Saturday, December 27, 2014

‘पास’ काट्ने साहस

गत सेप्टेम्बर–अक्टोबरमा पश्चिम नेपालको हुम्लाबाट डोल्पासम्म ग्रेट हिमालय ट्रेलको माथिल्लो भेगको पदयात्रा गर्दा सम्राट कटवाल र उनको टोलीले झण्डै एक दर्जन ठूला साना भञ्ज्याङ (पास) काटेका थिए । सम्राटको बुझाईमा पासहरु पदयात्रीका लागि उत्सव मनाउने ठाउँ हुन् । पर्वत श्रृङ्खलाको बिचबाट आवतजावत हुने यस्ता होचा स्थानहरु पुग्दा यात्रीहरु हिमाल नचढिकनै सही, आफूमा रहेको पर्वतिय साहसप्रति गर्व गर्न सक्छन् । पासहरु मध्ये पनि निकै उचाईमा हुने ‘हाइ पास’हरुबाट देखिने विचित्रको सुन्दरता र त्यसपछि आउने अन्य रोमाञ्चले नै यात्रीहरुमा पास चड्ने रोमाञ्च भर्नेगर्छ ।

अधिकांश पासहरु एकातर्फ ठाडो उकालो त अर्कोतर्फ ठाडो ओरालो भएका हुन्छन् । पास पुग्ने उकालो चड्दा हुने स्याँस्याँ, एक पाइला नै सार्न पनि चाहिने ठूलो शक्ति र थकान मार्दा आइहाल्ने निद्राले पास चढ्नुको विशिष्ठता बोल्छ । उचाईमा हुने भएकाले हुनाले त्यहाँ क्षणक्षणमै हिउँ जमिहाल्छन् । त्यसमाथि त्यस भेगमा धेरैजसो बस्ती हुँदैनन् । बाटोहरु पनि निकै ठाडा र साँघुरा ।

धेरै आवतजावत हुने पासहरुतिर ढुङ्गाका सिंढी बनाइएका हुने भएता पनि सबैमा त्यो सुविधा नहुन सक्छ । हिउँ पर्दा यात्रीहरु बाटो नै बिराउने वा पत्ता लगाउन नसक्ने समस्या जन्मने कारण यही हो । “त्यसैले हाइपासहरु चढ्दा गाइडहरु लिएर मात्र अगाडि बढ्नुपर्छ,” लुक्लाका पर्यटन गाइड निमा शेर्पा  भन्छन्, “लेक लाग्ने सम्भावना भएकाले धेरैबेर त्यहाँबेर नबस्नु राम्रो हुन्छ ।” प्राय: पासमा निकै कम समथर ठाउँ हुन्छ । 

यात्रा कि गन्तव्य ?

कतिपयले पास चढ्दाको अनुभवलाई विशेष मान्छन् त कतिले त्यहाँ पुग्नुलाई । “हिमाली बासिन्दालाई  भने त्यो दैनिक जीवनयापनकै क्रममा ओहोरदोहोर गर्ने बाटो हो,” ग्रेट हिमालय ट्रेलको यात्रा गरेका सौरभ ढकाल भन्छन्, “तर पास पुग्दैमा तल झर्नुपर्छ भन्ने पनि छैन ।” जस्तो, ३५५५ मिटर उचाईमा रहेको कञ्चनजंगा ट्रेकमा पर्ने अन्दाफेदी पास गरेपछि सेरम बेस पुगिन्छ जुन ३८७० मिटर उचाईमा पर्छ । जहाँ बस्ती नै छ । मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्ने साल्पा पासमाथि पनि अर्को बाटो छ । संखुवासभा, खोटाङ र सोलुखुम्बुको केन्द्रमा पर्ने पास हो यो ।

तासी लाप्चा पासले रोल्वालिङ उपत्यकालाई खुम्जुङ जोड्छ । खुम्जुङबाट थामे हुँदै च्छोरोल्पा हिमताल पनि पुगिने भएकाले यो पास बढि कहलिएको हो । ५ हजार मिटर उचाईमा पर्ने हुम्लाकै न्याउलु पासमा त अहिले गाडि नै पूगेको छ । जहाँ ढुंगा उठाएर राख्ने प्रचलन पाइन्छ । त्यहाँबाट १ रुपियाँको नोटमा रहेको चंखेली हिमाल देखिन्छ । हुम्ला र लिमि उपत्यकाबिचको व्यापारिक मार्गको रुपमा रहेको यो पास अक्टोबरदेखि अप्रिलसम्म पूरै हिउंले ढाकिएको हुन्छ । तर्चिला हिमालको फेदिबाट जाने हुनाले नोभेम्बरदेखि मार्चसम्म त नजान नै सुझाइएको छ । पास चढ्दासम्म एकखाले परिवेश देखिनेमा पुगेपछि अर्कोतर्फ अर्कै हुनु पनि पासले दिने सप्राइज हो । म्याग्दीबाट रुकुम–रोल्पा छिर्न प्रयोग हुने उपल्लो जलजला पास काटेपछि पश्चिमतर्फ एक्कासी फराकिला चौर र टारहरु देखिन्छन् ।

उपल्लो मुगुको छायानाथ पास र एभरेष्ट क्षेत्रको रेञ्जो पासको समान विशेषता के छ भने त्यहाँबाट एरियल भ्यु जसरी रारा र गोक्यो ताल देख्न पाइन्छ । छायानाथ पासलाई भगवान शिवको चार पवित्र धाममध्ये एउटा भनेर समेत बुझिन्छ । निमा ग्याल्जिङ पासबाट नेपालको सबैभन्दा पछि पत्ता लागेको कु गाउँ देख्न सकिन्छ ।
निमा ग्याल्जिङको रहनु पछाडिको कथा पनि अर्को रोचक छ । त्यहीं नजिकैको फो गाउँका एक युवकलाई धेरै अघि घुम्दै आएका पर्यटकले पासको नाम सोधेका थिए तर उनले आफ्नो नाम सोधेकोझैं बुझेर उत्तर दिएपछि इन्टरनेटमा त्यस पासको नाम जताततै निमा ग्याल्जिङ भनेर फैलियो । खासमा त्यसको वास्तविक नाम दाल्दोङ रहेको त्यस वरपर बस्नेहरुले बताउने गरेको त्यहाँ पुगेका कटवाल अनुभव सुनाउँछन् ।

पास चढ्ने नियम

पासहरु ठाडो उकालो चढेर पुगिने भएकाले यहाँ एकैदिनमा धेरै उचाई लिनुपर्छ । लेक लाग्नबाट बच्नलाई एक दिनमा ५ सय मिटरभन्दा माथि नउक्लिनु भन्ने साधारण नियम पासमा सधै काम नलाग्न सक्छ । सम्राटहरु यात्रा गर्दा हुम्ला सदरमुकाम सिमिकोट र चीनसँगको बोर्डर रहेको हिल्सालाई जोड्ने ४५६० मिटर उचाईमा रहेको नारा पास गरेको पत्तै पाएनन् जबकि हुडहुड हिमआँधीका कारण जुनबिन पास गर्न नसकेर तलतिर झर्नुपर्‍यो । “पासको विशेषता उसको उचाईसँग भन्दा पनि त्यसबेलाको शरीरको अवस्था र मौसमले बढि निर्धारण गर्छ,” स्रमाट सुनाउँछन्, “पास गर्ने अघिल्लो दिन सकेसम्म त्यसको फेदीमा बास बस्नु राम्रो हुन्छ ।”

जिरीतिरबाटै हिंडेर एभरेष्ट पदयात्रा गर्नेले सामना गर्ने पहिलो पास हो लाम्जुरा । सामान्यत: हुनेभन्दा कम उचाईमै भएता पनि हवाइजहाजहरु लुक्ला एयरपोर्ट छिर्ने द्वार पनि भएकाले लाम्जुरापास निकै चर्चित छ । जिरीबाट हिंड्नेलाई मौसम अनुकुल हुन सघाउँछ यो पासमा थकान मेट्नाले ।

माथि पुगेपछि भञ्ज्याङमा पूजा गरिन्छ पनि जहाँ खादा, फूल वा ढुंगा चढाउने गरिन्छ । पश्चिमतिर फर्किएका पासको बाटोमा हिउँ बढि पर्छ र लामो समय रहिरहने गर्छ । त्यसैगरी ढुंगाहरु थुपारिएकामा हिउँ छिट्टै पग्लिन्छ भने माटो भएमा हिउँ लामो समयसम्म रहन्छ । 

उकालोमा हुने शान्त वातावरण, त्यहाँ देखिने दुर्लव पंक्षी र प्राणीहरु हेर्न पाउनु अर्को आकर्षण हो । हिउँ पग्लंदा हिमाल सुस्साउने, हुस्सुका बतासले क्षणभरमै शरीर स्पर्श गर्नेजस्ता विचित्रका माहोल अनुभव हुन्छन् त्यसबेला ।

थ्री पास गर्ने शाहस
एभरेष्ट पदयात्रा क्षेत्रमा पर्ने ३ प्रमुख पासको एकैचोटी यात्रा गर्नुलाई थ्री पास गर्नु भन्ने बुझिन्छ । ती पासहरु हुन् रेञ्जो (५३४० मिटर), चो (५४२०) र कोङ्मा (५५३६ मिटर) । यी पासहरु गर्दा पदयात्रीसामु हिमालयको सुन्दर दृश्यावलोकन गर्न सकिने चुचुराहरु गोक्यो री र कालापथ्थर समेत पुग्ने अवसर जुर्छ । 

हिमालय श्रृङ्खलाको सबैभन्दा लामो ३६ किलोमिटरको गोजुम्पा ग्लेसियर पनि नाम्चेबजारबाट रेञ्जो पास हुँदै गोक्यो ताल झर्ने र त्यहाँबाट पुन चोला पास गरेर लोबुचे हुँदै एभरेष्ट बेसक्याम्प र कालापथ्थर पुगी पुन: लोबुचे झरेर कोङमाला पास हुँदै नाम्चेबजार झरेपछि थ्रीपासको पदयात्रा पूरा हुन्छ । थुप्रैपटक थ्री पास गरेका पर्यटन गाइड दविन्द्र लामा सुनाउँछन्, “एकै पटकमा थ्री पास गर्नेले आफूलाई पास भेट्रान भन्न हिचकिचाउनु पर्दैन ।”

The edited version has appeared in Nepal Magazine.

No comments:

Post a Comment