Thursday, November 28, 2013

ब्लुजमाण्डु

१९औं शताब्दीको अन्त्यतिर अमेरिकाका अफ्रिकी–अमेरिकी समुदायबाट जन्मेको ब्लुज संगीतले यो साता काठमाडौंमा माहोल जमायो । पश्चिमा संगीत ब्लुजमा नेपाली रंग पनि मिसियो । ४ दिने ‘हिमालयन ब्लुज फेस्टिभल २०१३’ को दोस्रो दिन आइतबार नेपाली सितारवाधक विजय वैद्य र बाँसुरीबाधक गोपाल देवले अमेरिकी गायिका डेव ल्यान्डोल्ट र संगीतकार कोलिन जोनको गीतमा संगीत मिसाउँदा दर्शकहरुको खुसीको सिमा नै रहेन ।

आफ्नो प्रस्तुति सकेपछि पाटन म्युजियममा ल्यान्डोल्टले हेलो शुक्रबारलाई भनिन्, “यस्तो उत्कृष्ठ ज्यामअप नै मेरो नेपाल भ्रमणको सबैभन्दा अविश्मरणिय अनुभव रह्यो ।” खासमा उक्त ज्यामअप कुनै पूर्वतयारी साथ पनि भएको थिएन । वैद्य र देवले उनीहरुको गीतको लय सुनेरै त्यसमा आफ्नो संगीत भरेका थिए ।

फेस्टिभलको सातौं संस्करणमा नेपाली व्याण्डहरु ‘मुक्ति एण्ड रिभाइभल,’ ‘रविन एण्ड द न्यु रिभोलुसन’ र ‘हट फाइभ’ सँगै अमेरिकी ‘लङ टल डेव एण्ड कोलिन जोन’, फ्रान्सेली ‘फ्रेन्च काउव्वाय एण्ड द वान’ र इटाली ‘मिस्टर नो मनी’ व्याण्डहरु सहभागि थिए ।

ब्लुज र सोल संगीत जगतमा एउटा पावरहाउसकै रुपमा हेरिने ल्यान्डोल्टले यसपटक धेरैलाई आकर्षित गरिन् । उनको गीतको  शब्द, गाउने शैलीले धेरैलाई अन्यत्रझै यहाँ पनि तान्यो । उनी नाटकिय शैलीमा गाउँछिन् र एउटै प्रस्तुतिमा थुप्रैखाले भाव ल्याउँछिन् । भारत र नेपालको लागि उनीसँगै टुरमा हिंडेका अर्का अद्वितीय संगीतकार कोलिन जोन पनि उनीसँगै भएपछि केमेस्ट्री झनै जमेको थियो । जोन अक्वेस्टिक, रिसोन्टोर र इलेक्ट्रिक गीतारमा उत्तिकै पोख्त मात्र छैनन्, ब्लुजको एउटा पुरानो शैली ‘डेल्टा ब्लुज’देखि आधुनिक ब्लुजसम्ममा जम्छन् । उनी गाउँछन् पनि । जोनले  काठमाडौं बसाइकै क्रममा नेपाल म्युजिक सेन्टरमा ब्लुजका थुप्रै पक्षबाट स्थानिय युवालाई एक कार्यशाला पनि दिएका थिए ।

गायक तथा संगीतकारहरु खासमा ब्लुजलाई हरेक संगितको जग मान्छन् । रक एण्ड रोल, हेभि मेटल वा रक जेसुकै होस् ब्लुज सिकेपछि अन्यमा जान सके त्यो संगीत यात्रा बलियो जगमा स्थापित हुने मानिन्छ । नेपाली ब्लुजका एकजना पुराना हस्ती ‘मुक्ति एण्ड रिभाइभल’का फ्रन्टम्यान मुक्ति शाक्यको भनाई छ, “संगीत हार्मोनियमबाट सिकेजस्तै हो गायन ब्लुजबाट सिक्ने ।”

त्यसैले पनि ब्लुज गाउनेहरु ब्लुज मात्र गाउँदैनन् बरु त्यससँगै संगीतका थुप्रै विधासँग यसलाई जोड्दै पनि जान्छन् । जस्तो, काठमाण्डौं आएको फ्रान्सेली ब्याण्ड ‘फ्रेन्च काउब्वाय एण्ड द वान’ रक र ब्लुजको मिश्रण गरेर गाउनेमा पर्छ जसकै कारण उसलाई रुचाउने पारखीहरु धेरै नयाँ पुस्ताका छन् । इटालीको ‘मिस्टर नो मनी’ भने रक एण्ड रोल शैलीको ब्लुजका कारण बढि लोकप्रिय मानिन्छन् । उनीहरुको अर्को विशेषता भनेको पियानो मुख्य बाजाको रुपमा प्रयोग हुने ‘पियानो ब्लुज’मा जम्न सक्नु पनि थियो ।

विगत झण्डै १ दशकमा नेपालमा ब्लुज सुन्ने मात्र होइन राम्रो गाउने गायक तथा व्याण्डहरु नै पनि निकै बढेर गएका छन् । हिमालयन ब्लुज फेस्टिवलको अघिल्ला ६ संस्करणमा मात्रै हेर्ने हो भने लोचन रिजाल, रक सितार एवं नेपाल व्याण्डहरु नाइट, मिडनाइट राइडर्स, जोकोस, लोझा, हरि महर्जन प्रोजेक्ट, उर्जा सहभागि भइसकेका छन् ।
******

ब्लुज खासमा दु:ख, पीडा, अभाव, विछोडजस्ता पक्षसँग जोडिएर जन्मेको संगीत हो । जसको कारण यो सहजै अरुको मनसम्म छुने खालको हुन्छ । इटालीको ‘मिस्टर नो मनी’ ले त आफूले शुरुवाती दिनमा झेलेको पैसाको अभावको दु:खबाट नै ब्याण्डको नामाकरण गरेको रहेछ । नेपालमा माओवादी द्वन्द्वताका र त्यसले छोडेका नमिठा छापबारे थुप्रै ब्लुज गीत बनेका छन् । शाक्य भन्छन्, “यो गाउँदा र सुन्दा दुवै सहज हुन्छ तर गायकले कत्तिको शब्द र भावलाई अनुभूत गरेर गाउन सक्छ भन्नेले धेरै अर्थ राख्छ ।” यद्यपि परम्परागत रुपबाट आधुनिकसम्म आइपुग्दा ब्लुजको शैली र स्वभावमा धेरै परिवर्तन आएको छ ।

पहिले त्यत्तिकै गुन्गुनाइने ब्लुज अहिले थुप्रै बाजासँग बाँधिएको छ । शुरुमा एउटै अक्वेस्टिक गीतारकै भरमा गाइने ब्लुज समयक्रममा थुप्रै बाजाहरुले प्रवेश पाएका छन् । अहिले ब्लुजमा गीतार, बेस गीतार, ड्रम, पियानो, सक्सोफोन, ट्रोम्बोन जस्ता थुप्रै बाजाहरु प्रयोग हुन थालेका छन् । व्यक्तिबाट ब्याण्डमा ब्लुज गाइन थालिएको छ । यद्यपि अझैसम्म पनि एउटै अक्वेस्टिक गीतारकै भरमा गाइने ब्लुज धेरैले रुचाउँछन् । ब्लुजले दु:ख मात्र बोल्दैन सान्त्वना र उत्प्रेरणा समेत दिन्छ । दोहोरी जसरी अन्तरक्रियात्मक पनि हुन्छ ब्लुज । विस्तारै यो प्रेमभाव पोख्ने माध्यम पनि बनेको छ । ‘मुक्ति एण्ड रिभाइभल’का यो गीत एउटा त्यस्तै उदहारण हो,
   
    गाउँदै जाउ गीत तिमी दु:खलाई बिर्सी हो
    लाउँदै जाउ प्रित तिमी आफूलाई संहाली 

ब्लुज कस्तो हुने भन्ने त्यस ठाउँको परिवेशले पनि असर गर्छ । फेस्टिभलका निर्देशक समिक खरेलका भनाईमा हाम्रो संगीत सारंगीको जगमा हुर्केको छ भने भारतमा अर्कै केही होला जसकै कारण शैली र प्रस्तुति ठाउँ पिच्छे केही फरक हुन सक्छन् । मुक्ति एण्ड रिभाइभलकै ‘डल्ली रेसम’लाई हेर्ने हो भने त्यो त्यस्तैगरी गीतारसँगै बाँसुरी, सारंगी र मादलजस्ता बाजाहरु प्रयोग गरेर तयार पारिएको थियो ।

ब्लुजको सिद्धान्त र उत्पत्ति जे नै भए पनि हिमालयन ब्लुज फेस्टिवलको पछिल्लो संस्करणले पुन: कुनै भौगोलिक सिमामा नबाँधिने दु:ख, पीडादेखि प्रेमभावको प्रस्तुतिलाई काठमाडौंमा पोखेर गएको छ ।

First appeared in Hello Shukrabar.

No comments:

Post a Comment