदा सन् २००७ मै पाकिस्तानी नागरकिका तर्फबाट सर्वोच्च अदालतमा परेको एक मुद्दामा छिट्टै आवश्यक कानुन बनाएर समाधान गर्ने भनिए पनि कार्यान्वयन अझै हुन सकेको छैन।

नविद अहमद त्यस बेला काठमाडौँ उत्रँदा यहाँ निकै कम पाकिस्तानी अहमदिया थिए। बल्वालपुर, पन्जाबका इरफान मेहबुब, ३५, लाई उनले नेपालमै भेटे, जो उनीभन्दा केही महिनाअघि तीन छोरा-छोरी र पत्नीका साथ आएका थिए। अहिले काठमाडौँमा मेहबुब परविारका ३० सदस्य छन्। भन्छन्, "कम पढाइ भएका कारण हिन्दी, उर्दूले सहज होला भनेर नेपाल छानेका थियौँ। जवानी यहीँ बित्यो, छोराछोरी हुर्किसके तर जीवन झन् अन्धकारतर्फ मोडिँदै छ।"

नेपाल पनि 'दलदल’
नेपाल सरकारले यस्ता शरणार्थीलाई गैरकानुनी आप्रवासी मानेकै कारण अहिले भिसाबाहेक दिनको पाँच अमेरिकी डलर जरिवाना तिर्नुपर्छ। त्यसरी हेर्दा सन् २००४ मा नेपाल छिर्ने एउटै व्यक्तिले झन्डै १७ लाखसम्म जरिवाना तिर्नुपर्छ। परिवारका साथ आउने नविदजस्ता थुप्रैको त जरिवाना रकम नै एक करोडभन्दा माथि पुग्छ। कतिपयलाई युरोपेली वा अमेरकिालगायत तेस्रो मुलुकले पुनःस्थापना गर्न राजी भए पनि उनीहरूले जरिवाना रकम नतिरिदिँदा त्यो झन् कठिन बनिरहेको छ। सन् २०१२ मा भने केही सहरी शरणार्थीलाई नेपाल सरकारले मन्त्रिपरिषद्बाटै जरिवाना मिनाहा गरििदएको थियो।

त्यसै पनि अन्य शरणार्थीको तुलनामा सहरी शरणार्थीलाई कम प्राप्त हुने तेस्रो मुलुक पुनःस्थापनाको अवसर त्यही जरिवानाका कारण रोकिएको यूएनएचसीआरका एक अधिकारी बताउँछन्। जरिवाना माफीका लागि हरेकको फाइल मन्त्रिपरिषद्बाटै पास गराउनुपर्ने जटिल अवस्था छ। शरणार्थी एकाइ प्रमुखसमेत रहेका गृह मन्त्रालयका प्रवक्ता शंकर कोइराला भन्छन्, "परराष्ट्र मन्त्रालयले भुटानी र तिब्बतीबाहेक सबैलाई गैरकानुनी भनिसकेको अवस्थामा अन्य मुलुककालाई शरणार्थी भन्नु मात्रै पनि ठीक हुँदैन। उनीहरू शरणार्थी मातहत पर्दैनन्। उनीहरूलाई हेर्ने जिम्मा अध्यागमन एकाइलाई हुन्छ।"

६ वर्षअघि यहाँ आएका सइद अहमद, २६, यही अवस्थाका बीच अध्यागमन प्रहरीबाट पक्राउ परे र ६ महिना डिल्लीबजार कारागारमा काटे। एक-दुई दिन वा हप्तादिन त्यस्तो अवस्था काट्ने त थुप्रै हुन्छन्। तिनलाई पछि शरणार्थी परचियपत्र पाइसकेका परिवारजन वा आफन्तले यूएनएचसीआरमार्फत पहल गरेर छुटाउँछन्। यति लामो समय यता न उताको पारेर जीवन बर्बाद पारेकामा उनीहरू नेपाल सरकार र यूएनएचसीआर दुवैसँग आक्रोशित छन्। मण्डीखाटारस्थित मस्जिदमा भेटिएका नसर उल, ३२, भन्छन्, "ज्यान बचाउन अन्य केही सीप नलागे मात्र नेपाल आउन भन्छौँ। नत्र, यहाँ आउन कसैलाई सल्लाह दिन्नौँ। नेपालको परिवेश दलदलजस्तो छ।"

पाकिस्तानस्थित नेपाली दूतावासले निःशुल्क र सामान्यतः अस्वीकृत नहुने गरी भिसा दिन्छ। नविद आउँदा कराँचीदेखि काठमाडौँसम्मको एकतर्फी हवाई भाडा १७ हजार रुपियाँ थियो। नेपाल आउने अहमदियाहरू निम्न र मध्यमवर्गीय मात्र छैनन् पाकिस्तानको लाहोरस्थित एक आईटी कम्पनी 'सुख चान'मा म्यानेजरका रूपमा काम गर्ने सज्जिद अहमददेखि झन्डै एक करोड खर्चेर कोकाकोला डिलर्स व्यवसायमा हात हालेका व्यक्ति पनि छन्।

बिरामी पर्दा भने यूएनएचसीआरले सामान्य उपचारभन्दा बढी सहयोग गर्दैन। त्यसकै कारण सन् २००६ मा आएका अताल रहमानले झन्डै चार महिनाअघि नेपालमा प्राण त्याग्नुपर्‍यो। उनको शव पाकिस्तान पुर्‍याउन काठमाडौँस्थित पाकिस्तानी दूतावासले सामान्य सहयोगसमेत गरेन। ६० हजार रुपियाँ खर्च गरेर कार्गोका रूपमा शव पाकिस्तान पठाउनुपर्‍यो। उनकी पत्नी मुनजा तुसलिम, ३५, बिरानो सहरमा एक्लिएकी छन्।

सरकारको आग्रहमा यूएनएचसीआरले सन् २००७ यता शरणार्थी परचियपत्र बाँड्न रोकेको बताएको छ। यद्यपि, कतिले कार्ड बोकिरहेकै छन्। यूएनएचसीआर त्यसयता मात्र 'हाम्रो शरणमा छ' भन्ने पत्र दिने गरेको र आफ्नो अनुसन्धानका आधारमा शरणार्थी पहिचान गरेर भत्ता दिने गरेको बताउँछ । यूएनएचसीआरको तथ्यांकले नेपालमा ५० पाकिस्तानी शरणार्थी परिवार रहेको देखाए पनि मण्डीखाटारस्थित पाकिस्तानी अहमदिया मस्जिदमा ३ सय ६५ जना त्यस्ता शरणार्थी रहेको तथ्यांक छ।

नेपाली अहमदिया मुस्लिमको संख्या देशभरमा ६ सयको हाराहारीमा मात्र छ। अहमदिया संघ नेपालका अध्यक्ष मुस्लिम रावेद भन्छन्, "पाकिस्तानको प्रभावमा नेपालमा समेत बिस्तारै पर्दै जाँदा मस्जिद प्रवेशमा समस्या देखिन थालेको छ। हाम्रो प्रवेशले उनीहरू मस्जिद अपवित्र हुने ठान्छन्। इस्लामका असली अनुयायी हामी सास्ती खेपिरहेका छौँ।"

पाकिस्तानबाट त्यसरी आएका अहमदियालाई अहमदिया संघ नेपालले यहाँ अभ्यस्त हुन सहयोग पुर्‍याइरहेको अध्यक्ष रावेद बताउँछन्। भन्छन्, "पराइ भूमिमा त्यही धर्मका कारण आपत्विपत्का बेला मानवीय सहयोग गरेका हौँ।"

को हुन् अहमदिया ?
खासमा अहमदिया मुस्लिम समुदायका अन्य ७२ समूहजस्तै हुन्। उनीहरूको धार्मिक ग्रन्थ कुरान नै हो। उनीहरू दिनको पाँचपटक नमाज पढ्छन् र रमजानको महिनामा ३० दिन रोजा बस्छन्। सन् १८८९ मा भारतको कादियानबाट सुरु भएको अहमदिया विचारको प्रभावका कारण उनीहरू फरक देखिएका हुन्। त्यसैले अहमदिया मुस्लिमलाई कादियानी भन्ने चलन पनि छ।

कुरानमा उल्लेख गरिए अनुसार इस्लामका संस्थापक मोहम्मदले आफ्नो निधनको १४ सय वर्षपछि पृथ्वीमा अर्को जन्म लिने र त्यसको संकेतका रूपमा चन्द्र र सूर्यमा ग्रहण लाग्ने बताएका थिए। उनले भनेझैँ भयो पनि। भारत कादियानमा हजरत मिर्जा गुलाम अहमदले पैगम्बर मोहम्मदले भनेको कल्की अवतार आफू भएको दाबी गरे। कुरानमै उल्लेखित यस विषयलाई सम्मान गर्दागर्दै अन्य मुस्लिम उक्त अवतार अझै आइनसकेको ठान्छन्। अन्य मुस्लिम समुदाय र अहमदियाबीच फरक यत्ति हो।

First Appeared in Nepal Magazine  

यो पनि पढ्नुहोस :: नदेखेको देश

1 comment:

  1. I like it very much Pradeep sir. Keep writing. I am your fan. I've been reading your articles since a long. You write new and different issues. This is the spirit. Keep it up :-) :-) :-)

    ReplyDelete