Friday, November 1, 2013

एउटा ब्रेकिङ न्यूजको सम्झना

सन् १९५३ मे २९ विहान ११.३० । संयुक्त अधिराज्यको लागि एउटा विशेष समय थियो, जसको एउटा टोली पृथ्वीको सबैभन्दा उच्च भाग अर्थात् सगरमाथामा पाइला टेकेको थियो । त्यसको ४ दिनपछि अर्थात् जुन २ मा अर्को विशेष दिन आउँदै थियो महारानी एलिजावेथ द्वितीयाको राज्यारोहण समारोह । ती दुईको समिश्रण बेलायती जनताका लागि ठूलो उपहार हुन्थ्यो । तर दूरदराजको गाउँ सोलुखुम्बु र लण्डन अहिले देखिनेभन्दा धेरै दूरीमा थिए । बेलायती पत्रिका ‘द टाइम्स’की पत्रकार जेन मोरिसको प्रयास त्यही दूरिलाई कम गर्नु थियो । दोस्रो विश्वयुद्ध, एङ्लो–अमेरिकन युद्ध सहजसँग कभरेज गरिसकेकी उनी खुसीको समाचार लेख्दा भने आत्तिरहेकी थिइन् ।

किनकि, समय कम थियो, प्रविधि अहिलेजस्तो थिएन र सबैभन्दा मुख्य कुरा त्यो समाचार ‘द टाइम्स’ले नै ब्रेक गर्नु थियो । त्यो एउटा पत्रकारको जीवनमा आउने महत्वपूर्ण क्षण थियो, जुन युद्ध रिपोर्टिङमा निकै क्रेजी देखिएकी २६ बर्षे मोरिसले उक्त अवसर पाएकी थिइन् ।

धन्न डेडलाइनभित्रै अर्थात् जुन १ मा समाचार लण्डनस्थित न्यूजरुम छिर्‍यो । र, भोलिपल्ट अर्थात् जुन २ मा पत्रिकाले इतिहासमै एउटा ठूलो समाचार ‘ब्रेक’ गर्‍यो । ‘फस्ट एकाउन्ट अफ एसेन्ट अफ एभरेस्ट’ शीर्षकको उक्त समाचार शीर्षक, ब्रेकर र समाचार गरेर कुल ५० शब्दको मात्र थियो । २ जुनमा लण्डनका सडकमा एकैसाथ बेलायतीहरु दुईटा ठूला खुसी मनाउन पाए, सगरमाथा आरोहण र नयाँ महारानीको राज्यरोहणको ।

यद्यपि त्यसबेला उनको बाइलाइन जेन नभई जेम्स मोरिसको नाममा छापिएको थियो । किनकि जन्मजात पुरुष जन्मिएका उनले आफूलाई सन् १९७२ लिंग परिवर्तन गरेपछि भने महिलाको रुपमा छिन् ।
****


सगरमाथा बेलायतको सपना सन् १९२१ देखिकै थियो जतिखेर जर्ज मेलोरी र गाई बुलोकले चुचुरो नजिकै पुगेर ज्यान गुमाएका थिए । ३ दशकपछि बल्ल सफल आरोहण गर्दासम्म बेलायतले ९ वटा असफल आरोहण प्रयास गरिसकेको थियो । बेलायतको लागि सगरमाथामा आफ्नो पाइला राख्नु किन पनि बढि महत्वको थियो भने सोभियत संघ र संयुक्त राज्य अमेरिका अन्तरिक्षमा कब्जा जमाउन निकै अघि बढिसकेका थिए । बेलायतको दाउ भने पृथ्वीकै उच्च भागमा आफू पुगेर एउटा विश्वशक्ति आफू पनि भएको जनाउ दिनु थियो । त्यसैले बेलायतले युद्धस्तरमै त्यसको तयारी पनि गरेको थियो । आरोहणको नाम समेत त्यसैले युद्धमा प्रयोग गरिने भाषाकै शैलीमा ‘द कन्क्वेस्ट अफ एभरेष्ट’ दिइएको थियो । योजना पनि सैन्य शैलीमै गोप्य थियो ।
 नेतृत्वकर्ता पनि बेलायती सेनाका कर्नेल जोन हन्ट थिए ।

आरोहणका लागि बेलायत र न्यूजिल्याण्डबाट ल्याइएका सामानहरु रक्सौल हुँदै भक्तपुर ल्याइएका थिए । पहिलो क्याम्प त्यहाँ बसेको थियो । त्यहाँबाट बेसक्याम्प पुग्न २२ दिन लागेको थियो । १२ सय जना त भारी बोक्ने तामाङ भरियाहरु मात्र थिए, ३५ शेर्पाहरु र १६ बेलायतीहरु । मौसमको अनुकुलता नमिल्ने भन्दै तामाङहरु भने नाम्चेबाटै फर्किएका थिए जहाँबाट माथि जान चौरीमा सामान ओसारेर लगिएको थियो । चोमोलोङ्मा अर्थात सगरमाथालाई देवताको रुपमा पुज्ने शेर्पाहरु बेसक्याम्पसम्म समेत त्यसअघि पुगेका थिएनन् । चौरी चराउनका लागि समेत त्यो ठाउँ उपयुक्त थिएन । त्यसबेला खुम्बु आइसफलमा राखिएका सिँढी समेत सल्लाका रुख काटेर बनाइएको थियो ।

यद्यपि ५१ सदस्यीय आरोहण दल भएता पनि साउथकोलसम्म १४ जना मात्र पुगेका थिए । जेन मोरिस चाहिँ ६७०० मिटरसम्म पुगेकी थिइन् । माथिबाट खोजेकै खबर आयो । मध्यान्न ढल्किसकेको थियो । र, कुनै पनि हालतमा मोरिस साँझ नढल्कँदै बेसक्याम्प झर्नुपथ्यो । बिबिसीसँगको अन्तर्वार्तामा उनले अनुभव सुनाएकी छन्, ‘म रोमान्टिक भइसकेकी थिएँ । मौसम र अन्य प्राविधिक कुराको हेक्का नगरिकन म तल झर्न हतारिएँ ।’ उनी त्यसरी हौसिएपछि साथै रहेका अर्का आरोही माइक वेस्टमाकोटले साथ दिने भए । तल ओर्लंदा साँझ छिप्पिन लागिसकेको थियो र थुप्रैपटक हिउँ पग्लेर सास्तीमाथि सास्ती दिइरहेको थियो ।

सगरमाथामा लामो दूरी समेट्ने रेडियो प्रयोग गर्न बंदेज थियो त्यसबेला । बेसक्याम्पबाट नाम्चेसम्मको दूरी ३२ किलोमिटरको थियो । मोरिसले त्यहाँबाट एकजना व्यक्तिलाई दगुराएर नाम्चे पठाइन् । उनले त्यही छिटो गर्नका लागि उसले मागेभन्दा बढि पैसा पनि दिइन् । उसलाई समाचार पनि लेखेर दिइन् जुन त्यहाँ राखिएको रेडियोमार्फत काठमाडौंसम्म पठाउनुपथ्र्यो । र, काठमाडौंबाट टेलिग्राफ गरेर लण्डन । तर समाचारको कागज बोकेर दगुर्ने र त्यहाँबाट रेडियोमार्फ काठमाडौं पठाउँदासम्म पनि त्यस व्यक्तिले आफूले के गरिराखेको थाहा पाएका थिएनन् । किनकि त्यो समाचार कोड भाषामा थियो । जसमा भनिएको थियो, ‘स्नो कन्डिसन्स ब्याड...स्टप....एडभान्स बेस एबोन्डेन्ट यस्टडे...स्टप....अवेटिङ इम्प्रुभमेन्ट’ ।

त्यसो गर्नुका पछाडि ‘द टाइम्स’ले आफ्ना प्रतिस्पर्धी पत्रिकाले त्यस समाचार थाहा नपाउन भन्ने पनि थियो । किनकि त्यही समाचार ब्रेक गर्ने सपनाका लागि उसले लाखौं लगानी पनि गरेको थियो । त्यो कोड केहीगरी चुहिहालेमा पनि यसले दिने अर्थ ठ्याक्कै उल्टो हुन्थ्यो । ब्रेक गरेको ६ दिनपछि बल्ल टाइम्सले विस्तृतमा समाचार लेखेको थियो । पहिलो समाचार छापिएको दिन उसले प्रथम पृष्ठमा राज्यारोहणबाहेक उनको उक्त समाचार मात्र छापेको थियो ।

यसै वर्ष राज्यारोहणको ६० बर्ष पुगेको अवसरमा आयोजित शाही समारोहमा एलिजावेथ द्वितीयासामु ८६ बर्षे मोरिसले यही अनुभव सुनाउने अवसर पनि पाएकी थिइन् । त्यो एउटा त्यस्तो समाचार थियो जसले दिएको खुसी ६० बर्षपछिसम्म पनि मोरिस र एलिजावेथ द्वितीयमा उत्तिकै रहेको प्रस्टै झल्किन्थ्यो ।

First Appeared in Kantipur Koseli.

No comments:

Post a Comment