Tuesday, December 10, 2013

दबाब दिने बेला


हिन्दी फिल्ममा अक्सर राजनीतिक नेता भन्नेबित्तिकै छलकपट, झूटा आश्वासन वा भ्रष्टाचारका पर्याय जसरी देखाइन्छ । त्यस्ता दृश्य देख्यो कि आजभोलि २१ बर्षिय अब्दुस मियाँलाई हाम्रा नेताको झल्को आउँदोरहेछ । बेलाबखत त उनलाई पनि तिनै फिल्ममा झैं हिरो बन्न मन लाग्छ । र, तिनलाई गएर दनक दिउँझैं लाग्दोरहेछ ।
किनकि पहिलो संविधानसभाबाट संविधान बनाउन नसकेको सबैभन्दा बढी रिस छ उनीसँग । तर फिल्ममा जसरी उनी कहिल्यै उक्सिएनन् बरु गत मंगलबार गोरखा पुगे र संविधानसभाका लागि भोट हाले । भने, 'सबैभन्दा ठूलो दनक दिने ठाउँ त त्यही हो नि । तर अब त्यति मात्रले पुग्दैन, संविधान नबनेसम्म नेतालाई छाड्नु हुन्न ।'

अघिपछि नेताले यसो गरेन/उसो गरेन भन्ने वा देश बिग्रेको दोष सबै उसैमाथि मात्र थोपर्नु सबैभन्दा सजिलो काम बनेको छ । फेसबुक र टि्वटरमा उत्तिकै आक्रोश देखिन्छ । मियाँ भन्छन्, 'तर ती नेता पनि हाम्रै समाजका उत्पादन हुन्, जसलाई सुधार्न हाम्रो सामाजिक संरचना नै असल हुनुपर्छ । जसको एउटा अंग हामी पनि हौं ।'

हाम्रो नेता कस्तो हुनुपर्छ ? नेता कसरी बिग्रन्छ ? जस्ता प्रश्नको उत्तर कहीं न कहीं हामी आफैंसँग गएर जोडिएको हुन्छ । मियाँको भनाइमा हामी आफूले नेता छान्ने बेलादेखि उसलाई बिगार्नसम्ममा जिम्मेवार हुन्छौं । उनी थप्छन्, 'नेताको योग्यता वा भिजन देखेरभन्दा पनि उसको स-साना आश्वासन र लोभले हामीलाई आकषिर्त गरेको हुन्छ जसको हानि अन्ततः हाम्रो जनजीवनको हरेक पक्षमा जोडिन्छ ।'

अब्दुसको यस्तो कुरा धेरै हदसम्म २४ वषर्ीया प्रमिला थपलियासँग मिल्छ । थपलिया भन्छिन्, 'नेता रातारात टुप्लुक्क आउँदैन, नेता त एउटा लामो प्रक्रियाबाट बन्ने कुरा हो ।' नेता कस्तो बन्छ भन्ने कुरा नेता बन्ने प्रक्रियामा हामी आम मानिस वा अझ त्यसमा पनि युवाको भूमिका कस्तो हुन्छ भन्नेले धेरै अर्थ लाग्छ ।

गृह जिल्ला धादिङ पुगेर भोट हालिरहँदा थपलियामा अघिल्लो संविधानसभा विघटनको दिन सम्झना भइरहेको थियो । त्यसबेला आफ्नो पढाइ र कामको बीचबाट फुर्सद निकालेर उनी हरेक दिनजसो संविधानसभा भवन बाहिर पुग्थिन् । उनीहरू संविधानसभा भवन बाहिर जम्मा भएर संविधानका लागि अनेक तरिकाबाट दबाब दिन्थे ।


नयाँ संविधानलाई स्वागत नाम दिइएको त्यो अभियान अहिले आएर हेर्दा अलि ढिलो सञ्चालन गरियो भन्ने लाग्छ उनलाई । भन्छिन्, 'व्यावहारिक रूपमा सोच्दा हाम्रो दबाब त काफी थियो तर त्यो भन्दैमा एक/दुई हप्तामै संविधान जारी गर्न पनि सकिँदैनथ्यो ।' संविधान बनाउनुपर्ने मुख्य समयमा नेताहरू थुप्रैपटक सत्ताको लुछाचुँडीमा अल्भिmए ।

संविधानका विषयमा बहस र छलफलभन्दा पनि सबै आफ्नै रूपमा परिस्थिति मोड्न लागे । त्यसैले हरेक स्वरूपबाट दबाब दिने काम अब निर्वाचनको नतिजा आएको दिनदेखि नै हुनुपर्ने उनीहरूको ठम्याइ छ । यद्यपि अघिल्लोपटक दबाब नै दिने काम नै नभएको पनि होइन । ज्याला पूरा लियौ अब संविधान देऊ, नेपाल युनाइट्स, परिवर्तनका लागि हामी नेपाली एकजस्ता थुप्रैखाले दबाबमूलक आन्दोलन भए ।

संविधानसभा वरपर जम्मा हुनेदेखि लिएर थुप्रैले यी कुरा आफ्ना टिसर्टमा पनि पि्रन्ट गरे । उनीहरूले के मात्र गरेनन्, 'संविधानसभा भवनमा भित्र/बाहिर गर्ने सभासदलाई सिठी बजाए, संविधान चाहियो भन्दै मुख्य नेतालाई सामूहिक एसएमएस गरे, सडक बहसहरू भए । यही आन्दोलनबाट जन्मेको एउटा समूह त चार ठाउँबाट चुनावमा उठ्यो नै पनि ।

युवा र राजनीति विषयका रिसर्चर विजय पौडेल भन्छन्, 'किनकि हामीसँग आशा गर्नुको विकल्प छैन । त्यसै त जताततै निराशा छ, त्यसमाथि आशा गर्न पनि छाडियो भने के होला ?' उनको विचारमा नयाँ संविधान बन्दैमा देशले पूरै कोल्टे फेर्छ भन्ने पनि होइन । यो त समुन्नत देश निर्माणको जग हाल्ने कुरामात्र हो ।

'तर त्यसो भन्दाभन्दै समय यति बितिसक्यो कि माओवादी युद्ध सुरु हुँदा जन्मिएको एउटा बालक अहिले युवावस्था पुगिसक्यो,' पौडेलको भनाइ छ, 'छिटो यसबाट निस्केर विकास निर्माणमा लाग्नुपर्छ । नत्र यो पुस्तामात्र होइन आगामी पुस्ताको भविष्य पनि झन् अन्योलपूर्ण बन्छ ।' अघिल्लो चुनावबाट मानिसले धेरै आशा गरेका थिए ।

त्यही भएरै पनि संविधान पाउन नसक्दा अहिले उनीहरू उत्तिकै निराशा भएका हुन् । 'तर यसबीचमा युवामात्र होइन आम नेपालीको सामाजिक-राजनीतिक चेतनाको स्तर निकै बढेको छ,' त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी एमफिलका विद्यार्थी सरोज जीसी भन्छन्, 'आशा र निराशाबीचको खाडल जब मानिसलाई अनुभूत हुन थाल्छ, परिवर्तनको चाहना बढ्दै जान्छ ।'

सायद त्यसैले पनि हो भोट हाल्न नजान अनेकौं डर, धम्की र त्रासका बीच यसपटक इतिहासमै सबैभन्दा बढी मत खस्यो । कम्प्युटर इन्जिनियर तथा प्रविधि उद्यमी ध्रुव अधिकारीलाई यसपटकको चुनावमा त्यही भयो । अघिल्लोमा जस्तो आशा गरिएको थियो त्यो नभएपछि उनी भोट हाल्न पोखरा पुगेनन् ।

भन्छन्, 'भोट हाल्न पहिलो कुरा नेताले आफूलाई किन भोट हाल्ने कारण बताउन सक्नुपर्छ भने अर्कोतर्फ आफूले चयन गर्न लायकको उम्मेदवार पनि हुनुपर्छ ।' दुवैमा कारण नभेटेपछि उनी घर गएनन् । तर त्यसबीचमा उनले एउटा फेसबुक एप्स 'नेपाल इलेक्सन्स २०७०' बनाए । त्यसमा अहिलेको संविधानसभाकै सम्पूर्ण विवरण छ, उम्मेदवार, निर्वाचन क्षेत्र आदि ।

तर त्यसमा भोट भने फेसबुक एकाउन्टको आधारमा गर्न सकिन्छ । अधिकारीको भनाइ छ, 'एकपटक निर्वाचित भइसकेपछि अर्को चुनावसम्मलाई सर्वेसर्वा सम्झने नेताको त्यसबीचमा लोकपि्रयता खस्कियो वा अरू कसैको बढ्यो भन्ने यस प्रकारको छाया मतदानको माध्यमबाट विभिन्न समयको अन्तरालमा जाँच्न सकिन्छ ।' यसलाई उनी नेताहरूलाई दिनुपर्ने सफ्ट प्रेसरका रूपमा अथ्र्याउँछन् । आखिर कुरा फेरि त्यही नेता बनाउने प्रक्रियामै आएर जोडिन्छ ।

युवाहरू राजनीतिमा रुचि देखाऊन् वा नदेखाऊन्, उनीहरूको राजनीतिक चेतनाको तह भने बढेको छ । विस्तारै उनीहरू यहाँ राम्रो व्यक्ति मात्रै भन्दा पनि राम्रो सिस्टम र टिम भएको नेता खोजिराखेका छन् । 'नेताले सिस्टमलाई आफ्नो मार्गदर्शक ठानेन वा टिममा काम गर्दैन भने असल नेता पनि विस्तारै भ्रष्ट हुँदै जान्छ,' सामाजिक संस्था युवाका अध्यक्ष दीपेन्द्र केसी भन्छन्, 'दबाब त्यसैले अब तत्कालीन र दूरगामी दुवै हुनुपर्छ ।' 


First appeared in Hello Shukrabar (Kantipur)

No comments:

Post a Comment