Saturday, December 27, 2014

जिआरई, स्याट र टोफेलमा पूर्णांक ल्याउनेका अनुभव

टाँडी चितवनमा स्कुल, काठमाडौंमा आइएस्सी, सरकारी छात्रवृत्तिमा चीनमा इञ्जिनियरिङमा स्नातक हुँदै अमेरिकाबाट अर्थशास्त्रमा स्नातकोत्तर र पिएचडि गर्दासम्म विश्व पौडेलले विभिन्न बिषयमा थुप्रैपटक पुर्णांक हासिल गरेका छन् । तर दस बर्ष अघि विश्वव्यापी रुपमा एकैखाले हुने ग्रयाजुयट रेकर्ड इग्जामिनेसन (जीआरई) मा उनले गणित र अंग्रेजी दुवैमा गरेर कुल अंक १ हजार ६ सय नै ल्याए । जसले उनलाई बर्कलेस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियामा पीएचडि भर्ना हुन सघाउ पुर्‍यायो ।

त्यो त्यस्तो ‘स्कोर’ हो, जो नेपालमा मात्र नभएर विश्वव्यापी रुपमै निकै कमले ल्याउँछन् । जिज्ञाशा उठ्न सक्छ, आखिर कस्तो हो त्यो परीक्षा ? कसरी आउँछ त्यत्ति धेरै नम्बर ? र,  त्यत्ति धेरै अंक ल्याउनुको अर्थ के हुन्छ ?

सरकारी छात्रवृत्तिमा चीन जाने बेला ४० अंकको परीक्षामा भने पौडेल सबैभन्दा अगाडि थिए भने त्यसबेलाका बोर्ड प्रथमले जम्मा ११ अंक ल्याएका थिए । “त्यसो भन्दैमा उसको क्षमतामाथि प्रश्न उठाउन सकिंदैन,” उनी भन्छन्, “निश्चित छोटो समयमा त्यसरी परीक्षामा प्रस्तुत हुनु भनेको अर्कै कला हो ।” पौडेल आफूलाई त्यस मामिलामा भाग्यमानी ठान्छन् ।

खासमा यस्तो भाग्यसँग नेपालजस्ता विकाशोन्मुख देशका विद्यार्थीको भविष्य जोडिएको हुन्छ । जहाँका विश्वविद्यालय अन्तर्राष्ट्रिय बजारमा ख्याती कमाएका हुँदैनन् वा त्यस परिवेशमा हुर्केकाहरुले त्यसअघि खासै धेरै उल्लेख्य काम गरेका हुँदैनन् । कहलिएको विश्वविद्यालयका लागि भने यी मापदण्डले त्यतिधेरै महत्व राख्दैनन् । उदहारणका लागि चीनको शीर्ष पेकिङ विश्वविद्यालय होस् वा भारतको उस्तै कहलिएको इन्डियन इन्स्टीच्युट अफ टेक्नोलोजी (आइआइटी) जस्ता राम्रा संस्थाको ‘टपर’ वा राम्रा विद्यार्थी छन् भने यस्तो अंकले धेरै अर्थ राख्दैन । किनकि पश्चिमा विश्वविद्यालयलाई थाहा हुन्छ कि ती एक अर्ब जनसङ्ख्याबाट छानिएर आएका हुन् र त्यसै पनि अब्बल हुन् ।

त्यस्ता श्रेणीमा नपर्नेले हो आफूलाई बढि नै पुष्टि गर्नुपर्ने र त्यसको एउटा मापक हो, यस्तो अंक । किनकि, नेपालको सबैभन्दा राम्रो विश्वविद्यालय भइकन पनि त्यो राम्रो पनि हुनसक्छ नराम्रो पनि हुन सक्छ । नत्र त संसारमा रहेका हजारौं त्यस्ता विश्वविद्यालयमा सबैका थुप्रै ‘गोल्ड मेडलिस्ट’ हुन्छन् । तर हार्वड, एमआइटीजस्ता शीर्ष शैक्षिक संस्थाले सबैलाई भर्ना लिन सक्दैन ।

पौडेल यस्तो परीक्षालाई तनावका बिच गर्ने ‘पर्फमेन्स’ ठान्छन् । त्यसले बुझाउने भनेको उसको गणित र अंग्रेजी तुलनात्मक रुपमा राम्रो छ भन्ने मात्र हो । “कलेजका परीक्षाको तयारी गरेजस्तो होइन यो,” यसै बर्ष बिषयगत स्कलरिस्टिक एप्टीट्युट टेस्ट (स्याट २) मा पूर्ण अंक २ हजार चार सय नै ल्याएका आश्विन बस्नेत भन्छन्, “प्राय: दिइने परीक्षाभन्दा भिन्न, ज्ञानको तहमा बचेको कुराहरु जाँच्ने हो यसमा ।”

प्रश्नका शैलीबाटै पनि त्यो राम्रोसँग बुझिन्छ । कस्तो भने हिसाब त गर्नुपर्छ तर सुत्र प्रयोग नहुने खालको । अर्कोतर्फ समय पनि निकै कम हुन्छ । स्नातक अध्ययनका लागि दिइने स्याटजस्तो कोर्समा रसायनशास्त्रमा एक घन्टामा ८५ वटा, गणितमा ५० वटा र भौतिकशास्त्रमा  ७५ वटा प्रश्नको उत्तर दिनुपर्छ । पूर्ण अंक ल्याउनका लागि निश्चित केही प्रश्न छाड्दा पनि हुन्छ तर बिगार्न भने पाइंदैन ।

बस्नेत प्रकाशको गतिबारे सोधिएको एउटा प्रश्न सम्झिन्छन्, जसमा सोधिएको थियो, एउटा निश्चित गतिमा गइरहेको रकेटबाट टर्चलाइट बाल्दा प्रकाशको गति कति हुन्छ ? भन्छन्, “त्यसलाई गम्भिर भएर सोच्न थाल्यो भने विद्यार्थी आत्तिहाल्छ कूल भएर सोच्ने हो, प्रकाशको गति जहाँ पनि उस्तै त हो ।” त्यसैले खासमा स्याट परिक्षाले ‘कन्सेप्ट’ जाँच्ने हो ।

त्यसैले यस्ता जालहरु प्रश्नमा मात्र नभएर उत्तरमा समेत उत्तिकै बिछ्याइन्छन् । झुक्किंदा आउने उत्तरहरु सबै विकल्पमा हुन्छन् । कहिलेकाहीं प्रतिसतमा उत्तर सोध्छ तर अंकमा उत्तर हुन्छ र त्यो अंक समेत अप्सनमा हुन्छ । बस्नेतको अनुभव छ, “त्यसैले गहिराईमा जानु पनि पर्दैन तर त्यसको अर्थ सतही रुपमा बुझेर पनि हुँदैन ।”

राम्रा विद्यार्थीका अनुभवमा अन्तिम अवस्थामा आएर गरिने तयारी भन्दा पनि दैनिक जीवनकै अभ्यासको फल हो । पौडेलको हकमा भएको अनुभवले समेत त्यसै भन्छ । एक त अस्कल पढ्दादेखि नै उनी अंग्रेजी साहित्य निकै पढ्थें भने अर्कोतर्फ न्युजविक, टाइम पत्रिकाका नियमित ग्राहक । त्यसबेला अनायसै नबुझेका शब्दहरु उनले टिपेर अर्थ हेर्दा रहेछन् । चीनमा पढ्दा घुलमिल हुन गाह्रो भएपछि पूर्वराष्ट्रपति जियाङ जेमिन पढेको विश्वविद्यालय सांघाई जियाओ तोङ युनिभर्सिटीको पुस्तकालयमा बसेर अम्मलीजसरी थुप्रै साहित्य पढे । जसको असर एकैचोटी उनले जिआरई परीक्षाका बेला थाहा पाए । गणित त उनको राम्रो थियो नै जुन उनले बिनातयारी सिधै परीक्षामा बसेर प्रश्नहरु हल गरेछन् ।

उता मेचीदेखि काठमाडौंसम्म पढेकी कम्प्युटर एप्लीकेसनकी विद्यार्थी तपदिप्ती सिटौलाले अंग्रेजी जाँच्ने टोफेल परीक्षामा पूर्णांक (१२०) ल्याएकी हुन् । उनको रोचक पक्ष के छ भने न उनी अंग्रेजी साहित्य रुचाउने न त अंग्रेजी सिनेमा नै हेर्न खोज्ने । सन् २०१३ मा अमेरिका जाने उद्देश्यले २०१२ को अन्त्यतिर पढ्ने तयारी गरेकी उनलाई त्यसबेलासम्म टोफेलबारे थाहा भएको भनेको त्यो अंग्रेजीको जांच्ने परीक्षा हो भन्ने मात्र थियो । हाल अमेरिकाको जर्जिया इन्स्चिच्युट अफ टेक्नोलोजीमा एमबिए गरिरहेकी उनले सुनाइन्, “मलाई यतिचाहीं थाहा थियो यसबाट बुझ्न खोजिने भनेको दैनिक प्रयोगमा आउने आधारभूत अंग्रेजी मात्र हो भन्ने ।”
अंग्रेजी मातृभाषा नभएकाको दक्षता जाँच्ने भएकाले टोफेल परीक्षामा कुनै जटिल संरचनाका वाक्य नै सोधिने पनि होइनन् । त्यसको स्पिकिङमा भने अलिक सामान्य प्रश्न नै भएता पनि अलिक छिटो दिमाग चलाउन सक्ने हुनुपर्छ । प्रश्नहरु कस्ता हुन्छन् भने चिया मन पर्छ वा कफि, पैसा बैंकमा राख्नु ठिक कि घरमा भन्नेजस्ता । “१०/१५ सेकेन्डमा दिनुपर्ने त्यस्तो उत्तरको नेपालीमै दिनुपर्ने भए पनि गाह्रो हुन्छ,” सिटौलाले अनुभव सुनाइन्, “त्यसैले यो अंग्रेजीको समस्या भन्दा पनि अभ्यासको खेल हो ।” सामान्यत: टोफेलमा १ सयभन्दा बढि अंक ल्याउनेहरु अमेरिकाका राम्रा विश्वविद्यालयमा जानका लागि बाधक बन्दैनन् । तर हार्वड विश्वविद्यालयले भने आफ्ना विद्यार्थीम न्युनोतम १०८ अंक खोज्छ ।

त्यसैले यसमा आउने अंक मात्रैले धेरै फरक पार्छ भन्ने होइन । विश्वविद्यालयले विद्यार्थी छान्ने प्रयोग गर्ने थुप्रै सिग्नलमध्ये एउटा मात्र हो । हाल काठमाडौं विश्वविद्यालयमा सहायक प्राध्यापक रहेका पौडेल खास स्ट्यान्डफोर्ड बिजनस स्कुलमा अनलाइनमा हुने लिलामीबारे पीएचडि गर्न चहान्थे । तर निकै आकर्षक ठाउँ मानिने त्यहाँ जिआरीको पूरा अंक, राम्रो जिपिए स्कोरजस्ता कुराले पनि पुग्दैनथ्यो । हार्वडको अर्थशास्त्र विभागमा समेत उनले आवेदन दिएका थिए । जहाँ समेत अंग्रेजीमा ८ सयमा ३८० अंक ल्याउने अर्जेन्टिनको एउटालाई भर्ना पाएका रहेछन् तर उनले पाएछन् । कम अंक ल्याएरै पनि पढ्न पाउने उक्त अर्जेन्टिनीले भर्ना पाउनुमा उसले अन्य रेकर्डमा आफ्नो क्षमता प्रमाणित गरिसकेको हुनु थियो । जस्तो, उसले थुप्रै जर्नलमा लेखहरु प्रकाशित गरिसकेको थियो भने गणितको ओलम्पियाडमा समेत पदक पाइसकेको ।

राम्रा विश्वविद्यालयका प्राध्यापकहरु विश्वभर घुमिरहेका हुन्छन् र त्यसक्रममा उनीहरुको पाउने इम्प्रेसनले समेत धेरै कुरा निर्धारण गर्छ । बर्कलेमा पीएचडि एडमिसन कमिटीमा रहेर समेत काम गरिसकेको हुनले पौडेलले अनुभवमा धेरै अमेरिकी ग्रयाजुयट स्कुलहरुमा यस्ता इम्प्रेसनले धेरै कुरा निर्माण गरिरहेका हुने बताउँछन् ।

टोफेल वा स्याटका बारेमा कतिलाई कस्तो भ्रम पनि छ भने जाँच गर्नेले पर्फेक्ट उत्तर खोजिरहेका हुन्छन् जुन सही होइन । तपदिप्तीले समेत दोस्रो पटक दिएको परीक्षामा मात्र पूर्णांक ल्याएकी थिइन् । पहिलो पटकमा उनको ११८ आएको थियो । जसबिचमै उनले फूलब्राइट छात्रवृत्ति पाइन र त्यसको प्रकृया अन्तर्गत पुन: ६ महिनाको अन्तरालमा अर्कोपटक टोफेल दिनुपरेको थियो जसमा उनको पूर्णांक नै आइदियो । उनले सँगैसँगै जिआरी समेत पढेकाले पनि उनलाई टोफेलमा धेरै सघाउ पुगेको थियो । जिआरीमा समेत उनको अंग्रेजीमा १७० मा १५९ आएको थियो भने कुलमा ३२९ । जिम्याटमा ८०० मा ७६० जुन पर्सेन्टाइल अंकमा ९९ प्रतिसत थियो । जसको अर्थ त्यसबेला जाँच दिएकामध्ये उनीभन्दा तल ९९ प्रतिसत छन् भन्ने हो । यस्ता जाँचको अर्थ विद्यार्थी अध्ययनका लागि चाहिने ज्ञानमा तुलनात्मक रुपमा राम्रो छ भन्ने मात्र हो तर विश्वविद्यालय अध्ययनमै फरक पार्नेवाला भने होइन ।
 
The edited version has appeared in Nepal Magazine.

No comments:

Post a Comment