Sunday, August 17, 2014

तुहिएको भुटानी शरणार्थी आन्दोलन

चेतन अधिकारीप्रदीप बस्याल/दमक

मोरङको शनिश्चरेस्थित शरणार्थी शिविरमा हालै तेस्रो देश उड्न लागेका आफन्त र छिमेकीबीच बिदाइको रुवाबासी चलिरहेको थियो। तर, ती भुटानी शरणार्थीका आँखामा देखिएको आँसुलाई एउटै अर्थ लगाउन सकिँदैनथ्यो। त्यहाँ भेटिने तन्नेरी पुस्ता त्यस रुवाइलाई हर्षको आँसु बताउँछ भने अघिल्लो पुस्ता भावनाको आँसु। शिविरमा रहेका दुई पुस्ताका शरणार्थीमध्ये पछिल्लो पुस्ता यस्तो छ, जससँग आफ्नो देश भुटानको धमिलो स्मृति पनि छैन। कति त नेपालमै जन्मिएका हुन्।

साथीसँगीसँग विछोडिनुको पीडाबीच रोइरहे पनि निमा डोल्मा तामाङ, १६, शिविर छोड्दा खासै दुःखी थिइनन्। अमेरिकाको पेन्सलभेनियास्थित इरी सिटीलाई आफ्नो नयाँ वासस्थान बनाउन लागेकी उनले भनिन्, "कमसे कम अमेरिकामा मैले चाहेजसरी पढ्न पाउनेछु, आफ्नै कमाइले खान पाउनेछु।"

तामाङजस्ता थुप्रै युवा र अधवैँसे पुस्ता त्यहाँ नपुग्दै 'अमेरिकी सपना' सजाउन थालिसकेका छन्। किनभने, दुई दशकभन्दा बढी समयदेखि नेपाललाई आफ्नो वासस्थान बनाएका उनीहरूले शरणार्थी परिवेशमा कहिल्यै सपना देख्न जानेनन्। सपना हुन्थ्यो त हरेक दुई सातामा पाँच किलो चामल, केही लिटर तोरीको तेल, थोरै दाल, चिनी र नुनका लागि कुर्नु। र, त्यसकै भरमा अर्को रासन नआउँदासम्म अड्कलेर छाक टार्नु। त्यसमाथि उखरमाउलो गर्मीमा विद्युत् नहुने बाँसले बारेको टहराको बसाइ। बर्षामा चुहिने र घरभित्रैसम्म छिर्ने भेल। हुर्किरहेको एउटा पुस्ताका लागि शिविरको कष्टकर बसाइले स्वदेश फिर्तीभन्दा आधारभूत आवश्यकता अनुभव गर्न पाए हुन्थ्यो भन्ने थियो। तिनमा भुटान फर्कन पाइएला भन्ने आश नै मरसिकेको थियो।

"देशबाट लखेटिनुको पीडा कति हुन्छ, त्यो लखेटिनेलाई मात्र थाहा हुन्छ। यसलाई कुनै माध्यमबाट दिइने सुविधाले परपिूर्ति गर्न सक्दैन," अझै स्वदेश फिर्तीको आशा र माग लिएर बसिरहेका शरणार्थी अगुवा डा भम्पा राई भन्छन्, "यहाँ अझै थुप्रै आफ्नो देशको माटो टेक्ने महान् सपना बोकेर बसिरहेका छन्।" राई त्यस्ता शरणार्थी हुन्, जो ल्होत्साम्पा (नेपालीभाषी) जसरी लखेटिएका होइनन्। बरू भुटान सरकारको त्यो हर्कतबाट विरक्तिएर शरणमा नेपाल पसेका भुटानीलाई सघाउन स्वैच्छिक रूपमा शरणार्थी बनेर नेपाल आएका हुन्।

स्वदेश र्फकने भुटानी शरणार्थी आन्दोलन यी दुई पुस्ताबीचको अन्तरद्वन्द्वले अहिले तुहिएजस्तो छ। भुटान फर्कने दृढ मागसहित बसेका थुप्रै पुराना पुस्ताका शरणार्थीसमेत आफ्ना छोराछोरीबाट आएको दबाबकै कारण तेस्रो देश जाने इच्छापत्र भर्न थालेका छन्। अहिलेसम्म झन्डै ९१ हजार भुटानीहरू अस्ट्रेलिया, क्यानडा, डेनमार्क, न्युजिल्यान्ड, नर्वे, नेदरल्यान्ड्स, बेलायत र अमेरिकामा पुनःस्थापित भइसकेका छन्।

नेपालीसँगको साइनो

बेलडाँगी-२ की देवीमाया तिम्सिना, ४५, का दुई छोरा र छोरीज्वाइँ अहिले अमेरिकामा छन्। सायद अबको केही महिनाभित्र श्रीमान् र एक छोरीका साथ उनी पनि अमेरिका उड्नेछिन्। भुटानको परविेश सम्झन आग्रह गर्दा उनको आँखा रसाउन रत्तिबेर लाग्दैन। त्यहाँको सुन्तला बारी र गोठभरी गाई त्यत्तिकै छाडेर एकाबिहानै नांगै चार जना काखे सन्तान बोकेर ज्यान बचाएको क्षण सम्झ्यो कि उनी भक्कानिन्छिन्। नेपाल छिरेपछि माइधार खोला बगरमा दुई महिना काटे उनीहरूले। "तलपट्टि तातेको बालुवा, माथिपट्टि प्लास्टिक टेन्टको भरमा मुस्किलले एक छाक खाएर दिन गुजार्दा थुप्रैले ज्यान गुमाए," देवीमाया सम्झन्छिन्  , "छोराछोरी बचाउन देश छाडेर आइयो, यहाँ उनीहरूलाई केही भइहाल्यो भने के होला वा हामीलाई केही भइहाल्यो भने उनीहरूको हालत के होला भनेर दिनरात सोचिन्थ्यो।"

पछि स्थानीय नेपाली समुदायले खानपान र प्लास्टिकका टेन्ट बाँडेर उनीहरूलाई सघाएका थिए। शरणार्थी शिविरमा बस्नुबाहेक अन्य ठूला समस्या कमै बेहोरेका छन्, भुटानीहरूले यहाँ। भाषा र रहनसहन मिल्ने मात्र होइन, कतिका आफन्त धेरै अघि नेपाल बसाइँ सरेर आएका थिए। जसले पनि बिरानो भूमिमा त्यति धेरै एक्लो बनाएन कति परविारलाई।

भुटानी भईकन पनि डा भम्पा राई र डा वेदनिधि खतिवडाजस्ता दुई फिजिसियनले स्थानीयसँग गाँसेको सम्बन्ध निकै अनुकरणीय छ। सन् '९० को दशकमा शरणार्थीका रूपमा नेपाल छिरेका यी दुई डाक्टरले शरणार्थीको सेवा गर्दा गर्दै नेपाली बिरामीको पनि सेवा गर्न थालेका हुन्। उनीहरूको कौशल यति फैलियो कि अहिले नेपालीसमेत बिरामी हुँदा यिनैकहाँ पुग्छन्।

कतिपय नेपालीका ज्वाइँ भए त कति बुहारी। अंग्रेजी भाषामा राम्रो दक्षता बोकेका थुप्रै भुटानी एकताका सुदूरपश्चिमसम्मै शिक्षक भएर जान्थे। छिमेकमै घरेलु कामदार र मिस्त्रीका रूपमा सघाउन थालेपछि भारतीयको ओइरो ह्वात्तै घट्यो। "स्थानीयले भुटानीलाई पराइ कहिल्यै सोचेनन्," सुरुङ्गा गाविसका पूर्वअध्यक्ष भीमप्रसाद अधिकारी भन्छन्, "शरणार्थी भईकन पनि शिक्षणजस्तो पेसामा पोख्त हुनाले उनीहरूलाई राम्रो सामाजिक हैसियत मिल्यो।" बेलडाँगीस्थित शरणार्थी शिविरसँगै जोडिएको हंसेदुम्से सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हिमालय दाहाल शरणार्थी र त्यस भेगका थुप्रै नेपालीको पुख्र्यौली थलो एउटै भएकाले पनि सम्बन्ध कसिलो हुन सहयोग पुर्‍याएको ठान्छन्। त्यसैले कानुनतः शरणार्थीले शिविरबाहिर आय आर्जनको काम गर्न नपाउने भने तापनि त्यो ठूलो बाधक बनेन। त्यस क्षेत्रमा कहलिएका शरणार्थी साहित्यकार याम थुलुङ, डिल्ली घिमिरे, कपिलमुनि दाहाल, भोलानाथ पुरानाघरे, टीकाराम धितालदेखि संगीतकर्मीहरू अर्जुन रसाइली, हरि क्षेत्री, प्रकाश कालीकोटे, किशोर सिवाकोटीलगायतले समेत नेपाली समुदायसँग भुटानी समुदायको साइनो जोडेका थिए। शरणार्थीकै शिविरको आसपासमै बसेर पत्रकारिता गरिरहेका  डिकेस लामा भन्छन्, "शरणार्थीहरू नेपाली साहित्यप्रतिको रुचि र खुबीका कारण नै नेपाली समाजमा स्थापित भए।"

नचिताएको यात्रा

सुरुमा भुटानी शरणार्थीहरू नेपालका सातवटा शिविरमा कष्टपूर्ण दिन बिताइरहेका थिए। संयुक्त राष्ट्र संघीय शरणार्थी नियोग (यूएनएचसीआर)ले जिम्मा लिएका उनीहरूलाई कहिले लुगा कटौती, कहिले इन्धन कटौतीजस्ता समस्याले तनाव दिइरहेको थियो। शिविरमै जन्मिएको पुस्ता पनि अहिले युवा अवस्थामा छ। भुटान नै र्फकन पाऊँ भन्ने उनीहरूको माग अनवरत रूपमा उठिरहे तापनि त्यसले ठोस स्वरूप नलिएपछि अधिकांश युवा शरणार्थीहरू अनिश्चित भविष्यका कारण निराश भइरहेका थिए।

तत्कालीन भूमिगत माओवादीले कतिपय अवस्थामा यही शरणार्थी शिविरलाई आफू लुक्ने सुरक्षित ठाउँका रूपमा उपयोग गरे। अनिश्चित भविष्यको खोजीमा भौँतारएिका भुटानी युवालाई त्यहाँका शासककोे विरुद्धमा आफूहरूले जस्तै बन्दुक उठाउन प्रशिक्षित गरेको घटना पनि त्यस बखत फेला परेका थिए। नेपालका माओवादीले पाउँदै गरेको सफलतामा लोभिएका भुटानी युवाले पनि भूमिगत माओवादी पार्टी खोले। तर, त्यसको निशाना भुटानका शासक नभएर तिनै शासकबाट लखेटिएका भुटानी नागरिक नै हुन थाले।

शिविरभित्र वामपन्थी चलखेल, त्यसमा पनि सशस्त्र प्रकृतिको देखिएपछि यूएनएचसीआर चिन्तित थियो। यसले असहज रूप नलिएपछि शरणार्थीलाई छिन्नभिन्न पार्न विकल्प खोज्दा पुनःवासको विकल्प अघि सारएिको थियो। त्यसै बेला अमेरिकाले समेत आफ्नो नियमित शरणार्थी पुनःस्थापना कार्यक्रममा मुस्लिम विश्वबाट कम गररिहेको थियो, जसका कारण नेपालबाट एकैचोटि धेरै शरणार्थी अमेरकिाले लैजान सम्भव भयो। हालसम्म झन्डै ७६ हजार शरणार्थी त त्यसै कारण अमेरिका पुगिसकेका छन्। तत्कालीन परराष्ट्रमन्त्री केपी ओलीले शरणार्थीलाई पुनःवासका लागि विश्वका आठ समृद्ध देशमा लैजाने यूएनएचसीआरको प्रस्तावमा सजिलै हस्ताक्षर गरिदिए। त्यतिबेला उनको प्रतिक्रिया थियो, "अमेरिका गए पनि भुटान फर्कन बाधा हुँदैन। नेपालबाट भन्दा अमेरिकाबाट छिटो भुटान र्फकन सकिन्छ।"

युवा र अधवैँसे उमेरकाहरूले पनि अब पहाडी देश भुटान फर्कनेभन्दा पनि युरोप-अमेरिकालाई नै प्राथमिकतामा राख्ने मुड बनाएपछि अहिले भुटान फर्कन चाहनेको संख्या अल्पमतमा छ। "कष्टपूर्ण जीवनबाट छुटकारा चाहँदै समृद्ध भविष्यको कल्पना गर्नेहरूले पुनःवासको बाटो रोजेका हुन्," शनिश्चरे शिविर युवा मैत्री केन्द्रका संयोजक हेम गिरी भन्छन्, "अर्कोतिर छोराछोरीको भविष्यका लागि भन्दै अभिभावकले पनि भुटानको माया मारेर युरोप-अमेरकिा रोज्न थाले।"

पुनःवासमा गएका शरणार्थीले शिविरमा भएका आफन्तलाई उतै आउन प्रोत्साहित गर्दा दोधारमा भएका शरणार्थीले पुनःवासमै जाने निर्णय गर्ने गरेका छन्। बेलडाँगी शिविर-२, सेक्टर 'बी'का प्रमुख नारायणप्रसाद भट्टराई भन्छन्, "पुनःवासमा पुगेकाहरूले यताकालाई सबै राम्रै राम्रो मात्र बखान गरििदन्छन्। त्यसले गर्दा यहाँ दोधार भएकाहरूले उतै जाने निर्णय लिन्छन्।"

यूएनएचसीआरका अनुसार शिविरका मध्ये ९५ प्रतिशतले तेस्रोे देश जाने इच्छापत्र फाराम भरेका छन्। करबि आठ हजार शरणार्थीले मात्र इच्छापत्रमा फाराम भरेका छैनन्। अहिले २६ हजार १ सय १७ भुटानी शरणार्थी बेलडाँगी र शनिश्चरे शिविरमा छन्। ९१ हजार तेस्रो देश पुनःस्थापित भइसकेका छन् र केही हजार अझै त्यसका लागि प्रक्रियामा छन्। यूएनएचसीआरकी सूचना अधिकृत निनी गुरुङ भन्छिन्, "यो सही हो कि सबै शरणार्थी तेस्रो देश जानका लागि तयार छैनन्। त्यसैले शिविरमा बाँकी रहने केही हजार भुटानीको भविष्यबारे सोच्ने यो उपयुक्त समय हो।"

ओझेलमा स्वदेश फिर्ती

तेस्रो देश पुनःवासले शरणार्थी संख्या घटेपछि सातवटा शिविरलाई तीनवटामा घटाइएको छ भने केही महिनाभित्रै शनिश्चरे शिविरलाई पनि बेलडाँगीमा गाभ्ने यूएनएचसीआरको तयारी छ। माहोल पुनःवासको भएपछि स्वदेश फिर्तीको मुद्दा सेलाएको छ। खास तेस्रोे देशको वकालत गर्ने शिविरका राजनीतिक दलका नेताहरू फुत्तफुत्त पुनःवासमा जान थालेपछि यसको नेतृत्व पनि संकटमा परेको हो। भुटानी शरणार्थी स्वदेश फिर्ती समिति गठन गरेर डा भम्पा राईले यसका केही गतिविधि सञ्चालन गररिहेका छन्। उनी सधैँ एउटा प्रश्न उठाउँछन्, "पुनःवासको प्रक्रियामा अन्तिम निर्णय भइरहँदा यूएनएचसीआरले एकैचोटि तीनवटा विकल्प अघि सार्ने भनेको थियो। त्यसमा पुनःवास, स्वदेश फिर्ती र स्थानीय तहमा समायोजन। तर, उसले किन दुईवटा विकल्प आफैँसँग राखेर एउटा पुनःवासको विकल्प मात्र अघि सारेको ?"

यूएनएचसीआरले आफूहरूलाई कुनै पनि बैठकमा नबोलाएर भेदभाव गरेको राईको गुनासो छ। अधिकांश शरणार्थी पुनःवासमै जाने मुडमा भएकाले यो मुद्दामा चासो राख्नेहरू घटेका हुन्। स्रोतका अनुसार भुटान नै र्फकन नसके पनि यूएनएचसीआरको पहलमा नेपाल सरकारले रहलपहल शरणार्थीलाई नेपालकै नागरकिता दिएर यतै राख्ला भन्ने आशा धेरै शरणार्थीमा छ। तर, हालै परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले अलजजिरा टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा भुटानी शरणार्थीलाई नेपालमा समायोजन गर्ने कुरामा नेपालले कहीँ पनि हस्ताक्षर नगरेको र त्यो सम्भव पनि नभएको बताएपछि शिविरमा फेरि अर्को निराशा थपिएको छ। परराष्ट्रमन्त्रीको यो भनाइ अधिकांश शरणार्थीले युट्युबबाट डाउनलोड गरेर मोबाइलमा राखेका छन्।

"शरणार्थी समस्याको दिगो समाधानका रूपमा केही शरणार्थीले नेपालमै समायोजन पनि रोजेका थिए तर परराष्ट्रमन्त्रीको अन्तर्वार्ता हेरेपछि अर्को एउटा निराशा थपिएको छ," बेलडाँगी शिविरका सचिव सञ्चहाङ सुब्बा भन्छन्। स्वदेश फिर्ती समितिका अध्यक्ष राईचाहिँ आफू शरणार्थी रहेसम्म स्वदेश फिर्तीका लागि संघर्ष गररिहने अठोटमा छन्। उनको प्रश्न छ, "मानव अधिकारको कुरा गर्ने यूएनएचसीआरले एक देशका नागरकि अर्कै देशमा लगेर मानव अधिकार संरक्षण कसरी गर्न सक्छ ?"

'बरु शिविरमै मर्छु'

लीलाधर आचार्य, ६५ (बेलडाँगी-३)

मेरा दुइटा छोरा र पाँच छोरी छन्। दुई छोरा चार वर्षअघि अमेरिका पुगे। उनीहरूले अमेरिकामा आफ्नो भविष्य छ भनेर जिद्दी गरेपछि मैले रोक्न चाहिनँ। अहिले मसँग भएका तीन छोरी पनि अमेरकिा जाने भनेर रातदिन मलाई ढिपी कसिरहेका छन्। लाग्दै छ, अब यस्तो अवस्था आउनेछ, जतिबेला जीवनको अन्तिम क्षणमा म र बूढी मात्र टुहुरा भएर यी छाप्रामा रहनेछौँ।

मलाई पनि तेस्रोे देश जान दबाब र अनुरोध आउँछन्। तर, म मरे पनि तेस्रोे देश जान्न। मचाहिँ भुटान नै र्फकने हो। यो बर्खाको बेला भुटान सम्झिँदा मेरो मन साह्रै रुन्छ। अहिले देशको माया मारेर समृद्ध हुन कतै पनि जान चाहन्नँ, जति जना रहे पनि मेरो माग भुटान नै फर्कन पाउनुपर्छ भन्ने नै हुन्छ। मजस्तै अडान राख्ने अरू पनि हुनुहुन्छ। हामी लगे भुटान जाने, नलगे यही माटोमा मर्ने हो। अरूका देशमा गएर उसको गोठालो हुन हामीलाई आत्माले दिएन।

यदि भुटान सरकारले मेरो जीवनभर पनि उता फर्काउने लक्षण ल्याएन भने पनि पुनःवासमा नगएकामा मलाई पछुतो हुने छैन। म यही छाप्रामा प्राण त्याग्न चाहन्छु।


कति शरणार्थी कता ?
शिविरमा बाँकी: कुलः २६,११७
बेलडाँगी (१,२ र ३)ः २०,७०५
शनिश्चरे: ५,३७७

तेस्रो मुलुकमा पुनःस्थापित (कुलः ९१,२२४)
अमेरिकाः ७७,१२१
क्यानाडाः ५,९४०
अस्ट्रेलियाः ५,१९०
न्युजिल्यान्डः ८७१
डेनमार्कः ८६८
नर्वेः ५५०
बेलायतः ३५८
नेदरल्यान्ड्सः ३२६

First Appeared in Nepal Magazine.

No comments:

Post a Comment