Monday, October 28, 2013

भीम स्टाइल


धनकुटे भीम निरौला, ४८, लाई २ कात्तिकसम्म आफैँले काम गर्ने लन्डनको सन्टन्डर बैंकभित्रै निकै कमले चिन्थे। त्यसपछिका केही घन्टा उनका लागि यति महत्त्वपूर्ण भइदिए कि निरौला सेलिबि्रटी बनेका छन्। उनको नेपाली शैलीको अंग्रेजी गीत 'सन्डे मर्निङ् लभ यु' इन्टरनेट दुनियाँमा रातारात फैलिरहेको छ। 

७ कात्तिक साँझसम्म भिडियो साझेदार साइट युट्युबमा उनलाई झन्डै तीन लाखले हेरिसकेका  छन्। चुलिँदो चर्चा र प्रसिद्धिलाई धेरैले भारतीय 'कोलाबेरी डी' र कोरयिन 'गङनम स्टाइल'सँग तुलना गरेका छन्। यिनमा के समानता छ भने चल्तीको कुनै शैलीमा नबाँधिएको, केही उटपट्याङजस्तो तर दोहोर्‍याई-तेहेर्‍याई सुन्न मन लाग्ने।

इन्टरनेट दुनियाँमा मुख्यतः दुईवटा कुरा बढी बिक्छन्, कि अति नै स्तरीय, कि अति नै सामान्य। उनको हकमा भने सामान्य हुनुले काम गरेको छ। मुख्यतः अंग्रेजी शब्द उच्चारण र नाचको मौलिक शैली। तर, उनी संगीत नै नबुझेका व्यक्ति भने होइनन्। २०४४ सालमै रेडियो नेपालको स्वरपरीक्षा पास गरेका उनले त्यतिबेलै दुई आधुनिक गीत रेकर्ड गराएका रहेछन्। 

पछिल्लो एक दशकमा मात्रै उनले म्युजिक भिडियोका दुई एल्बम क्रियसन र प्रत्येक रात निकालेका छन्। अहिलेसम्म जम्माजम्मी पाँच दर्जनजति गीत गाएका छन् उनले। "ती हिट हुन सकेका थिएनन् तर मैले गाउन चटक्कै छाडेको पनि थिइनँ," उनी सुनाउँछन्, "आठ वर्षअघिदेखि लन्डनमा बस्न थालेपछि भने नेपाल र यता दुवैतर्फका व्यक्तिलाई लक्षित गर्दै केही गर्ने सोचिरहेको थिएँ।" 

त्यसै क्रममा उनले अंग्रेजी एल्बमका लागि चारवटा गीतमा अभ्यास गररिहेका छन्। एल्बमको नाम सन्डे मर्निङ् लभ यु हुनेछ। दुई गीत रेकर्ड भइसकेका छन्। भन्छन्, "यो गीतले यति धेरै तहल्का पिट्ला भन्ने सोचेको थिइनँ।" 

भिडियो निर्माणका लागि उनले लन्डनकै लाइट इन्जिन फिल्म कम्पनीलाई इमेल गरेका रहेछन्। तर, कम्पनीले सुरुमा कसरी गर्ने भन्ने नै ठम्याउन सकेनछ। निरौला निर्देशक रोजर बाल्गले भनेको सम्झन्छन्, "तिमीलाई जे मन लाग्छ गर अनि मलाई जे मन लाग्छ, त्यही गर्छु।" 

धेरै महत्त्वाकांक्षा नभएकाले उनले नाइँनास्ति गरेनन्। स्टुडियोभित्र हरयिो पर्दाअगाडि उनी आफ्नै तालले गाउँदै नाचे। कम्पनीले मोडल खोज्यो, निरौलाको शैलीसँग मिल्ने गरी नचायो। र, भिडियो तयार भयो। रेकर्डिङ् र भिडियोका लागि उनले २ हजार ३ सय पाउन्ड खर्चेका छन्। 

भिडियोमा देखिएकी मोडल केट्ई कोउचुकलाई त उनले अहिलेसम्म भेटेका छैनन्। भिडियो हिट नहुँदासम्म उनको नामै थाहा रहेनछ निरौलालाई। भन्छन्, "अरूले खोजीनिती गर्न थालेपछि मात्र निर्देशकसँग नाम सोधेँ।" उनले युट्युबमा हिट एक लाख पुग्न थालेपछि ट्वीटर एकाउन्ट पनि खोलेका छन्। 

भिडियो २६ असोजमै युट्युबमा राखिएको भए पनि त्यसले झन्डै एक हप्ता खासै दर्शक पाएन। त्यसबीच उनले थुप्रै देशी-विदेशी सेलिबि्रटीलाई आफ्नो पेजमा गीतको लिंक राखिदिन आग्रह गर्दै मेसेज पठाए। यद्यपि, एकै दिन धेरैलाई छुट्टाछुट्टै सन्देश पठाउन नमिल्ने फेसबुकको नियमका पछाडि त्यसले धेरै काम गरेन। 

अमेरकिाको द वासिङ्टन पोस्टका डिजिटल सम्पादक अनुप काफ्लेसम्म यो गीत पुगेछ। काफ्ले भन्छन्, "सुनेर मलाई मज्जा आयो र मैले बजफिडका सम्पादकलाई आफ्नो साइटमा राख्न सुझाउँदै फरवार्ड गरेँ।" बजफिड त्यस्तो प्राविधिक प्लेटर्फम हो, जसले इन्टरनेटमा भाइरल हुन सक्ने सामग्रीलाई डिटेक्ट गर्दै अझ बढी फैलन सघाउँछ। बजफिडले साइटमा राखेपछि उनको भिडियो नेपालीसँगै विदेशी दर्शकमाझ समेत उत्तिकै लोकपि्रय हुन थाल्यो। काफ्ले थप्छन्, "यसबाट उनी पैसा र राम्रो फ्यान बटुल्न सफल हुन सक्छन्।"

युट्युबमा दसौँ लाखपटक हेरएिका भिडियो थुप्रै छन्। झट्ट हेर्दा धेरैजस्तो लागे पनि तुलनात्मक रूपमा निरौलाले पाएको हिट त्यति उत्साहप्रद भने होइन। भारतको बैङ्लोरमा मुख्यालय रहेको सोसल मिडिया इन्टिलिजेन्स कम्पनी 'सिम्प्िलफाई ३६०'का प्रमुख कार्यकारी भूपेन्द्र खनाल भन्छन्, "यसले जुन रूपमा अन्तर्राष्ट्रिय ट्राफिक पकड्नुपर्ने हो, त्यो नहुनुमा यसलाई अभियानको रूपमा लैजान नसक्नु हो।" 

हुन पनि कोलबेरी डी वा गङ्नम स्टाइलको तुलनामा निरौलाको गीतको सबल पक्ष के छ भने यसको शब्द नै अंग्रेजीमा छ। खनालको भनाइमा राम्रो भाइरल हुने यस्तो संकेत देखाउने भिडियोलाई भारत होस् या पश्चिमा देशमा करोडौँ खर्च गरन्िछ, जसको प्रभाव वास्तविक दुनियाँमा धेरैतिर देखिन्छ। सन्डे मर्निङ्को हकमा आएको हिटपछाडि त्यस्तो लगानी अहिलेसम्म भएको पाइँदैन। 

इन्टरनेट विश्लेषकहरू के ठान्छन् भने यस्ता गीतलाई रातारात विश्वभर लोकपि्रय गराउनु डायास्पोरामा त्यस समुदायको शक्ति देखाउनु पनि हो। विश्वभर चर्चा कमाउनका लागि चौतर्फी क्षेत्र र ढंगबाट सक्रियता आवश्यक छ। सिम्प्िलफाई ३६० ले ७ कात्तिकमा गरेको इन्टरनेट समीक्षामा सन्डे मर्निङ् नेपालबाहिर अझै जम्न सकेको देखिँदैन। यसलाई नेपालबाट ५६ प्रतिशतले हेरेका छन्, भारतबाट १५ प्रतिशतले र अमेरकिाबाट १४ प्रतिशतले। हेरएिका शीर्ष १० मुलुकमध्ये अन्यमा क्रमशः क्यानडा, बेलायत, अस्ट्रेलिया, नेदरल्यान्ड्स, यूएई, अफगानिस्तान र अस्टि्रया छन्। अहिलेसम्म ३२ देशमा यो भिडियो फैलिसकेको छ। यसले विश्वभर नेपाली समुदाय इन्टरनेटमा कति शक्तिशाली बनिरहेको छ भन्ने अर्को छनकचाहिँ दिन्छ। 

निरौलाझैँ सामान्य पाराले जो कोही नाच्न सक्छन्। नाच्न रुचाउने तर नजान्ने विश्वको ठूलो जमातले निरौलालाई आइकन बनाउन सक्छन्। भूपेन्द्र भन्छन्, "त्यसका लागि निरौला लायक व्यक्ति हुन्।"

सबैतिरबाट तारतम्य मिल्यो भने निरौला 'बिग स्टार' बन्न धेरै समय लाग्दैन। तर, त्यसको अर्थ के त भन्ने बहस पनि अहिले सोसल मिडियामा चलिरहेको छ। विश्लेषकहरू त्यसको सबैभन्दा राम्रो पक्ष विश्वमा निरौलासँगै नेपाल चिनिने बताउँछन्। संसारभर पर्यटनमा के मनोविज्ञानले काम गरेको हुन्छ भने मानिस त्यही ठाउँ घुम्न जान्छन्, जहाँ कुनै न कुनै रूपमा भावना जोडिएको हुन्छ। यसका लागि सक्रियता इन्टरनेटको दुनियाँबाहिर पनि हुनु जरुरी छ। त्यसका लागि ठूल्ठूला कम्पनीले आफ्ना विज्ञापनदेखि उत्पादनका प्याकेटसम्मै निरौलालाई जोडेर ब्रान्डिङ् गर्न सक्छन्।

कोलाबेरी डीकै हकमा त त्यो अन्य केही भाषामा मात्र गाइएन, सोनु निगमजस्ता थुप्रै सेलिबि्रटीले पनि गाए। निरौलाले यो गीतको नेपाली भर्सनसमेत तयार पारेका छन्। भन्छन्, "त्यसलाई अहिल्यै सार्वजनिक गर्दा मानिसको ध्यान बाँडिने हुँदा केही दिनपछि अपलोड गर्ने विचारमा छु।"

कतिपय अवस्थामा त्यस्ता गीतलाई पछ्याउने पनि ठूला सेलिबि्रटी बन्न सक्छन्। भूपेन्द्र र काठमाडौँका एक इन्जिनियर आकार अनिलले सन्डे मर्निङ्प्रति हिटलरको प्रतिक्रिया भन्दै चलचित्र डाउनफलको बंकरमा खिचिएको एउटा चर्चित अंशलाई सबटाइटल राखेर गीतको प्रभाव जर्मनीसम्म फैलिएको रोचक भिडियो बनाएका छन्। त्यसलाई दुई दिनमै १० हजारभन्दा बढीले रुचाए।

कतिले त्यही गीतमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नाचेको एनिमेसनसमेत गरेका छन्, कतिपयले आफैँ नाचेको भिडियो बनाएर पोस्ट गरेका छन्। यसले मूल भिडियोको लोकपि्रयता बढाउन सघाउनेछ। र, विभिन्न देशका मूलधारका सञ्चारमाध्यम र स्रेलिबि्रटीले पछ्याउन सक्छन्।

इन्टरनेटमा हुने यस्ता गतिविधिलाई नजिकबाट नियाल्ने कम्प्युटर इन्जिनियर धु्रव अधिकारीको भनाइमा यसलाई अझै प्रवर्द्धन गर्न सकिने समय छ। नत्र, एउटा तहमा पुगेपछि मानिसले ध्यान दिन छाड्छन्। अहिल्यै धेरैतिरबाट अलिकति मिहिनेत गरयिो भने यसको हिट बढेको बढ्यै हुन्छ, जतिखेर हामीले केही गर्नु पर्दैन।

अप्रत्याशित चर्चा पाएपछि निरौला संगीतमै फुलटाइम हुने हो कि भन्ने सोचमा छन्। भर्चुअल संसारले उनलाई अझै कति चर्चित बनाउने हो, हेर्न बाँकी छ । 

No comments:

Post a Comment