Sunday, December 15, 2013

नयाँ मतदाताको रोजाइ


भोटेचौर, सिन्धुपाल्चोकका प्रदीप खतिवडा अहिले २२ वर्षका भए र चुनावमा पहिलोपटक भोट हाल्दै छन्। हुन त उनी जन्मेकै साल नेपालमा चुनाव भएको थियो। ०४६ सालको जनआन्दोलन सफल भएपछिको चुनाव। 

त्यो चुनावको चार वर्षपछि नै माओवादी सशस्त्र विद्रोह सुरु भयो र देश अधोगतितर्फ मोडियो। विद्रोह सुरु हुँदा जन्मिएका युवासमेत आसन्न चुनावमा पहिलोपटक मतदान गर्दै छन्। र, तिनले आफ्ना बुबा पुस्ताले झैँ समृद्ध नेपालको सपना देखेका छन्। 

पछिल्लो जनगणना अनुसार उमेर पुगेका सबैले मतदाता नामावलीमा नाम दर्ता गरेका भए आसन्न चुनावमा पहिलोपटक मताधिकारको प्रयोग गर्ने युवा झन्डै ३० लाख हुनेछन्। यसपटक कुल १ करोड २५ लाख मतदाता छन्। 

यसपालि दसैँ बिदामा गाउँ पुग्दा खतिवडाले साथीभाइमाझ भनेका थिए, "धन्न अघिल्लो चुनावले संविधान बनाएनछ।" किनभने, उनलाई याद छ, अघिल्लोपटक धेरैलाई केका लागि भोट गर्दै छौँ भन्ने थाहा थिएन। सायद त्यही भूलले अहिले धेरैलाई संविधानको चेत मात्र दिएको छैन, यस्तो अवस्थामा आफू जिम्मेवार नभए देश कतिसम्म अनिर्णयको बन्दी बन्न सक्छ भन्ने पनि सिकाएको छ। भन्दै थिए, "त्यस बेला बुझेर वा नबुझेरै मानिसहरू पार्टीकै परभिाषा रट्थे, अहिले धेरै कुरा उनीहरूले झेलेरै बुझेका छन्।" 

घर जाँदा उनले अघिपछि खासै वास्ता नहुने नेताका भाषण मज्जैसँग सुने। तिनका अनुहारको भावलाई पनि नजिकबाट चियाए। भन्दै थिए, "अचेल उम्मेदवारसँग एकैछिन कुरा गर्दैमा उसले कति सत्य वा कति गफ दिइराखेको छ भन्ने छुट्याउन गाह्रो पर्दैन।" हुन पनि हो, उनलाई बुवा-आमाले हाल्ने गरेको पार्टीमै भोट हाल्नुपर्छ भन्ने छैन। न त कुनै पार्टीको अन्धभक्त नै हुनु छ। 

उमेरले प्रदीपकै समकालीन बिर्घा, स्याङ्जाका मणि पाण्डे भने आफ्नो सोचाइ र पारविारकि राजनीतिक आस्थाका बीच रुमलिइरहेका छन्। भन्छन्, "मेरो राजनीतिक आस्थाको भोट समानुपातिकमा हुनेछ तर प्रत्यक्षमा भने जो मन पर्‍यो उही।" बूढाहरूले देश बिगारे भन्ने उनको आँखा अहिले युवा उम्मेदवारतर्फ छ। 

उनले के बुझेका छन् भने युवा भन्दैमा बूढो पुस्तालाई चटक्कै बिर्सन पनि हुँदैन। "हातमा भोट भएपछि धेरै सोचिँदो रहेछ, चुनावको दिनसम्म अझै बाटो हेर्छु," मणिले भने। त्यसैले त उनी खाली मगज लिएर भाषण सुन्न क्षेत्र नं ३ का कांग्रेस उम्मेदवार मोहन पाण्डेदेखि एमालेका मुक्ति पाठकका सभासम्म पुगेका छन्। उनीहरूका प्रचारशैली हेरेरै आशा गर्न सकिने पक्षलाई केलाइरहेका छन्। भन्छन्, "एक-दुई छाक मासुभात खुवाएर वा एक-दुई हजार रुपियाँ दिएर प्रभावमा लिन खोज्ने नेताबाट के ठूला कुरा आशा गर्नु ?"

अहिले घरघरमा दिनहुँ नेताहरू भोट माग्न आउँछन्। संविधान बनाउने चुनावमा कतिपयले स-साना व्यक्तिगत आश्वासन र लोभका पासा फ्याँक्छन्। भक्तपुर क्षेत्र नं २ का मनोज भट्टराई, २५, भन्छन्, "खोइ, उनीहरूले परविर्तन आत्मसात् गरेको ? भोट हाल्ने ठूलो नयाँ जमात आइसक्यो, उनीहरूले के सोचिरहेका छन् भन्ने खोइ बुझेको ?" 

पछिल्लो पुस्ता साँघुरो कुवामा हुर्केको भ्यागुता होइन। इन्टरनेटमा अन्य देशको प्रसिद्धि देखिरहँदा यहाँ त्यही हेर्नसमेत लोडसेडिङ्को सास्ती छ। भट्टराईका विचारमा सपना र यथार्थबीचको बढ्दो खाडल कम गर्न ठूलै भिजन भएको मानिस हुनुपर्छ। सफ्टवेयर सोलुसन कम्पनी टेक रोडियन्समा काम गर्ने उनी र केही साथी केही दिनमै सार्वजनिक गर्ने गरी एउटा साइटको डिजाइन गररिहेका छन्। त्यसले चुनावका विभिन्न विषयमा बहस चलाउनुका साथै उम्मेदवारको रेटिङ् गर्नेछ। यसले नेताका प्रशस्त राम्रा-नराम्रा कुरा बाहिर आउनेछन्। नेपालमा फेसबुक प्रयोगकर्ता मात्रै ३३ लाख छन्, जसलाई इन्टरनेटका सक्रिय प्रयोगकर्ता मान्न सकिन्छ। 

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका विद्यार्थी नेताहरूमा गरएिको एक अध्ययन 'ह्वाट गभन्र्स देयर पार्टीसन च्वाइसेस'को निष्कर्ष अनुसार युवाको चेतना जुर्मुराउन थाल्ने समयमा जुन राजनीतिक दल वा सिद्धान्त हावी भएको छ, त्यसैतर्फ उसको झुकाव बढ्छ। अध्ययनकर्ता विजय पौडेल भन्छन्, "यद्यपि, नेपालमा अझै राजनीतिक दर्शन उनीहरूलाई प्रभाव पार्ने ठूलो माध्यम बनेको छैन।" 

यो पक्षबाट हेर्दा युवाभित्रैका नयाँ र पुराना पुस्ताबीच पनि द्वन्द्व देखिन्छ। कलेजका राजनीतिक गतिविधिमा समेत मूल पार्टीकै प्रभाव देखिन्छ। काठमाडौँस्थित एक गैरसरकारी संस्था युवा अभियानले राजनीतिमा युवासम्बन्धी गरेको एक अध्ययन 'जेनेरेसन डाइलग्स'मा ४९ प्रतिशत कलेजका विद्यार्थी माउ पार्टीको प्रभावबिना नै विद्यार्थी संगठन निर्णय गर्न सक्छन् भन्ने मान्न सहमत छैनन्। उनीहरूको पारदर्शितामा समेत ५४ दशमलव ५ प्रतिशत विद्यार्थी शंका गर्छन्।

यस्तो पृष्ठभूमिमा हुर्केकाले युवा भन्दैमा उनीहरूमाथि पूर्ण रूपमा विश्वास गर्न सकिने अवस्था छैन। "भ्रष्ट पृष्ठभूमिबाट आएको युवा पुस्ता हिजोको पुस्ताभन्दा बढी भ्रष्ट हुने सम्भावना हुन्छ," निर्वाचनमा युवा सहभागिताको पक्षलाई नजिकबाट नियालिरहेका अभियानकर्ता ब्रबिमकुमार केसी भन्छन्, "त्यति हुँदा हुँदै पनि जोखिम मोल्न सक्ने भनेको पछिल्लो पुस्ताले नै हो। ठूला परविर्तन खोज्ने युवाले रोज्ने नेता त्यस्तै हुनुपर्छ।"

बाँके क्षेत्र नं ३ घर भएकी सगुन खनाल, २२, लम्बेतान घोषणापत्रभन्दा पनि लक्ष्य झल्किने योजना देखाउन सक्ने नेताले प्रभाव पार्ने बताउँछिन्। त्यसैले नयाँ मतदाताप्रति लक्षित उम्मेदवारले कस्तो भाषा प्रयोग गर्दै छु भन्ने पनि ध्यान दिनु आवश्यक हुन्छ। प्रचारमा नवीन शैली अपनाउन नसके मतदाता नामावली समावेश थुप्रै प्रथमपटकका मतदातासमेत मतदाता केन्द्रसम्म नजाने अवस्था हुन्छ। 
प्रथमपटक भोट हाल्न गइरहेकामा चुनावको जस्तो 'ग्ल्यामर' हुनुपर्ने हो, त्यो नहुनुमा परम्परागत शैलीको राजनीतिको प्रभाव देखिन्छ। सबैजसो राजनीतिक दलका घोषणापत्र हेर्दा लक्ष्यहरू खासै भिन्न छैनन्। तर, ती लक्ष्यसम्म पुग्ने बाटो भने कसैले राम्रोसँग खुलाएका छैनन्। 

सन् २०१४ मा भारतमा हुने आमनिर्वाचनमा दुई प्रमुख दल कांग्रेस आई र भारतीय जनता पार्टीले क्रमशः राहुल गान्धी र नरेन्द्र मोदीलाई अघि सारेका छन्। यद्यपि, गान्धीको नाममा औपचारकि निर्णय हुन बाँकी नै छ। भाजपा मन नपराउनेले पनि मोदीकै ग्ल्यामरको प्रभावले उनको पार्टीमा भोट हाल्ने बताइरहेका छन्। नेपालमा त्यस्तै आइकनको अभावले थुप्रै नयाँ मतदातालाई तान्न सकिरहेको छैन। 

नयाँ मतदाता न नेताका अनेकन् बिन्तीभाउबाट प्रभावित हुन्छन्, न त भोट माग्न आएन भन्दैमा उसलाई अस्वीकार नै गर्छन्। खनाल भन्छिन्, "प्रचारप्रसार भनेको अन्तरक्रियाका लागि हो, जुन अहिले सोसल मिडियामै पनि भइरहेको छ।" निराशा र अव्यवस्थाका बीच आक्रोशका साथ हुर्केकै कारण पनि एकथरी युवा भने जित-हारभन्दा पनि कमजोर पार्टीकै किन नहोस्, असल र भित्री मनले सम्भावना देखेका व्यक्तिलाई प्रत्यक्षमा भोट होल्ने मुडमा पाइन्छन्। काठमाडौँ-८ का गणपतिलाल श्रेष्ठ भन्छन्, "त्यस्ता मानिसले हारकै बाबजुद पनि धेरै मत ल्याए भने आगामी दिनमा ऊजस्ता थुप्रैको सम्भावनाको बाटो खुल्छ।"

अर्कोथरी समूह भने संविधान भनेरै धेरै समय खेर फ्याँक्न नहुने ठान्छ। बढी सम्भावना बोकेका शीर्ष तीन दलमध्ये कुनै एउटाले बहुमत ल्याउने माहोल बनाउन सकेमा देशले छिट्टै संक्रमणबाट पार पाउने सोच्छ। पहिलोपटकका मतदातालाई उम्मेदवारहरूले कसरी आफूतर्फ तान्न सक्छन्, त्यसबाटै मुलुकको राजनीतिले नयाँ मोड लिनेछ।

First Appeared in Nepal Magazine.

No comments:

Post a Comment