Sunday, December 15, 2013

क्लिक इलेक्सन


पीपलडाँडा, पाल्पाका युवा मतदाता जगन्नाथ तिमिल्सिनाका लागि यसपटकको संविधानसभा निर्वाचन अघिल्लोजस्तो असहज भएन। काठमाडौँमा जागिरे र विद्यार्थी उनले चुनावको एक-दुई दिनअघि मात्र छुट्टी पाउँथे। तर, उनको मन भने एक-डेढ महिनाअघि नै गाउँतिर पुगिसकेको हुन्थ्यो। सोसल मिडियालाई धन्यवाद, उनी काठमाडौँमा रहेरै पनि चुनावी माहोलमा मज्जैसँग मिसिए। आफ्ना साथीभाइमाझ 'गु्रुप' संवाद गरेर कसलाई भोट हाल्नेबारे छलफल गरे। उनको कोठाकै कम्प्युटरले भोट हाल्ने नेताको प्रचारप्रसारमा सघायो पनि। 

अघिल्लोपटक निर्वाचन हुँदा फेसबुक नेपालमा भर्खर उदाउँदै थियो, ट्वीटरबारे धेरैले राम्रोसँग बुझेकै थिएनन्। प्रयोगकर्ता नै कम भएपछि त्यसले ठूलो परविर्तन ल्याउन सक्छ भन्ने सोचिएन। हुन पनि सन् २००८ को अन्त्यतिर भएको अमेरिकी राष्ट्रपतीय निर्वाचन फेसबुकलाई माध्यम बनाएर गरिएको पहिलो ठूलो अभियान थियो। 

यही परिदृश्यमा सोसल मिडिया प्रभावशाली देखिँदै गएको नेपालमा समेत पहिलो त्यस्तै ठूलो प्रयोग भयो यसपालि। उम्मेदवारहरू आफूसँग कम्तीमा एउटा फेसबुक एकाउन्ट भएन भने अरूभन्दा पछि परिने सोचकै कारण पनि फेसबुकमा आए। आफ्ना भित्ते पर्चाकै डिजिटल कपी नै सही, उनीहरूले त्यहाँ पोस्ट गरे। राजनीतिमा युवाबारे अध्ययन गररिहेका विजय पौडेल भन्छन्, "पूर्वाधारका हिसाबले हामी कत्तिको सक्षम छौँ या छैनौँ भन्ने बहसकै विषय भए तापनि यसपटक सोसल मिडियामार्फत राजनीतिज्ञले युवानजिक सक्दो बढी पुग्न खोजेको देखियो।" 

चुनावको समयमा सोसल मिडिया हेर्दा लाग्थ्यो, एउटा समानान्तर चुनाव फेसबुक र ट्वीटरमा भइरहेको छ। सूचना राख्ने र प्रचार गर्ने हिसाबले फेसबुक अगाडि देखिए तापनि अन्तरसंवादका हिसाबले ट्वीटर झन्डै ९९ प्रतिशत अगाडि देखियो। भारतको बैङ्लोरमा मुख्यालय रहेको सोसल मिडिया एनालिटिक्स कम्पनी 'सिम्प्िलफाई ३६०'ले 'नेपालभोट्स,' 'नेपाल इलेक्सन,' 'सीए इलेक्सन,' 'भोटिङ् डे'जस्ता केही चल्तीका शब्द र तिनका ह्यासट्यागलाई ट्रयाक गर्दै तिनको विश्लेषणको प्रतिवेदन तयार पार्दा यही तथ्य फेला पर्‍यो। 

चुनावअघि, चुनावको दिन र चुनावपछि गरेर तीन चरणको त्यस अध्ययनमा ट्वीटर र फेसबुकबाहेक फ्लीकर, गुगल प्लस, ब्लगहरू, समाचार, युट्युबलाई पनि स्रोतका रूपमा हेरिएको थियो, जसमा २ देखि ४ मंसिरभित्रमा नकारात्मक कुराहरू बढी चलेका थिए। 'बम' शब्द सोसल मिडियामा सबैभन्दा चर्चित थियो भने 'माओइस्ट,' 'क्रुड,' 'गन,' 'लस्ट'जस्ता शब्द पनि बढी प्रयोगमा रहे। चुनावपछि सकारात्मक शब्दहरू हावी भए। जस्तो, 'विन्स', नेपाली कांग्रेस, गगन। "यसले नेपाली चुनावअघि कति चिन्तित थिए र चुनावपछि कति राहत महसुस गरे भन्ने संकेत गर्छ," सिम्प्िलफाई ३६० का प्रमुख कार्यकारी भूपेन्द्र खनाल भन्छन्, "हामीले वाक्यमा प्रयोग हुने चल्तीका सकारात्मक/नकारात्मक शब्दहरू, तिनका साथमा आउने स्माइलीका आधारमा सकारात्मक, नकारात्मक र तटस्थ ट्रेन्ड खोजेका थियौँ।"

यद्यपि, सोसल मिडियामा चुनावी बहस देशभित्रबाट मात्रै थिएन। कुल बहस र चर्चाको ४५ प्रतिशत मात्र नेपालभित्रबाट थियो भने त्यसपछि दोस्रो र तेस्रो बढी बहस हुने देशमा क्रमशः ७.६३ र २.१ प्रतिशतसाथ अमेरकिा र भारत थिए। अध्ययनको सबैभन्दा रोचक पाटो त्यतिखेर निस्कियो, जब युवाभन्दा ४० वर्ष उमेर काटेकाहरू चुनावी चर्चामा अग्रपंक्तिमा देखिए। उनीहरू चुनावअघि सोसल मिडियामा कुल संवादको ५१ प्रतिशत संवाद गर्नेमा रहे। चुनावपछि भने त्यो उमेर समूह ४३ प्रतिशतमा झर्‍यो, जसलाई पछ्याउँदै ३० देखि ४० वर्ष उमेर समूहकाहरू ३०.७९ प्रतिशतका साथ अगाडि थिए। 

नेताहरूको हकमा भने कसैले पनि सोसल मिडिया टिम बनाएर चुनावलाई रणनीतिक रूपमा प्रयोग गरेको पाइएन। यद्यपि, स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँका चारवटा निर्वाचन क्षेत्रमा उठेको 'विवेकशील नेपाली' नामको समूहको सोसल मिडिया केन्दि्रत प्रचार प्राविधिक रूपमा बढी अन्तरक्रियात्मक थियो। कांग्रेस नेता गगन थापा, एमाओवादी नेता बाबुराम भट्टराईको उपस्थिति राम्रो थियो। कांग्रेसकै नेता रामशरण महतलेचाहिँ ट्वीटरमा निर्वाचन परिणाम अपडेट गररिहे ।राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि फेसबुकमा अन्तरक्रिया चलाए। गगन थापाले त आफ्ना केही मन्तव्य तथा घरदैलोलाई युट्युबमा समेत राखे, जुन अन्यभन्दा फरक थियो। चुनावको सेरोफेरोमा निर्वाचन जडित झन्डै १ सय ६ वटा भिडियो मात्र युट्युबमा अपलोड भएका थिए। खनाल भन्छन्, "हाम्रो टेक पूर्वाधार, दक्ष जनशक्ति, सुस्त इन्टरनेट, खर्चिलो लागत र भिडियोसम्म पहुँच हुने मानिसको संख्याले गर्दा भिडियो केन्दि्रत प्रचार अझै धेरै पर छ।" 

यसपटक फेसबुकलाई पैसा नै तिरेर आफ्ना पेजको प्रचारप्रसार गर्ने क्रममा करोडभन्दा बढी रकम विदेशिएको अनुमान छ। एमालेका ईश्वर पोखरेल, कांग्रेसका नरहरि आचार्यजस्ता थुप्रै नेताले फेसबुक एडमार्फत आफ्नो फेसबुक पेजको प्रचार गरे भने केशव स्थापित त गुगल एडमै गए। फेसबुक वा ट्वीटरमा आफूलाई पछ्याउने संख्यालाई आफ्नो चुनावी शक्ति ठान्न नहुने सन्देशचाहिँ यसपटक राजनीतिज्ञलाई चुनावले सिकाएको छ।

नेपाली जनसंख्या दक्षिण एसियाको कुल जनसंख्याको दुई प्रतिशत हुन आउँछ भनेे कुल दक्षिण एसियाली फेसबुक जनसंख्याको तीन प्रतिशत छ। दक्षिण एसियामा कुल ११ करोड ३० लाख फेसबुक जनसंख्या छ। फ्यानकै आधारमा हेर्दा दक्षिण एसियामा फेसबुकमा लोकपि्रय २० राजनीतिज्ञमध्ये नेपालका बाबुराम भट्टराई र गगन थापा क्रमशः ६ र ९ नम्बरमा छन्। 


नेपालमा फेसबुक जनसंख्या झन्डै ३२ लाख हाराहारीमा छ भने ट्वीटर झन्डै २ लाख २० हजार। तर, चुनावअघिको एक महिनामा यसपटक सबैभन्दा बढी ट्वीटरमा चलेको 'नेपालभोट्स' ह्यासट्यागमा मात्र ५० हजार बढी ट्वीट भएका थिए। सोसल मिडिया विश्लेषक आकार अनिल भन्छन्, "नेपालभोट्स ह्यासट्याग नेपाली ट्वीटर आन्दोलनकै एउटा ठूलो सफल अभियान बन्यो।" चुनावभन्दा एक महिनाअघिदेखि भएका ट्वीटलाई हेर्दा प्रत्येक एक मिनेटमा औसत १८ ट्वीट उक्त ह्यासट्यागमा भएका थिए। विश्लेषकहरू ट्वीटरमा बौद्धिक बहस बढेसँगै त्यसमा हुने चर्चाको मात्रा चुलिएको ठान्छन्। नेताहरू स्वयं त्यहाँ आएर आफ्नो दृष्टिकोण राख्दा र अन्तरक्रिया गर्दा त्यसमा जीवन्त बहसको लहर चलेको हो। 

"सोसल मिडियामा नेताहरू प्रवेश त गरेका छन् तर त्यहाँ कसरी आफ्ना कार्यकर्ता वा भोटरलाई आकषिर्त र अल्झाइरहने भन्ने कुरामा भने रणनीतिक रूपमा पछाडि छन्," खनालको भनाइ छ, "प्रत्यक्ष भेटेर बुझाउन नसकिने थुप्रै कुरा डिजिटल दुनियाँमा अभिव्यक्त गर्न सम्भव छ। तर, त्यो काम स्ट्याटस र ट्वीट लेखेजस्तो हुँदैन, उत्तिकै जनशक्ति र लगानी चाहिन्छ।" सोसल मिडियामार्फत नेताहरू हार्दा पनि जित्न सक्छन्। आगामी निर्वाचनका लागि हारेकै भोलिपल्टबाट आफ्ना लागि माहोल बनाउन सक्छन्। झापा-१ बाट पराजित कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्माले आफूलाई जित्ने उम्मेदवारलाई अँगालो मारेर बधाई दिएको तस्बिर फेसबुकमा राखेपछि सयौँले सेयर गरेका थिए। 

सोसल मिडिया त्यस्तो मञ्च हो, जसले नेतालाई रातारात चर्चाको शिखरमा पुर्‍याउँछ भने रातारात चुलिएको चर्चालाई शून्यमा झार्छ। चियागफमा वा निकटस्थसँगको अन्तरक्रियामा हुने जस्तो कुराहरू सोसल मिडियामा पोस्ट गर्न हुन्छ कि हुँदैन भन्ने कुरा लेख्नुअघि चौतर्फी ढंगबाट हेर्नुपर्छ। आकार अनिल भन्छन्, "सोसल मिडिया टिमले त्यसलाई चलाउन सके त्यसबाट अनावश्यक त्रुटि हुने सम्भावना पनि कम हुन्छ भने रणनीतिक रूपमा नेता तथा पार्टी बलियो हुन जान्छ।" सोसल मिडियाबाट ठूलो परविर्तनको अपेक्षा गर्नेहरूले त्यहाँ आउने नकारात्मक प्रतिक्रियालाई आत्मसात् गर्ने क्षमता आफूमा विकास गर्न सक्नुपर्छ। खनालको भनाइ छ, "उनीहरूले बुझ्नुपर्छ कि गाली मानिसले त्यसलाई गर्छ, जसलाई उसले बढी पछ्याउँछ वा सबैभन्दा पि्रय छ। र, त्यसबाटै आफूलाई चाहिने महत्त्वपूर्ण कुराहरू जन्मिन्छन् पनि।"

No comments:

Post a Comment