Thursday, August 28, 2014

परीको फड्को

नेपाली ब्याटल लिग ‘रबार्ज’मा चर्को ब्याटल गरेकी प्रेक्षा बज्राचार्य उर्फ परी अहिले ‘कुल’ अवतारमा छिन्, एउटा बेग्लै म्युजिक नम्बरमार्फत । त्यस्तो नम्बर जहाँ ब्याटलमा जस्तो गालीगलौच वा आरोप प्रत्यारोप छैन । परी भन्छिन्, “तर सामाजिक विभेधविरुद्ध एवं मानवताको पक्षमा शिष्ट तर चर्को आवाज भने छ ।” भारतको ६७औं स्वतन्त्रता दिवसको अवसर पारेर कोलकाताको चर्चित अल्टरनेटिभ रक ब्यान्ड ‘अन्डरग्राउन्ड अथ्योरिटी’का फ्रन्टम्यान इम्सी पोयट र्‍यापर (इपिआर)सँगको उनको सहकार्यमा उक्त गीत ‘इन्साइड आउट’ सार्वजनिक भएको हो । असुरक्षिण आप्रवासन, महिलाविरुद्धका हिंसा, धार्मिक असहिंसुणता, आतंकवाददेखि लिएर गाजा स्ट्रिपमा भइरहेको तनावसम्मका थुप्रै सामाजिक–राजनीतिक विषय समेटेको छ गीतले । 

गीत सार्वजनिक गरिएको सन्दर्भ भारतिय स्वतन्त्रता दिवसको भएता पनि यसलाई पूरा दक्षिण एसियाको भाव समेट्ने गीत भनेका छन् इपिआरले । “भारत यस उपमहादिपको ठूलो हिस्सा हुनुले यसको प्रभाव यहाँका सबै देशमा पर्छ,” टाइम्स अफ इन्डियासँग उनले भनेका छन्, “र, जब यी समाजिक कुरितीबारे सबै मिलेर जुट्नुपर्ने बेला आउँछन्, गायकको राष्ट्रियता गौंड बन्न पुग्छ ।” सायद त्यसैले हो उनले सीमा पारीबाट गीतको लागि सहकर्मी खोजेको । परी भन्छिन्, “इपिआरले आफ्ना हरेक काममा एक्सपेरिमेन्टल हुन खोज्छन् जसका लागि उनले विभिन्न परिवेश र संस्कृतिका गायक तथा संगीतकर्मी खोजिरहेका हुन्छन्, सकेसम्म ती स्थापित भइनसकेकाहरु” उनको त्यही स्वभावका बिच यसपटक आफू ‘लक्की’ निस्किएको ठान्छिन् परी । 

परी र इपिआरको अहिलेसम्म भेटेका छैनन् । गीत सार्वजनिक हुनुभन्दा एक महिना अघि परीको फेसबुक पेजमा उनले म्यासेज छाडेका थिए । जसमा केही काम मिलेर गर्ने कि भन्ने लेखिएको थियो । त्यसबेलासम्म न परीलाई अन्डरग्राउन्ड अथ्योरिटीको बारेमा राम्रोसँग थाहा थियो न त इपिआरकै बारेमा । उनी परिन् ‘क्रेजी इन लभ’, ‘बेबी ब्वाय’की गायिका वियोन्सी र र्‍यापर निक्की मिनाजको गीत सुनेर हुर्केकी ।

परीले आफ्नै पुस्ताका (इपिआरले आफ्नो उमेर १८ देखि २४ बर्ष बिचको भन्छन्) अराजकतावादी कम्युनिस्ट दर्शनको प्रभाव देखिने गायकलाई चिन्न गुगल गर्नुपर्‍यो । भन्छिन्, “हाम्रो स्वभाव मिल्यो । किनकि मैले रुचाउने काम पनि एक्सपेरिमेन्टल नै हो ।” गीतमा परीले कोरस दिएकी छिन् भने इपिआरले र्‍यापका पंक्तिहरु भट्याउँछन् । 

शब्द इपिआरकै हो । संगीत भने म्युजिक बिटहरु बनाउने अमेरिकी संगीतकार बोडोटेजको हो । संगीतमा उनले यसअघि खासै प्रयोग नगरिएको इलेक्ट्रोनिक बिटको ‘एक्सपेरिमेन्ट’ गरेका छन् जसमा जापानी र चिनियाँ प्रभाव भेटिन्छन् । म्युजिक ट्याक तयार भएपछि इपिआरले परीलाई इमेलमा डेमो फाइल पठाएका थिए । पाटनको एक स्टुडियोमा रेकर्ड गरिएका सीर्फ कोरस गाएका ४ वटा फाइल इपिआरलाई पठाइन् परीले । 

त्यसमा कोलकाताबाटै इपिआरले आफ्नो भाग गाए । गीत उतै मिक्सिङ भयो । “यो बेग्लैखाले अनुभव थियो, गीतमात्र एक्सपेरिमेन्टल थिएन हाम्रो काम गर्ने शैली पनि त्यस्तै थियो,” उनको अनुभव छ, “यो कामबाट मैले र्‍याप टेक्निक्सदेखि रेकर्डिङ र मिक्सिङका थुप्रै कुरा सिकेकी छु ।” इपिआरले यसलाई आफ्नै  गैरनाफामुलक गीत भनेका छन् । यस्तो खाले पहिलो सामाजिक–राजनीतिक गीत गाइसकेपछि परीलाई पनि बल्ल बोध हुन थालेको छ संगीतकर्मीहरु कसरी सामाजिक उत्तरदायित्वमा सहभागि हुन सक्छन् भन्ने । 

उनले अनुभव सुनाइन्, “सामाजिक एजेन्डा बोकेको र ठूलो समूहको भाव बोल्ने गीत भएकाले कसैप्रति अञ्जानमै पनि पूर्वाग्रही भइएला कि भनेर धेरै स–सानो कुरामा ध्यान दिनुपर्‍यो ।” तयारीको बेला उनलाई के पनि लागेछ भने यस्तो गीत गाउँदा गीतको शब्दभन्दा धेरै बाहिरका कुरा आत्मसाथ गर्नुपर्छ जसले बल्ल गाउँदा त्यो भाव ‘इन्टरनलाइज’ गर्न  सघाउँछ । 

***

काठमाडौंको लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा बिएस्सी (आइटी)मा थर्ड सेमेस्टर पढ्दै गरेकी उनलाई आफ्नो पढाई र संगीतलाई  सँगैसँगै लैजाने रहर छ । त्यसो त उनलाई अझै आफ्नो म्युजिक करिअर शुरु भइसकेको छ भन्ने लाग्दैन । यद्यपि आफ्ना केही स्वभावहरु उनलाई विशेष लाग्छन् । उनले आँखा झिमझिम् पारिन्, “म मल्टिटास्किङ गर्न सक्छु । गाउन र र्‍याप गर्न दुवैका लागि मैले निकै अभ्यास गरेकी छु ।” त्यसबाहेक डिजिटल आर्ट, थाङ्का पोन्टिङ उनका सोख हुन् । 

उनलाई तत्काल एल्बम निकाल्ने सोख पनि छैन । “युट्युब नै काफी छ आजभोलि,” उनी भन्छिन्, “रबार्जमा ब्याटल गर्दा युट्युबकै कारण मेरो स्टेज नेम परी स्थापित हुन सक्यो ।” रबार्जपछि झन् उनीजस्ता एक्सपेरिमेन्टल संगीतकर्मीलाई युट्युबबाटै पनि ठूलो फ्यानबेस तयार पार्न सकिन्छ भन्ने आँट आएको छ । त्यसो त उनले आफ्नो युट्युब च्यानलमा केही चर्चित गीतका ‘कभर’ गरेकी छिन् । क्यानेडियन र्‍यापर ड्रेकको ‘होल्ड अन ह्वी आर गोइङ होम’ गीतको कभर, जुन उनले सुवन जोशी उर्फ साइक र सुरज शाही उर्फ सुरज ब्लुजसँग मिलेर गरेकी थिइन, लाई युट्युबमा ७६ हजार बढिले हेरिसकेका छन् । 

अन्डरग्राउन्ड अथ्योरिटीले अब छिट्टै नेपाल र भुटानमा आफ्नो कन्सर्ट टुर गर्दैछ । त्यसका केही ठाउँमा जानलाई उनलाई समेत आग्रह गरिरहेका छन् । इपिआर अझै केही गीत यसैगरी मिलेर गर्ने रहर परीसँग राखेका छन् । परीको फड्को  रोचक त के छ भने अब छिट्टै निस्कन लागेको यसको भिडियोको लागि समेत उनीहरु यसैगरी छुट्टाछुट्टै काम गर्नेछन् । उनको सपना पनि देशभित्रको सीमामा मात्र सीमीत नभएर अन्तर्राष्ट्रिय स्रोतसम्म प्रस्तुति दिने रहर छ । नभन्दै ‘इन्साइड आउट’ सार्वजनिक भएपछि उनको फेसबुक पेजमा विदेशी फ्यानहरु रातारात बढिरहेका छन् । सायद त्यो उनको रहरको अन्तर्राष्ट्रिय फ्यानबेस खडा हुँदै गरेको पो हो ! 
*****
साउन्ड क्लाउडमा गीत सुन्नुहोसMM http://bit.ly/1rucbWj  

First Appeared in Hello Shukrabar.

No comments:

Post a Comment